जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नियमित ब्याज तिरेर लाभांश बाँडिरहेको मणिपालबाट ऋण उठाउन निर्देशन

नियमित ब्याज तिरेर लाभांश बाँडिरहेको मणिपालबाट ऋण उठाउन निर्देशन

निजी क्षेत्रबाट संचालनमा आएको नेपालकै पहिलो मेडिकल कलेज ‘मणिपाल’ ले लगानीकर्तालाई नियमित लाभांश दिइरहेको छ। पोखरास्थित कम्पनीको सञ्चालन आम्दानी एक अर्ब ८४ करोड रुपैयाँभन्दा बढी छ।

कम्पनीका लागि संचालकले चार वर्षअघि बैंकबाट एक अर्ब ८० करोड रुपैयाँ ऋण लिएकोमा १० करोड रुपैयाँ घटाइसकेको छ। बैंकको असल ऋणी रहेको मणिपाल नेपाल राष्ट्र बैंकको एउटा निर्णयका कारण अचानक अप्ठेरोमा परेको छ। राष्ट्र बैंकका कारण मणिपाल मात्र होइन ऋण दिने लक्ष्मी बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानीमै गएको छ।

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो मेडिकल कलेज सन् १९९४ बाट संचालनमा आएको थियो। मेडिकल कलेजबाट भारतीय समूहले हात झिक्ने भएपछि पोखराका स्थानीय व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संस्थागत रुपमा खरिद गरेका थिए।

त्यो खरिदका लागि उनीहरुले लक्ष्मी बैंकबाट एक अर्ब ८० करोड रुपैयाँ ऋण लिएका थिए। यति ठूलो मेडिकल कलेज स्थानीय व्यवसायीले नै खरीद गर्ने भएपछि नियामक नेपाल राष्ट्र बैंक नै अगाडि सरेर ऋणका लागि सहजीकरण गरिदिएको थियो।

तात्कालिन गभर्नर महाप्रसाद अधिकारीको प्रत्यक्ष पहलमा ऋण लगानीका विकल्पहरु पहिचान गरेर आवश्यक स्रोत जुटाउने काम गरिएको थियो। नेपाली पक्षले ‘टेकओभर’ गरेपछि कम्पनी थप फस्टायो र ऋण रकम घटाउँदै लग्यो।

संस्थागत रुपमै त्यसरी सहयोग गरेको नेपाल राष्ट्र बैंकले अचानक मनस्थिति बदलेपछि मेडिकल कलेज संचालक बतास र पौडेल संकटमा परेका छन्। सञ्चालनमा रहेका २० मध्ये १९ बैंक नाफामा जाँदा यही ऋणका कारण लक्ष्मी बैंक नोक्सानीमा गएको छ। राष्ट्र बैंकले मणिपालका लागि दिएको ऋणको सम्पूर्ण नोक्सानी व्यवस्थापन गर्न लक्ष्मीलाई निर्देशन दिएको थियो। निर्देशन पालना गर्दै उसले नोक्सानी व्यवस्थापन गर्‍यो। असल ऋणका रुपमा एक प्रतिशत मात्र नोक्सानी व्यवस्थापन गरिरहेको बैंकले शतप्रतिशत अर्थात एक अर्ब ७० करोड रुपैयाँ नै गर्नु परेपछि उसले पैसा तिर्न ऋणीलाई दबाब दिने भएको छ।

‘त्यति ठूलो बोझ हामी बोक्न सक्दैनौं। हामी त ऋण उठाउने प्रकृयामा जान्छौं,’ बैंक उच्च व्यवस्थापनले भन्यो, ‘व्यवसाय राम्रो हुँदाहुँदै पनि हामीले नियामकको निर्देशन पालना गर्नु पर्ने वाध्यता छ।’

बतास अर्गनाइजेशन र पौडेलको अटोवेज ग्रुपले कुल तीन अर्ब २२ करोड ६० लाख रुपैयाँमा यो मेडिकल कलेज खरिद गरेका थिए। खरिद गर्दा आफ्नो पुँजी नपुगेपछि उनीहरुले बैंक ऋणको सहारा लिएका थिए।

420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका