
आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत विदेशी ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको हो । विदेशी मुद्रा खरिद मार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने मौद्रिक नीतिमा उल्लेख छ । साथै मौद्रिक नीतिले तरलता व्यवस्थापन गर्नका लागि नयाँ औजार प्रयोगमा ल्याउन लागेको छ । केन्द्रीय बैंकले विदेशी मुद्रा खरिदकै बखत ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ गर्ने नीति व्यवस्था गर्ने भएको छ ।
स्टेरिलाइज्ड इन्टरभेन्सन भनेको के हो ?
मुद्राको मूल्य धेरै बढ्ने वा घट्ने गर्दा केन्द्रीय बैंकले हस्तक्षेप गर्छ । केन्द्रीय बैंकले हस्तक्षेप गर्दा मुद्रा आपूर्तिमा असर पर्न सक्छ । जसले मुद्रास्फीति बढ्ने जोखिम पनि रहन्छ । मुद्रा आपूर्तिलाई स्थिर राख्दै विनिमय दर मिलाउन ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गरिन्छ । स्वदेशी मुद्रा बलियो भयो भने केन्द्रीय बैंकले स्वदेशी मुद्रा छापेर विदेशी मुद्रा बजारबाट किन्छ । यसले बजारमा स्वदेशी मुद्राको आपूर्ति बढाउँछ । त्यसले बजारमा पैसा धेरै भएर महँगी बढ्ने डर भने रहन्छ । यस्तै केन्द्रीय बैंकले बजारबाट त्यो थुप्रिएको पैसा फिर्ता तान्नका लागि सरकारी ऋणपत्र बिक्री गर्छ ।
हालको अवस्थामा केन्द्रीय बैंकसँग विदेशी विनियम सञ्चिति पर्याप्त भएकाले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्नका लागि विदेशी मुद्रामै भुक्तानी दिने व्यवस्था गरेर रुपैयाँको आपूर्ति कम गर्न सक्छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































