
माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज आर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार आर्यालसँग बैंकिङ क्षेत्रको करिब दुई दशकभन्दा बढी अनुभव छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा काम गरिसकेका छन् । उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी बैंकर हुन् ।
त्यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका सुभाष जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्यान्डबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन् ।
बैंकले आर्याल र जमरकट्टेल दुवैले आफ्नो बैंकिङ करिअरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूको नेतृत्व, अनुभव र दक्षताले संस्थाको आगामी व्यावसायिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































