नेपाली कांग्रेसको एउटा गुटका भुरेटाकुरे नेता कृष्णप्रसाद सिटौला फेरि चर्चामा आएका छन् । मुस्लिम कोटाबाट निर्वाचित भएर कांग्रेसको केन्द्रिय सदस्य र ४ पटक मन्त्री भईसकेका मोहम्मद आफताब आलमले २०६५ को संविधानसभा निर्वाचन विथोल्ने लक्षले २०६४ चैत २७ गते बम बनाउन लगाएका २२ जना कामदारहरू बम विष्फोट भएर घाईते भएको अवस्थामा जिउँदै ईँटा भट्टामा लगेर डढाएर मारेको सुन्दै डरलाग्दाे अभियोगलाई तत्कालीन गृहमन्त्री सिटौलाको निर्देशनमा हत्यारालाई संरक्षण र अभयदान दिएर जोगाएको अभियोगको एउटा सुई उनीतिर पनि तेर्सिएको छ । उनी यसलाई ठाडै इन्कार गर्दैछन् । तर अनुसन्धानले उनलाई सफाई दिन्छ भन्ने आशा पातलै छ ।
यसअघि उनी सुडान शान्ति मिशनमा गएका नेपाल प्रहरीका १४० अधिकारी र जवानका लागि पठाउने एपीसी गाडी र बन्दोबस्तीका सामान खरिदमा भएको ४२ करोड रुपैयाँको भयानक देशघाती भ्रष्टाचारको मुख्य अभियुक्त हुँदाहुँदै पनि गिरिजाप्रसादको जोडबलमा आकाश–पाताल गरी बल्लबल्ल जोगिएका थिए । त्यो मुद्दा अहिले फेरि चलिरहेको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले आँखाको इशारामा छोरी सुजातालाई उकासेर, “अब तपाईँहरूले दश दिनभित्रमा अर्को गृहमन्त्री पाउनुहुनेछ……” भनी सार्वजनिक भाषण गर्न लगाएपछि आफ्नो गृहमन्त्री पद उड्ने भो भन्ठानेर आत्तिएका गृहमन्त्री सिटौलाले सुजाताको मुखबुजो लगाएर बाबु प्रधानमन्त्री गिरिजालाई रिझाउन गरेको यो भ्रष्टाचारमा तत्कालीन गृहसचिव उमेश मैनाली र तत्कालीन आईजीपी ओमबिक्रम राणासहित प्रत्यक्ष संलग्नता ५७ व्यक्तिहरू तानिने अवस्था थियो । राणा त यही काण्डमा दोषी ठहरेर जेल बसिसकेकै मान्छे हुन् ।
गिरिजाप्रसाद जीवित हुँदै यो काण्ड सनसनीखोज भइसकेको थियो । त्यसैले अपराधीहरू गिरिजाप्रसादकहाँ पुगेर बिलौना गर्नथालेका थिए । गिरिजाले, “आत्तिने काम छैन, म मिलाउँछु, जानुहोस्…..” भनेको कुरा उतिबेलै सार्वजनिक भइसकेकै हो । उनले ‘म मिलाउँछु भनेको त्यसबेला श्रीकान्त रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने भनिएको कुरालाई पन्छाएर उमेश मैनालीलाई प्रमुख आयुक्त बनाउन उनले प्रयास नगरेको होइन ।
प्रहरीको एउटा कन्स्टेबलको सरूवा वा पियनको नियुक्तिका कुरामा त मन्त्रीको हस्तक्षेप भइरहेको हुन्छ भने पचासौँ करोडको खरिदमा मन्त्री निरपेक्ष, बेखबर, तटस्थ वा चोखो थिए भन्ने कुरै हुँदैन । तत्कालीन गृहमन्त्री, गृहसचिव, आईजीपीलगायत बरिष्ठ प्रहरी अधिकारीहरू दोषी हुन सक्दैनन् भने दोषी को हो त ? के गृहमन्त्रालयका पियन ? प्रहरी हेडक्वार्टरका कन्स्टेबल ? कि सुडानमा खटिएको प्रहरी टोली ? यस्ता प्रश्न त्यतिबेला खुबै घन्किएका थिए ।
‘सुडान घोटाला’ प्रकरणमा २०६८ फागुन १ गते विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की, सदस्य (न्यायाधीश) द्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले दिएको फैसलामा राजनीतिक तहमै मूख्य दोष जाने ठहर गर्दै भनिएको छ, “जानीजानी पदको दुरुपयोग गरी राष्ट्रिय सम्पत्तीको बदनियतपूर्ण तवरले भ्रष्टाचार गरिन्छ भने यस अदालतले कानुनका रौँचिरा अनर्गल ब्याख्या गरी आँखा चिम्लेर बस्न सक्दैन, अपराधीलाई सूनपानीले चोख्याउन सक्दैन । राज्यले विधायिकाले सुम्पेको अख्तियारीलाई विधायिकाको मनसाय अनुरुप सकारात्मक रुपले ब्याख्या गरेर राज्यलाई न्याय प्रदान गर्नेतिर उन्मुख हुन्छ ।”
नेपाली कांग्रेसको राजनीतिमा जिल्लास्तरको एउटा नेता यति नाटकीय ढङ्गले केन्द्रीय नेतृत्वमा पुगेको उदाहरणका रुपमा कृष्णप्रसाद सिटौलालाई लिइन्छ । झापा जिल्लामा पार्टी राजनीति र वकालत पेशा गर्दैआएका यिनी ह्वात्तै केन्द्रीय राजनीतिमा छाए । पूर्व माओवादीको हैसियत आजको जस्तो कदापि हुने थिएन, त्यो बेला यिनले गृहमन्त्री भएर प्रचण्ड र बाबुरामलाई काँध नहालेको भए । एकताका यिनलाई पुनःस्थापित प्रतिनिधिसभामा तत्कालीन एमालेका सांसद रघुजी पन्तले तालीका गडगडाहटबीच ‘प्रचण्डको सवारीमन्त्री’ सम्म भनेका थिए । यता कांग्रेसतिर चाहिँ यिनलाई ‘सिलौटा’ भन्ने गर्छन् ।
हुन पनि माओवादीका यिनी यति ताबेदार भइदिए कि कांग्रेस कार्यकर्ताले माओवादीबाट चुटाई खाएर गृहमन्त्रीका रुपमा रहेका यिनलाई भेटेर भनसुन गर्न जाँदा चुटाई खानेलाई उल्टै हप्कीदप्की गरेर पठाउने गर्थे यिनी । कांग्रेसभित्र यिनीमाथिको आक्रोश यति बढेको थियो कि आफु गृहमन्त्री भएर २०६४ को संविधानसभा चुनाब गराउँदा पनि यिनले झापामा एमाओवादीबाटै चुनाब हार्नुपरको थियो । कांग्रेस नेता चक्र बाँस्तोलाले गिरिजाप्रसादको निधनको तेह्रौँ दिनको ‘नागरिक’ दैनिकको विशेषांकमा भनेका थिए, “….वास्तबमा उहाँलाई माओवादीले हराएको होइन, माओवादीले त भोट दिएकै थियो । कांग्रेसीहरूले भोट दिएनन् र हार्नुप¥यो ।”
कांग्रेसका नेता स्व. चक्र बास्तोलाले दिल्लीमा बाह्रबुँदे समझ्दारीपत्र गरेको सन्दर्भमा भनेका थिए, “२०६२/६३ को जनआन्दोलनअघि सबै दिल्ली गएर बसे । मलाई पनि बोलाए । तर मैले दिल्ली जान अस्वीकार गरेँ । बरू झापा गएर बसेँ । त्यतिन्जेल मेरो गिरिजाबाबुसँग राम्रै सम्बन्ध थियो । तर, बाह्रबुँदेपछि जब बालुवाटारमा बैठक हुन थाले, त्यसपछि हाम्रो दूरी बढ्दै गयो । त्यतिखेर गिरिजाबाबुसँग दूरी बढेको मेरोमात्र थिएन । कांग्रेसमा एउटा समुह नै थियो । हामीलाई माओवादीले गिरिजाबाबुलाई तानेर लगेजस्तो लाग्यो ।
गिरिजाबाबुलाई बालुवाटारमा रातारात (तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाको षड्यन्त्रमा विवादास्पद) आठबुँदे सहमतिमा हस्ताक्षर गराए । त्यसपछि गिरिजाबाबुसँग ‘रिफ्ट’ नै भयो । पछि गिरिजाबाबुले मलाई फोन गरेर मलाई फोर्स् गरे भन्नुभयो । हामीले गलत भयो भनेर स्ट््यान्ड लिन थाल्यौँ ।…..गिरिजाबाबुले भने कृष्ण सिटौलालाई लिन थाल्नुभयो । सायद भारतले एउटा विन्दुमा पुगेपछि यो प्रक्रियामा म संलग्न नभएको सजिलो मान्दो हो ।…..बाह्रबुँदे सहमति भारतीयहरूले मस्यौदा गरेर दिएको मैले देखेको छु । पेन्सिलले लेखेर पठाएका थिए ।” उक्त आठबुँदे सहमतिबाट नै कांग्रेस माओवादीका अगाडि चुक्यो । स्मरणीय छ, सो समझ्दारीपत्रको मस्यौदाकार रञ्जीत रे पछि नेपालका लागि भारतीय राजदूत भएर आएका थिए । चक्रको भनाईमा उनी इन्डियाको अराउपठाउ हुन नमानेपछि कृष्ण सिटौलालाई लिएका हुन् ।
सिटौला गृहमन्त्री भएकै अवस्थामा सुडानको शान्ति मिशनमा गएका नेपाल प्रहरीका १४० जना अधिकृत र जवानका लागि चाहिने हातहतियार, गाडी र अन्य बन्दोबस्तीका सामान खरिदमा भएको ४२ करोड रुपैयाँको बिगोको भ्रष्टाचारमा गृहमन्त्रीको नाताले यिनी अग्रपंक्तिमा परेका थिए । तर जालसाँजीपूर्वक बचाइयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउँदा यिनी लगायत तत्कालीन गृह सचिव उमेश मैनालीलाई जानीजानी छोडिदियो । अरूहरू परे । सुजाता कोइरालाका ज्वाईँ रुबेल चौधरी पनि मुछिएका थिए । उनलाई सिटौलाकै सक्रियतामा २०६८ असार १२ गते बांग्लादेशतिरै भगाइयो ।
२०५५ सालमा उद्योग राज्यमन्त्री भएका सिटौला पछिल्लो जनआन्दोलनसँगै गृहमन्त्री भए । यिनका पालामा २१ दिने मधेस आन्दोलन भयो, जसमा ३८ जना मधेसीको ज्यान गयो । गौर (रौतहट) मा तत्कालीन उपेन्द्र यादबको मधेशी फोरमले २७ माओवादीको हत्या गर्दा पनि यिनै गृहमन्त्री थिए । मधेसबाट यिनको राजिनामाको चर्को आवाज आयो, तर माओवादीको आशिर्वाद पाएका सिटौलालाई हठी गिरिजाले किन हटाउँथे ।
यही कारणले मधेसको जनमत भड्कियो र त्यसपछिको चुनाबमा मधेसबाट कांग्रेस नराम्रोगरी पछारियो । राजा ज्ञानेन्द्रका पालामा जनआन्दोलन दबाउँदा २१ जनाको ज्यान गएको थियो । त्यही कारण ज्ञानेन्द्रले सम्पूर्ण शासनमात्र त्यागेनन्, राजगद्दी नै त्याग्नुप¥यो । तर गणतन्त्रका नवनायकहरूको शासनमा हजारौँ नागरिकको गैरन्यायिक तरिकाले ज्यान जाँदा पनि नैतिकताको आधारमा राजीनामा दिनु नपर्ने स्थितिले गणतन्त्रको नियत उजागर भएथ्यो ।
सिटौलाको गृहमन्त्रित्वमा २४० स्थानको प्रत्यक्ष निर्वाचनमा कांग्रेस ३७ स्थानमा मात्र विजयी भएको थियो । गृहप्रशासन लथालिङ्ग र भद्रगोल भइसकेको थियो । यो सबै माओवादीको ताबेदारी गरेर गिरिजाप्रसादलाई राष्ट्रपति बनाउन गृहमन्त्री सिटौलाले गरेको करामत थियो । जब २०६४ सालको निर्वाचनमा पराजयले धराशायी भएको नेपाली कांग्रेस र चुनाब हारेको गृहमन्त्री सिटौला नेपाली समाजमा देखापरे, तबमात्र गिरिजा एण्ड सिटौलाहरूको घुच्चुकको बुद्धि अगाडि आयो तर त्यो बेला निकै ढिलो भइसकेको थियो । गिरिजाप्रसादलाई राष्ट्रपति पद होइन, भएको प्रधानमन्त्री पद नै छोड्नुपर्ने टार्न नमिल्ने नौबत आएको थियो ।
तेह्रथुमको सक्रान्ति बजार वरिपरी सिटौलाहरूको राम्रै बस्ती छ । त्यहाँ एकातिर कांग्रेसबहुल बस्ती छ भने बजारको अर्कातिर कम्युनिष्ट नेताहरूको बाहुल्यता भएको बस्ती छ । बजारको अर्कातिरको पाखामा कालिपाका खड्गप्रसाद शर्मा ओली (वर्तमान प्रधानमन्त्री), चोकपुरका सीपी र राधाकृष्ण मैनाली, चुहानडाँडाका सूर्य कन्दङ्वा आदि कम्युनिष्ट नेता भए । तिनैमध्ये संक्रान्ति बजार नजिकै ‘ढाँडे सिटौला’ भनिएका हुनेखाने सिटौलाको परिवार पनि थियो, जो कालान्तरमा झापामा बसाई आयो । दाजु डिल्लीप्रसाद सिटौला स्थानीय त्रिमोहन हाईस्कूलमा मास्टर थिए । २०४८ सालमा उनी कांग्रेसबाट राष्ट्रियसभाको सदस्य पनि बने । भाई कृष्ण सिटौला नेपाली कांग्रेसको मनोनित महामन्त्री बने ।
किसुनजीको नजिकको मान्छे भएर कांग्रेसको केन्द्रीय राजनीतिमा खुट्टा टेकेका सिटौला त्यसपछिको राजनीतिमा गिरिजाप्रसाद र सुशील कोइरालाद्वयको बफादार भए । ६९ वर्षीय कृष्णप्रसाद सिटौला महामन्त्री पदमा मनोनित गर्न ठीकठाक पारे पनि बरिष्ठ नेता शेरबहादुर देउबाले टाङ् अड्याइदिएपछि पार्टी तत्कालीन सभापति सुशील अन्यौलमा परिरहेका थिए । त्यसै बीच भारतीय विदेशमन्त्री एस्.एम.कृष्णा नेपाल आएका बेला उनको ‘सल्लाह’ पछि देउबाले पनि अडान छोडेर र यिनलाई महामन्त्री बन्ने बाटो खुलेको हो । दक्षिणको हावाअनुरुप चल्न यिनी खप्पिस छन, यद्यपि त्यसले उनलाई जतिसुकै विवादास्पद र बदनाम किन नबनाओस्