जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बैकिङ्ग कसूरका चुनौती र समाधान

बैकिङ्ग कसूरका चुनौती र समाधान
विधिशास्त्रको मान्यता अनुसार ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’। सबैले कानून जानेकै र पालना गरेकै हुनु पर्ने तथा यसको वर्खिलाप गरिएको खण्डमा दण्ड र सजाय हुने परिकल्पना गरिएको छ ।
त्यस्तै पीडितलाई न्याय र पीडकलाई सजायको समेत कानूनमा व्यवस्था गरिएको पाइन्छ । यसै सेरोफेरोमा रहेर हालका दिनहरुमा बैकिङ्ग कसूरका मुद्दाहरुको चाप बढी रहेको अवस्थामा उक्त कसूरबाट आफू जोगिन र अरुलाई जोगाउन समेत प्रभावकारी हुने उद्देश्य राखी यो आलेख तयार पारिएको छ ।
नेपाल मुलुकभित्र विगतको तुलनामा बैङ्क तथा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैङ्कबाट इजाजत-पत्र प्राप्‍त संस्था( बैङ्क तथा वित्तीय संस्था) हरुमार्फत कारोवार गर्ने संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, व्यक्ति तथा संस्थाहरुको संख्या दिनानुदिन बढिरहेको छ । बैङ्किङ कार्यमा सहज तवरले जनताको पहुँच पुग्नु जत्ति सुखद छ, ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ को प्रावधानहरु बारे जन समुदाय सचेत नहुँदा प्रहरी कार्यालयहरुमा मुद्दाको चाप बढ्न गई संलग्न व्यक्तिहरु हिरासतमा पर्नु, संस्थाहरु कालो सूचिमा पर्नु र न्याय निरुपण गर्ने क्रममा मुद्दा फैसला हुँदा कैद र जरिवाना भई फरार रहने व्यक्तिहरुको संख्या समेत तिब्र गतिमा बढ्नाले त्यति नै दु:खद रहेको पाइन्छ ।
साथै इन्टरनेटको माध्यमद्वारा (कनेक्ट आइपिएस, मोवाइल बैंकिङ, विभिन्न डिजिटल भुक्तानी सेवा प्रदायक एपहरु मार्फत) समेत कारोवार गर्ने कार्यले बैंकिङ कार्यमा नयाँ पन आई सहजता प्रदान गरेको छ भने त्यसको पूर्ण तवरले जानकार नहुँदा ह्याकरले वन टाइम पासवर्ड (ओटिपि) ह्याक गरी खातामा रहेको रकम गायव गरिदिने, एक जनालाई रकमान्तर गर्नु पर्ने रकम अर्कैको खातामा जाने लगायतका विविध समस्या समेत परेको पाइन्छ । तसर्थ, बैंकिङ कार्यहरु अति संवेदनशील हुन जाने भएकाले प्रत्येक कारोवार गर्दा असाध्यै ध्यान पुर्‍याएर मात्रै गर्नु पर्ने हुन्छ ।
१. ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ ले देहायका कार्यलाई बैंकिङ कसूर उल्लेख गरेको पाइन्छ:
क) अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने:
नक्कली कागजात पेश गरी खाता खोल्न वा जानी जानी खाता खोलिदिन, कानून बमोजिम बाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन, आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन ।
ख) अनधिकृत रुपमा चेक, चेकबुक वा बैङ्क विवरण प्राप्‍त गर्न वा दिन नहुने:
कसैले कुने तरिकाले अनधिकृत रुपमा वा झुक्याई अन्य व्यक्तिको चेक, चेकबुक वा खाताको विवरण माग गर्न वा प्राप्‍त गर्न, एउटा व्यक्ति वा संस्थाको चेक, चेकबुक वा खाताको विवरण सम्बन्धित व्यक्तिले लिखित रुपमा अनुरोध गरेकोमा बाहेक अर्को कुनै व्यक्ति वा संस्थालाई दिन हुँदैन ।
ग) अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने:
अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न, चेक चोरी गरी रकम निकाल्न, ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन, चेक, ड्राफ्‍ट लगायतबाट नगद लिन वा भुक्तानी दिन हुँदैन ।
घ) क्रेडिट कार्ड, डेविट कार्ड, एटीएम कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन ।
ङ) अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने:
गलत, झुट्टा वा नभएको विवरण पेश गरी वा धितोको अस्वाभाविक मूल्याङ्कन गरी कर्जा लिन वा दिन र कर्जा उपलव्ध गराए बापत कुने किसिमको अनुचित लाभ लिन वा दिन हुँदैन ।
च) बैङ्क वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सो बाहेक अन्य क्षेत्रमा उक्त रकम प्रयोग गरी दुरुपयोग गर्न गराउन हुँदैन ।
छ) बैङ्क वा वित्तीय संस्थाको संस्थापक, सञ्‍चालक, शेयरधनी प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, सल्लाहकार लगायत र निजका परिवारका सदस्य वा नजिकका नातेदारले बैङ्क वा वित्तीय संस्थाबाट कर्जा सुविधा लिई बैङ्किङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न हुँदैन ।
ज) भाखा नाघेको ऋणीले कुनै बैङ्क वा वित्तीय संस्थालाई तिर्नु पर्ने कर्जा नतिरी अन्य बैङ्क वा वित्तीय संस्थामा खाता खोली रकम राख्न हुँदैन ।
झ) कर्जा वा धितोस्वरुप बैङ्क वा वित्तीय संस्थामा राखिने चल अचल सम्पत्तिको बढी, कम वा गलत मूल्याङ्कन गर्न हुँदैन ।
ञ) बैङ्क तथा वित्तीय संस्थालाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन हुँदैन ।
२. ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ ले कसूरसँग सम्बन्धित देहाय बमोजिमको बिगो भएमा कसूरको मात्रा अनुसार देहाय बमोजिमको कैद र बिगो भराई बिगो बमोजिम जरिबाना हुने व्यवस्था गरेको पाइन्छ:
क) दश लाख रुपैयाँसम्म बिगो भए- १ वर्षसम्म कैद ।
ख) दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए- १ देखि २ वर्षसम्म कैद ।
ग) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए- २ देखि ३ वर्षसम्म कैद ।
घ) एक करोड रुपैयाँभन्दा बढी बिगो भए- ३ देखि ५ वर्षसम्म कैद ।
३. बैंकिङ कसूर मुद्दाको अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ ।
४. जाहेरी दिने अवधि र हदम्याद:
बैंकिङ कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष भित्र जाहेरी दिन सकिनेछ ।
५. समस्या तथा चुनौतीहरु:
क) बैंकिङ कसूरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडित समेत रहेको भन्ने आशंका रहँदा रहँदै पनि स्पष्ट कानूनी आधार र प्रर्याप्‍त प्रमाणको अभावले प्रतिवादी समेत यदाकदा पीडित हुने अवस्था रहेको ।
ख) आर्थिक प्रकृतिको तर फौजदारी कसूर अन्तर्गत पर्ने बैंकिङ कसूरका मुद्दाहरु प्रहरी कार्यालयहरुमा दर्ता भए पश्‍चात चाढै न्याय निरुपणमा सहयोग पुग्ने भन्ने मनस्थितिले मुद्दा दर्ता गर्ने भएकोले यस्ता प्रकारका मुद्दा दर्ताको संख्या अन्तिम ३ आर्थिक वर्षहरुमा बढोत्तरी (आ.व. २०७७।०७८ मा बैकिङ कसूर मुद्दा दर्ता १७४१, आ.व. २०७८।०७९ मा बैकिङ कसूर मुद्दा दर्ता २७१५ र आ.व. २०७९।०८० को पुष मसान्तसम्ममा बैकिङ कसूर मुद्दा दर्ता २९९९) भएको अवस्था विद्यमान छ ।
ग) प्रहरी जनशक्तिको ठुलो संख्या यस्ता प्रकारका मुद्दाहरुको अनुसन्धान तथा फैसला कार्यान्वयनमा संलग्न हुनु पर्ने भएकोले प्रहरीद्वारा सम्पादन गरिनु पर्ने दैनन्दिन शान्ति, सुरक्षा र गम्भीर तथा जघन्य प्रकारका अपराध अनुसन्धानमा प्रत्यक्ष एवं परोक्ष रुपमा असर पुर्‍याएको पाइन्छ ।
घ) उच्च अदालतहरुबाट मात्र बैंकिङ कसूर मुद्दाको न्यायिक निरुपण हुने कानूनी प्रावधानले गर्दा उच्च अदालतहरु रहेका जिल्ला प्रहरी कार्यालयहरु र बिशेषत: काठमाण्डौमा मुद्दाको चाप पर्ने गरेको पाइन्छ ।
६. समाधानका उपायहरु:
क) सामाजिक सञ्‍जालमा जुन पायो त्यहि एप्समा क्लीक, लाइक गर्नाले फिसिङ्ग (बल्छी) मा पर्न जाने सम्भावना अत्यधिक हुन्छ, तसर्थ त्यस्ता कार्यहरु नगरौ।
ख) नागरिकताको प्रमाण-पत्र, राहदानी, सवारी चालक अनुमति-पत्र आदिलाई सुरक्षित तवरले राखौं ।
ग) आफ्नो चेकबुक, वन टाइम पासवर्ड (ओटिपि) लाई सुरक्षित तवरले राखौं ।
घ) चेक हराएको तथा अन्य कोहि कसैबाट दुरुपयोग भएको जानकारी हुनासाथ सम्बन्धित बैङ्क र नजिकको प्रहरी कार्यालयमा सूचना गर्ने गरौं ।
ङ) खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई दिने कार्य नगरौं ।
च) आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गरौं ।
छ) खाली चेकमा हस्ताक्षर गरी कोहि कसैलाई पनि नदिऔं ।
ज) एटीएम र यसको पासवर्ड सुरक्षित राखौं ।
झ) चेक भर्दा आफ्नै हातले अङ्क र अक्षरमा स्पष्‍ट रुपमा भरौं ।
ञ) संयुक्त रुपमा सञ्‍चालन भएको खातामा साझेदारद्वारा खाली चेकमा हस्ताक्षर गरी छाड्ने कार्य नगरौं ।
ट) आफ्नो बैङ्क खाता सकेसम्म सेयर नगरौं ।
ठ) आफ्नो नरहेको रकम खातामा आएको खण्डमा तुरुन्तै खाता रहेको बैङ्क तथा नजिकको प्रहरी कार्यालयमा सूचना दिई अनुसन्धान कार्यमा सहयोग गरौं ।
ड) मोबाइल बैंकिङमा प्रयोग गर्ने सिमकार्ड सकेसम्म छुट्टै हुँदा गोपनीयता कायम राख्न सजिलो हुन्छ ।
ढ) आफूलाई रकमको आवश्यकता पर्‍यो भन्दैमा जति पनि ब्याज तिर्ने गरी चेक त हो नि रकम होइन भनी आर्थिक लेनदेन गर्ने नगरौं ।
ण) कसैले आर्थिक अवस्था मिलाउन पर्‍यो भनी अनुरोध गरेको खण्डमा जमानीको रुपमा बसी खाली चेक दिने कार्य नगरौं ।
त) एउटै कारोवारलाई मिलाउन पुरानो चेक फिर्ता नलिई पुन: नयाँ चेक जारी नगरौं ।
थ) समय-समयमा नेपाल राष्ट्र बैङ्कको वेवसाइट: www.nrb.org.np, आफ्नो खाता रहेको बैङ्क तथा नेपाल प्रहरीको वेवसाइट: www.nepalpolice.gov.np र फेसबुक पेज District Police Range Kathmandu visit गरी बैंकिङ कसूरबाट आफू जोगिन तथा अरुलाई पनि जोगाउन सकिने हुन्छ ।
प्रहरी उपरीक्षक दिनेश मैनाली महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत छन् ।

43405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका