जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • इन्स्योरेन्समा एनएफआरएस-१७ कार्यान्वयनबाट किन पछि हट्यो प्राधिकरण?

इन्स्योरेन्समा एनएफआरएस-१७ कार्यान्वयनबाट किन पछि हट्यो प्राधिकरण?

इन्स्योरेन्स क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)-१७ कार्यान्वयनबाट नेपाल बीमा प्राधिकरण पछि हटेको छ।
चालु आर्थिक वर्षदेखि लागू गर्ने भनिएको एनएफआरएस-१७ कार्यान्वयन अवधि एक वर्ष पछि धकेलिएको छ। प्राधिकरणले चालु वर्षदेखि इन्स्योरेन्स क्षेत्रमा एनएफआरएस-१७ लागू गर्ने तयारी गरेको थियो। तर, प्राविधिक तयारी नपुगेको भन्दै इन्स्योरेन्स कम्पनी तयार नभएपछि प्राधिकरण कार्यान्वयनबाट पछि हटेको हो।

प्राधिकरणको अनुरोधमा नेपाल लेखामान बोर्डले एनएफआरएस-१७ कार्यान्वयनको अवधि एक वर्ष थप्ने निर्णय गरेको छ।

‘एनएफआरएस-१७ लागू गर्न सबैभन्दा पहिले इन्डष्ट्री तयार हुनुपर्छ। अहिले उनीहरु तयार भएनन्,’ लेखामान बोर्डका एक अधिकारीले भने, ‘त्यसपछि प्राधिकरणको अनुरोधमा बोर्डले एक वर्ष कार्यान्वयन अवधि थप्ने निर्णय गरेको छ। कम्पनीसँग स्रोतसाधन भएन भने लागू गरेर पनि प्रभावकारी नहुने देखिएपछि समय थप्ने निर्णय भएको हो।’

लेखामान बोर्डले स्ट्यान्डर्ड लागू गरेपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कार्यान्वयन गर्छ। तर, लागू गरिसकेपछि आइक्यान सदस्यले कार्यान्वयनमा देखिएका जटिलता कोड गर्दैनन्। त्यही भएर पहिले कम्पनी आफैं सक्षम नभइ लागू गर्न नहुने बोर्डको बुझाइका कारण स्थगन गरिएको हो।

प्राधिकरणले कम्पनीसँग छलफल गरेर कार्यान्वयनका लागि रोडम्याप मागेको छ। त्यहीअनुसार कम्पनीहरुले प्राविधिक तयारी गर्नुपर्ने प्राधिकरणका अधिकारी बताउँछन्।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले पूर्वाधार नपुगेका कारण एनएफआरएस-१७ कार्यान्वयन एक वर्ष पछि धकेलिएको बताए। ‘भारत लगायत देशमा लागू भइसकेको छैन। हामीसँग पनि तयारी नपुगेका कारण लेखामान बोर्ड र इन्स्योरेन्स कम्पनीको सल्लाहमा एनएफआरएस-१७ कार्यान्वयन एक वर्ष पछि सारिएको हो,’ उनले भने।

प्राधिकरणले चालु वर्षदेखि एनएफआरएस-१७ कार्यान्वयनका लागि गत वर्ष नै बोर्ड, आइक्यान, इन्स्योरेन्स इन्ष्टिच्युट र इन्स्योरेन्स कम्पनीसँग छलफल गरेको थियो।

प्राविधिक सहयोगका विषयमा एसियन ओसियानियन स्ट्यान्डर्ड सेटर्स ग्रुप र कोरियन एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डसँग समेत छलफल गरिएको थियो।

इन्स्योरेन्स कम्पनीको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिताको स्तर सुधार गरेर अन्तर्राष्ट्रिस्तरको बनाउन एनएफआरएस-१७ लागू गर्न अनिवार्य भएको प्राधिकरणकै अधिकारी बताउँछन्। तर, जनशक्ति, प्राविधिक स्रोत अभावमा कम्पनीहरु सक्षम छैनन्।

श्रीलंका, कम्बोडिया, भारत लगायत देश इन्स्योरेन्समा परिस्कृत स्ट्यान्डर्ड आइएफआरएस- १७ सन् २०२५ देखि लागू गर्ने तयारीमा छन्। दक्षिण कोरिया र पाकिस्तानले लागू गरिसकेका छन्।

नेपाल जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्राविधिक जटिलताका कारण एनएफआरएस-१७ यो वर्ष लागू हुन नसकेको बताए।

‘हामीसँग प्राविधिक स्रोत छैन। भ्यालूयसन, एक्चुअरी डिपेन्डेन्सी छैन,’ उनले भने, ‘प्राविधिक जटिलताका कारण कयौं देशहरुले लागू गर्न सकेका छैनन।’

इन्स्योरेन्स कम्पनीमा वित्तीय पारदर्शिता र सुशासनका लागि एनएफआरएस-लागू गर्ने तयारी प्राधिकरणको थियो। तर, इन्स्योरेन्स कम्पनीहरुसँग बीमाङ्कीय जोखिम मूल्यांकनका लागि प्राविधिक जनशक्ति छैनन्। अहिले कम्पनीहरुले विदेशमा एक्चुअरी गराउँदै आइरहेका छन्।

285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका