
देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलनले काठमाडौंसहित देशका विभिन्न शहरमा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष प्रभावमा पारेको छ ।
भ्रष्टाचार नियन्त्रण, असमानता अन्त्य र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै सुरु गरिएको आन्दोलन क्रमशः हिंसात्मक रुप लिँदै जाँदा चार वटा बैंकका शाखा तोडफोडमा परेका छन् भने थुप्रै एटीएम मेसिन तोडिएका छन् ।
नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड गरी बैंकको भल्टमा प्रवश गर्ने कोसिस भएको थियो । मंगलबार राति बैंककमा तोडफोडमा संलग्नहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । बैंकको शाखामा भौतिक क्षति भएपछि भल्ट सुरक्षित रहेकोले नगदमा कुनै क्षति पुगेको छैन । त्यस्तै मारवाडी सेवा समितिको बत्तिसपुतलिमा रहेको भवन प्रदर्शनकारीले जलाउँदा उक्त भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पूर्ण रुपमा नष्ट भएको छ । बैंकको उक्त शाखामा रहेको भल्ट भने सुरक्षित रहेको छ ।
अन्य केही एटीएमहरुमा पनि तोडफोड भए पनि नगद भने सुरक्षित रहेको छ । काठमाडौंको टंगालमा रहेको भाटभटेनी सुपरमार्केट प्रदर्शनकारीले जलाउँदा उक्त स्थानमा रहेका बैंकको एटीएमहरुमा भने क्षति पुगेको छ ।
भाटभटेनीको चितवनस्थित भरतपुर र मोरङको विराटनगर स्टोर भएको स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि शाखा कार्यालय रहेकोमा यी २ वटा शाखा कार्यालय पूर्ण रुपमा क्षति भएको छ । बैंकको भल्ट सुरक्षित रहेकोले नगद भने सुरक्षित नै रहेको बताइएको छ।
थापाथलीमा रहेको सेन्ट्रल विजेनस पार्क पुर्ण रुपमा जलेको छ । जसले गर्दा उक्त टावरमा रहेको ग्लोबल आईमई बैंकको शाखा कार्यालय पनि पुर्ण रुपमा क्षति पुगेको छ ।
यसबाहेक सरकारी कार्यालयमा आगजनी हुँदा सरकारी कार्यालयमा रहेको बैंकहरुको सेवाकेन्द्रहरु भने पूर्ण रुपमा क्षतिग्रस्त भएको बैंकर्स संघले जनाएको छ ।
यता राष्ट्र बैंक समेतको समन्वयनमा देशभर बैंकका शाखा र एटीएममहरुमा के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको बैंकर्स संघले जनाएको छ ।
सरकारी अफिसमा भएका एक्सटेन्सन काउन्ट र एटीएमहरु बढी तोडफोट भएका छन् । अन्य केही शाखा र एटीएममा पनि ढुंगामुढा भएको छन् । बैंकका शाखाहरुमा आक्रमण गर्दा कार्यालयको सिसा फुटेको छ भने कम्प्युटर, कागजात र फर्निचरमा क्षति पुगेको छ ।
आन्दोलनकारीहरूले सर्वसाधारणलाई सेवा दिइरहेका एटीएम मेसिनहरूलाई पनि लक्षित गर्दै फोड्ने प्रयास भएको छ । यसमध्ये केहीमा नगद रकम निकाल्ने प्रयास भएको छ भने कतिपयमा केवल तोडफोड मात्रै गरिएको छ । बैंकहरूले आपतकालीन रूपमा एटीएम सेवा बन्द गरेका छन् जसले सर्वसाधारणलाई थप असुविधा भएको छ।
सर्वसाधारणमा त्रास
घटनापछि बैंक नजिकै बसोबास गर्ने स्थानीयवासी त्रसित बनेका छन्। मध्यरातमा ढुंगामुढा, तोडफोड र चर्काचर्की नारा सुन्दा बच्चा, वृद्धवृद्धा र महिलाहरू घर बाहिर निस्कनै नसक्ने अवस्था आएको स्थानीयले बताएका छन्।
बैंकमा काम गर्ने कर्मचारीहरूले आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गर्दै आन्दोलनको नाममा वित्तीय संस्था आक्रमण गर्नु अन्यायपूर्ण भएको बताएका छन्।
बुधबार देशभरका बैंकवित्त पूर्ण भएको छ । राष्ट्र बैंकसँग छलफल गरेर देशभरका बैंकिङ कार्यालय पूर्ण रुपमा बन्द गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन् ।
बैंकका महत्वपूर्ण कागजात पनि जलाउनुपर्छ भन्ने धम्कीपूर्ण सन्देशहरु आएका छन् । सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै अब विस्तारै वातावरण शान्त हुँदै गएपछि भने बैंकहरु बिहीबारबाट क्रमश खुल्दै जाने बताइएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































