जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता

नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

सेटफोरएनपीएल परियोजना जीआईजेड नेपाल र गोल्डेन ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो ।

यो परियोजना ‘मिटिगेसन एक्सन फेसिलिटी’ (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यसले करिब ३ हजार ५ सय विद्युतीय मिनिबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउने अपेक्षा छ ।

आर्थिक सिमाबद्धता ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । सेटफोरएनपीएल परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी राउट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टमजस्ता डिजिटल सुविधा पनि प्रयोगमा ल्याइएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनिबस प्रयोग गर्न सहज बनाउने छ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सबसिडी) व्यवस्था गर्ने छ जसले सवारी खरिद लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने जनाइएको छ ।

आगजनी गर्नेमाथि कारबाही गरियोस्: अध्यक्ष चन्द्र ढकाल

तीनवटा व्यावसायिक संस्थाले प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा नल्याए निजी क्षेत्र निरुत्साहित हुने बताए।

‘जेनजीको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनी अक्षम्य हो। त्यसैले छानबिन गरेर दोषी पत्ता लगाइ कारबाही गरिनुपर्छ। अन्यथा निजी क्षेत्र थप निरुत्साहित हुन्छ,’ उनीहरुले भने। जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते भाटभटेनी सुपरमार्केटका २१ वटा स्टोरमा तोडफोड र लुटपाट तथा ९ वटामा आगजनी भएको थियो। यस्तै विभिन्न होटल, गाडीका शोरुम लगायत पनि तोडफोड र आगजनीमा परेका थिए।

ढकाल, पाण्डे र अग्रवालले सरकारले उद्यमी व्यवसायीले निर्वाधरूपमा काम गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
‘सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि हो। लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन गरी सबै सरोकारवालालाई आश्वस्त पार्नुपर्ने आवश्यकता छ,’ ढकालले भने। तीन संस्थाका अध्यक्षले निर्वाचनले नै खुला बजार र लोकतान्त्रिक व्यवस्था बलियो हुने भएकाले समयमै निर्वाचन गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको जवाफ दिए। उनले निजी क्षेत्रको मनोबल उकास्न सरकारले एकपछि अर्को निर्णय गरिरहेको बताए। जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका व्यावसायिक प्रतिष्ठानलाई सरकारले यसअघि नै राजस्व छुट, बैंकिङ सहुलियत र बीमामा सहजीकरण गर्ने निर्णय गरिसकेको छ।

अर्थमन्त्री खनालले निजी क्षेत्रको मागबमोजिम भन्सारमा नयाँ ‘डेटाबेस’ प्रणाली लागू गरिएको भन्दै त्यसको उपयोग गर्न व्यवसायीलाई आग्रह गरे। सन्दर्भ मूल्य खारेज गरी भन्सारमा असोज ९ बाट लागू गरिएको ‘अनलाइन डेटाबेस’ प्रणालीले बजारमा पारदर्शी कारोबारले प्रश्रय पाउने मन्त्री खनालको विश्वास छ।

राष्ट्र बैंकले आन्तरिक रुपमा थाल्यो थप १० बैंकको पोर्टफोलियो रिभ्यू

राष्ट्र बैंकले आन्तरिक ऋणमा थप १० वाणिज्य बैंकको पोर्टपोलियो रिभ्यू थालेको छ। ठूला १० बैंकको पोर्टफोलियो रिभ्यूको लागि बंग्लादेशको होवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीसँग सम्झौता गरेपछि राष्ट्र बैंकले आन्तरिक रुपमा अन्य १० बैंकको आन्तरिक परीक्षण थालेको हो।

हालसम्म राष्ट्र बैंकले सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआइ बैंकको रिभ्यू गरिसकेको छ। त्यसैगरी, अन्य बैंकहरुको पोर्टफोलियो रिभ्यूको काम चाँडै नै सम्पन्न गरिने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए। उनका अनुसार ऋण पोर्टपोलियो, सम्पत्ति गुणस्तर र एचआर अवस्था निरीक्षण गरिएको हो। ‘लोनको पोर्टफोलियो र सम्पत्ति धेरै भएका १० वाणिज्य बैंकहरुको गुणस्तर परीक्षण गर्न बंगलादेशको कम्पनीसँग सम्झौता भइसकेको छ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘थप १० वटा बैंकको आन्तरिक हेरिरहेका छौं।’

चार बैंकको पोर्टफोलियो रिभ्यूको काम सम्पन्न भइसकेको उनको भनाइ छ। पहिलो त्रैमासभित्र अन्य बैंकहरुको पनि सम्पन्न गर्ने लक्ष्य रहेको ती अधिकारीले बताए। ‘छोटो अवधिमा सबै कुरा हेर्नुपर्ने छ। २० दिनको समयमा बैंकको ऋण गुणस्तर, सम्पत्ति गुणस्तर र एचआरको रिभ्यू गर्नुपर्छ,’ उनले भने, ‘बैंकको बोर्ड, कर्मचारीको सरुवा बढुवालगायत अध्यनन गर्यौं।’

‘अनुगमनको क्रममा केही बैंकहरुमा सम्पत्तिको भ्यालुएसन धेरै गरिएको भटायौं,’ ती अधिकारीले भने। अन्य बैंकहरुको चाँडै नै काम सम्पन्न गरिनेछ। बैंकिङ सेक्टरमा खासै समस्या नरहेको उनले बताए। ठूला १० वटा वाणिज्य बैंकहरुको भने पोर्टफोलियो रिभ्यूको लागि राष्ट्र बैंकले गत साउनमा होवलदार युनुस एण्ड कम्पनीसँग सम्झौता गरिसकेको छ।

कम्पनीसँग वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएको छ। १० वाणिज्य बैंकहरुको पोर्टफोलियो रिभ्यू गर्न होवलदार युनुस एण्ड कम्पनी असोज २५ गते नेपाल आउँदैछ। कम्पनीले पहिलो चरणमा अफसाइड इन्फेक्सन गर्नेछ भने दोस्रो चरणमा बैंकमा गएर अनुगन गर्नेछ। कम्पनीले पाँच महिनामा रिभ्यू गरिसक्नुपर्ने अवधि सम्झौतामा उल्लेख छ।

राष्ट्र बैंकको निर्णयले सेयर बजार बाउन्स ब्याक

सेयर बजारमा कारोबार खुलेको तीन मिनेटमै पोजेटिभ सर्किट लागेको छ। राजनीतिक अन्योलका कारण दसैं बिदा पछि दुई दिनमै १०४ अंकले ओरालो लागेको नेप्से राष्ट्र बैंकको नयाँ निर्णयका कारण बिहीबार उकालो लागेको हो। नेप्से १०२.४१ अंकले उकालो लागेर २६६२ विन्दुमा पुगेको छ।

राष्ट्र बैंकले बुधबार साँझ सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गर्ने निर्णय गरेको थियो। अर्थमन्त्री रामेश्वर खनालले असोज ३ गते गठन गरेको कार्यदलले दिएको सुझाव अनुसार सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गरिएको हो।

यस्तै बैंक तथा वित्तीय संस्थाले खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाइएको छ।

बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर एक वर्षभन्दा बढी अवधिका लागि मात्र किन्न पाउने व्यवस्था रहेकामा त्यसलाई अब ६ महिनामा झारिएको छ।

ओली र लेखकलाई कारबाहीको माग गरिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीमा गरिदियो फिर्ता

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न माग गरिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीमा फिर्ता गरिदिएको छ। जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले फौजदारी वारदातमा विस्तृत अनुसन्धान गरी कसुरदार देखिने अवस्थामा अभियोजन लगाउने जिम्मेवारी आफ्नो नभएको भन्दै जाहेरी फिर्ता पठाउने निर्णय गरेको हो।

‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्र भित्र परेको छैन। फौजदारी कसुरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानुनले अख्तियारी प्रदान गरेको विदितै छ,’ आयोगका सदस्य विज्ञानराज शर्माले प्रेस विज्ञप्ति निकालेर भनेका छन्, ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको असोज २१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने।’

ओली र लेखकविरुद्ध जेनजीको भदौ २३ गतेको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडा समेत ४ जनाले असोज २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

उनीहरुले ओली र लेखकलाई मानवताविरुद्ध तथा राज्यविरुद्धको कसुरमा कारबाही गर्न माग गरेकामा प्रहरीले जाँचबुझ आयोगले काम गरिरहेका बेला आफूले अनुसन्धान गर्न नमिल्ने भन्दै उजुरी आयोगमा पठाएको थियो।

प्रहरीले मुठभेडको स्थिति आउने भन्दै सुरुमा ओली र लेखकविरुद्ध उजुरी लिनै अस्वीकार गरेको थियो। तर प्रधानमन्त्री सुशीला कार्कीले नै निर्देशन दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो। दर्ता गरे लगत्तै प्रहरीले आयोगमा पठाएको थियो।

आयोगले अभियोजन आफ्नो क्षत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी फिर्ता गरिदिएपछि प्रहरीसामु ओली र लेखकलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने स्थिति आएको छ।

हबिब बैंकको सेयर खरिदका लागि नेशनल लाइफ इन्स्योरेन्सलाई राष्ट्र बैंकको स्वीकृति

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन बैंकमा रहेका पाकिस्तानको हबिब बैंकका सेयर खरिदका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ। राष्ट्र बैंकले बिहीबार सेयर खरिदका लागि अनुमति दिने निर्णय गरेको हो।

उच्च स्रोतका अनुसार स्वीकृति पत्र औपचारिक रूपमा आइतबार नेशनल लाइफलाई पठाइने छ। त्यसपछि कम्पनीले हबिब बैंकको नाममा रहेका हिमालयन बैंकका सेयर खरिदको प्रक्रिया अघि बढाउनेछ।

नेपाल बीमा प्राधिकरणबाट अनुमति पाइसकेपछि नेशनल लाइफले यसअघि नै हबिब बैंकसँग सेयर खरिदसम्बन्धी सम्झौता गरेको थियो। सम्झौतापछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पठाइएको थियो, जसलाई राष्ट्र बैंकले अब हरियो झण्डा देखाएको हो।

हिमालयन बैंकले यस वर्षको जेठ महिनामा प्रतिकित्ता रु ११२.८० का दरले हबिब बैंकको स्वामित्वमा रहेका सेयर बिक्री गर्ने सूचना जारी गरेको थियो। सो सेयर खरिदका लागि हिमालयन रि–इन्स्योरेन्सले प्रयास गरे पनि संस्थापक सेयरधनी नै खरिदमा अघि आएपछि त्यस योजना कार्यान्वयन हुन सकेन।

हबिब बैंकले सन् २०७६ सालमै आफ्नो स्वामित्वमा रहेका हिमालयन बैंकका सेयर बिक्री गर्न खोजेको थियो। त्यतिबेला बेलायतस्थित कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (CDC Group) सँग सम्झौता समेत भएको थियो, तर बैंककै एक सञ्चालकको असहमतिको कारण प्रक्रिया रोकिएको थियो।

पछिल्लो चरणमा कर्मचारी सञ्चय कोषले पनि सो सेयर खरिद गर्न चासो देखाएको थियो, तर त्यस प्रयास पनि सफल हुन सकेन।

अब राष्ट्र बैंकको स्वीकृति पाएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई हिमालयन बैंकमा हबिब बैंकको स्वामित्व रहेको सेयर खरिद गर्ने बाटो खुलेको छ। यस निर्णयलाई वित्तीय क्षेत्रका विश्लेषकहरूले बीमा क्षेत्रको लगानी विविधिकरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

अब बैंक तथा वित्तीय संस्थाले ६ महिना मात्रै पनि सेयरमा लगानी गर्न पाउने

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा सहजीकरण गरेसँगै सेयर किन्ने बेच्ने कार्यमा एकवर्षसम्म होल्ड गर्नुपर्ने प्रावधान हटेको छ । एक वर्ष होल्ड गनुपर्ने व्यवस्थालाई संसोधन गरी ६ महिना कायम गरिएको छ ।

यससँगै यसअघिको खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकम सम्मको लगानी मात्र बिक्री गर्न सक्ने भन्ने व्यवस्था हटाइएको छ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोड रुपैयाँको सीमा हटाएको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको सर्कुलरमार्फत पुरानो सीमा सम्बन्धी व्यवस्था खारेज गरेको हो। यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। राष्ट्रबैंकले उक्त प्रावधान पूर्ण रूपमा हटाइदिएको जनाएको छ।

नयाँ निर्णयपछि अब हरेक व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट जति आवश्यक छ त्यति सेयर धितो कर्जा लिन सक्ने अछन् । अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले सेयर धितो कर्जामा रहेको यो सीमा हटाउन सिफारिस गरेको थियो। सोही सुझावको आधारमा नेपाल राष्ट्र बैंले नयाँ व्यबस्था ल्याएको हो ।

यस निर्णयले पूँजी बजारमा लगानी बढ्ने र लगानीकर्ताहरूको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। अब बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि मात्रै पनि सेयरमा लगानी गर्न पाउने छन् ।

यसअघि यो व्यबस्था एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने थियो । यससँगै एकपटक किनेको सेयर एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ ।

राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको अधिकतम सीमा

नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोड रुपैयाँको सीमा हटाएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि आज जारी गरेको सर्कुलरमार्फत पुरानो सीमा सम्बन्धी व्यवस्था खारेज गरेको हो।

यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। राष्ट्रबैंकले उक्त प्रावधान पूर्ण रूपमा हटाइदिएको जनाएको छ।

नयाँ निर्णयपछि अब व्यक्तिहरूले पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जति आवश्यक छ त्यति सेयर धितो कर्जा लिन सक्ने अवस्था बनेको छ। अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले सेयर धितो कर्जामा रहेको यो सीमा हटाउन सिफारिस गरेको थियो। सोही सुझावको कार्यान्वयनस्वरूप नेपाल राष्ट्रबैंकले यो व्यवस्था खारेज गरेको हो। यस निर्णयले पूँजी बजारमा तरलता बढ्ने र लगानीकर्ताहरूको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।

महालक्ष्मी विकास बैंकका ग्राहकले र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट पाउने

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट पाउने भएका छन्। बैंकले यस सम्बन्धमा होटलसँग सम्झौता भएको जनाएको छ।

सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त होटलले एयरपोर्ट लाउन्जमा प्रदान गर्नेसहित विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्‍याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशतको छुट पाउने छन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

राष्ट्र बैंकले रद्द गर्यो दुई मनी चेन्जर कम्पनीको लाइसेन्स

नेपाल राष्ट्र बैंकले दुई मनि चेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज र ठमेलमा रहेको केटीए. ओम मनी एक्सचेन्जको इजाजतपत्र रद्द गरेको हो ।

दुवै कम्पनीले तोकिएको समयमा नवीकरण नगरेका कारण इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
‘नेपाल राष्ट्र बैंक मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनी चेन्जरहरूको इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार २ कम्पनीको इजाजतपत्र रद्द गरीएको छ,’ राष्ट्र बैंकले सूचनामा भनेको छ ।

धितोपत्र बोर्डका कर्मचारीलाई कानुनी उपचारमा जान सुझाव

सेवा सुविधा खारेजीको विरोधमा दुई सातादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूलाई कानुनी उपचारमा जान सुझाव दिइए पनि उनीहरू कुन बाटो रोज्ने भन्नेमा अन्यौलमा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कार्यान्वयनका क्रममा सेवा सुविधा खारेज गर्नुपरेको भन्दै अर्थ मन्त्रालय र बोर्ड सञ्चालक समितिले आन्दोलनरत कर्मचारीहरूलाई कानुनी बाटो समात्न सुझाव दिएका हुन्।

आयोगको निर्देशनअनुसार तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले २०७१ को कर्मचारी कल्याणकारी कोष कार्यविधि र २०७५ को कर्मचारी सुरक्षा कोष कार्यविधि तत्काल खारेज गर्न निर्देशन दिएका थिए। सो निर्देशनका आधारमा अर्थ मन्त्रालयले पत्र पठाएपछि बोर्डले ती कार्यविधिहरू खारेज गर्दै, पहिल्यै लिइसकेको सुविधा फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो।

सचिवस्तरीय निर्णयपछि बहालवाला र अवकाश प्राप्त कर्मचारीहरूले यसअघि पाएका सुविधा फिर्ता गर्नुपर्ने अवस्थाले बोर्डभित्र असन्तुष्टि चुलिएको छ। सोही निर्णयको विरोधमा कर्मचारीहरूले कार्यालयका कामकाज स्थगित गर्दै आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनरत कर्मचारीहरूले आफ्नो हक र अधिकार कटौती गर्ने निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै कानुनी उपचारका लागि मार्ग खुलाइदिन बोर्ड सञ्चालक समितिसँग माग गरेका छन्। उनीहरूका अनुसार, कानुनी बाटोमा जानका लागि बोर्डको निर्णय नै आवश्यक छ, किनभने बोर्ड आफैं सरकारी स्वामित्वको संस्था भएकाले कर्मचारी व्यक्तिगत रूपमा अघि बढ्न कठिनाइ छ।

अर्थ मन्त्रालयका एक उच्च स्रोतका अनुसार मन्त्रालयले कानुनी उपचारबाहेक अन्य विकल्प नदेखिएको भन्दै आन्दोलनरत कर्मचारीहरूलाई त्यस दिशामा अघि बढ्न सल्लाह दिएको हो। “हामी अख्तियारको निर्देशन विपरीत जान सक्दैनौं। त्यसैले अब कानुनी उपचार नै उपयुक्त समाधान हो,” सम्बन्धित विभागका एक कर्मचारीले बिजपाटीलाई बताए।

त्यस्तै, बोर्ड सञ्चालक समितिले पनि आन्दोलनको प्रभाव घटाउने प्रयासस्वरूप कर्मचारीलाई कानुनी बाटो अपनाउन आग्रह गरेको बताइएको छ। समितिले सकेसम्म कर्मचारीहरूले व्यक्तिगत रूपमा वा समूहगत रूपमा कानुनी उपचार खोज्नु राम्रो हुने धारणा व्यक्त गरेको स्रोतले जनाएको छ।

हाल बोर्डका सेवा सुविधा खारेजसँगै कर्मचारी कल्याणकारी कोष र सुरक्षा कोषका रकम फिर्ता गर्ने प्रक्रियाले आन्दोलन थप चर्काएको छ। कानुनी बाटो रोज्ने निर्णयबारे बोर्ड र कर्मचारीबीच अझै छलफल जारी छ, जसको निष्कर्ष आउन बाँकी रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ

२४ भदौको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको थियो । प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत देवेन्द्र रमण खनालले बताए ।

बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको पाइएको हो। चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित बैंकले प्रहरीमा उजुरी गरेको थियो । बैंकले कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिएको सुन समेत चोरी भएको हो । भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनले भदौ २४ गते उग्ररुप लिएको थियो । सो क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंकको शाखामा तोडफोड तथा लुटपाट भएको थियो ।

संसद भवनमा तोडफोड तथा आगलागी गरेपछि एक समूहले बैंक शाखा कार्यालयमा प्रवेश गरेर तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो । बैंकको बानेश्वर शाखामा मध्य रातिसम्म पनि एउटा समूहले तोडफोड गरिरहेको थियो । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रण्मा लिएको थियो । जेनजी आन्दोलनका क्रममा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको थियो भने ६९ वटा एटीएममा केही क्षति पुगेको थियो।