जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

मुक्तिनाथ वाणिज्य बैंक बन्ने, चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने भएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले वाणिज्य बैंकमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।बैंकको बोनस सेयर वितरण र अग्राधिकार सेयर जारी पश्चात् चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्ने भएपछि वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको हो ।

बैंकको कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ भने गत वर्ष पारित भएको १ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ पुग्नेछ ।पुँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु

सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको छ । सो कार्यक्रमलाई नयाँ कार्यविधिसहित लागू गर्नका लागि सरकारले बक्यौता करिब १० अर्ब रुपैयाँ बराबरको ब्याज भुक्तानी पनि गरेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने, ‘सहुलियतपूर्ण कर्जा पुनः सुरु गर्न आवश्यक प्रक्रिया पूरा भएको छ। अब नेपाल राष्ट्र बैंकले आफू मातहत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन दिनेछ ।’ गत दुई वर्षमा बैंकहरूले सहुलियतपूर्ण कर्जा वितरण रोकेको थियो। ब्याज अनुदान नदिएकाले बैंकहरूले अनौपचारिक रूपमा कर्जा दिन रोकेका थिए।

अब सरकारले बक्यौता ब्याज भुक्तानी गरेकोले बैंकहरूले नयाँ कर्जा जारी गर्न तयार हुने अपेक्षा गरिएको छ।नयाँ कार्यविधिअनुसार, सहुलियतपूर्ण कर्जा दुरुपयोग रोक्न प्रणाली परिष्कृत गरिएको छ। कार्यविधिमा कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा २५ लाख, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा २० लाख, शिक्षित युवा परियोजना कर्जा २० लाख, दलित समुदाय उद्यम विकास कर्जा २० लाख, स्टार्टअप उद्यम कर्जा २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा ५० लाख र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने व्यवस्था गरिएको छ।

कार्यविधिअनुसार ब्याजदरमा पनि समायोजन गरिएको छ। यसअघि ५ प्रतिशतसम्मको ब्याज अनुदान उपलब्ध थियो भने अब कर्जा ब्याजको ३ प्रतिशत अनुदान दिइनेछ। कर्जा अवधि ५ वर्षको रहने व्यवस्था छ। सरकारको नयाँ पहलसँगै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र ऋणीबीच कर्तव्य र अधिकार स्पष्ट हुने गरी जिम्मेवारी छुट्याइएको छ। यसले सहुलियतपूर्ण कर्जा वितरणमा पारदर्शिता र दुरुपयोग न्यून गर्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूले ७६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा वितरण गर्न बाँकी छ। पुरानो कर्जामा सरकारले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्याज भुक्तानी असोज पहिलो साता प्रदान गरेको छ। बाँकी करिब ३ अर्ब रुपैयाँको बक्यौता भुक्तानी छिट्टै सम्पन्न गर्ने तयारी रहेको जानकारी राष्ट्र बैंकका अधिकारीहरूले दिएका छन्।

एटीएमलाई व्यबस्थीत गर्न र डिजिटल बैंकिङ सेवा उपयोग गर्न आग्रह

नेपाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले विपद् व्यबस्थापनको समयमा डिजिटल सेवालाई केन्द्र विन्दुमा राखेर बैंकिङ सेवा प्रवाह गर्न सबै बैंकवित्तलाई आवहान गरेका छन् ।उनले बैंकिङ सेवा अत्यावश्क सेवा अन्तरगत पर्ने हुँदा डिजिटल माध्यमलाई उपभोग गर्न पनि आग्रह गरेका छन् ।

साथै एटीएममा प्रसस्त रकम राखेर व्यबस्थापन गर्न एवं डिजिटल सेवा प्रवाहमा फोकस हुन उनको अनुरोध छ ।उनले आफ्नो फेसबुकमार्फत भनेका छन् ‘यही असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग को सूचना समेतलाइ मध्यनजर गरी नेपाल सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालय वाहेकमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।

बैंकिङ सेवा अत्यावश्क सेवा अन्तरगत पर्दछ । यो वेलामा भौतिक रूपमा बैंकिंग सेवा लिने भन्दा पनि सुरक्षित डिजिटल बैंकिंग सेवाको उपयोग गर्न अनुरोध छ ।साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिंग सेवा सुचारू हुने व्यवस्था गरी कम भन्दा कम कर्मचारीको उपस्थित गराइ अत्यावश्यक बैंकिंग सेवा सञ्चालन गर्नु हुन अनुरोध छ ।

इलाममा बाढी पहिरोमा परी १८ जनाको मृत्यु, कयौं बेपत्ता

इलाममा बाढी पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ | प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार सूर्योदय नगरपालिका १ माने भङज्याङमा ५ जना, माङसेवुङ १ पाटी गाउँमा ३ जना, देउमाई नगरपालिका ५ धारेमा १ जना, देउमाई ५ धुसुनेमा २ जना, फाकफोक गापा ३ रातमाटेमा १ जना र इलाम नपा ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको हो ।

इलाम नगरपालिका ६ घोसामा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा एकै परिवारको ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको प्रहरी जनाएको छ ।यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् ।

त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।इलाममा ठूलो मानवीय क्षति भएको तर वास्तविक तथ्याङक आइनपुगेको प्रवक्ता पोखरेलले बताए।त्यसैगरी उदयपुरको वेलका नगरपालिका–४ लालबजारस्थित कजवेमा आएको बाढीले यात्रुबाहक माइक्रो बस बगाउँदा एक महिला बेपत्ता भएकी छिन्।मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको र बाटो बन्द भएपछि फर्किने क्रममा माइक्रो बसलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले जानकारी दिए।मध्यरातमा भएको उक्त घटनामा चालकसहित २२ जना यात्रु सवार थिए ।

बेपत्ता भएकी अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। बसमा सवार अन्य यात्रुहरू सकुशल छन् भने एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।इलामका विभिन्न स्थानमा पहिरोमा परि मृत्यु हुनेको संख्या१) सुर्योदय नपा १ मानेभञ्ज्याङ ५ जना मृत्यु ।२) २ माङसेवुङ गापा १ पाटिगाउमा ३ जना मृत्यु ।३) देउमाई नपा ५ धारे १ जना मृत्यु ।४) देउमाई नपा ५ धुसुने २ जना मृत्यु ।५) फाकफोकथुम गापा ३ रातमाटे १ जना मृत्यु ।६) ईलाम नपा ५ ‍घोसगाउ ६ जना मृत्यु ।जम्मा १८ जना

बीमा कम्पनीले सीएसआरको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न पाउने

बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम पुनर्निर्माण कोषमा जम्मा गर्न पाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीले सीएसआरको रकम सरकारले खडा गरेको भौतिक पूर्वाधार निर्माण कोषमा जम्मा गर्न पाउने गरी निर्देशिका संशोधन गरेको छ।प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,२०८० मा दोस्रो संशोधन गर्दै प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायत कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्चको क्षेत्र थपेको हो।

बीमा कम्पनीहरुले अहिले सामाजिक उत्तरदायित्व कोषको रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सीमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रममा खर्च गर्दै आएका छन्।बीमा कम्पनीले प्रत्येक आर्थिक वर्ष मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरेर जम्मा गर्नुपर्ने व्यवस्था छ।

यस्तो रकम अति बीमा कम्पनीले विपन्न तथा सीमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्चमा प्रत्यक्ष अनुदान, गरिबी न्यूनीकरण, आफ्नो कम्पनीमा कार्यरत कर्मचारीका बालबालिकाका लागि चाइल्ड केयर सेन्टरमा खर्च गर्न पाउँछन्।भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको क्षतिपछि सरकारले पुनर्निर्माण कोष खडा गरेर रकम जम्मा गर्न आह्वान गरेको छ।

आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक

सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सूची सार्वजनिक गरेको छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर सार्वजनिक गरेको हो ।

नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ ।

यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ ।

उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ ।

null

५ वर्षपछि पुन: भारत–चीनबीच सीधा हवाई सेवा सुरु हुने

भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ ।

दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सीधा हवाई सेवा पुन: सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

भारत र चीनबीच पहिले हुँदै आएका हवाई उडान कोभिड महामारीपछि कटौति भएका थिए । त्यसबीचमा सन् २०२० मा दुई देशका सेनाबीच सीमा क्षेत्र ग्वालनमा झडपपछि कूटनीतिक र सुरक्षा सम्बन्ध तनावपूर्ण भएको थियो । त्यसले गर्दा हवाई उडान सुरु गर्ने प्रक्रिया ढिला भएको थियो ।

मोदी र सीबीच भएको थियो छलफल
यसअघि शांघाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा उडान र सीमा–व्यापारसँगै दुवै देशले पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका व्यक्तिको आवागमन सजिलो बनाउन भिसा प्रक्रियामा केही सहकार्य गर्ने सहमति गरेका थिए ।

त्यसपछि दुवै देशका प्राविधिक अधिकारीबीच यस विषयमा निरन्तर वार्ता हुँदै आएको थियो । दुई देशबीच सीधा उडान पुन: सञ्चालन गर्ने र संशोधित हवाई सेवा सम्झौतामा सहमति गर्ने विषयमा छलफल केन्द्रित थियो ।

नयाँ व्यवस्थाअनुसार दुवै देशका तोकिएका विमान सेवाहरुलाई तोकिएका गन्तव्यमा सीधा उडान सञ्चालन गर्न अनुमति दिइनेछ । यस वर्षको जाडो मौसमी तालिकादेखि नै यो लागू हुने जनाइएको छ ।

इन्डिगोले घोषणा गर्‍यो चीन उडान
यसैबीच, भारतको निजी विमान सेवा कम्पनी इन्डिगोले चीनतर्फ आफ्नो उडान पुन: सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले अक्टोबर २६, २०२५ देखि कोलकाता–ग्वाङ्जाउबीच दैनिक, प्रत्यक्ष उडान सञ्चालन गर्नेछ ।

नियामकीय स्वीकृतिपछि दिल्ली–ग्वाङ्जाउ उडान पनि सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यी उडानका लागि एयरबस ए–३२० एनईओ विमान प्रयोग गरिने छ ।

भारतीय बैंकले अब नेपालसहित छिमेकी देशका नागरिकलाई पनि रुपैयाँमै ऋण दिने

भारतको केन्द्रीय बैंक (आरबीआई) ले अब भारतीय बैंक र तिनका विदेशस्थित शाखाले नेपाल, भूटान र श्रीलङ्का लगायत छिमेकी देशका नागरिकलाई रुपैयाँमै ऋण दिन सक्ने व्यवस्था गरेको छ ।

यसअघि भारतीय बैंकमार्फत यस्तो सुविधा उपलब्ध थिएन । यस निर्णयसँगै नेपाली नागरिक वा व्यवसायिक संस्थाले भारतीय बैंकहरूबाट प्रत्यक्ष रुपैयाँमा कर्जा लिन सक्नेछन् । आरबीआईले बुधबार मौद्रिक नीति घोषणा गर्दै नेपाल, भूटान र श्रीलङ्कालाई लक्षित गर्दै नयाँ प्रावधान लागू गरेको हो ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदमलाई भारतीय रुपैयाँ अन्तर्राष्ट्रियकरण गर्ने ठूलो योजनाको हिस्सा भएको बताएका भारतीय पत्रिका इन्डिएन एक्सप्रेसले जनाएको छ ।

नेपालका लागि के फाइदा ?
अब नेपालका व्यवसायी वा उद्योगपतिले भारतीय बैंकमार्फत प्रत्यक्ष रुपैयाँमा ऋण लिन सक्नेछन् । सीमा पार व्यापार वा लगानी गर्दा अमेरिकी डलरमा निर्भर हुनुपर्ने अवस्था घट्नेछ । भारतले दिन थालेको यो सुविधा नेपालका लागि ठूलो अवसरका रुपमा हेरिएको छ, किनभने आयात–निर्यातमा हुने भुक्तानी सहज बन्नेछ ।

नेपालसँगै भूटान र श्रीलङ्काका नागरिक वा संस्थाले पनि भारतीय बैंकमार्फत रुपियाँ ऋण सुविधा लिन पाउनेछन् । यसलाई भारतले आफ्नो मुद्रा छिमेकी मुलुकमा प्रोत्साहित गर्दै अमेरिकी डलरमा निर्भरता घटाउने रणनीतिको रुपमा हेरिएको छ ।

भारतको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स मुद्रा विरुद्ध धम्कीपूर्ण चेतावनी दिएपछि आएको हो । ट्रम्पले ब्रिक्स मुलुकले नयाँ मुद्रा ल्याउने प्रयास गरे आयातमा १०० प्रतिशत कर लगाउने बताएका थिए । यसैका बीच भारतले क्षेत्रीय स्तरमै भए पनि रुपैयाँलाई प्रमुख बनाउने कदम चालेको छ ।

आरबीआईले यसअघि नै विशेष रुपैयाँ भुक्तानी खाता (एसआरभीए) को माध्यमबाट व्यापार भुक्तानीमा रुपैयाँ प्रयोगको ढोका खोलिसकेको थियो । तर प्रत्यक्ष कर्जा दिने सुविधा भने पहिलो पटक नेपालसहित छिमेकी मुलुकमा लागू गरिएको हो ।

५ खर्ब डलर नाघ्यो मस्कको सम्पत्ति

टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति ५ खर्ब डलर नाघेको छ। फोर्ब्स इन्डेक्सका अनुसार, बुधबार उनको कूल सम्पत्ति केही समयका लागि ५००.१ अर्ब डलर रहेको थियो, त्यसपछि घटेर ४९९ अर्ब डलरभन्दा माथि कायम रह्यो।

बीबीसीका अनुसार, टेस्ला, एक्सएआई र स्पेसएक्सका शेयरहरूको बढ्दो मूल्यले उनलाई यो सफलता दिलाएको हो।
ओरेकलका ल्यारी एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो नम्बरमा रहेका छन् ।

मस्कको टेस्लामा १२ प्रतिशत शेयर छ । टेस्लाको शेयर बुधबार ३.३ प्रतिशतले बढ्यो। यो वर्ष अहिलेसम्म यो १४ प्रतिशतले बढिसकेको छ।

मस्कले गत महिना करिब १ अर्ब डलर बराबरको टेस्लाको शेयर खरिद गरेका थिए। विश्लेषकहरूले यसलाई कम्पनीमा उनको विश्वासको संकेत मानेका छन् ।

यसका बावजुद, टेस्लाका लागि चुनौतीहरू कम छैनन्। विश्वव्यापी विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रतिस्पर्धा तीव्र भइरहेको छ भने चीनको बीवाईडी जस्ता कम्पनीहरूले टेस्लालाई कडा टक्कर दिइरहेका छन्।

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादशैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।

बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

दशैंमा डिजिटल दक्षिणा

दशैं, नेपालीहरूको महान् पर्व, जहाँ परिवार, माया र उत्सवको मेल हुन्छ । दशैंको अवसरमा जमारा र टिका जति महत्वपूर्ण छन्, त्यति नै महत्वपू्र्ण हुन्छ दक्षिणा । विगतमा दक्षिणा दिने प्रचलन नगदमा सीमित थियो । तर, आजको डिजिटल युगले यस चलनमा पनि नयाँ मोड दिएको छ ।
डिजिटल प्रविधिको तीव्र विकासले नेपाली समाजमा समय, ऊर्जा र खर्च दुवै बचाउन सहयोग पुर्‍याएको छ ।

पहिले घरबाट बैंक पुगेर नयाँ नोट छुट्याएर दक्षिणा दिने प्रचलन व्यापक थियो । यसका लागि घन्टौं समय खर्चिन्थ्यो । अहिले भने मोबाइल बैंकिङ, डिजिटल वालेट र एपहरूको प्रयोगले घरमै बसेर एक क्लिकको आधारमा दक्षिणा उपलब्ध गराउन (पठाउन) सकिन्छ ।

कोभिडले डिजिटल दक्षिणालाई दियो गति
विश्वव्यापी कोभिड–१९ महामारीले अनलाइन भुक्तानी प्रणालीको प्रयोगलाई थप तीव्रता दियो । अहिले मानिसहरू बजारमा धमाधम डिजिटल भुक्तानीबाट आवश्यक सामान खरिद गर्न थाले । यही प्रवृत्तिले दशैंमा दक्षिणा दिने चलन पनि डिजिटल बनाउन सहयोग पुर्‍यायो । अब, नगद ल्याएर दक्षिणा दिनु अनिवार्य छैन, र डिजिटल कारोबार सुरक्षित, छिटो र सहज भएको छ ।

डिजिटल दक्षिणाका फाइदा
डिजिटल दक्षिणाले केवल सुविधाजनक भुक्तानी मात्र होइन, आर्थिक सुरक्षा र वित्तीय अनुशासन पनि सुनिश्चित गर्दछ । समय र खर्च बचत: घरमै बसेर दक्षिणा पठाउन सकिन्छ । पहिले पहिले जस्तो बजार र बैंक धाउन समय खर्च हुँदैन । नगद प्रयोग न्यूनीकरण: नोट छपाइ र सञ्चयमा सरकारको बोझ घट्छ । सुरक्षा: डिजिटल भुक्तानीले चोरी वा गुमाउने जोखिम कम गर्छ । वित्तीय अनुशासन: नियमित डिजिटल लेनदेनले वित्तीय योजना र बचतको अभ्यास बढाउँछ ।

चुनौतीहरू पनि छन्
यद्यपि, डिजिटल दक्षिणालाई पूर्ण रूपमा अपनाउन सजिलो छैन । दशैंमा नयाँ नोट प्राप्त गर्ने चलन धेरै पुरानो छ । जमारा, टिका र दक्षिणा अनिवार्य जस्ता लाग्ने भएकाले पुरानो बानी परिवर्तन गर्न समय लाग्छ । विशेषगरी जेष्ठ नागरिक र प्रविधिमा कम परिचित व्यक्तिहरूले डिजिटल भुक्तानी अपनाउन ढिलाइ गर्ने गर्दछन् ।

विशेषज्ञहरूले भन्छन्,‘कुनै पनि परिवर्तन असम्भव छैन । डिजिटल दक्षिणा अपनाउन समय, धैर्य र सचेत प्रयास आवश्यक पर्छ । बच्चादेखि बुढेसम्म सबैमा डिजिटल भुक्तानीबारे जानकारी र प्रशिक्षण दिनुपर्छ ।’

भविष्यतर्फ कदम
राष्ट्र बैंकले पनि नगदको सटही घटाउँदै डिजिटल कारोबारलाई प्रोत्साहित गरिरहेको छ । यसबाट भविष्यमा नेपाली चाडपर्वमा डिजिटल दक्षिणा नै प्राथमिक विकल्प बन्ने अपेक्षा गरिएको छ । यसले केवल दक्षिणालाई सजिलो बनाउँदैन, वित्तीय प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउँछ ।

डिजिटल दक्षिणा अपनाउने क्रममा बैंक र वित्तीय संस्थाले प्रोत्साहनात्मक योजनाहरू ल्याउनुको अर्थ मात्र लाभदायक अफर होइन । यसले डिजिटल अर्थव्यवस्था विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त भए साना तथा ठूला व्यापारमा पनि नगदरहित भुक्तानी प्रवृत्ति बढ्छ ।

डिजिटल दक्षिणा अब केबल प्रविधिको प्रयोग मात्र नभई सांस्कृतिक परम्परा र आधुनिक वित्तीय अभ्यासको संयोजन हो । यो दशैंमा नयाँ सोच र व्यवहारको विकासको प्रतीक पनि बन्न सक्छ ।

विशेषज्ञहरूका अनुसार केही वर्षभित्र नगद प्रयोग घटेर डिजिटल दक्षिणा नै मुख्य विकल्प बन्ने अपेक्षा गरिएको छ । चुनौती र पुरानो बानीले केही बाधा पुर्‍याए पनि डिजिटल दक्षिणा अपनाउनु केवल समयको आवश्यकता मात्र होइन, सुरक्षा, सुविधा र वित्तीय अनुशासनको आवश्यकता पनि हो ।

अब दशैंमा तपाई जमारा र टिका जति महत्वपूर्ण डिजिटल दक्षिणालाई प्राथमिकता दिन सक्नुहुन्छ । सुरक्षित, छिटो र आधुनिक तरिकाले दक्षिणा पठाएर तपाईं आफ्नो परम्परा जोगाउने र वित्तीय सुरक्षा सुनिश्चित गर्ने दुवै काम गर्न सक्नुहुन्छ ।

सुनसान काठमाडौं

हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ-आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्ष भरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आ-आफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, ‘दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।’

गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घर आँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनः भेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् ।

दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म ८ दिनको अवधिमा मात्रै ५ लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।