सरकारले जेनजीको आन्दोलनमा क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका लागि सहयोग गर्न आह्वान गरेको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी सहयोगका लागि आह्वान गरेको हो।
कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ। अर्थ मन्त्रालयले कोषमा सहयोग गर्न तिनै तहका सरकार, निजी क्षेत्र, स्वदेशी विदेशी नागरिक, गैर आवासीय नेपाली, विकास साझेदार, मित्र राष्ट्र लगायतलाई आग्रह गरेको छ।
कोषमा आर्थिक सहयोग गर्नेको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने मन्त्रालयले जनाएको छ।
मन्त्रीको सचिवालयका नाममा कार्यकर्ता भर्ती बन्द
अन्तरिम सरकार खर्च खटौतीमा लागि निर्मम रुपमा प्रस्तुत हुने सन्देश दिएको छ । अर्थमन्त्ती रामेश्वर खनालको प्रस्तावमा असोज ५ मा बसेको मन्त्रिपरिष्द बैठकले सांसदका स्वकीय सचिव(पीए) देखि मन्त्रीको सचिवालयका नाममा कार्याकर्ता भर्ती गर्ने कार्य अन्त्य गर्ने निर्णय गरेको छ ।
पुनरुत्थान र सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक राहत समेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कार्यम गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । सोही निर्णय कार्यान्वयनको लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ ।
आन्तरिक सरकार विशेष गरी चालु खर्च कटौतीमा निर्मम रुपमा प्रस्तुत भएको हो । चालु आर्थिक वर्ष २०८२ / ८३ मा मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट भएका चालु तर्फका नयाँ क्रियाकलाप/कार्यक्रमको कार्यक्रम सञ्चालन मोडालिटी स्पष्ट नभएको, कार्यक्रमको प्रतिफल सुनिश्चित नभएको वा अनुत्पादक क्रियाकलाप/कार्यक्रममा विनियोजित रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ बमोजिम रोक्का राख्ने निर्णय गरेको छ ।
अब सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने निर्णय सरकारले गरेको छ । तर, कानून बमोजिम गठन भएको समितिको काममा कार्यालय समय बाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने निर्णयमा उल्लेख छ । त्यस्तै सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वमित्वमा रहेको निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा वापतको रकम लिन नपाउने भएका हुन् । परामर्श सेवाका नाममा पैसा बाँड्ने बेथितिको पनि सरकारले अन्त्य गर्ने भएको हो ।
‘विद्यमान जनशक्तिबाट सम्पादन हुने कामको लागि विनियोजित बजेटको उपयोग गरी बाह्यसेवा परामर्शबाट काम गर्न/गराउन नपाउने,’ मन्त्रिपरिषद्बाट निर्णय भएर अर्थ मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ । यस्तै विधेयक, नियम, विनियम, कार्यविधि, दिग्दर्शन, मापदण्ड र निर्देशिका बनाउने जस्ता कामका लागि सेवा परामर्श नलिने निर्णय सरकारले गरेको हो ।
विद्यमान जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्था हो भनी सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराएर मात्र पुँजीगत अनुसन्धान तथा परामर्शका लागि खर्च गर्न सकिने निर्णय भएको छ । यस्तै सरकारले पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । पानी, बिजुली र सञ्चार महसुल वापत विनियोजित बजेटबाट खर्च धान्ने गरी मितव्ययी ढंगले खर्च गर्न अर्थ मन्त्रालयले सम्पूर्ण सरकारी निकायमा परिपत्र गरेको हो ।
कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती, एअरकन्डिसन, पंखा जस्ता बिजुली खपत हुने यन्त्र उपकरण चलेको छ कि भनी सम्बन्धित कर्मचारी स्वयंले नियमित चेक गर्नुपर्ने परिपत्रमा उल्लेख छ । सरकारी कार्यालयको लागि न्यूनतम आवश्यकताभन्दा बढी कोठा र सुविधा भएको घर बहालमा नलिने, सरकारी कार्यालयहरूले सकेसम्म व्यापारिक क्षेत्र र प्रमुख मार्गमा घर बहालमा नलिने निर्णय सरकारले गरेको छ ।
विदेशस्थित कुटनीतिक नियोगहरूमा कार्यरत कर्मचारीहरूको निवासको लागि घरभाडामा लिनु पर्दा वा अब आइन्दा घरभाडा नवीकरण गर्नुपर्दा व्यापारिक क्षेत्र र शहरका प्रमुख मार्गहरूमा नलिने निर्णय गर्दै अर्थ मन्त्रालयले परिपत्र गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूमा सवारी साधन, मोबाइल फोन, फर्निचर, ल्यापटप, डेस्कटप कम्प्युटर, मोटरसाईकल जस्ता सामान उपयोगमा पुरानो सामान प्रयोग गर्ने निर्णय समेत सरकारले गरेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट क्षति भएका कार्यालयहरूलाई आवश्यक पर्ने भवन, टेबल, कुर्सी, दराज, सोफा लगायतका कार्यालय सामान, मेशिन उपकरण, फर्निचर जस्ता सामग्री नजिकको कार्यालयमा भएकोबाट हस्तान्तरण गराई उपयोग गर्ने निर्णय गरेको हो । यसरी हस्तान्तरण भएको सामानको हस्तान्तरण कार्यालय प्रमुख तहको निर्णयबाट नै हुनेगरी सरकारले निर्णय गरेको हो । यस्तै सरकारी भौतिक संरचनाको बीमा गर्ने कार्य सुरुवात गर्ने निर्णय समेत सरकारले गरेको छ ।
मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश दिने घोषणा
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो । कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ
जेनजी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका शर्मालाई सीआईबीले पुनः नख्खु कारागार बुझाएको छ ।
शर्मालाई यसअघि पनि भारतीय प्रहरीको सहयोगमा २०८० असार १२ गते मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको अव्यवस्थाबीच नख्खु जेलबाट भागेका थिए ।
उनीमाथि बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी हिनामिना सम्बन्धी उजुरी परेको छ । सहकारी ठगीका साथै २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत दायर भएको छ । शर्माले २०७७ सालमा भक्तपुरमा सञ्चालित शिवशिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिवशिखर बहुउद्देश्यीय सहकारी खोलेका थिए । मोरङमा सञ्चालनमा आएको तुलसी सहकारी पनि उनीकै संलग्नतामा स्थापित भएको हो । तर, ती सबै सहकारी संस्थामा आर्थिक अपचलन भएपछि सहकारीहरू संकटमा परेका थिए भने उनी फरार भएका थिए ।
—
टेलिकमको विलिङ प्रणालीको ठेक्का फेरि रोकियो
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का फेरि रोकिएको छ । टेलिमले प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति स्थगित गरेसँगै विलिङको ठेक्का फेरि रोकिएको हो ।
जेनजी आन्दोलनका कारण बुधबार प्रस्तावित मूल्य खोल्ने भनिएको मिति पहिले नै सारिएको थियो । तर, टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको टेलिकमले एक सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।
१५ भदौमा टेलिकमले ह्वावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । सो मितिमा चर्किएको जेनजी आन्दोलनका कारण ठेक्का खोल्न सकेन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि आएको नयाँ सरकारले थप प्रक्रिया बुझ्न र आवश्यक जानकारी लिन केही समय पर्खन गरेको आग्रह अनुसार टेलिकमले बिलिङको ठेक्का दिने काम रोकेको उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएसँगै टेलिकमले विवादित बिलिङ ठेक्का अघि बढाउने इच्छा तत्कालै नदेखाएका कारण ठेक्का खोल्ने मिति अर्को सूचना जारी नभएसम्मको लागि सार्नुपरेको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्याइएको छ ।
हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको भन्दै टेलिकमले नयाँ ठेक्का गर्न चाहेको हो ।
गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद (मर्मतसम्भारसम्बन्धी टेन्डर)मा अनियमितता भएको भन्दै विशेष अदालमा मुद्दा दायर गरेसँगै यो विषय थप पेचिलो बनेको हो । यो मुद्दामा टेलिकमकै प्रवन्ध निर्देशकसङ्गीता पहाडी अर्यालसहितका कर्मचारीलाई भ्रष्टासार मुद्दा लागेको छ ।

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा १५ अर्बको वित्तीय व्यवस्था, दुधकोशी–२ जलविद्युत आयोजना अघि बढ्ने
लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहने बताइएको छ । यसमध्ये ७० प्रतिशत रकम सहवित्तीयकरणमा सहभागी बैंकहरूले लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम संस्थापक लगानीकर्ताहरूले जुटाउनेछन् ।
सहवित्तीयकरणमा लक्ष्मी सनराइन बैंक अग्रणी बैंकको रुपमा छ भने एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन् । कुल परियोजना वित्त १० अर्ब ५० करोड रहने छ । दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोज ७ गते विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति र २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ ।
परियोजनाका प्रवर्द्धकहरूमा आयु मलुन हाइड्रोपावर लि, कदम केसी, किरण मल्ल, श्रीमती अभिज्ञा मल्ल,विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा। हिमाल भट्टराई र विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।
आयोजना २०२९ जुलाई भित्र निर्माण सम्पन्न हुने लक्ष्य छ । उत्पादन सुरु भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति हुने र यो आयोजना देशकै ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त यो आयोजना नेपालको स्वच्छ ऊर्जा उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
सेवासुविधा फिर्ता गर्ने आदेशविरुद्ध सेबोनका कर्मचारी आन्दोलित
अर्थमन्त्रालयले पठाएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्रै ठूलो खैलाबैला मच्चिएको छ । राजश्व सचिवस्तरीय निर्णयमार्फत सेवासुविधा गैरकानूनी रहेको भन्दै एकमुष्ट फिर्ता गर्नुपर्ने आदेश आएपछि असन्तुष्ट कर्मचारीहरुले कार्यालयमै तालाबन्दी गर्दै आन्दोलन सुर गरेका हुन् । मंगलबारदेखि सुरु भएको यो आन्दोलन बुधबार बिहानैदेखि पनि निरन्तर जारी रहेको छ ।
बुधबार बिहानैदेखि कार्यालय परिसरमा भेला भएका कर्मचारीहरुले हातमा प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् । उनीहरुले सरकारको निर्णय अन्यायपूर्ण भएको भन्दै विरोध गरिरहेका हुन् । आन्दोलनरत कर्मचारीहरुले मंगलबारदेखि नै अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकका गाडीका चाबी खोसेर राखेका छन् । त्यससँगै कार्यालयको सम्पूर्ण कामकाज समेत ठप्प पारिएको छ ।
अर्थमन्त्री डा. रामेश्वर खनालले भने निर्णय कार्यान्वयन गर्ने अडान रहेका छन् । ०५२/५३ सालदेखि गैरकानूनी ढंगले वितरण भएको सुविधा जसरी भए पनि फिर्ता गर्ने उनको अडान छ । अर्थमन्त्रालयले स्रोतले भन्यो, ‘अहिले धेरै खर्च कटौतीको निर्णय मन्त्री ज्यूले गर्नु भएको छ । जहाँसम्म सेबोनको कुरा छ त्यसबाट ब्याक हुने कुरै छैन । निर्णय कार्यन्वयन हुन्छ नै । ‘
०५२/५३ सालदेखि तत्कालीन मन्त्रिपरिषद र मन्त्रीस्तरमा निर्णय भई पारित भएका कार्यविधिअनुसार तलबबाहेकका सेवासुविधा वितरण हुँदै आएको थियो । तर, अहिले अर्थमन्त्रालयले त्यसलाई गैरकानूनी भन्दै तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । सेवासुविधाको नाममा बितेका वर्षमा पाएको रकम फिर्ता गर्नुपर्ने मागले कर्मचारीहरुलाई एकैपटक ठूलो आर्थिक दायित्व थोपरेको कर्मचारीहरुको गुनासो छ ।
अर्थमन्त्रालयले असोज २ गते पठाएको पत्रमा धितोपत्र सम्बन्धी ऐन २०६३, विधायन ऐन २०८१, नेपाल सरकार कार्यविभाजन नियमावली २०७४, धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली २०६८ लगायतका कानुनी प्रावधानलाई उल्लंघन गरी बनेका कोष र कार्यविधि तत्काल खारेज गर्न भनिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ खारेज गरी विगतमा सो कोषमार्फत भुक्तानी भएको रकम सरकारी बाँकी सरह असूल गर्न निर्देशन दिइएको हो ।
निर्देशन अनुसार कार्यान्वयन भएमा सामान्य कर्मचारीहरुले समेत हालसम्म पाएका सेवासुविधा बापत करोडौ रुपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । यो रकम तत्काल जुटाउनुपर्ने अवस्था आउनाले कर्मचारीहरु थप आक्रोशित बनेका छन् । विगतका सरकारकै निर्णय अनुसार पाइएको सुविधा अहिले आएर गैरकानूनी भन्दै उठाउनु अन्याय भएको उनीहरुको भनाइ रहेको छ ।
यता, कर्मचारीहरुले अर्थमन्त्रालयको निर्णयले धितोपत्र बोर्डको अस्तित्वमै प्रश्न उठाएको आरोप लगाएका छन् । वर्षौअघिदेखि कानुनी प्रक्रियामार्फत पारित भएका नियम र कार्यविधिलाई अहिले आएर उल्ट्याउने कामले संस्थामा अस्थिरता सिर्जना गरेको कर्मचारीहरुको भनाइ छ । आन्दोलनरत कर्मचारीहरुले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।
तालाबन्दीले बोर्डको कामकाज प्रभावित बनेको छ । दैनिक नियामक गतिविधि, लगानीकर्तासँग सम्बन्धित काम, शेयर बजार निगरानीजस्ता नियमित कार्यहरु अवरुद्ध भएका छन् । कार्यालय ठप्प हुँदा लगानीकर्ताहरु पनि अन्योलमा परेको बताइएको छ ।
सानिमा बैंकको लाभांश घोषणा, सेयरधनीलाई एक अर्ब ७ लाख रुपैयाँ बाँड्ने
सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ। बैंकले कर प्रयोजनसहित १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ लाभांश बाँड्नेछ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर सानिमाको साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश रकम पाउनेछन्।
सुरक्षाकर्मीको निगरानीमा पूर्व प्रधानमन्त्री ओलीदेखि सचिवसम्म
जेनजी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले पाँच जनालाई उपत्यका छाड्न रोक्न सिफारिस गरेसँगै सुरक्षाकर्मीले उनीहरुमाथि निगरानी बढाएको छ। आइतबार बसेको आयोगको बैठकले छानबिनको दायरामा रहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमासमेत रोक लगाउन सरकारलाई पत्र लेखेको थियो।
आयोगले सिफारिस गरे पनि सरकारले भने यसबारेमा हालसम्म कुनै निर्णय गरेको छैन। सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारेमा दसैं बिदापछि निर्णय हुन सक्ने संकेत गरेका छन्। ‘आइतबार मन्त्रिपरिषद्को बैठकमा राहदानी रोक्का सम्बन्धी कुनै निर्णय भएको छैन,’ मन्त्री खरेलले भने।
आयोगले ओली र लेखकसँगै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान नदिन भनेको हो। सँगै, उनीहरुलाई काठमाडौं उपत्यका छाड्न नदिन पनि भनिएको छ।
आयोगले बयानका लागि उनीहरुसँग सोधपुछ गर्नुपर्ने जिकिर गर्दै यस्तो सिफारिस गरेको हो। गृह मन्त्रालयले भने प्रहरीलाई उल्लेखित ५ व्यक्तिमाथि निगारनी राख्न निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले बर्बर दमन गरेको थियो। प्रदर्शनकारीमाथि अत्याधुनिक हतियारबाट अन्धाधुन्ध गोली चलाइएको थियो। जसका कारण १९ जनाको त्यही दिन मृत्यु भएको थियो भने ३०० भन्दा बढी गोली लागेर घाइते भएका थिए।
प्रहरी दमनको विरोधमा २४ गते कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी मच्चिएको थियो। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। दुई दिनको घटनामा ६ दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। कैयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। सोमबार थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
त्यसैले ओलीदेखि संलग्न सबैलाई अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। आयोगले सिफारिस गरे पनि हाल प्रहरीकोमा भने त्यस प्रकारको कुनै सूचना पुगेको छैन।
‘अहिलेसम्म कुनै औपचारीक पत्र आएको छैन। तर, हामीले मौखिक आधारमा निगरानी भने गरेका छौं,’एक उच्च प्रहरी अधिकृले भने।
प्रदर्शनकारीहरु आगो लगाउन बालुवाटार पुगेपछि तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरबाट निस्किएका थिए। तत्कालीन गृहमन्त्री लेखकले भने २३ गते बेलुका नै राजीनामा दिएका थिए। ओली हाल भक्तपुरको गुण्डू क्षेत्रमा बस्दै आएका छन्। तत्कालीन गृहमन्त्री भने मातृ शोकमा छन्।
त्यतिखेरका गृहसचिव रहेका दुवाडीलाई नयाँ सरकारले असोज ५ गते सरुवा गरिसकेको छ। यस्तै, काठमाडौंका तत्कालीन सीडीओ रिजाल पनि सरुवामा परेका छन्।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख थापाले भने अवकाश पाइसकेका छन्। उनले भदौ २९ गते अवकाश पाएका थिए।
निजी क्षेत्रलाई देर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनु भयो । आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुभ्mन नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उहाँले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गर्नु भयो ।
निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उहाँले बताउनु भयो अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन गरिएको जानकारी दिनुभयो । “हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौं । भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दालदन पछि सरकारी तथा निजी सम्मपतीमा ठूलो क्षति पुगेको छ । हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ । ” उहाँले भन्नु भयो ।
यद्यपी वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राख्नुभयो ।
महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरुमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताउनु भयो । महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नु पर्ने बताउनु भयो । सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैं खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका वियषमा पैरवी गर्दै आएको बताउनु भयो । महासंघ र सेजनबीच लामो समय देखि सहकार्य रहँँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिनुभयो । महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिीसथतीमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।
लक्ष्मी सनराइज बैंकले अनलाइन ठगीबाट सचेत रहन आग्रह
लक्ष्मी सनराइज बैंक लिमिटेडले अनलाइन ठगीबारे आवश्यक चेतावनी जारी गरेको छ। बैंकका अनुसार हाल विभिन्न सामाजिक सञ्जाल तथा व्हाट्सएप र भाइबर जस्ता मेसेजिङ एपमार्फत नेपाली जनताका लागि नयाँ प्रधानमन्त्रीको ३० हजार रुपैयाँको प्रशंसा कोष जस्ता हानिकारक लिंकहरू फैलिइरहेका छन्।
ती लिंकहरूमा क्लिक गर्दा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग ह्याक हुन सक्ने खतरा हुने बैंकले जनाएको छ। साथै सामाजिक सञ्जालका पासवर्ड तथा व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने बताइएको छ। यसले व्यक्तिहरूको वित्तीय र व्यक्तिगत सुरक्षामा सीधा असर पार्न सक्छ।
यसकारण, बैंकले यस्ता मेसेजहरू प्राप्त भएमा ती लिंकहरूमा कहिल्यै क्लिक नगर्न र मेसेजहरू डिलिट गर्न आग्रह गरेको छ। यस्ता ठगी प्रयासहरूबाट आफूलाई मात्र नभई अरूलाई पनि सचेत गराउनुपर्ने जोड दिइएको छ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले ग्राहक तथा सर्वसाधारणसँग आफ्नो वित्तीय जानकारी सुरक्षित राख्न सतर्क रहन र अनावश्यक लिंकमा क्लिक नगर्न विशेष आग्रह गरेको छ ।

व्यवसायीको मनोबल उकास्न कर्जा पुनर्संरचनादेखि कम ब्याजदरमा ऋण सुविधा : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियत प्रदान गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको अन्तर्क्रियामा उनले जेनजीको आन्दोलनका क्रममा भएको आगजनीले निजी क्षेत्रको मनोबल कमजोर बनेकाले कर्जा पुनर्संरचना/पुनर्तालिकिकरण र सहुलियत दरमा कर्जा प्रवाहका कार्यक्रम ल्याइने बताए।
‘जेनजीको प्रदर्शनपछि अब अर्थतन्त्र मन्दीमा जाने हो कि? मूल्यवृद्धि बढ्ने हो कि? भन्ने आशंका पैदा भइरहेका छन्। तर, क्षतिपछिको समग्र अवस्था हेर्दा लक्षित सीमाभन्दा माथि मूल्यवृद्धि जाने देखिंदैन,’ खरेलले भने, ‘विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त छ। बाह्य क्षेत्रमा असर नगरेसम्म रेमिटेन्समा पनि प्रभाव पर्ने देखिंदैन।’ उनले बैंकहरुसँग तत्काल खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको र ब्याजदर पनि सहज अवस्थामा रहेकाले भौतिक संरचना पुनर्निर्माणमा समस्या नहुने बताए।
‘अबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो। तरलता पर्याप्त छ। ब्याज पनि न्यून छ। लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण भएकाले हामी धेरै समस्यामा छैनौं,’ खरेलले भने। उनले वित्तीय स्थिति सहज अवस्थामा रहेकाले चालु आर्थिक वर्ष साढे पाँच देखि ६ प्रतिशतसम्मको आर्थिक वृृद्धिदर हासिल गर्न समस्या नहुने दाबी गरे।












