जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

जेनजी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका शर्मालाई सीआईबीले पुनः नख्खु कारागार बुझाएको छ ।

शर्मालाई यसअघि पनि भारतीय प्रहरीको सहयोगमा २०८० असार १२ गते मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको अव्यवस्थाबीच नख्खु जेलबाट भागेका थिए ।

उनीमाथि बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी हिनामिना सम्बन्धी उजुरी परेको छ । सहकारी ठगीका साथै २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत दायर भएको छ । शर्माले २०७७ सालमा भक्तपुरमा सञ्चालित शिवशिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिवशिखर बहुउद्देश्यीय सहकारी खोलेका थिए । मोरङमा सञ्चालनमा आएको तुलसी सहकारी पनि उनीकै संलग्नतामा स्थापित भएको हो । तर, ती सबै सहकारी संस्थामा आर्थिक अपचलन भएपछि सहकारीहरू संकटमा परेका थिए भने उनी फरार भएका थिए ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका