नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको छ ।
यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउने छन् । साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीन मध्ये एउटा मात्रै अफर छान्न पाउने छन् ।
साथै, ग्राहकले ल्याएका जुनसुकै पुराना ब्रान्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरहरू किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । ईएमआइमा मोटरसाइकल खरिद गर्दा सेलेक्टेड मोडलमा १ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।
चाडबाड लक्षित यातायात व्यवस्थापनमा कुलमानको सक्रियता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक संचालनका लागि सक्रियता बढाएका छन्। कुलमानले यसबारे शनिबार सरोकारवालासँग विस्तृत छलफल गरेका छन्।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका अधिकारीहरू र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूसँग लामो बैठक गरेका हुन्।
मन्त्री घिसिङले यात्रुहरूको सहजताका लागि २४ घण्टा नै सडक अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले यात्रुहरूको गुनासो सुन्ने र तत्कालै व्यवस्थापन गर्ने प्रणाली बनाउनुपर्नेमा पनि जोड दिए।
पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तुरुन्तै पुनर्स्थापना गर्ने प्रणाली अर्थात् ‘र्यापिड रिस्टोरेसन’ को व्यवस्था गर्न उनले निर्देशन दिएका छन्।
बैठकमा विभिन्न विषयमा महत्त्वपूर्ण निर्णय गरिएको छ। जसमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी-सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने र दशैंपछि सोही साधनलाई प्रवेश गर्न दिने व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भएको छ।
त्यस्तै, सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइने भएको छ। उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रहरी गस्ती र प्रहरी संख्या थप गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने बैठकमा सहमति भएको छ।
यसैगरी, दशैं अवधिभर यात्रुबाहक सवारीलाई प्राथमिकता दिने उद्देश्यले बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा १२ चक्के वा सोभन्दा माथिका सवारी साधन नचलाउने निर्णय भएको छ। खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर संचालन हुने व्यवस्था गर्ने निर्णय गरिएको छ।
सडक स्तरोन्नति र सुधारमा पनि जोड दिइने भएको छ। मुलुकभरका मुख्य सडकलाई चुस्त दुरुस्त राख्ने, पहिरोजन्य विपद व्यवस्थापनका लागि आवश्यक सामग्री र उपकरण उपलब्ध गराउने, बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात संचालन गर्ने, नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो हटाएर तुरुन्तै सडक संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने सडक दशैंअघि नै संचालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।
बैठकमा आम नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गर्ने र त्यसबारे सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको छ।
यस्तै, सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि वा निर्देशिका बनाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ। विभागले यसलाई चाँडै तयार गरी मन्त्रालयमा पेश गर्नुपर्नेछ।
कन्ट्रोल रुमको पनि व्यवस्था गरिने भएको छ। मुलुकभरका सडकको अवस्था र सुरक्षाबारे २४सै घण्टा निगरानी राख्ने गरी फोकल पर्सनसहितको व्यवस्था मिलाउन सडक विभागलाई निर्देशन दिइएको छ।
पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले कूल बिक्री रकमको १% सहयोग गर्ने
ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले जेनजी प्रदर्शनका क्रममा तहसनहस भएका संरचना बनाउन सहयोग गर्ने भएको छ। कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कूल बिक्री रकमको १ प्रतिशत ‘राष्ट्र पुनर्निर्माण’ का लागि भन्दै समर्पण गर्ने निर्णय गरेको हो।
‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने विश्वास रहेको कम्पनीका प्रबन्ध निर्देशक श्री अञ्जनी नन्दन मारुले बताए।
‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो,’ उनले भने।
निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस सहयोगमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउन जनाएको छ।
राष्ट्र बैंकका निर्देशक लामिछाने कार्यकारी निर्देशकमा बढुवा
नेपाल राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशाधन विभागले लामिछानेलाई आन्तरिक लेखापरीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
लामिछाने राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै कार्यकारी निर्देशकको पदमा बढुवा भएका हुन्। यसअघि सो विभागको जिम्मेवारी कार्यकारी निर्देशक नरेश शाक्यले सम्हाल्दै आएका थिए।
ब्याजको अनुदानका लागि अर्थले गर्यो करिब १० अर्ब निकासा
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।
‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णय भएको छ’, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल राष्ट्र बैङ्कले लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सरकारबाट पाउन सकेको थिएन । यो रकम निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अनुमान गरिएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा रु २५ लाखसम्म उपलब्ध गराउन सक्ने व्यवस्था छ ।
त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजनाका लागि रु २० लाख बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जाका रुपमा रु पाँच लाख बराबर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने यस्तो सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग
महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवनको पुनर्निर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ ।
साथै बैंकको सम्पुर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको समेत बैंकले जानकारी गराएको छ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाईड शाखा बाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।
सेयर लगानीकर्ताको मनोबल उकास्ने उपाय खोज्दै अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले सेयर लगानीकर्ताको मनोबल उकास्नका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन्। मन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शुक्रबार चार सदस्यीय कार्यदल गठन गरेका हुन्।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला कार्यदलको सदस्यसचिव तोकिएका छन्।
कार्यदललाई पुँजी बजारमा देखिएका विसङ्गति र समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल उकास्न चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारबारे कार्ययोजना पेस गर्न पाँच दिन दिइएको छ। जेनजीको आन्दोलका कारण भदौ २३ पछि बिहीबार खुलेको सेयर बजारमा १६० अंकको पहिरो गएको थियो। तीन वटा नेगेटिभ सर्किट लागेपछि बजार एक घण्टामै बन्द गर्नुपरेको थियो।
भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु
भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु भएको छ। आज भारतमा रहेका एप्पल स्टोरबाट नयाँ सिरिजको आइफोन किन्न सकिनेछ।
आइफोन १७, आइफोन एयर, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्सको बिक्री सुरु भएको हो। नयाँ सिरिजको फोन लिन मानिसहरु बिहानैदेखि एप्पल स्टोरमा लाइनमा छन्।
दिल्ली, मुम्बई, बैंगलोर र पुणेमा रहेका एप्पल स्टोरमा बिहानैदेखि भिड छ। अनलाइनबाट पनि आइफोन अर्डर गर्न सकिने जनाइएको छ।
भारतमा आइफोन १७ को मूल्य ८२ हजार ९०० भारतीय रुपैयाँबाट सुरु हुन्छ।
कुन मोडेलको मूल्य कति ?

मुद्दतीबाट धमाधम पैसा झिक्दै संस्थागत निक्षेपकर्ता
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउन थालेपछि बीमा कम्पनी लगायत ठूला संस्थागत निक्षेपकर्ताले लगानी रणनीति फेर्न थालेका छन्। निरन्तर घट्दो ब्याजदरले आम्दानी खुम्चिने भएपछि ठूला संस्थागत निक्षेपकर्ताले मुद्दतीमा लगानी घटाएर अन्यत्र बढाएका छन्। चालु आर्थिक वर्ष पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत निक्षेप २१ अर्ब ५० करोड ३९ लाख रुपैयाँले खुम्चिएको छ। गत वर्ष साउनमा बीमा कम्पनीसहित ठूला संस्थागत निक्षेपकर्ताको मुद्दती निक्षेपमा लगानी ३ अर्ब ७ करोडले खुम्चिएको थियो।
गत असार मसान्तमा बीमा कम्पनीसहित ठूला संस्थागत निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा कूल १३ खर्ब ३६ अर्ब रुपैयाँ लगानी गरेकोमा अहिले १३ खर्ब १४ अर्बमा झरेको छ। सामाजिक सुरक्षा कोषका प्रवक्त्ता कृष्ण अधिकारीले ब्याजदर धेरै तल आउकाले मुद्दतीको रकम अन्य क्षेत्रमा लगानी गर्न थालेको बताए।
‘बैंकहरुले ब्याजदर निरन्तर घटाउँदै आएका छन्। संस्थागत मुद्दतीमा ब्याजदर बचतको बराबर मात्र छ,’ उनले भने, ‘त्यसैले ब्याजदरभन्दा बढी प्रतिफल पाउने क्षेत्रतर्फ लगानी बढाउन थालेका छौं।’ उनका अनुसार कोषले मुौतीबाट पैसा झिकेर डिबेञ्चर, सरकारी ऋणपत्र र म्युअल फण्डमा लगानी बढाइरहेको छ।
मुद्दती निक्षेपमा कर्मचारी सञ्चय कोषले पनि लगानी घटाएको छ। पछिल्लो एक महिनामा मुद्दतीमा कोषको लगानी ४ अर्ब ७२ करोड रुपैयाँले खुम्चिएको छ। कोषका प्रवक्त्ता दामोदर सुवेदीले मुद्दतीको रकम झिकेर ट्रेजरी बिल्स र सरकारी ऋणपत्रमा लगानी बढाउन थालेको बताए।
‘बैंकहरुको ब्याजदर धेरै नै तल आयो। उनीहरुले संस्थागत मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन्। यति कम ब्याजदरमा लगानी गरेर के गर्नु?,’ सुवेदीले भने, ‘मुद्दतीमा राखेर फाइदा हुने नदेखिएपछि हामी अन्य क्षेत्रतिर लागेका हौं। हामीले ट्रेजरी बिल्स र विकास ऋणपत्रमा लगानी बढाइरहेका छौं। त्यतातिर मुद्दती निक्षेपको तुलनामा रिटर्न केही बढी छ।
मुद्दती निक्षेपमा नागरिक लगानी कोषको लगानी पनि एक महिनामा ३ अर्ब ६० करोड रुपैयाँ खुम्चिएको छ। असार मसान्तमा मुद्दती निक्षेपमा कोषको कूल लगानी १ खर्ब ३३ अर्ब रहेकामा अहिले १ खर्ब २९ अर्बमा झरेको छ।
मुद्दतीमा अन्य संस्थागत निक्षेपकर्ताको लगानी २१ अर्ब २८ करोडले घटेको छ। तर, बीमा कम्पनीले भने बढाएका छन्। बीमा कम्पनीले पछिल्लो एक महिनामा मुद्दतीमा ८ अर्ब ११ करोड रुपैयाँ लगानी बढाएका छन्। नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षत्रीले ब्याजदर तल आए पनि धेरै विकल्प नरहेकाले मुद्दतीमा लगानी बढाएको बताउँछन्।
‘संस्थागत मुद्दतीको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेका कारण केही कम्पनीले अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्। सबैले एउटै क्षेत्रमा लगानी गर्ने कुरा पनि भएन। हामीसँग लगानीको धेरै विकल्प छैन,’ उनले भने, ‘त्यसैले ब्याजदर घटेर प्रतिफल खुम्चिने अवस्था भए पनि हामीले मुद्दतीमा नै लगानी बढाएका छौं।’
जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ: कुलमान घिसिङ
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन।
तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने पनि उनले बताए । ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ निर्देशन दिंदै मन्त्री घिसिङले भने । ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं,जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’
सिंचाइअन्तर्गत राष्ट्रिय गौरबको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।
संसद भवनको पुसभित्रै निर्माण सक्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्। मन्त्री घिसिङले बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिए ।
‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ ।’
संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६को असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ ।
राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण,इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी रहेका छन् ।
अनियमिता फेला परे तुरुन्तै कारबाही
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिए । मन्त्री घिसिङले अनियमिता फेला परेमा त्यसमा सङ्लग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।
‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’ उनले सेवा प्रवाहमा सुधार गर्न पनि निर्देशन दिए ।
मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ।
प्रस्तावित लाभांश बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि पाउनेछन्।
महालक्ष्मी विकास बैंकको लेकसाइड शाखामा क्षति
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ सेवाहरू नजिकको शाखा कार्यालयहरूमार्फत लिन सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार लेकसाइड पोखरा शाखा बाहेक अन्य सबै १०२ शाखा कार्यालयहरू पूर्ण रुपमा सेवा संचालनमा आइसकेको छ। बैंकले सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा संचालन भइरहेको पनि जानकारी दिएको छ।
बैंकले आन्दोलनमा मृत्यु हुनेहरूको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्तिका लागि कामना गरेको छ। साथै, उपचारार्थ रहेका घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।
सरकारी, सार्वजानिक र निजी सम्पतीहरूमा भएको क्षतिप्रति पनि बैंक दुःख प्रकट गरेको छ।
—












