जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एनएलजी इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ७ करोड

एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा तथा जगेडा कोषमा रकम पनि घटेको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि गिरावट आएको छ ।

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३६ करोड ५९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४३ करोड ७ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ७ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९७ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।

समिक्षा अवधिमा ४२ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी सामान्य प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२३ रुपैयाँ ८६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५८.१७ गुणा रहेको छ ।

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले बढ्दा नाफा १० करोड ३८ लाख

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ ।

१ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड २ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ६१ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४७ करोड ३४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । समिक्षा अवधिमा ४३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३९ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य बढेको छ ।

समिक्षा अवधिमा कम्पनीले ९ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २४ दशमलव ६५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ७१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८६ रुपैयाँ ३८ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५२.७१ गुणा रहेको छ ।

हिमालयन जनरलको सिइओमा शाह नियुक्त

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आजकै मितिदेखि लागु हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यले व्यक्तिगत कारण देखाइ कार्यकाल सकिनु डेढ वर्ष अगाडी नै राजिनामा दिए पछि सञ्चालक समितिले शाहलाई नियुक्ति गरेको हो ।

शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिए पछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।

शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । ३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।

प्राइम लाइफको बीमा शुल्क आर्जन २ अर्ब ३२ करोड

प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाशिक अवधिमा भने १९ करोड ३६ लाख रुपैयाँ थियो । कम्पनीले समिक्षा अवधिमा नोक्सानी बापत एक करोड ३४ लाख रुपैयाँ व्यवस्था गरेकाले पनि मुनाफामा गिरावट देखिएको हो ।

खुद बीमा शुल्क आर्जन भने १५ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको अभिकर्ता कमिशन भने घटेको छ । गत वर्ष अभिकर्ताहरुलाई २३ करोड २ लाख रुपैयाँ कमिशन दिएको प्राइमले यस वर्ष भने २२ करोड ५५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा आएको गिरावट सँगै कमिशन घटेको हो ।

दाबी भुक्तानी भने बढेको छ । कम्पनीले समिक्षा अवधिमा मात्रै ५६ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जवकी गत वर्ष ४९ करोड ६१ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन हेर्ने हो भने २ अर्ब २३ करोड रुपैयाँ छ । हालसम्मकै कुल बीमा शुल्क आर्जन भने २४ अर्ब ८३ करोड रुपैयाँ छ । हाल कायम रहेको बीमा लेख संख्या २ लाख एक हजार छ । तर गत वर्ष २ लाख ५४ हजार वटा थियो ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १२ रुपैयाँ छ । जगेडा कोषमा ४९ करोड १७ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा भने १६ अर्ब ६१ करोड रुपैयाँ जम्मा गरेको छ । गत वर्षको यहि अवधिमा भने १३ अर्ब ९ करोड रुपैयाँ मात्रै थियो ।

आईएमई लाइफको बीमा शुल्क आर्जन ३२ प्रतिशतले बृद्धि

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३२ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

मुनाफामा पनि ५.२६ प्रतिशतले सुधार गरेको छ । कम्पनीले समिक्षा अवधिमा ७ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अभिकर्ताले प्राप्त गर्ने कमिशनम पनि बृद्धि भएको छ । अभिकर्ताले यस वर्ष मात्रै २७ करोड ९० लाख रुपैयाँ कमिशन बुझेका छन् । गत वर्षमा २३ करोड २१ लाख रुपैयाँ प्राप्त गरेका थिए । कम्पनीले बीमितहरुलाई बीमालेख धितोमा राखेर ३० करवड ४७ लाख रुपैयाँ कर्जा दिएको छ ।

यस वर्षको कुल बीमा शुल्क आर्जन एक अर्ब ६३ करोड रुपैयाँ रहेको छ तर हालसम्मको कुल बीमा शुल्क आर्जन भने ७ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । कम्पनीमा हाल कायम रहेको बीमालेखको संख्या भने २ लाख १५ हजार ५५० वटा छ । गत वर्ष एक लाख ३२ हजार मात्रै थियो ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ । जगेडा कोषमा ५८ करोड ७१ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा भने तीन र्ब ८७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा २ अर्ब ९ करोड रुपैयाँ थियो ।

निक्षेपको व्याजदर बढ्यो : अब कर्जाको व्याजदर स्वत: बढ्ने !

नेपाल बैंकर्स संघको कार्यसमितिको शुक्रबारको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णय अनुसार बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज लिन पाउनेछन् ।

त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउनेछन् । तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन । त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघमा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।

बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको बताए । उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन् । उनले भने ‘घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाउने भए ।’
वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन् ।

गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए । केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।

यता केहि बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले भने बैंकर्स संघको निर्णयप्रति असन्तुष्टि व्यस्त गरेका छन् । बैंकर्स संघले यो बेला ब्याजको दर बढाउनुपर्ने कुनै कारण नै रहेको ती सीईओको भनाई छ । अहिले सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउँदा बैंकको लागत बढ्ने र आगामी बैशाखदेखि कर्जाको ब्याज झनै बढ्ने भएकाले यो निर्णय गलत भएको ती सीईओको भनाई छ ।

१०१ अंकले घट्यो नेप्से सूचक

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से सूचक १०१.२४ अंकले घटेर २७००.३२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता शेयर खरीद बिक्रिबाट ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रुपैयाँको कारोबार भएको छ । आज अपर तामाकोशीको सबैभन्दा धेरै ३२ करोड ८४ लाख, अरुण भ्याली हाइड्रोको २८ करोड ३९ लाख, निफ्राको २५ करोड ३२ लाख, नेशनल हाइड्रोको २५ करोड २७ लाख, तथा अपि पावरको २१ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रोपावर समुह सबैभन्दा धेरै ५.४७ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समुह ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समुह ४.२३ प्रतिशतले, फाइनान्स समुह ४.६५ प्रतिशतले , निर्जीवन बीमा समुह ४.२७ प्रतिशत, र उत्पादन तथा प्रशोधन समुह ४.६१ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ५ वटा म्युचल फण्ड समुहको मात्र इकाई मूल्य बढेको छ । आजको कारोबार अपर तामाकोशीको शेयर मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.२६ प्रतिशतले घटेको छ ।

 बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाको लागि ब्याजदर बढाएकोले लगानीकर्ता प्यानिक भई त्यसको प्रभाव बजारमा परेको विश्लेषक बताउछन् । त्यसका साथै सत्तारुढ दलले प्रधानन्यायधीशलाई महाभियोग लगाएको र त्यसले राजनीतिक अन्योलता बढ्न सक्ने भएकोले पनि त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा परेको बताईन्छ । तर प्रधानन्यायधीशलाई महाभियोग लगाएको समाचार बाहिर आउनु अगाडी नै नेप्से करिब ८० अंकले घटिसकेकोले ब्याजदर बढ्नु नै बजार घट्नुको प्रमुख कारण रहेको विश्लेषकको भनाई छ  । 

बैंकले ब्याज बढाएपछि परिसंघले भन्यो: दुर्घटनाको संकेत देखियो

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजका कारण अर्थतन्त्र थप जोखिममा पर्ने टिप्पणी निजी क्षेत्रको एक संगठनले गरेको छ।

आइतबारबाट लागू हुने गरी फागुनको ब्याज दर बैंक तथा वित्तीय संस्थाले बढाएका छन्। बैंकहरुले १०.०५ प्रतिशतको ब्याज दर बढाएर ११.०३ प्रतिशत पुर्याइसकेका छन्।

ब्याज बृद्धिपछि आइतबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल उद्योग परिसंघले ‘अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर वृद्धिको निर्णय आउनु अनपेक्षित भएको’ टिप्पणी गरेको हो।

अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय अवलम्बनका लागि सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुले सक्दो प्रयास गरिहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर वृद्धिको निर्णय आउनुले अर्थतन्त्र थप जोखिममा पर्ने संकेत गरेको विज्ञप्तिम उल्लेख छ।

परिसंघले ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान हुने अवस्था नरहेको दावी गरेको छ। निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायीत्वमा जोखिम बढ्ने परिसंघको बुझाइ छ।

परिसंघले सरकारी स्वामित्वका ठूला बचतकर्ताहरूको संस्थागत निक्षेपलाई पुरानै ब्याजमा कायम राख्दा बजारमा देखा परेको ब्याज बढाउने प्रतिस्पर्धामा केही कमी आउने सुझाब दिएको छ।

‘केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले पूरा गर्नुपर्ने नियमनकारी अनुपातहरूलाई केही समयका लागि खुकुलो बनाउन आवश्यक छ,’ परिसंघले भनेको छ, ‘यसले तरलता व्यवस्थापनमा सहजता भइ लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगलाई राहत पुर्‍याइ रोजगारी सिर्जनामा समेत सहयोग गर्ने छ।‘

परिसंघले ब्याज दर परिवर्तन प्रत्येक तीन महिनामा मात्र गर्ने ब्यवस्था मिलाउन भनेको छ। अहिले प्रत्येक महिना परिवर्तन गर्न पाइन्छ।

परिसंघले राष्ट्र बैंकले हालै विभिन्न उपभोग्य वस्तु आयातमा सत् प्रतिशतसम्म मार्जिन राखि प्रतितपत्र खोल्नु पर्ने प्रावधानलाई खुकुलो बनाउन माग गरेको छ।

सिटिजन लाइफको जीवन बीमा कोष १०३% ले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै गएको छ । यस अवधिमा कम्पनीले जीवन बीमा कोष १०३.७९ प्रतिशले वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. २ अर्व ३९ करोड ८१ लाख थियो । यस वर्षको पौष मसान्तमा सो रकम ४ अर्व ८८ करोड ७१ लाख पुगेको छ ।

यसका साथै कम्पनीले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा कुल बीमाशुल्क रु. १ अर्व ४० करोड २१ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा रु. २ अर्व ४८ करोड ३१ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७७.१० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११.७२ प्रतिशतले बढाएर ८८ करोड ९८ लाखको उचाई पुर्याएको छ साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्यकर्जाबाट प्राप्त हुने आयमा ४१.६० प्रतिशतको वृद्धि गरी रु.३२ करोड ७९ लाख पु-याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकमरु ७ अर्व ६४ करोड मध्ये करिब ७४.६७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

सन नेपालको मुनाफा ४४ प्रतिशतले बढ्यो

सन नेपाल लाइफले चालु आर्थिक वर्षमा ४४.२३ प्रतिशलते मुनाफा बढाउन सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ८ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षमा ५ करोड ५६ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जनमा पनि उल्लेख्य सुधार देखिन्छ । कम्पनीले यस वर्ष ४३ प्रतिशतले बढाउदै एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ९१ करोड ६२ लाख रुपैयाँ मात्रै थियो ।

व्यवसायमा सुधार सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशनमा पनि बृद्धि भएको छ । अभिकर्ताले यस वर्ष २० करोड २६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा उनिहरुले १६ करोड ७६ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

यस वर्ष कम्पनीको दाबी भुक्तानीमा धेरै बृद्धि भएको देखिन्छ । कम्पनीले गत वर्ष ७ करोड २५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेकोमा यस वर्ष १९ करोड ८३ लाख रुपैयाँको दाबि भुक्तानी गरेको छ । बैदेशिक रोजगार बीमाको पुल व्यवस्थापन रहेकाले पनि कम्पनीको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि भएको हुन सक्छ । हाल कम्पनीमा कायम रहेको बीमालेखको संख्या २ लाख १३ हजार वटा छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषमा ३७ करोड ७८ लाख रुपैयाँ रहेको छ । जीवन बिमा कोषमा तीन अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा एक अर्ब ८६ करोड रुपैयाँ मात्रै थियो ।

एशियन लाइफको बीमा शुल्क आर्जन तीन अर्ब ३९ करोड

 एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन ८.२१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले तीन अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब १३ करोड रुपैयाँ थियो ।

बीमा शुल्कमा सुधार देखिए पनि मुनाफा भने १८ प्रतिशतले घटेको छ । कम्पनीले ६ महिनाको अवधिमा १४ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १७ करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीको दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा ७६ करोड ८४ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षमा ४२ करोड ७६ लाख रुपैयाँ थियो ।

एशियन लायफले यस वर्ष अभिकर्ताहरुलाई ४३ करोड ३२ लाख रुपैया कमिशन दिएको छ । गत वर्षको यहि अवधिमा ३८ करोड ६९ लाख रुपैयाँ दिएको छ । यस वर्ष कुल बीमा शुल्क आर्जन तीन अर्ब ४६ करोड रुपैयाँ आर्जन गर्न सफल कम्पनीले हालसम्म भने ३३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । कम्पनीमा हाल कु कायम रहेको बीमालेखको संख्या भने तीन लाख ४५ वटा छ ।

चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १४ रुपैयाँ छ । जगेडा कोषमा ९६ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ ।

बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले १२.७१% सम्म दिनसक्ने

फाइनान्स कम्पनीहरुले ब्याज दरलाई खुला छाड्ने निर्णय गरेका छन्। उनीहरुबीच यतिमै जाने भन्ने निर्णय नभएपछि राष्ट्र बैंकको नियम अनुसार गर्ने सहमति भएको हो। 

फाइनान्स कम्पनीहरुले अहिलेको ब्यवस्था अनुसार ११.७१ प्रतिशत साधारण मुद्दतिमा ब्याज दिन पाउँछन्। यसो हुँदा रेमिटेन्स खातामा १२.७१ प्रतिशतसम्म ब्याज दिन पाउँछन्।

‘यति उति भन्ने केही पनि भएन। राष्ट्र बैंकको नियमभित्र रहेर ब्याज दिउँ भन्ने सहमति भयो’ फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बिजमाण्डूसँग भने।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याज बढाउन दबाब दिएपछि बाणिज्य बैंकहरुले अधिकतम १२.०३ प्रतिशत पुर्‍याउने निर्णय गरिसकेका छन्। विकास बैंकहरुले  पनि १२.६५ प्रतिशत पुर्‍याउने निर्णय गरिसकेका छन्। सहमति भएको ब्याज दर फागुन १ गतेबाट लागू हुन्छ।