जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ सहित २ कर्मचारी पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदी, बैंकका लेखा/वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो । हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए ।

बैंकबाट घोटाला भएको रकमको ठूलो हिस्सा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदीको नातामा बहिनी पर्ने बबिताको नाममा रहेको प्राइम बैंकको खातामा सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा १४ करोड रुपैयाँ ट्रान्सफर भएको स्रोतको दावी छ ।

नेपाल बङ्गलादेश बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल बङ्गलादेश बैंकले आफनो सत्ताइसौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले कोभिड–१९ को संक्रमणको जोखिमलाई ख्याल गर्दै भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।

बैंकका अध्यक्ष ए.आर.एम. नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकले कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीहरू अपनाई शेयरधनीहरुको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी ६ सञ्चालकको निर्वाचन गरिएको जनाएको छ ।

उक्त निर्वाचनमा संस्थापक समूहबाट ए.आर.एम नजमुस शकिब,एम. शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित हुनुभएको छ भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित हुनु भएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्वारा शपथ ग्रहण

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेला शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंक, बैंक तथावित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।

गएको मंसिर २८ मा सम्पन्न वित्तीय संस्थाको नवौँ बार्षिक साधारण सभाबाट प्रबद्र्धक ग्लोबल आइएमई बैंक लि. को प्रतिनिधि सञ्चालकको रुपमा नियूक्त भएका अकेला पुस ६ गते बसेको सञ्चालक समितिको १४८ औँ बैठकबाट सर्वसम्मत अध्यक्षपदमा चयन भएका हुन् ।

अर्थतन्त्रलाई राजनीतिको केन्द्रमा ल्याउन जरुरी छ : उद्योगी विनोद चौधरीको विचार

विनोद चौधरी, उद्योगी

पहिलैदेखि नेपालको अर्थतन्त्रमा कृषि र उद्योग नै फोकस थियो त्यसबाटै रोजगारहरु सृजना भएका थिए । नेपालको विकास कृषि क्षेत्रबाटै सम्भव छ भनिन्थ्यो । देश निर्यातको अबस्थामा नै थियो । नेपालको सबैभन्दा ठूलो रिसोर्स भनेको पिपुल र एग्रिकल्चर हुन् भनिन्थ्यो । ती बाहेक न्याचुरल व्युटी, माउन्टेन, ट्रेकिङ आदिलाई पनि विकासकै रुपमा लिइन्थ्यो । जुन कुराले आज पनि सम्भाव्यता बोकीरहेका छन् । वर्तमान समयसम्म आइपुग्दा कैयौं कुराहरु परिवर्तन भएका छन् । उत्पादन घट्दो क्रममा छ । आयात बढ्दो क्रममा छ । आजको विश्व टेक्नोलोजीमा विकासित भइसकेको अवस्था छ ।

नेपालमा पहिलाको संरचनात्मक उद्योगहरु अहिले छैनन् । कटिङ मिलदेखि जुटमिलसम्म सम्पूर्ण उद्योगहरु विस्तारै बन्द भए । नेपालको अर्थतन्त्र विशेषगरी भारत र चाइनासँग सम्बद्ध छ । हाम्रो बस्तुको उत्पादन सबैभन्दा ठूलो स्ट्रेन्थ नहुन सक्छ । यसलाई हामीले सहि रुपमा विष्लेषण गर्न सकेका छैनौ ।

नेपाली कांग्रेसको सरकारले २०४८ सालपछि ल्याएको दुई वर्षको नीतिले नेपालमा धेरै आर्थिक परिवर्तनहरु भएका थिए । त्यसबेला सात सेक्टरहरु खुले । जसले कृषि माथिको हाम्रो परनिर्भरतालाई घटाएर जिडीपीको ३५ प्रतिशतमा पुर्याएको थियो । त्यो एउटा नयाँ कन्ट्रिव्युसन थियो । बैंकिङ क्षेत्र पनि त्यति सात वटै सेक्टरभित्र परेका थिए । त्यतिबेला नै अधिकांश एयरलाइन्सहरु खुले, हाइड्रो पावरहरु खसुरु भए । प्राइभेट क्षेत्रले लगानी बढाए । आइपीपीको पोलेसी आयो, अधिकाँस कलेजहरु त्यही समयमा खुलेका थिए । त्यो समयले आर्थिक क्षेत्रमा एउटा उभार ल्याएको हो ।

इकोनोमी डेभलमेन्ट राजनीतिक पार्टीको केन्द्रमा पर्न सकेन

नेपालका राजनीतिक पार्टीहरुको सोचाइ र हेर्ने दृष्टिकोणको यस्तो रेडिकल छ कि जुन इकोनोमी डेभलपमेन्टलाई फोकस नै छैन । यो कुरा आजसम्म पनि पार्टीको सेन्टर स्टेटमेन्टभित्र पर्दै परेको छैन । यो त केवल बजेट पेस गर्ने बेलामा मात्र परेको अवस्था छ । कुनै पनि नेता म सँग बसेर गम्भिरताका साथ अर्थतन्त्रका विषयमा छलफल गरेको अहिलेसम्म मैले भेटेको छैन ।

आज पनि अर्थ मन्त्रालयको दृष्टिकोणलाई हेर्दा कुनै प्राइभेट सेक्टरले इन्भेष्टमेन्ट गर्न खोज्यो भने अरु सात वटा मन्त्रालयलले घेर्ने अवस्था छ । त्यो निराकरण हुन सकेको छैन । प्राइभेट कम्पनीहरुलाई प्रोत्साहित गर्नुको सट्टा कसरी हुन्छ अप्ठ्यारो पार्ने भन्ने मानसिकता रहेको पाइन्छ ।
प्राइभेट कम्पनी मन्त्रालय जाँदा दुहुनो गाई आयो भनेर सोँच्ने अबस्थाको अन्त्य हुनु जरुरी छ । यस्तो संस्कारले हामीकहाँ खुट्टो गाडिसक्यो कि यो कुरा कसरी परिवर्तन गर्ने ? यस कुरामा प्रशासन क्षेत्र पनि मौन छ । राजनीतिका नेतृत्वकर्ताहरु मौन छन् । किनकी राजनीतिक पार्टीलाई सिर्फ भोट चाहिएको छ । हामीले बारबार इकोनोमी पोलिसी परिमार्जनका जुन कुरा गरिरहेका छौं तर यसका राजनीतिक चासो हुन सकेको छैन । जतिवेला विपी कोइरालाले नेपालीहरु विदेश गएकोमा मान्छे निर्यात गर्न थाल्यौं कि भनेर चिन्ता लिनुहुन्थ्यो अबस्था आज पनि उस्तै छ । अहिले प्रत्येक वर्ष करिब चार लाखदेखि पाँच लाखसम्म नयाँ युवा रोजगारको बजारमा थपिन्छन् । उनीहरुलाई हामी रोजगार दिन सकेका छैनौं । फलस्वरुप उनीहरु विदेशीन बाध्य भएका छन् ।

योजना कसले बनाइदिने ?

एउटै कुरा मैले सोचिरहन्छु कि नेपालमा योजना कसले बनाइदिने ? बैंकभित्र पस्ने जसको हिम्मत नै हुँदैन । उसले बैंकलाई कन्भिन्स गर्नै सक्दैन । कसैको पनि नयाँ आइडियालाई उसको प्रोजेक्टको रुपमा बैंकको प्लानिङ बनाउन सकिँएको छैन । कृषि, भूमिको मात्र कुरा गरेर हुँदैन । केही पिपुलको कुरा गरेर मात्रै समस्याको समाधान हुनै सक्दैन ।

नेपालमा डेभलमेन्टका मोडलहरु परिवर्तन हुँदैछन् । आज नेपालमा बसेर अमेरिकामा व्यापार गर्न सकिन्छ । अमेरिकामा विजनेश प्रोभाइड गर्न सकिन्छ । अमेरिकन कम्पनीहरुले नेपालमा प्रशस्त कम्पनीहरु खोल्न थालेका छन् । प्रडक्ट नै सबैकुरा होइन भन्ने मेरो मान्यता हो ।

हरेक तहमा एउटा नयाँ भिजन हुनुपर्ने देखिन्छ । पिपुललाई रिलिज नगरी राजनीति गरेर मात्रै हुँदैन । जति भाषण गरेपनि राजनीतिले सोसल चेन्ज ल्याउन सक्दैन । सोसल चेन्जलाई डेलिभर गर्ने टुल भनौं या व्रिज भनौं त्यो त क्यापिटल फण्डेसन नै हो । बैंक क्रियशन नै हो । जुन सानो वा ठूलो जुनसुकै बैंक हुन सक्छ । हामीले बैंकहरुप्रति कुनै पनि पूर्वाग्रह राख्न आवश्यक छैन । रिसोर्सको म्यानेजरलाई रिसोर्सको म्यानेजमेन्ट गर्न दिनुपर्यो । जसले पोलिटिक्स गर्न सक्छ । पिपुललाई इन्स्पाएर गर्न सक्छ । पिपुललाई सहि म्यासेज दिन सक्छ ।

पोलिटिसियनको काम भिजन दिने हो । नचाहिने किसिमको कसैले अप्ठ्यारो क्रियट गर्छ भने त्यसलाई खुकुलो बनाउने हो । तर व्यबहारमा त्यस्तो देखिँदैन । यी कुराको फ्युजन हुन जरुरी छ । अहिले उद्योग, टुरिजम, एग्रिकल्चर कुनै पनि क्षेत्रलाई हेर्ने हो भने कम्जोर हुँदै गएएको देखिन्छ । जबसम्म अर्थतन्त्रलाई राजनीतिको केन्द्रमा ल्याउन सकिँदैन तबसम्म विकास हुनेवाला छैन ।

सप्तकोसी डेभलपमेन्ट बैंककाे अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

सप्तकोसी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन्। अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए।

बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ। अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन्। बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बैंककै एक कर्मचारीले आर्थिक हिनामिना भइरहेको गोप्य उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, सीआईबी र नेपाल राष्ट्र बैंकको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ। भट्टराईलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ। पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रमुख भट्टराई बैंकका सीईओ नवीन सुवेदीका फुपुका छोरासमेत हुन्। सीइओ सुवेदीलाई भने बैंकले कुनै कारबाही गरेको छैन । सप्तकोसी डेभलपमेन्ट बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको भनी एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो । नक्कली खाता बनाएर हिनामिना गरेको खुलेको बैंकका अध्यक्ष अर्जुन बरालले बताए। अन्य केही कर्मचारीहरूको पनि संलग्नता हुन सक्ने उनको अनुमान रहेको छ । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो। मंसिर १ गतेदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सप्तकोसी बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकका १ नम्बर प्रदेशमा ३६ वटा शाखा छन्।

रिलायन्स लाइफको कामु सिइओमा निराजन कँडेल

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले कँडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको कार्यकाल हिजो सोमबारदेखि सकिएको हो । उनि गत आइतबार सम्पन्न भएको चौथो साधारणसभा सकिने वित्तीकै बाहिरिएका थिए । पहिलो कार्यकाल सकिए सँगै पराजुलीलाई कम्पनीले नदोहोर्याएको हो । प्राय नयाँ कम्पनीहरुले भइरहेकै सिइओको कार्यकाल थप गरिरहदा रिलायन्स लाइफले भने दोस्रो कार्यकालका लागि भने थप गरेन । पराजुली नेपाल लाइफको डिसिइओमा जाने टुङ्गो लागिसकेको छ ।

कहिलेबाट हुन्छ मौसममा सुधार ?

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

निफ्राका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड २१ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ।

बैंकले पोहोर यो रकम भुक्तानी गरेको हो। अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा छन्। यद्यपि उनी गत वर्षको पुसमा नियुक्त भएका हुन्। त्यसैले यो सबै तलब सुविधा उनले पाएका होइनन्। अनिल ज्ञवाली त्यसअघि प्रमुख कार्यकारी अधिकृत थिए।

बैंकले तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई ८२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको छ। पाण्डेले केही दिनअघि मात्र निफ्रा छाडिसकेका छन्। बैंकले नायब महाप्रबन्धकहरुलाई कुल एक करोड १४ लाख १६ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार, प्रबन्धकहरुलाई ६५ लाख ८३ हजार र सहायक प्रबन्धकलाई ७७ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले गत मंसिर २९ गते वार्षिक साधारणसभा गरिसकेको छ। बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश भुक्तानी गरिसकेको छ।

रिलायन्स लाइफको ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित

रिलायन्स लाईफ इन्स्योरेन्सले पुस ११ गते आइतवार प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले काठमाडौंमा आइतवार चौथो वार्षिक साधारण सभा सम्पन्न गरी अघिल्लो आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण सहित लाभांश पारित गरेको हो ।

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । सोही पूँजीको आधारमा कर समेत नगद लाभांश वितरणको तयारी कम्पनीले गरेको हो । आइतवार पारित लाभांश जतिसक्दो छिटो सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै पठाउँने जानकारी दिदैं कम्पनीले बैंक खाता अद्यावधिक गराउन बाँकी सदस्यहरुलाई यथासिघ्र गराउन समेत आग्रह गरेको छ ।

सभाले सर्वसाधारण समूहबाट डा. बद्री प्रसाद पोखरेल र परिच्छिद खेमकालाई सञ्चालकमा निर्वाचित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ । जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । कम्पनीले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो । जुन अभियान (क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ ।

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाईँसम्म पु¥याउन सकिएको जानकारी दिए ।

हरेक सुचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रष्ट पार्दछ । आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग १ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४० अर्ब ५० करोडको सर्वाधिक दावी भुक्तानी, ७ अर्ब १९ करोडको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

आईएमई लाइफको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम दिएको छ । कम्पनीले लुम्बीनी, कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम मिति पौष ७ देखि ९ गते सम्म सुर्खेतमा प्रदान गरि सम्पन्न गरेको हो ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, बित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाँय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख सुदिप राणा बाट विस्तृत जानकारी दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बीनी र कर्णली प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाघन बिभाग प्रमुख मनोज चौधरी समेत उक्त तालिममा सहभागीता थियो ।

गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँट

गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि पुस १ गते सम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” नामको ऋणपत्र पुस १३ गते बाँडफाँट गरेको हो ।

बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले कुल कित्ता ऋणपत्र मध्य ६० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट परिपत्र विधिमार्फत विक्री गरेको हो भने बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्तामध्य पनि ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ३ लाख ८० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गरेको छ । यस बैंकको अधिकृत पूँजी रू. ५ अर्ब रहेको छ भने जारी पूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रहेको छ । जारी पूँजी बराबरको रकम बैंकले चुक्ता गरिसकेको छ ।

बैंकमा संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म बैंकले रू. ४ अर्ब ३७ करोड ४३ लाख ३६ हजार चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ ।