जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

माछापुच्छ्रे बैंकका हाकिमको पारिश्रमिक तथा भत्ता १४ करोड ७२ लाख रुपैयाँ, सञ्चालकको भत्ता कति ?

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले एक बर्षमा १ करोड २८ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता वापत रकम बुझेका छन् । बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७७–७८ अनुसार बैंकका सीईओ सन्तोष कोइरालाले १ करोड २८ लाख ६१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका छन् । बोनस रकमलाई यहाँ उल्लेख गरिएको छैन् ।

त्यस्तै, बैंकका अनुसार नायव महाप्रवन्धक तथा प्रवन्धकहरुले गत आर्थिक बर्ष २०७७–७८ मा १३ करोड ४३ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका छन् । बैंकले प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रवन्धक तथा प्रवन्धकलाई गरी १४ करोड ७२ लाख ४६ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता प्रदान गरेको छ ।

सञ्चालकहरूलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रतिबैठक अध्यक्षलाई १५ हजार रुपैयाँ र सञ्चालकलाई १२ हजार रुपैयाँ भत्ता उपलव्ध गराइएको छ । यस बाहेक प्रति महिना पत्रपत्रिका, मोवाइल तथा ईन्टरनेट खर्च बापत १० हजार रुपैयाँ उपलव्ध गराउने ब्यबस्था रहेको बैंकले जनाएको छ । साथै रु. ५० लाख बराबरको सामुहिक दुर्घटना बीमा गरिएको छ । बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको दुर्घटना तथा औषधोपचार खर्चको बिमा प्रिमियम बैंकले ब्यहोर्दै आएको छ ।

सोही बमोजिम गत आर्थिक बर्ष २०७७–७८ मा बैंक सचालक समिति अध्यक्ष डा.विरेन्द्र प्रसाद महतोले ३ लाख ६० हजार रुपैयाँ, सञ्चालकहरु रोसन के.सी.ले २ लाख ६४ हजार रुपैयाँ, गोपीकृष्ण न्यौपानेले १ लाख ५६ हजार रुपैयाँ, जय मुकुन्द खनालले १ लाख ३२ हजार रुपैयाँ, विश्व प्रकाश गौतमले २ लाख ७६ हजार रुपैयाँ, हरिभक्त सिग्देलले १ लाख ३२ हजार रुपैयाँ, मुकुन्द महतले २ लाख ७६ हजार रुपैयाँ, सिर्जना कार्की भट्टराईले ९६ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन्

सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई दियो २ करोड २९ लाख रुपैयाँ वार्षिक तलब भत्ता

सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २९ लाख ५५ हजार रुपैयाँ तलब भत्ता तथा नाफाबाट बोनस दिएको छ। अहिले बैंकको प्रमुख कार्यकारीमा सुमन शर्मा छन्।

शर्मा गत माघ महिनामा प्रमुख कार्यकारी अधिकृत भएका हुन्। यो तलब गत आर्थिक वर्षको भएकाले पुरै उनले मात्र बुझेका भने होइनन्। माघसम्म जनक शर्मा पौडेल प्रमुख कार्यकारी अधिकृत थिए।

अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत भुक्तानी गरेको थियो।

बैंकले पुस १५ गते साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, बैंकले उच्च व्यवस्थापन तहका कर्मचारीलाई ४ करोड ३५ लाख ७५ हजार रुपैयाँ तलबभत्ताका साथै बोनस दिएको छ। बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारीसहित ९ जना छन्। यो सुविधा सीइओबाहेकका ८ जनालाई दिइएको हो।

बैंकले गत आर्थिक वर्ष एक अर्ब ५१ करोड ८१ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ। कार्यालय सञ्चालन खर्च एक अर्ब ५ करोड रुपैयाँ गरेको छ।

सभाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ०.३५ प्रतिशत बोनस सेयर र ६.६५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। चुक्ता पुँजी अब १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्ने छ।

रिलायन्स लाइफको ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित

रिलायन्स लाईफ इन्स्योरेन्सले पुस ११ गते आइतवार प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले काठमाडौंमा आइतवार चौथो वार्षिक साधारण सभा सम्पन्न गरी अघिल्लो आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण सहित लाभांश पारित गरेको हो ।

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । सोही पूँजीको आधारमा कर समेत नगद लाभांश वितरणको तयारी कम्पनीले गरेको हो । आइतवार पारित लाभांश जतिसक्दो छिटो सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै पठाउँने जानकारी दिदैं कम्पनीले बैंक खाता अद्यावधिक गराउन बाँकी सदस्यहरुलाई यथासिघ्र गराउन समेत आग्रह गरेको छ ।

सभाले सर्वसाधारण समूहबाट डा. बद्री प्रसाद पोखरेल र परिच्छिद खेमकालाई सञ्चालकमा निर्वाचित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

राजेश्वर ज्ञवाली सामान्य तानिएपछि काठमाडौं महानगरको सिइओमा आए लोकनाथ पौड्याल

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सिइओ) लोकनाथ पौड्यालले जिम्मेवारी सम्हालेका छन्। महानगरका तत्कालीन सिइओ राजेश्वर ज्ञवाली तानिएपछि पौडेललाई त्यहाँ ल्याइएको हो।

महानगरपालिकाको टेकु कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि ज्ञवाली सामान्य प्रशासन मन्त्रालय तानिएको थियो।

भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्यांकन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको छ।

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताए। उनले पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्ने दाबी गरे।

२०५३ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिवमा बढुवा भएका थिए। पौड्यालसँग स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरेको अनुभव छ।

एनएमबि बैंकका प्रमुख कार्यकारीको तलब भत्ता एक करोड ७४ लाख

एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई गत आर्थिक बर्ष तलब सुविधा बापत एक करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

उनले पाएको यो तलब सुविधामा नाफाबाट पाइने बोनस जोडिएको छैन। अघिल्लो आर्थिक वर्ष एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत पाएका थिए। त्यसअघिको बर्ष एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

बैंक पुस २२ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, केसीले तलबबापत ६९ लाख ३६ हजार रुपैयाँ, सञ्चय कोष बापत ६ लाख ९३ हजार, भत्ता ६६ लाख ९४ हजार, बोनस तथा बेल्फेयर २९ लाख ८५ हजार, अन्य एक लाख रुपैयाँ बुझेका छन्।

सभामा बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको ३.३ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर दिने एजेण्डा लैजाँदैछ।

सिटिजन्स बैंकका ग्राहकले सिराइचुली होटलमा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणगढ चितवनस्थित सिराइचुली होटल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सिराइचुली होटलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकले पायो ‘कामना सेवा फुटसल कप २०२१’को उपाधी

“स्वस्थ शरीर स्वस्थ मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त गरेको छ । शनिबार हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।

फाइनल खेल निर्धारित समयमा दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बनेको हो ।

प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरीए भने सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजेतालाई प्रमुख अतिथी, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल लगायतले मेडल, ट्रफी सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उक्त फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका थिए ।

वेष्ट फाईनान्सका निक्षेपकर्ता सिंहले पाए एक तोला सुन

बिद्युतीय भुक्तानी प्रणाली फोन पेले आफ्नो प्रयोगकर्ता ग्राहकहरुको लागि ‘क्यूआरको गुण, एक तोला सुन’ कार्यक्रम अन्तर्गत १ तोला सुन वेष्ट फाईनान्स निक्षेपकर्ता संजयकुमार सिंहलाई हस्तान्तरण गरिएको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले व्यवस्थापनको उच्च तहका पदाधिकारीको उपस्थितिमा १ तोला सुन उपहार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उपहार प्राप्त गर्न सफल सिंहले आफुले वेष्ट फाईनान्स कम्पनीमा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधा अन्तर्गत क्यूआर प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा हर्षित हुँदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने बताए ।

फाइनान्सले १४ वटा शाखा कार्यालय मार्फत विभिन्न डिजिटल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ ।
अमलाचौर निवासी ढकालले उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब रु ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पु¥याउनुभएको छ । ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ ।

विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सांसद डा सूर्य पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं बानपा वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठक, विद्यालयका प्रधानाध्यापक वुद्धि चापागाईंले विद्यालयको उन्नयनमा उल्लेखनीय योगदान गरेकामा वरिष्ठ उपाध्यक्ष ढकाललाई सो सम्मान प्रदान गर्नुभएका हो ।

सोही अवसरमा उक्त विद्यालयका संस्थापक ९५ वर्षीय मणिरत्न पौडेल र सञ्चालन समितिका पूर्वअध्यक्षहरु कोपिलामणि शर्मा, भविश्वर शर्मा, भोजराज शर्मा र भविदत्त पन्तलाई पनि सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा सांसद डा पाठकले राज्यको लगानी अनुसारको शैक्षिक वातावरण सामुदायिक विद्यालयमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सो विद्यालयको विद्यार्थी हुन पाएकामा सदैव गौरव महसुस गर्ने गरेको बताउनुभयो ।

सो विद्यालयका दाता तथा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले उक्त विद्यालयाको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तो सुकै सहयोग उपलब्ध गराउने बताउँदै समयानुकल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो । वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले आफ्ना घरदैलोमा रहेको सामुदायिक विद्यालय सुधार गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ भन्दै विद्यालयको भौतिक संरचना बलियो भएकाले अब शैक्षिक गुणस्तर सुधारको अभियान सुरु गर्ने बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सो अवसरमा बलेवाको पञ्चेवाजा, भजन र नृत्य कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा ३५० विद्यार्थी रहेका छन् ।

निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरु सञ्चालन गरौँ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताउनुभएको छ ।
शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताउनुभयो ।
“यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरु धेरै बन्द अवस्थामा छन् । निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
ढकालले सरकारी ढुकुटीमा खरबौ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताउनुभएको छ ।
“अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व संकलन भइसकेको छ । यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजश्व संकलन हुनेछ । तर राजश्व संकलन केन्द्रिकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,” उहाँले भन्नुभयो ।
गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउँदै उहाँले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताउनुभयो ।
ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको राजश्वमा ठूलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममा समेत नसमेटिएकोमा गुनासो गर्नुभयो ।
“मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढि योगदान निजी क्षेत्रको रहेको छ । सरकारी राजश्व संकलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ । त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।
बजार अनुगमनका नाममा व्यवसायीहरुले दुख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्ने उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा लगानीका सम्भावनाहरु भएमा महासंघको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताउनुभयो ।
“तपाई हामीबीच व्यवसायिक सम्बन्ध भयो भने हामी पोष्टमा हुँदा र नहुँदा पनि सम्बन्ध रहने हुन्छ । यहाँका स्थानीय सम्भावनाहरु के के छन् । उत्पादनमुलक उद्योग, पर्यटन वा अन्य कुनै पनि व्यवसायमा जोडिन सकियो भने यो सम्बन्ध रहिरहन्छ,” उहाँले भन्नुभयो ।

कर्मचारी सञ्चय कोषद्वारा ६० करोड र ४ अर्ब हिमालयन बैंकलाई घाटा हुने भन्दै मर्जर नगर्ने प्रतिवेदन पेशः सञ्चालक थापाद्वारा प्रधानमन्त्रीलाई दबाब दिएर मर्जर गराउने धम्की !

बहुचर्चित हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको बीच मर्जर तुहिने खतरा बढेको मात्रै छैन मर्जर नहुने प्रायः निश्चित जस्तै देखिएको छ भन्दा अब चाहि फरक पर्दैन । लाखौ सञ्चयकर्ताहरुलाई घाटा हुने भन्दै कर्मचारी सञ्चय कोषद्वारा गठित छानवीन समितिले प्रतिवेदन दिएपछि सो प्रतिवेदनका आधारमा कोषले अर्थमन्त्रालय, राष्ट्र बैंक र हिमालयन बैंकलाई पत्र लेख्दै आफूहरु मर्जरमा जान नसक्ने तर्क पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हिमालयन बैंकसंग नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर भए एफपिओमा नेपाल इन्भेष्टमेण्ट बैंकको कर छली गरेको करिब ८ अर्ब भोलि मर्जर पछि तिर्नुपरे हिमालयन बैंकले ४ अर्ब र नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्ब तिर्नु पर्ने सो प्रतिवेदनमै उल्लेख छ ।

कर्मचारी सञ्चय कोषले स्वाप रेसियो १००=१०० को नहुने भन्दै यसमा विचार गर्नुपर्ने बताउदै आएपनि शुक्रबार बसेको हिमालयन बैंक सञ्चालक समितिले पुन विचार गर्न नसकिने भन्दै विषेश साधारण सभा बोलाउने निर्णय गरेको छ भन्दा फरक पर्दैन । बैंकको सञ्चालक समितिको बैठकमा कांग्रेसी नेता एवं सञ्चालक सुनिल बहादुर थापाले सञ्चय कोष नमाने प्रधानमन्त्री शेर बहादुर देउवालाई राजनीतिक दबाब दिएर भए पनि मर्जर गराउने धम्की दिएको एक सञ्चालकले पंक्तिकारसंग बताए ।

हिमालयन बैंकले बोलाएको साधारण सभामा कर्मचारी सञ्चय कोषको समर्थन नभए मर्जर फेल हुने देखिन्छ । त्यसै माथी आक्रोष पोख्दै सञ्चालक थापाले कांग्रेस सभापति एवं प्रधानमन्त्री गुहार्ने धम्की दिनु बैंक र वित्तिय क्षेत्रमा राजनैतिक हस्तक्षेप बढ्नु हो भन्दा अब चाहि फरक पर्दैन हेक्का होस् ।

हिमालयन बैंकमा श्रेष्ठ परिवारको २२ प्रतिशत प्रमोटर शेयर छ भने राणा परिवारको मात्रै १२ प्रतिशत छ । कर्मचारी सञ्चय कोषको १४ प्रतिशत, पाकिस्तानी समूहको २० प्रतिशत खेतान समूहको १२ प्रतिशत र जनताको १४ प्रतिशत शेयर हिमालयन बैंकमा रहेको भेटिएको छ ।
माथीका शेयर हेर्दा श्रेष्ठ परिवार र कर्मचारी सञ्चय कोषले मर्जरमा सहमती नजनाए विशेष साधारण सभाले हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर पास नहुने प्रायः निश्चित देखिन्छ ।

हिमालयन बैंकको विशेष साधारण सभाले करिब ७५ प्रतिशत बढि बहुमतले मर्जर पास गर्नुपर्ने छ भन्दा अब फरक पर्दैन । हेक्का होस् । मर्जर नेपाल इन्भेष्टमेण्ट बैंकको कर छली र विवाद र मुद्दा परेको सम्पत्ती डिडिए गरिएकै कारण विवादमा फसेको देखिन्छ । तर, राष्ट्र बैंक बैंक जबरजस्ती मर्जर गर भनिरहेको देखिन्छ यो कस्तो नियमनकारी निकाय हो ? सचेत भया ।

५ अर्ब ६२ करोड कर छलेका बैंक तथा वित्तिय संस्थालाई जोगाउने चलखेल

नेपालको कानून दैवले जानुन भन्ने बुढापाखाहरुले पूरानो उखान पछिल्लो समय नेपाली बैंक र वित्तिय संस्थाहरुमा लागु हुँदै गएको छ भन्दा अब फरक पर्दैन । जनताको डिपोजिट लिएर नाफा कमाएर घरको चुलो बाल्ने बैंक सञ्चालक देखि सीइओ सम्मले राज्यलाई तिर्नु पर्ने कर नै छली गरेका छन् भन्दा अब फरक पर्दैन ।

कानून भन्दा माथी आफू बस्ने परम्परा बैंक तथा वित्तिय संस्थामा शुरु भएको देखिन्छ । बैंक र वित्तिय संस्थाहरुले नाफा गरेर बाँडेका लाभाशं शेयरहरु र एफपिओमा लाग्ने कर नै राज्यलाई छली गर्दै बाँडेर खाएको छन् भन्दा अब चाहि फरक नपर्ला गर्भनर साब ।
नेपालको एउटा यस्तो संस्था छ त्यो हो महालेखा परिक्षकको कार्यालय जसले आफ्नो प्रतिवेदनमा नै नेपालको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड लगायत १ दर्जन बैंक र शिखर इन्स्योरेन्स लगायत १ दर्जन बीमा कम्पनी र केही फाइनान्स कम्पनीहरुले लाभाशं बोनस शेयर र एफपिओमा ५ अर्ब ६२ करोड कर छली गरेको भेटिएको छ । तर, निकम्मा ठूला करदाता कार्यालय आन्तरिक राजश्व कार्यालय, आन्तरिक राजश्व कार्यालय र यि संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बीमा समितिले कर उठाउन पहल गर्नु भन्दा कर नलाग्ने भन्दै हिड्नु यो देशको विडम्बना हो भन्दा फरक पर्दैन ।

जनताको करबाट तलब खाने गर्मनर देखि बीमा समितिका अध्यक्ष सिलवालहरुले कर उठाउन निर्देशन दिनु पर्दछ कि पर्दैन ।
नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको बीग मर्जर भाडिने डरले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीे त मर्जर गर्दा सबै कुरा छुट पाइने भन्दै बताउदै हिँडेको भेटिएको छ । सबै कुरा छुट दिने अधिकार गर्भनरलाई कसले दियो कुन कानूनमा कर छुट दिने अधिकार गर्भनर अधिकारीलाई दिएको छ त्यसको खोजी हाम्रो टिमले शुरु गरेको छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने राज्यले कर उठाउने जिम्मा दिएका आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल नै कर उठाउन पत्र दिने महालेखा परिक्षकको कार्यालयलाई चिन्दिन भन्दै हिँडेको भेटिएको छ । यो कस्तो पराकाष्ट हो करबाटै तलब भत्ता लिएर घरको चुलो बाल्ने यी प्रवित्ति र पात्रहरुलाई कर उठाउदिन भन्ने अधिकार नेपालको कानूनले दिएको छैन हेक्का होस् । देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभाग जिउँदै छ । दिन सबैको सधैं बलियो हुँदैन । त्यसकारण सत्ता र शक्तिको उत्मात बन्द हुनुपर्दछ ।

भनिन्छ पद गुण हो आउछ जान्छ तर काम हेर्ने हो जनताले त्यसकारण पदको फूर्ति नलगाए हुन्छ । कर उठाउने दायित्व बीमा समिति नेपाल राष्ट्र बैंक, अन्तरिक राजश्व विभाग लगायत सबैको हो हेक्का होस् । महालेखा परिक्षकको कार्यालयले कर तिर्नु नपर्ने भए किन प्रतिवेदन नै बनाएर सार्वजनिक ग¥यो । त्यसकारण नियमनकारी निकायहरु बीमा समिति र नेपाल राष्ट्र बैंकले आफ्ना निकायका संस्थाहरुले कर तिर्न निर्देशन दिनु पर्दछ कि पर्दैन । मर्जर गरे सबै छुट हुन्छ । भनेर उचाल्नुको अर्थ के हो प्रधानमन्त्रीज्यू ?