नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
अर्थात् शेयरधनीलाई प्रतिकित्ता शेयर बराबर १२.५० रुपैयाँ वितरण गरिनेछ र यसमा लाग्ने कर शेयरधनीले नै तिर्नु पर्नेछ। यो प्रस्ताव बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने बैंकले जानकारी दिएको छ।
प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यले पाए नियुक्ति पत्र
प्रेस काउन्सिउलका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यले नियुक्ति पत्र बुझेका छन् । आइतबार सञ्चारमन्त्री जगदीश खरेलले नवनियुक्त अध्यक्ष आचार्यलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
प्रेस काउन्सिलका अध्यक्ष बनेका डा. आर्चायले यसअघि मेलमिलाप परिषद्मा करिव ३ वर्ष सदस्यको रुपमा काम गरेका थिए । २०४० सालदेखि कानुनी क्षेत्रमा प्रवेश गर्दै अधिवक्ता बनेका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बन्दै न्याय दिदै आएका छन् ।
नेपाल बारको उपाध्यक्ष बनेर काम गरेको अनुभव पनि डा. आचार्यसँग रहेको छ । लुम्बिनी प्रदेशको कानुन आयोगमा समेत उनले लामो समय भुमिका निर्वाह गरेका थिए ।
ऋण मिलाइदिन्छु भनेर घुस लिनेलाई कारवाही हुन्छ’- गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ‘ऋण मिलाइदिन्छु’ भन्दै घुस लिनेलाई कारवाही गरिने बताएका छन् । काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
उनले धितो राखेर ऋणीहरुले ऋण लिने र सो धितो लिलाम गर्दा कम मूल्यांकन गरेर बेच्नुलाई राष्ट्र बैंकले करप्सनका रुपमा लिएको बताएका छन् ।
यसरी धितो लिने बेलामा भन्दा कम मूल्यांकनमा लिलाम गर्ने प्रवृत्ति हटाउनेसमेत गभर्नर पौडेलले बताएका छन् । त्यस्तै, उनले ‘ऋण मिलाइदिन्छु’ भन्दै घुस लिने गतिविधि पनि रोक्न राष्ट्र बैंक लागि परेको बताएका छन् ।
सरकारी बैंकबाट ऋण मिलाइदिने भन्दै बार्गेनिङ हुँदा सरकारी निकायहरुले रोक्न सक्ने भए पनि निजी बैंकहरुमा हुने त्यस्ता गतिविधिहरु रोक्न चुनौति रहेको गभर्नर पौडेलको भनाई छ । उनले यस्ता गतिविधिलाई राष्ट्र बैंकले गम्भीर रुपमा लिएको र यसरी घुस लिनेलाई कारवाही गर्ने पनि बताएका छन् ।
निजी क्षेत्रमाथिको आक्रमण कुनैपनि हालतमा ठिक होइन’
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण ठिक नभएको बताएका छन् । आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रले तयार गरेका संरचना र सम्पत्ति नेपाली जनताको पनि भएको भन्दै निजी क्षेत्रमाथि नै आक्रमण गर्नू ठिक नभएको बताएका छन् । बरु निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्ने अर्थमन्त्री खनालले बताएका छन् ।
‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन ।’, उनले भने, ‘निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’
त्यस्तै, फरक प्रसंगमा बोल्दै अर्थमन्त्री खनालले हाल मुलुक निर्वाचनको माहोलमा रहेको भन्दै निर्वाचन अपरिहार्य रहेको पनि बताएका छन् । उनले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजानु भएको पनि टिप्पणी गरेका छन् ।
पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोपपत्रमा के छ ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विमानस्थल निर्माण आयोजना निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले आइतबार ५ जना तत्कालीन मन्त्रीसहित ५५ जना र निर्माण सम्झौता गर्ने चीनको चाइना सीएएमसी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरु तथा नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी लगाएतलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
उनीहरूविरुद्ध जनही ८ अर्व २६ करोड ७३ लाख ५५ हजार ९ सय ९७ रुपैया ५० पैसा बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर भन्दा अस्वभाविक रुपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर बढाई, संशोधन गरि गराई २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर लागत अनुमान कायम गरि अस्वभाविक मूल्य तिरेर खरिद कार्यको सम्झौता गरि अनियमितता गरेको अख्तियारको आरोप दावी रहेको सूचना अधिकारी रेग्मीले बताए ।
मुद्दा दायर गरिएको मध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ । यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।
पोखरा विमानस्थल भ्रष्टाचार: चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा !
पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ कम्पनी ‘चाइना सीएएमसी’ कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
चिनियाँ ऋणमा विमानस्थल बनाउनुपर्ने भएकाले निर्माणको ठेक्कामा चिनियाँ कम्पनीले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था थियो । सोही व्यवस्था अनुसार ठेक्काका लागि आवेदन दिएका नौ कम्पनीमध्ये पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीलाई दिइएको थियो ।
सन् २०१४ मा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको सम्झौता गरेको थियो ।
विमानस्थल निर्माणका क्रममा विमानस्थलमा ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर भर्नुपर्ने थियो । तर, चिनियाँ कम्पनी सीएएमसीले निर्माणस्थलकै माटो र ग्राभेल प्रयोग गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार सीएएमसीले उक्त कार्यका लागि मात्र ८० लाख अमेरिकी डलर छुट्याएको थियो । तर, त्यहीँको माटो र ग्राभेल प्रयोग गरेर कम्पनीले ठूलो रकम जोगाएको दाबी अख्तियारको छ ।
हाल अख्तियारले विमानस्थलमा भएको भ्रष्टाचारमा चिनियाँ कम्पनीको पनि संलग्नता रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । उक्त मुद्दामा अख्तियारले पूर्वमन्त्रीसहित ५५ जनालाई विपक्षी बनाउने तयारी गरेको छ ।
निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैन : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनै पनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताए।
उनले कुनै पनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको जिकिर गरे । उनले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न नसक्ने जिकिर गरे ।
सर्बोच्च अदालतद्धारा गैरबैंकिङ सम्पत्तिको विषयमा अन्तरिम आदेश जारी
सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीमा आफ्ना नाममा दर्ता गरेको गैरबैंकिङ सम्पत्ति (एनबीएस) तीन वर्षभित्र नबिकेमा सरकारको अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो आदेश बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले दायर गरेको रिट निवेदनमा सुनुवाईपछि आएको हो। अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ कि, तीन वर्षभित्र नबिकेको सम्पत्ति बेच्न नदिँदा बैंकहरूको लगानी जोखिममा पर्ने र अपूरणीय क्षति पुर्याउने सम्भावना रहेको छ।
यसअघि, लगानी सहजीकरण सम्बन्धी ऐन, २०८१ ले भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ मा दफा १२ ‘च’ थपेको थियो। यसअनुसार, बैंक वा वित्तीय संस्थाले कर्जा सुरक्षणको लागि लिएको जग्गा लिलाम नगरी आफैं स्वीकार गरेमा त्यसको बिक्री तीन वर्षभित्र गर्नु पर्ने व्यवस्था थियो। यदि तीन वर्षभित्र बिक्री नगरेको खण्डमा सरकारले अनुमति दिनुपर्ने प्रावधान थियो। तर, बैंकहरूले यसलाई संविधानको धारा १७(२)(च) र धारा २५ सँग बाझिएको भन्दै सिबिफिनले प्रारम्भदेखि नै बदरको माग गर्दै रिट दायर गरेको थियो।
सर्वोच्चको यस अन्तरिम आदेशले बैंकहरूलाई नाममा थुप्रिदै गएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा केही राहत दिन सक्ने देखिएको छ। यसले बैंकहरूको कर्जा असुली प्रक्रियामा सहजता ल्याउने र उनीहरूको लगानी सुरक्षित राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। आदेश अन्तिम सुनुवाईसम्म लागू हुनेछ र त्यसपछि मात्र दफा १२ ‘च’ को कार्यान्वयनको अन्तिम निर्णय हुनेछ।
ब्यालेन्स सिटभन्दा क्षमता हेरेर ऋण दिने बैंकर नारायणदास मानन्धरको निधन
पूर्व बैंकर नारायणदास मानन्धरको निधन भएको छ। प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको शोभाभगवतीमा दाहसंस्कार गरिएको छ।
मानन्धर प्राइम कमर्सियल बैंकबाट अवकाश भएका थिए। उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको पारमर्शदाताका रुपमा पनि काम गरेका थिए। उनी राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी निर्देशक भएका थिए। तत्कालीन नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए।
उनी तत्कालीन लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए। तत्कालीन समयमा लुम्बिनी बैंक समस्यामा परेपछि उनलाई राष्ट्र बैंकको रोजाइमा प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो। पाका बैंकर मानन्धरकै पहलमा प्राइम कमर्सियल बैंक खुलेको थियो। उनी प्राविधिकभन्दा पनि व्यवहारिक बैंकरका रुपमा परिचित थिए।
उनी कुनै व्यवसाय चल्छ भन्ने लाग्यो भने प्राविधिक पाटो झिकेर त्यसलाई निरुत्साहित गर्ने भन्दा पनि क्षमता हेरेर ऋण लिने खालका बैंकरका रुपमा चिनिन्थे। उनले परम्परागत रुपमा नगद तथा ऋणको कारोबार गर्ने स्थानीय नेवार समुदायदेखि न्यूरोड वरपरका जनतालाई बैंकमा आबद्ध हुन प्रोत्साहित गरेका थिए।
वित्तीय क्षेत्रका हरेक प्रमुख कार्यकारीको टेबलमा आफ्नो छुट्टै कम्प्युटर वा ल्यापटप हुँदा उनले क्यालकुलेटरका भरमा बैंक चलाएका थिए। उनलाई नजिकबाट चिन्नेहरू मुखमै हिसाबकिताब कन्ठ भएको बैंकरका रुपमा सम्झिन्छन्।
सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पौडेललाई निरन्तरता
सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल दोहोरिएका छन्। इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा उनलाई निरन्तरता दिने निर्णय गरेको हो।
पौडेलको अर्को कार्यकाल पुस ३० गतेदेखि लागू हुनेछ। सञ्चालक समितिले पौडेललाई ४ वर्षे कार्यकालका लागि पुन:नियुक्त गरेको हो।
पौडेलसँग तीन दशकको व्यावसायिक अनुभव छ। सिटिजन लाइफमा आउनुअघि उनी मेटलाइफ इन्स्योरेन्समा चीफ फाइनान्सियल अफिसर थिए।
डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक
डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेकाे छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ । यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा र इलेक्ट्रोनिक सामानसहित २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । त्यस्तै, डिशहोम गो ओटीटी प्लेटफर्ममार्फत नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शक एकैसाथ आकर्षित गर्न सफल भएको कम्पनीले जनाएको छ ।
स्थानीय सन्दर्भलाई ध्यानमा राखेर विकसित गरिएको ‘खुशी’ नेपाली भाषामा प्राकृतिक, मानव–जस्तै आवाजमा संवाद गर्न सक्षम छ । यसले सेवा निष्क्रिय भएका ग्राहकसँग निरन्तर सम्पर्क राखेर पुनःनवीकरणमा प्रेरित गर्ने, प्रतिक्रिया तथा गुनासो सङ्कलन गरी सेवा केन्द्रसम्म पुर्याउने र कुराकानीकै आधारमा भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्छ । नेटवर्क अवरोध वा अन्य प्राविधिक समस्या देखिएमा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकलाई कलको क्रममा अवरोधको कारण, अनुमानित समाधान समय तथा प्रगतिबारे तुरुन्त जानकारी दिन पनि सक्षम बनाइने कम्पनीको दाबी छ।
आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान प्रमाणीकरण, विवरण अभिलेख अद्यावधिक र सेवा तथा प्राविधिक मर्मतको समय व्यवस्थापनमा प्रयोग गर्ने तयारी गरेको छ । फेसबुक मेसेन्जर र वेबच्याटमा प्रयोग भैरहेका सामान्य च्याटबोटमा ‘खुशी’ एकीकृत गर्ने कार्य जारी रहेको र छिट्टै यो सेवा व्हाट्सएप तथा भाइबरमा पनि विस्तार गरिने जनाएको छ । कम्पनीका अनुसार नेपाली भाषामा आधारित संवाद प्रणालीलाई अझ सक्षम बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी दीर्घकालीन परियोजना अघि बढाउने तयारीसमेत भइरहेको छ ।
कम्पनीका प्रवक्ताका अनुसार ‘खुशी’ को सार्वजनिकतासँगै डिशहोम अधिक डिजिटल, छरितो र मानवीय–शैलीअनुकूल ग्राहक सेवा प्रविधितर्फ अघि बढेको छ, जुन नेपालमा भोइस एआईको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड बन्ने अपेक्षा गरिएको छ ।
एमाले केन्द्रीय सदस्यमा दुई पत्रकारको उम्मेदवारी घोषणा
मंसिर २७-२९ मा सम्पन्न हुने एमालेको ११ औँ महाधिवेशनमा दुई पत्रकार नेताले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत र पूर्वअध्यक्ष राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल प्रेससँग कुरा गर्दै निवर्तमान अध्यक्ष बस्नेतले आफूहरू केन्द्रीय सदस्यको उम्मेदवारी दिने गरी तयारीमा रहेको बताए । पूर्वअध्यक्ष अर्यालले समकालीन पार्टी सहयोद्धा पार्टी नेतृत्वको उपल्लो तहमा पुगिसकेको अवस्थामा आफ्नो दावेदारी स्वाभाविक रहेको बताए ।
बस्नेत र अर्याल दुवै अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । दुवैले खुला क्लष्टरबाट उम्मेदवारी दिने तयारी गरेका छन् । अर्यालले चौतारी अध्यक्षको अलावा एमालेको गुल्मी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनले केही समय पार्टीको उपत्यका कमिटीमा सचिवालयमा रहेर काम गरेका थिए ।
२०४७ सालमा एमालेको संगठित सदस्यता पाएका उनी २०७९ को निर्वाचनमा गुल्मीबाट गोकर्ण विष्टसँगै प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका थिए। बस्नेत २०५२ सालका संगठित सदस्य हुन् । पार्टी काममा दोलखा-काठमाडौं सम्पर्क मञ्च हुँदै अगाडि बढेका हुन् । दुवैले ५० को दशकको शुरूवातदेखि छलफल साप्ताहिकबाट पत्रकारिता शुरू गरेका हुन् । अर्याल र बस्नेतले पार्टी प्रचार कामअन्तर्गत विभिन्न महाधिवेशनको प्रचार समितिको जिम्मेवारी सम्हाल्दै आएका छन् । अर्याल १० औँ महाधिवेशनमै केन्द्रीय सदस्यका उम्मेदवार थिए । सर्वसम्मतका नाममा पछाडि हटेका थिए । बस्नेत प्रेस चौतारीको २ कार्यकाल गरी ९ वर्ष अध्यक्ष भएका थिए ।












