जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बूढानीलकण्ठमा रहेको लेमन ट्रि होटलले ९ महिनामा गर्‍यो १६ करोडको व्यापार

बूढानीलकण्ठ हेरिटेजद्वारा सञ्चालित पाँचतारे होटलले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ करोड रुपैयाँको व्यापार गरेको छ । लेमन ट्रि प्रिमियर ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्दै आएको कम्पनीले सन् २०२४ को सेप्टेम्बरबाट मात्र पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याएको थियो । आंसिक रुपमा भने सन् २०२४ को मार्चबाट होटल सञ्चालनमा आएको थियो ।

सन् २०१८ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले ९९ वटा कोठाको सुविधासहित पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । होटल २ अर्ब ३९ करोड ६० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । होटलको प्रतिकोठा निर्माण गर्न २ करोड ४२ लाख रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ ।

गत आवको ९ महिनाको अवधिमा १६ करोड रुपैयाँको कारोबार गर्दा नाफा भने कमाउन सकेको छैन । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ८.९ प्रतिशत घाटा व्यहोरेको रेटिङमा उल्लेख छ । कम्पनीले लेमन ट्रि होटलसँग १५ वर्षका लागि फ्रेन्चाइजको सम्झौता गरेको छ । लेमन ट्रिको भारत, भुटान, नेपाल र दुबईमा गरी एक सयभन्दा बढी प्रोपर्टी सञ्चालित छन् ।

कम्पनीमा बिजनेश इन्ट्रेष्ट ग्रुपको १०.७ प्रतिशत, आद्यान्त फन्ड म्यानेजमेन्टको ९.४७ प्रतिशत, स्काइ टच इन्भेष्टमेन्ट एन्ड कन्सल्टेन्सीको ७.७ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७.१० प्रतिशत, पाठक एन्ड सन इनभेष्टमेन्ट ५.४६ प्रतिशत, जनकप्रसाद भट्टको ३.९३ प्रतिशत, डा. राजेन्द्र केसीको ३.१४ प्रतिशत र अन्यको स्वामित्व छ ।

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले पाएका छन् ।

प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णय अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै महानिर्देशकको पद रिक्त थियो । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाउँदा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित क्यानका ४ कर्मचारी तथा अरु दुई जना र एक कम्पनीविरुद्ध बुधबार मुद्दा दायर गरेको थियो ।

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि विशेष छुट सुविधा उपलब्ध

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ ।

निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नुहुनेछ ।

ग्राहकहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नुहुनेछ । बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि पहिलोपटक भेटे कांग्रेस सभापति देउवालाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुई नेताबीचच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेट भएको ओलीको सचिवालयले जनाएको छ। ओली पत्नी राधिका शाक्यसहित देउवा दम्पतीलाई भेट्न पुगेका थिए।

यसअघि २०८१ असारमा कांग्रेस र एमालेको गठबन्धन बनाउने बेलामा देउवा दम्पत्ति ओली निवास बालकोट पुगेका थिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता भएको हो।

नेपालमा भारतीय रुपैयाँको नयाँ नियम : बोक्न र साट्न पाइने कारोबार गर्न नपाइने !

कुनै समय भारतीय रुपैयाँ नेपालका हरेक भूभागमा प्रसस्तै चलन चल्तीमा थिए । पछिल्लो समय भारतीय रुपैयाँमा नोटबन्दी भएपछि बन्द भयो । सँगै भारतीय रुपैयाँ एकसय भन्दा माथिको नोट बोक्न समेत नपाईने अबस्था आयो । फेरि यसलाई भारतीय सरकारले फुकुवा गरेसँगै नेपालमा भारतीय रुपैयाँँको नोट बोक्न र साट्न पाइने भएको छ । आरबीआइका अनुसार अहिले भारतीय रुपैयाँ एकसय भन्दा माथिको नोट बोक्न र ओसारपसार गर्न सहज बनाइएको हो । तर यसको आकार २५ हजारसम्म मात्रै हुनुपर्ने छ ।

तथापी कारोबार गर्न भने फुकुवा भएको छैन । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया आरबीआईले जारी गरेको सूचना अनुसार अब २५ हजार भारतीय रुपैयाँसम्म भारतीय रुपैयाँ एकसय भन्दा माथिको नोट बोक्न पाइने छ । एक सय रूपैयाँभन्दा ठूला दरका भारतीय नोट साथमा बोक्न पाउने भारतको केन्द्रीय बैंकले राजपत्रमा सूचना प्रकाशन गरेर भनेको छ । जसअनुसार २०० र ५०० दरका नोट पनि बोक्न पाइने छ ।

२०१६ मा भारतमा नोटबन्दी भएपछि १०० भन्दा ठूला दरका भारतीय नोट बोक्नु गैरकानुनी बनाइएको थियो । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया आरबीआईले जारी गरेको सूचना अनुसार अब २५ हजार भारतीय रुपैयाँसम्म भारतीय रुपैयाँ एकसय भन्दा माथिको नोट बोक्न पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले पनि भारतको यो निर्णयसँगै नेपाली नागरिकले भारतीय रुपैयाँ एकसय भन्दा माथिको नोट बोक्न र राख्न पाउने जनाएको छ । जस अनुसार भारतीय रुपैयाँ एकसय भन्दा माथिको नोटहरु बैंक तथा वित्तीय संस्थामा साट्न पाइनेछ भने बजारमा सामान किनबेच गर्न वा चलन चल्तीमा प्रयोग गर्न भने पाइने छैन ।

बैंकहरुको कर्जा लगानी सुस्त

बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमै कर्जा दिन थालेका छन् । बैंकिङ प्रणालीमा तरलता थुप्रिरहने तर कर्जा लगानी नहुने स्थिति देखेपछि बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमै कर्जा प्रवाह गर्न थालेका हुन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा कसले कम ब्याजदरमा कर्जा दिन्छ ? भन्ने प्रतिष्पर्धा नै चलेको छ ।
बैंकहरुको ब्याजदर हालसम्मकै तल्लो बिन्दुमा झर्दा पनि लगानी विस्तार नबढेपछि बैंकहरुले ब्याजदर अझै घटाएर कर्जा प्रवाह गर्ने नीति अघि सारेका छन् । अर्थात, सस्तो दरमा कर्जा दिएरै भए पनि बैंक तथा वित्तीय संस्थाहरु बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्नतर्फ लागेका छन् ।

हाल वाणिज्य बैंकहरुले ४.८१ प्रतिशतदेखि ९ प्रतिशतसम्ममा कर्जा प्रवाह गर्दै आएका छन् । वाणिज्य बैंकहरुले ४.८१ प्रतिशतदेखि ९ प्रतिशतसम्ममा कर्जा उपलब्ध गराएका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो (४.८१ प्रतिशत) ब्याजदरमा ७ वर्षदेखि २० वर्षको अवधिका लागि स्थिर ब्याजदरमा घर कर्जा दिँदै आएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.३५ देखि ८.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.९३ देखि ८.९३ प्रतिशत ब्याजदरमै घर कर्जा प्रवाह गर्दै आएको छ ।

त्यस्तै, एभरेष्ट बैंकले ७.४९ प्रतिशतमा, ग्लोबल आईएमई बैंकले ६.८३ देखि ८.८३ प्रतिशत, कृषि विकास बैंकले ५.४० देखि ८.४० प्रतिशत, नबिल बैंकले ६.४१ देखि ८.१६ प्रतिशत, सानिमा बैंकले ७.११ देखि ९.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७.५१ देखि ९.५१ प्रतिशत, नेपाल बैंकले ६.४१ देखि ७.२२ प्रतिशत, एनएमबी बैंकले ६.२२ देखि ८.२२ प्रतिशत, माच्छापुच्छे् बैंकले ६.२६ देखि ८.२६ प्रतिशत, सिद्धार्थ बैंकले ७.४९ प्रतिशत, हिमालयन बैंकले ६.३९ देखि ८.३९ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत, सिटिजन्स बैंकले ७.९९ प्रतिशत र लक्ष्मी सनराइज् बैंकले ६.३८ देखि ८.३८ प्रतिशतको दरमा घर कर्जा प्रवाह गर्दै आएका छन् ।

यता प्राइम कमर्सियल बैंकको ब्याजदर भने सबैभन्दा धेरै छ । प्राइम कमर्सियल बैंकले ९ देखि ११ प्रतिशतसम्ममा घर कर्जा प्रवाह गर्दै आएको छ ।

उच्चपदस्थको नाममा आएको धम्कीपत्रले प्रहरीलाई टाउको दुखाइ

केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भयो । निकै शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ । धम्कीसहितको पत्र आएपछि अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ । उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरूलाई सतर्क रहन भन्दै निर्देशन दिएको छ ।

प्रहरी अधिकृतका अनुसार ती व्यक्तिले आफ्नो आवाज समेत परिवर्तन गरेर भिडियो बनाएको पाइएको छ । लोकेसन पनि फरक ठाउँको राखेर आतंक सिर्जना गर्ने प्रयास गरिएको देखिएको ती प्रहरीले बताए । ‘आतंक सिर्जना गर्न खोजेको जस्तो देखिन्छ । यसको कुनै ठूलो समूह पनि देखिँदैन । के उद्देश्य हो भन्ने पनि देखिँदैन,’ ती प्रहरी अधिकारीले भने । ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (इएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर प्रकाश पाठकको नाम उल्लेख छ ।

जहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, पूर्वपरराष्ट्र मन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको छ ।

यतिमात्रै होइन यो पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै प्रकाश पाठक नाम बताउनेले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की दिएका छन् । बहालवाला अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की आएपछि यसबारे अख्तियारले प्रहरीसँग समेत छलफल गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा गत सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतलाई बोलाएर घटनाबारे जानकारी गराइएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा यसरी धम्की दिने व्यक्ति भने नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । विदेशमा रहेर आतंक फैलाउने उद्देश्यले यस्तो धम्की दिएको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

यसरी धम्की दिने व्यक्तिको पृष्ठभूमि पनि आपराधिक देखिएको प्रहरी स्रोत बताउँछ । आफूलाई प्रकाश पाठक बनाउने ती व्यक्तिविरुद्ध यसअघि प्रहरीले विभिन्न कसुरमा मुद्दा चलाएको एक अनुसन्धान अधिकृतले बताए । अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै यसबारे प्रहरी अधिकारीहरूले केही बोलेका छैनन् । भिडियोमा ती व्यक्तिले भने आफू भारतमा रहेको दाबी गरेका छन् । एक घण्टामै तीन/चार ठाउँ सरेर आफू बस्ने गरेकाले प्रहरीले नभेट्ने दाबी गर्दै सुरक्षा संयन्त्रलाई खुल्ला चुनौती दिएका छन् ।

कामना सेवा विकास बैंकको बी प्लस मूल्यांकन पुनः पुष्टि

कामना सेवा विकास बैंक लिमिटेडको मूल्यांकन पुनः पुष्टि गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको मूल्यांकन ‘बी प्लस’ कायम राखेको छ। यस मूल्यांकन अनुसार बैंकले वित्तीय दायित्व समयमै पुरा गर्ने क्रममा मध्यम जोखिम बोकेको ठहर गरिएको छ।

बैंकका लागि जारी गरिएको साधक मूल्यांकनले वित्तीय दायित्व समयमै व्यवस्थापन गर्न बैंक सक्षम रहेको संकेत गरेको छ। बैंकले विगतमा आफ्नो संचालनमा स्थिरता देखाउँदै आएको र निक्षेप र कर्जा व्यवस्थापनमा क्रमिक सुधार ल्याएको उल्लेख गरिएको छ। यस मूल्यांकनले बैंकको बजारमा विश्वसनीयता र वित्तीय स्थिरतालाई थप बल दिने अपेक्षा गरिएको छ।

बैंकका ग्राहक र लगानीकर्ताले पनि यस मूल्यांकनबाट वित्तीय जोखिमको स्तर बुझ्न सक्ने र भविष्यका योजनाहरू व्यवस्थित गर्न सहयोग पुग्ने भनाइ छ।

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

सिलवालले जन्ममिति परिवर्तन गरी पद बहाल रहन मन्त्रीपरिषद् तथा सम्बन्धित निकायमा ‘झुट्टा विवरण’ पेस गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका अनुसार सिलवालले आफ्नो वास्तविक जन्ममिति २०१५।०४।१५ रहे पनि २०१६।०७।२२ भएको नागरिकता पेस गरी बीमा प्राधिकरणको अध्यक्षमा निरन्तर बसाइ कायम गरेका थिए। साथै, राहदानी विभागमा समेत तीन वर्ष उमेर घटाई कूटनीतिक तथा विशेष राहदानी हासिल गरिएको, त्यसबाट लाभ–सुविधा लिएको जिकिर गरिएको छ।

अख्तियारले दायर गरेको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐनका दफा १५ र १६ (१) अनुसार सजाय माग गरिएको थियो। त्यससँगै २०८० साउन १५ देखि हालसम्म लिएको ३६ लाख ६२ हजार १५४ रुपैयाँ १६ पैसा बराबरको लाभ–सुविधा असुल–जफत गर्नुपर्ने मागसमेत गरिएको थियो। यद्यपि विशेष अदालतले २०८१ पुस २ गते सुनाएको फैसलामा सिलवाललाई सफाइ दिएको थियो।

उक्त फैसलाले चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको अख्तियार प्रवक्ता पौडेलले बताए।

व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग गरिए कानूनी कार्बही हुने

नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर कोडमार्फत भुक्तानी भएमा काबार्हली हुने बताएको छ । यस्तो प्रवृत्ति गैरकानुनी भएको भन्दै सूचना जारी गर्दै केन्द्रीय बैंकले व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग गर्नु गैरकानूनी कार्य भएको बताएको हो ।

व्यबसायीक प्रयोगमा व्यक्तिगत क्यूआर प्रयोगले कर छल्ने पद्धतिको विकास हुने भन्दै त्यसो नगर्न केन्दूीय बैंकले खबरदारी गरेको छ । रष्ट्र बैंकले व्यावसायिक क्यूआर कोड प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने उल्लेख गर्दै यसले कर प्रणालीमा पारदर्शिता कायम गर्दे उल्लेख गरेको छ ।

अब १०० माथिका भारु नोट नेपालमा चलाउन मिल्ने, २५ हजार भारुसम्म सटही हुने

भारतले नेपालमा १०० भारुभन्दा माथिका नोटमा लगाएको प्रतिब्ध हटाएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले राजपत्रमा नेपालमा प्रयोगका लागि लगाइएको प्रतिबन्ध हटाएको हो। अब भारत सरकारले गरेको यो व्यवस्थालाई नेपाल राष्ट्र बैंकले समायोजन गरेर सूचना प्रकाशित गरेपछि नेपालमा पनि ठूला दरका भारु नोट सटही हुनेछ।

भारतमा अहिले २००० दरका नोटसम्म चलनचल्तिमा छ। तर, २०२३ देखि २००० दरका नयाँ नोट छापिन छाडेको छ। त्यसैले अहिले १०० दरभन्दा माथिको अधिकतम २०० र ५०० दरका नोट चलनचल्तिमा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा ५०० र हजार दरका नोट अमौद्रिकीकरण (डीमोनिटाइजेसन) गरेपछि नेपालमा १०० भारु दरका नोटमा ल्याउन र लैजान (भारत) पाइन्थ्यो। भारत सरकारले नेपालबाहेक यो सुविधा भुटानलाई पनि दिएको हो।

भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउँदा भारतमा एक हजारका नोटहरु चलनचल्तीमा आएको थिएनन्। मोदी सत्तामा आएपछि बल्ल ठूला दरका नोट चल्न थालेको थियो। ठूला दरका नोटको अधिकतम सीमा भने तोकिएको छ। २५ हजार भारुभन्दा बढी ल्याउन लैजान पाइने छैन।

‘यो व्यवस्थाले भारतबाट नेपाल आएका पर्यटक र नेपालबाट भारत जाने विद्यार्थी र कामदारहरुलाई राहत पुग्ने छ,’ राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले भने, ‘यसका लागि राष्ट्र बैंकले पहल पनि परेको थियो। त्यही पहल अनुसार भारत सरकारबाट निर्णय आएको छ।’

गत कात्तिक १७ गते नेपाल राष्ट्र बैंक र आरबीआइको साझा समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठकमा गभर्नर डा. विश्वनाथ पौडेलले यस बारेमा आफ्नो जिज्ञासा राखेका थिए। गभर्नर पौडेलले भारतबाट नेपाल पैसा ल्याउन पाइने तर त्यही ठूला दरका नोट भारत लैजान नपाउने अभ्यासलाई कार्यान्वयन गर्न नसकिने बताएका थिए।

उनले सीमा तोकेर ठूला दरका नोट ल्याउन र लैजान दिनु पर्ने माग राखेका थिए। त्यो प्राविधिक बैठकमा आरबीआइबाट कार्यकारी निर्देशक अर्णबकुमार चौधरी सहभागी थिए। उनी नेपालका गभर्नरले उठाएको विषयमा सहमत भएको एक महिनामै भारत सरकारले सीमा तोकेर ठूला दरका भारु नोट दुवैतिर चल्ने औपचारिक निर्णय गरेको हो।

सन् २०१६ ताका ठूला दरका नोट नेपालमा चल्थ्यो। त्यो व्यवस्था पनि भारतीय प्रधानमन्त्री मोदीले नै मिलाएका थिए। नेपालले १२ वर्षदेखि गरेको पहलमा मोदीले नेपाल भ्रमणमा आएका बेला सहजीकरण गर्ने आश्वासन दिएका थिए। तर अर्को वर्ष नै भारतले डिमोनिटाइजेसन गर्‍यो। त्यसको असर नेपालमा पनि पर्‍यो। नेपालको वित्तीय प्रणालीमा रहेको करिब ४ करोड भारु अहिलेसम्म साटिएको छैन।

जेटीसीसीको बैठकमा भारत पक्षले त्यो बेला नसाटिएको पैसा साट्न पहल गर्ने आश्वासन नेपाली पक्षलाई दिएको पौडैलले जानकारी दिए। ‘ठूला दरका नोट भारत फिर्ता लैजान पाइने भएपछि पुरानो नोट पनि साटिएला भनेर आशावादी हुन सकिन्छ,’ उनले भने।

तोकिएको (२५ हजारभन्दा बढी) नोट ल्याएमा बाँकी रकम जफत हुनसक्छ। नेपाली नागरिकले भारतीय रुपैयाँ भारत बाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट ल्याउन पाउँदैनन्।

अब ठूला दरका भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुनेछ। नोट सटही गर्न सजिलो होस् भनेर सीमा क्षेत्रमा दुवै देशले पैसा साट्ने काउन्टर खोल्नु पर्ने हुन्छ। काउन्टरबाट भारतबाट नेपाल जाने वा नेपालबाट भारत जानेले आफ्नो सुविधा अनुसार भारु साटेर लैजान पाउँछन्।

ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि भन्दै नोटबन्दीपछि नेपालमा ठूला दरका नोट ल्याउन प्रतिबन्ध लगाएको थियो । भारतले प्रतिबन्ध लगाएपछि नेपालमा एक सय दरभन्दा कमका भारु नोटहरु मात्र चल्दै आएको थियो।

अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभि, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा दुरुपयोग भयो: अध्यक्ष कसुम लामा

प्रभु म्याजमेन्टकी अध्यक्ष कसुम लामाले प्रभु बैंक र प्रभु म्यानेजमेन्टका पूर्वअध्यक्ष देवीप्रकाश भटट्चन तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन भाग्छन् भन्ने नलागेर आफूले चेकहरूमा हस्ताक्षर गरेको बताएकी छन् ।
देवी प्रकाश भट्टचनको सेयर ट्रान्सफर गर्नुको उद्देश्य अशोक शेरचन र देवी प्रकाश भट्टचनको मिलेमतोमा भट्टचन समूहलाई प्रभु म्यानेजमेन्टबाट उन्मुक्ति दिलाउनु रहेको लामाले प्रहरीसँगको बयानमा भनेकी छन् ।

प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभि, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको उनको दाबी छ ।

‘देवी प्रकाश भट्टचन र अशोक शेरचनको प्रभु म्यानेजमेण्टलाई बैंक र सहकारीको रकमहरुको भारी बोकाएर भाग्छन् र भगाउँछन् भन्ने थाहा थिएन । त्यसैले आएको चेकहरुमा मैले दस्तखत गरेको हुँ,’ लामाले बयानमा भनेकी छन् ।

लामाले देवी प्रकाश भट्टचन लगायतहरुबाट सम्पूर्ण रकमहरु असुल गरी सहकारी र बैंकहरुलाई चुक्ता गरी कम्पनी बन्द गर्छु भनी बसेको उल्लेख गरेकी छन् ।

पछिल्लो समय प्रभु म्यानेजमेन्टसँग सहकारीहरूको कारोबार विवादपछि भने प्रभु मनी ट्रान्सफरले सहकारीहरूलाई सिधै एजेन्ट बनाएर कारोबार गरिरहेको छ । २०६९ मंसिर देखि २०८१ जेठसम्म प्रभु मनि ट्रान्सफरको सुपर एजेन्टको रुपमा प्रभु म्यानेजमेन्टले साढे ४ हजारबाट प्रभु मनि ट्रान्सफरको रेमिट्यान्स एजेन्टको रुपमा धरौटी उठाएको थियो । जसमध्ये ३ हजार बढी सहकारीको करिब १ अर्ब रुपैयाँ धरौटी वापतको रकम फिर्ता भएको छैन । जसमध्ये ३ हजार बढी सहकारीले ९७ करोड ३७ लाख ८० हजार २१३ रुपैयाँ फिर्ता पाएका छैनन् ।

भट्टचनले विदेशबाट आएको रेमिट्यान्सको रकम भुक्तानी गर्दा लेयरिङ गर्न नै सुपर एजेन्टको रुपमा प्रभु म्यानेजमेन्ट खडा गरेका थिए । जसले सहकारीलाई सब एजेन्टको रुपमा सम्झौता गर्नुका साथै सहकारीको सफ्टवेयर बनाएर बेच्ने प्रयास पनि गरेको थियो । तर त्यो सफल हुने सकेन ।

प्रभु म्याजेमेन्टमा भट्टचनले व्यवसायिक साझेदारका रुपमा कुसुम लामालाई बनाएका थिए । अहिले कसुम लामा प्रभु म्याजमेन्टकी अध्यक्ष छिन् भने भट्टचन प्रभु म्यानेजमेन्टबाट कानुनी रुपमा बाहिरिसकेका छन् । उनले आफ्नो सेयर विभिन्न व्यक्ति हुँदै प्रभु म्यानेजमेन्टका कर्मचारीहरुको नामममा ट्रान्सफर गरेर बाहिरिएका हुन् ।

भट्टचले प्रभु म्यानेजमेन्टमा अर्का साझेदारका रुपमा तत्कालीन सहकारी विकास बोर्डका सहअध्यक्ष रहिसकेका दक्ष पौडेललाई समेत साझेदार बनाएका थिए । प्रभु म्यानेजमेन्टको व्यवस्थापन सुरुमा दक्ष पौडेल र कुसुम लामाले नै हेर्दै आएका थिए । पौडेल सहकारी विकास बोर्डमा नियुक्त भएपछि व्यवस्थापकीय नेतृत्वमा कसुम लामाले हेर्दै आएकी थिइन् ।

यस्तो छ प्रहरीमा लामाले दिएको बयान

प्रभु म्यानेजमेन्ट प्रा.लि २०६९/०२ /२१ गते स्थापना भएको कम्पनी हो। प्रभु म्यानेजमेन्ट प्रालि, प्रभु मनी ट्रान्सफरको सुपर एजेन्ट भई सहकारी संस्थाहरुलाई एजेन्ट बनाई प्रभु मनी ट्रान्सफरको विप्रेषण सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो ।

प्रभु म्यानेजमेन्ट प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं जिल्ला लैनचौरमा रहने गरी प्रभु मनी ट्रान्सफरको बिल्डिङमा एउटा कोठा लिई काम गर्न सुरु भएको हो ।

सोही अनुरुप प्रभु मनी ट्रान्सफरले प्रभु म्यानेजमेन्ट प्रालिले सुपर एजेन्ट बनाए पश्चात प्रभु म्यानेजमेन्ट प्रालिले सहकारीहरुलाई प्रभु मनी ट्रान्सफरको एजेन्ट बनाई काम सुरु गरेको हो ।

उक्त सुपर एजेन्ट सम्झौता २०८१ /०३/०५ गतेको प्रभु मनी ट्रान्सफरको चलानी नं.CD/48/080/081 को पत्रले मितिः २०८१ / ०३ / १५ गतेबाट कारोवार बन्द हुने जानकारी गराए पश्चात प्रभु म्यानेजमेन्ट प्रालिको कारोवार बन्द रहेको छ ।

म प्रभु म्यानेजमेन्ट प्रालिको स्थापना कालमा संचालक एवं प्रमुख कार्यकारी अधिकृत रहेको थिएँ तर मेरो काम IT Development, Network Design,Training materials बनाउने र सहकारीहरुको लागि तालिम संचालन गर्ने प्रमुख भूमिका रहेको थिएँ ।

खातामा मेरो र दक्ष पौडेलको दस्तखत चल्दथ्यो तर सम्पूर्ण कारोवार देवी प्रकाश भट्टचनको निर्देशनमा लेखा प्रमुख गणेश घिमिरेले गर्ने गरेका थिए ।

कम्पनी स्थापना हुँदा कम्पनीमा बिनोद थकाली (देवी प्रकाश भट्टचनको बहिनी ज्वाई ) को २०%, देवी प्रकाश भट्टचनको ५०%, दक्ष पौडेल सुभाषको १०%, म कुसुम लामाको २०% थियो । सो समयमा बिनोद थकालीले २०% सेयर बापत बिस लाख, देवी प्रकाश भट्टचनले ५०% सेयर बापत पचास लाख, दक्ष पौडेल सुभाषले १० % सेयर बापत दस लाख, म कुसुम लामाले २०% सेयर बापत बिस लाख लगानी गरेका थियौ ।

मितिः २०७०/१०/२१ मा बिनोद थकालीले आफ्नो सम्पूर्ण सेयरबाट देवी प्रकाश भट्टचनलाई ५% हस्तान्तरण गरी ५५% सेयर (मुख्य सेयर धनी) बनाएका हुन् भने म कुसुम लामाको नाममा १५% सेयर बिक्री गरी कम्पनी छोडेका थिए । कम्पनी छोड्दा बिनोद थकाली प्रभु म्यानेजमेण्ट प्रालिका अध्यक्ष थिए । विनोद थकालीले छोडे पश्चात देवी प्रकाश भट्टचन मिति : २०७१/०९/१२ सम्म यस कम्पनीमाका अध्यक्ष बनेका हुन् । म सो समयमा कम्पनीमाको संचालक मात्र रहेको थिएँ ।

२०७१/०९/१३ मा मिजास भट्टचन ( देवी प्रकाश भट्टचनको सहोदर भतिज) को नाममा देवी प्रकाश भट्टचनले आफ्नो नाममा रहेको सम्पूर्ण ५५% सेयर हस्तान्तरण गरेका हुन् । सो समय देखि म कुसुम लामा प्रभु म्यानेजमेण्ट प्रा. लि. को अध्यक्ष भएको हुँ। निज मिजास भट्टचन नाबालाक भएको कारण निजको नाममा रहेको ५५% सेयर मध्ये १% हुन आउने सेयर प्रभु मनी ट्रान्सफरका कर्मचारी ध्रुव चन्द्र धितालको नाममा नामसारी गराई निज ध्रुव चन्द्र धिताललाई संचालक समेत बनाएका थिए ।

सो पश्चात मितिः २०७४/२/११ मा मिजाश भट्टचनको नाममा बाँकी रहेको ५४% सेयर शिक्षा भट्टचन ( देवी प्रकाश भट्टचनको कान्छी छोरी) को नाममा नामसारी गरेका हुन् । त्यसैगरी दक्ष पौडेल सुभाषले आफ्नो नाममा रहेको १०% सेयर २०७१/०९/१३ मा आफ्नो साढदाजु (श्रीमतीको दिदीको श्रीमान) शिव शर्मा आचार्यको नाममा नामसारी गरिदिए र पुनः शिक्षा भट्टचनको कम्पनीमा प्रवेश भए पश्चात २०७४/०२/११ मा शिव शर्मा आचार्यको नामको रहेको १०% सेयर दक्ष पौडेल सुभाषले आफ्नो नाममा ल्याएका हुन् ।

२०७७/०३/१५ मा शिक्षा भट्टचन र ध्रुव चन्द्र धितालका नाममा रहेका सेयरहरु प्रभु म्यानेजमेण्ट प्रालिका कर्मचारीहरु हेम कुमार महाजु, श्रुतिका तामाङ लामा, गणेश घिमिरे र नारायण ढकालको नाममा प्रभु म्यानजेमेण्ट कम्पनीबाटै पेश्की दिलाई सो रकमबाट सेयर ट्रान्सफर गरेको देखाई सो सेयर बापतको रकम झिकी शिक्षा भट्टचन र ध्रुवचन्द्र धितालले लगेका हुन् ।

शिक्षा भट्टचनको नाममा रहेको कम्पनीको सेयर खरिद गर्नको लागि प्रभु म्यानेजमेन्टबाट ५ जुलाइ २०२० मा श्रुतिका तामाङ लामाको हिमालयन बैंक लि.को खाता नं. 07300220532018 मा रु.१,८०,००,००० ।– (एक करोड असी लाख) जम्मा गरिदिई ६ जुलाई २०२० मा इनवार्ड चेक पेमेन्ट गरी चेक नं. 48670.. बाट शिक्षा भट्टचनलाई उक्त रु. १,८०,००,००० ।– (एक करोड असी लाख) भुक्तानी दिईएको देखिन्छ । त्यसै गरी शिक्षा भट्टचनको नाममा रहेको कम्पनीको सेयर खरिद गर्नको लागि प्रभु म्यानेजमेन्टबाट ६ जुलाइ २०२० मा हेम कुमार महाजुको प्रभु बैंक लि.को खाता नं. 0520068635900…मा रु.१,०८,००,०००।– (एक करोड आठ लाख) जम्मा गरिदिई ६ जुलाई २०२० मा इनवार्ड चेक पेमेन्टबाट शिक्षा भट्टचनलाई उक्त रु.१,०८,००,०००।–(एक करोड आठ लाख ) भुक्तानी दिईएको देखिन्छ ।

सेयर खरिद गर्ने अन्य कर्मचारीहरु नारायण ढकाल(ध्रुव चन्द्र धितालबाट सेयर खरिद गर्ने), गणेश कुमार घिमिरेको हकमा समेत प्रभु म्यानेजमेण्टबाट खातामा रकम जम्मा गरिदिई सेयर खरिद भएको हो । निजहरुको खाताको विवरण हाल मसँग छैन ।

कम्पनीमा सुरुमा लगानी भएको पुजी एक करोड रुपैंया बाहेक थप पुँजी बृद्धी गर्दा कुनै पनि सेयर धनीले आफ्नो व्यक्तिगत रकम हालेका होइनन् ।

कम्पनीमा रेमिट्यान्स बापत आएको रकम र एजेन्ट सहकारीहरुबाट उठाईएको धरौटी रकमबाट नै पुँजी बृद्धी गरिएको हो । दक्ष पौडेलको १०% प्रतिशत सेयर म कसुमा लामाको नाममा नामसारी गरिएको हो । ध्रुव चन्द्र धितालको १% सेयर नारायण ढकालको नाममा नामसारी गरिएको थियो । सो सेयर समेत मेरो नाममा आएको छ । हाल म एकल सेयरधनी / संचालक रहेको छु ।

कर्मचारीहरु सेयर खरिद गर्ने र कम्पनीको मालिक बनी कम्पनी संचालन गर्ने आर्थिक हैसियत नभएका व्यक्तिहरु हुन् । त्यसैले देवी प्रकाश भट्टचनको निर्देशनमा प्रभु म्यानेजमेण्टको संचालक समितिको कुनै खबर बिना नै सेयर खरिद गर्नको लागि आवश्यक रकम कम्पनीको खाताबाट कर्मचारीको खातामा सन् २०२० जुलाई ६र७ मा गरी रकमान्तरण गर्न लगाई कर्मचारीहरुको चेक लगी सोही दिन शिक्षा भट्टचन र ध्रुव चन्द्र धितालको व्यक्तिगत खातामा जम्मा गरेका छन् । सो रकम कम्पनीमा अझै फिर्ता आएको छैन ।

प्रभु टेक्नोलोजी प्रा.लि. प्रभु पे भन्ने कम्पनी २०७१/०९/१५ गते दर्ता भई घाटामा संचालन भएको थियो । त्यस कम्पनीमा देवी प्रकाश भट्टचनको ६०% र प्रभु म्यानेजमेण्ट कम्पनीको ४०% सेयर लगानी रहेको थियो । जसको पुँजी रकम १० करोड रहेको थियो ।

कम्पनी घाटामा संचालन भएको हुँदा देवी प्रकाश भट्टचनले आफू प्रभु बैंकको अध्यक्ष भएको र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग प्रभु पेलाई प्रभु बैंकले खरिद गर्ने कुरा गरेको हुनाले प्रभु पेबाट आफ्नो नाम अध्यक्ष र सेयर होल्डरबाट हटाएमा प्रभु बैंकले खरिद गर्न सक्छ भनेको हुँदा देवी प्रकाश भट्टचनको नाम हटाई दिन निजले मलाई निर्देशन दिएका थिए । त्यसताका देवी प्रकाश भट्टचन प्रभु बैंकका अध्यक्ष र प्रभु पे का पनि अध्यक्ष थिए ।

घाटामा संचालित कम्पनीमा कुनै पनि नयाँ लगानीकर्ता सेयरधनी हुन ईच्छुक हुँदैन । सो कारण के गर्ने भनी सोध्दा देवी प्रकाश भट्टचनको परिवारको मुख्य सेयर भएको प्रभु म्यानेजमेण्टबाटै उक्त सेयर खरीद गर्न निर्देशन दिई प्रभु म्यानेजमेण्टले निज देवी प्रकाश भट्टचनको नाममा रहेको ६०% सेयर थप खरिद गरी सो सेयर मध्ये म कुसम लामाको नाममा २८% र प्रभु म्यानेजमेण्टको नाममा ३२% र पहिलेको साविक ४०% सहित गरी ७२% सेयर प्रभु म्यानेजमेण्टको नाममा कायम गरी सम्पुर्ण सेयर खरिद गर्न प्रभु म्यानेजमेण्टको रु. १० करोड खर्च भएको छ ।

देवी प्रकाश भट्टचनको नाम प्रभु पेबाट नामसारी गरे पश्चात प्रभु बैंकका कार्यकारी प्रमुख अशोक शेरचनले नाटक मंचन गरी प्रभु पेको डीडीए गर्न एनबीएसएम चार्टड एकाउन्टेण्ड फर्मलाई जिम्मा दिई डीडीए गराएका हुन् ।

सो पश्चात प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन र प्रभु टेक्नोलोजी-प्रभु पे का मालिक प्रभु म्यानेजमेण्ट रहेको, प्रभु म्यानेजमेण्टमा देवी प्रकाश भट्टचनकै छोरी समेत मुख्य सेयरधनी भएको हुनाले प्रभु बैंकले प्रभु टेक्नोलिजी प्रभु पे खरिद गर्न नेपाल राष्ट्र बैंकले अनुमति नदिने भएकाले देवी प्रकाश भट्टचनको समूहलाई नेपाल राष्ट्र बैंकलाई कागजी रुपमा देखाउन मात्र प्रभु म्यानेजमेण्टको सेयर लगतबाट हटाउनु पर्यो भनी देवी प्रकाश भट्टचनले प्रभु म्यानेजमेण्टका कर्मचारीहरुलाई प्रभु म्यानेजमेण्टकै रकम पेश्की स्वरुप बैंक मार्फत रकमान्तर गर्न लगाई छोरी शिक्षा भट्टचन र ध्रुवचन्द्र प्रभु म्यानेजमेण्टको सेयर धनीबाट नाम हटाउन लगाएका हुन् ।

सोही बखत देवी प्रकाश भट्टचनलाई नेपाल राष्ट्र बैंकले प्रभु बैंकको अध्यक्ष पदबाट राजिनामा गर्न लगाएको हुनाले केही समय रोक्नु पर्ने भन्ने नाटक गरेका हुन् । सो पछि देखि बारम्बर ताकेता गर्दा पनि अशोक शेरचनले उक्त कम्पनी खरिद गर्ने चासो नराखेको कारण हाल उक्त कम्पनी नेपाल राष्ट्र बैंकले अनुमती नविकरण गरेको छैन । देवी प्रकाश भट्टचनको सेयर ट्रान्सफर गर्नुको उद्देश्य अशोक शेरचन र देवी प्रकाश भट्टचनको मिलेमतोमा भट्टचन समूहलाई प्रभु म्यानेजमेन्टबाट उन्मुक्ति दिलाउनु थियो ।

प्रभु म्यानेजमेण्ट प्रा.लि.बाट विप्रेषण बापतको भुक्तानी दिने रकम तथा सम्झौता भएका प्रत्येक एजेन्ट सहकारीसँग डिपोजिट स्वरुप लिईएको रकम आफूखुसी अपचलन गर्न मिल्ने होईन । सहकारीबाट मात्र होईन अन्य निकायबाट समेत कम्पनीमा आएको रकमहरु आफूखुसी अपचलन गर्न मिल्दैन ।

कम्पनीमाको रकम प्रयोग भएको भए सोको ब्याज सहित फिर्ता गर्नु पर्ने हुन्छ । देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रीक एयर, प्रभु टिभि, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको हो । देवी प्रकाश भट्टचन र अशोक शेरचनको प्रभु म्यानेजमेण्टलाई बैंक र सहकारीको रकमहरुको भारी बोकाएर भाग्छन् र भगाउँछन् भन्ने थाहा थिएन । त्यसैले आएको चेकहरुमा मैंले दस्तखत गरेको हुँ । देवी प्रकाश भट्टचन लगायतहरुबाट सम्पूर्ण रकमहरु असुल गरी सहकारी र बैंकहरुलाई चुक्ता गरी कम्पनी बन्द गर्छु भनी बसेको छु भन्ने समेत व्यहोराको प्रतिवादी छु कुसुम लामाले गरी दिएको बयान ।