धितोपत्र बजार सञ्चालनको लागि नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने र नेप्सेको पुनर्संरचना पनि सँगै अघि बढाउनुपर्ने चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन प्रतिवेदनले सुझाएको छ । सो प्रतिवेदनले विभिन्न समयमा भए, गरेका अध्ययन तथा सन्दर्भलाई समेट्दै धितोपत्र बोर्डको स्वीकृतिबाट नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने औंल्याएको हो ।
हाल पूँजी बजार विस्तार हुन नसकेको, बजारको आवश्यकता अनुसार नयाँ धितोपत्र दलाल व्यवसायी प्रवेश गराउन नसकेको, धितोपत्र सम्बन्धी नयाँ औजारको प्रवेश हुन नसकेको, संस्थागत लगानीकर्ता प्रोत्साहित हुन नसकेको, धितोपत्र बजारबाट पूँजी परिचालन गर्न संगठित संस्था उत्सुक नभएकोजस्ता विभिन्न अध्ययनका सन्दर्भ प्रतिवेदनमा समेटिएको छ ।
त्यस्तै धितोपत्र बजार सरकारी स्वामित्वमा रहेको, बजारको आवश्यकता अनुसार क्षमता विकास भइनसकेको, धितोपत्र कारोबारको राफसाफमा ढिलाइ हुने गरेको तथा नियमावली व्यवस्थाअनुसार व्यवसायिक तवरले संचालन हुन नसकेका सन्दर्भ सामग्री प्रतिवेदनमा समेटिएको छ ।
साथै नयाँ स्टक एक्स्चेन्जबाट देशव्यापी रुपमा धितोपत्र बजार विस्तार हुने अपेक्षा गरिएको छ । नयाँ स्टक एक्स्चेन्जबाट बजारमा नयाँ धितोपत्र औजार प्रवेश हुने, संगठित क्षेत्रलाई वैकल्पिक वित्तीय स्रोत प्राप्त हुने, म्युचुअल फन्डको प्रवेश प्रोत्साहित हुने, नेपाल सरकारको राजश्व वृद्धि हुने, नयाँ धितोपत्र दलाल व्यवसाय गर्न चाहने कम्पनीहरुले अवसर पाउने लगायतका सन्दर्भलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेप्सेको संरचनागत सुधार पनि आवश्यक रहेको औंल्याइएको छ । नेप्सेले आफैं अध्ययन गरी पुनर्संरचना सम्बन्धी पेश गरेको प्रतिवेदनमा अर्को स्टक एक्सचेन्जको सम्भावित फाइदा तथा बेफाइदालाई उजागर गरिएका विषयलाई सिवाकोटी प्रतिवेदनमा समेटिएको छ ।
विदेशी रणनीतिक साझेदार भित्र्याउँदा सेवाको स्तरीयता र विश्वसनीयता बढेको छिमेकी देशहरुको अनुभव समेतको आधारमा एउटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्टक एक्स्चेन्जलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने र नेप्सेको स्वामित्व पुनर्संरचना गर्नेगरी अघि बढ्न सकिने प्रतिवेदनको आशय छ ।
नेप्सेको प्राविधिक, भौतिक, व्यवस्थापकीय वित्तीय र मानव स्रोतको क्षमता विकास गर्न सुझाव दिइएको छ । नेप्सेले नै तयार गरेको पुनर्संरचना कार्ययोजनालाई प्रतिवेदनले समेटेको छ ।
त्यस्तै प्रतिवेदनमा सीडीएससीको संरचनागत परिवर्तन गर्न सकिने सन्दर्भलाई पनि समेटिएको छ । सीडीएससीमा नेप्सेको स्वामित्व ५१ प्रतिशतमा राखि ४९ प्रतिशत सेयर विदेशी संस्थागत लगानीकर्ता, गैरबैंकिङ वित्तीय संस्था, निक्षेप सदस्यलाई आवश्यक प्रक्रिया पुर्याई बिक्री गर्ने तथा चुक्ता पूँजी ३० करोडबाट बढाएर ५० करोड बनाउन भनिएका सन्दर्भ समेटिएको छ ।
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।
उनले भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ । भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको आरोप छ ।
अख्तियारले गत माघमा नै उनको घरमा छापा मारेर त्यो रकम बरामद गरेको थियो । उनले त्यो रकम आफ्नो सवारीचालक नसीब अन्सारीमार्फत लुकाएका थिए । अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी, सवारीचालक नसीब अन्सारी अनि घुस दिएको आरोप लागेका बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालमाथि समेत मुद्दा चलाएको हो ।
लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार विरुवा राेपिँदै
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८0 /0८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन : पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।
कार्बन अकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर(tCO₂e) रहेको थियो।
पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन :
. व्यापार कर्जा १९०,२९३.४२ tCO₂e
. परियोजना वित्त – (जलविद्युत बाहेक) : ७०५ .५६ tCO₂e
. गाडी कर्जा १,१,५२८.९८ tCO₂e
. घर कर्जा ९,४८५.४६ tCO₂e
त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।
सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोणलाई प्रोत्साहन गर्दै आएको छ। यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल ‘मिसन १ लाख (मिसन १० हजार)’ पनि सञ्चालन गरेको छ।
यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिई सकिएको छ । यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ। यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ। यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अभिन्न अंग बन्न गएको छ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङजा जिल्ला स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी, कैलाली जिल्ला स्थित शाखा कार्यालय टिकापुर र सुख्खड र काठमाडौं जिल्ला स्थित शाखा कार्यालय कपन स्थानमा शाखा विस्तार गरीएको छ ।
यस्तै रुपन्देशी जिल्ला स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्ला स्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्ला स्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्ला स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ । साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
ज्योति विकास बैंकका ग्राहकलाई होटल मार्कोपोलोमा विशेष छुट
ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटल मार्कोपोला मा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।
स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानी मार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।
यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब रु ४० करोडले राजस्वमा योगदान पुर्याएको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ब्त्ः मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
एभरेष्ट बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
एभरेष्ट बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डामेस्टिक कार्ड स्किम(नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूराभ एको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एभरेष्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एकसेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
कम्पनीको सातौं वार्षिक साधारण सभाले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा बोनस शेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पूँजी पुग्ने भएकाले उक्त निर्णय पनि रद्द गरेको छ।
यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरेको छ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन भएको कम्पनीले जनाएको छ।
अध्यक्ष भट्टचनले आउँदो वर्ष उचित लाभांश वितरण गर्ने प्रतिबद्धता जनाएकी छिन । उनले आफ्नो कम्पनीमा आबद्ध भएका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्न समेत कम्पनीले ध्यान दिएको बताइन।
सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन
नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो ।
नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्नेछ। काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको छ । यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानिय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, “हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् । हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून् । यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो ।”
नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् ।
नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ । इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूत रूपमा मनपर्ने विकल्प बनेको छ । यही कारणले गर्दा यो प्लेटफर्म छोटो समयमा यात्रुहरू र चालकहरू दुबैको मन जित्न सफल भएको छ ।
नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँ स्तरमा पुग्दै गएको छ, जसले स्थानीय आवश्यकतालाई बुझ्ने र समाधान दिने यसको क्षमतालाई प्रमाणित गर्छ। यस प्रयासमार्फत इनड्राइभले नेपालमा दीगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, “नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो। काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतिक हो।”
”हामीले सधैं चालकहरूसँग संवादलाई प्राथमिकता दिएका छौं—उनीहरूको सुझाव, आवश्यकताहरू र चुनौतिहरूलाई ध्यानपूर्वक सुन्दै आएका छौं। आफ्नो कम्युनिटीलाई सुन्ने र बुझ्ने संस्कृतिले इनड्राइभलाई साँच्चिकै आफूहरुको लागि बनेको प्लेटफर्म भएको मानिसहरूलाई अनुभूति गराएको छ ।
यो नयाँ कार्यालय हाम्रो प्रतिबद्धताको स्पष्ट प्रमाण हो, यो एक यस्तो स्थान हुनेछ, जहाँ चालकहरूले आवश्यक सहयोग, प्रशिक्षण, र अवसर पाउन सक्नेछन् । तर अझ महत्वपूर्ण कुरा, यो स्थान उनीहरूले आफ्ना आवाजहरू सुरक्षित रूपमा अभिव्यक्त गर्न, व्यक्तिगत र व्यावसायिक रुपमा दक्षता वृद्धि गर्न, र इनड्राइभको यात्रामा सक्रिय साझेदार बन्न महत्वपूर्ण हुनेछ ।”
काठमाडौंमा यो कार्यालय खोल्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामी यसलाई चालकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा हेर्छौं, यसले भविष्यमा अझ बढी समावेशी र दिगो परिवहन प्रणालीको निर्माणमा योगदान पुर्याउनेछ ।
काठमाडौंमा कार्यालय सुरु गर्नु इनड्राइभको सम्मानलाई अझै अगाडि बढाउने एक महत्वपूर्ण कदम हो । यसले इनड्राइभलाई चालक–केन्द्रित, पारदर्शी, र समुदाय–संचालित मोबिलिटी प्लेटफर्मको रूपमा थप मजबुत बनाउँछ । इनड्राइभले नेपालमा ल्याएको निष्पक्ष, उचित मूल्य, र प्रयोगकर्तामैत्री मोडेल ल्याएको छ, जसले छोटो समयमा आम जनमानसको विश्वास जित्दै लोकप्रियता हासिल गरेको छ ।
नेपाल एसबिआई बैंक एनपिएस राष्ट्रिय स्विच तथा नेपालपे कार्डमा आवद्ध
नेपाल एसबिआई बैंक लिमिटेडले एनपिएस राष्ट्रिय स्विच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) संग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । यस सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना नेपालपे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
सिटिजन्स बैंकद्वारा मधेश प्रदेशमा वृक्षारोपण सम्पन्न
सिटिजन्स बैंक इन्टरनेशनलले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २६ गते सोमबारको दिन मधेश प्रदेशको धनुषामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश,जनकपुरधाम उपमहानगरपालिका–१३,मणी मण्डपमा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सञ्चालन,समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो ।
साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने विश्वास लिइएको छ । फोहोर संकलनपश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ । विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । बृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हट्यो
घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको हो ।
फाइनान्सियल टास्क फोर्स को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै कालोधन रोक्न घरजग्गा कारोबारमा कडाइ गरिएको थियो। विभागले जेठ १४ गते घरजग्गा किनबेचमा कालोधन रोक्ने नयाँ प्रयास स्वरूप भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेको थियो ।
उक्त निर्देशन जारी गर्दै विभागले देशभरका मालपोत कार्यालयहरूलाई कार्यान्वयनका लागि पत्राचार समेत गरेको थियो । तर उक्त निर्देशन कार्यान्वयनमा आउन नपाउँदै प्रधानमन्त्रीको निर्देशनमा विभागले संशोधन गरेको छ । विभागले यसअघि जारी गरेको निर्देशनमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट अनिवार्य चाहिने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गरी अत्यन्तै लचिलो बनाइएको छ ।
विभागले संशोधन गरेको व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा किन्ने र बेच्नेको बैंक स्टेटमेन्ट चाहिने छैन । बैँक स्टेटमेन्टसम्बन्धी व्यवस्था नै निर्देशनबाट हटाइएको छ । त्यस्तै विभागले खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रूपमा भर्नुपर्ने केवाईसी फारामको व्यवस्था पनि संशोधन गरिएको निर्देशनमा हटाएको छ ।
यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैँक खाताबाट बिक्रीकर्ताको बैँक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, बैनाबट्टाको कारोबारको बैँक स्टेटमेन्ट पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएकोमा त्यो पनि हटाइएको छ ।
त्यस्तै,बैँकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयका हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्री कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापत शुल्क र दस्तुर तथा विक्रीकर्ताले तिर्नुपर्ने लाभकर खाताबाट तिर्नुपर्ने व्यवस्था पनि हटाइएको छ ।
यसअघि घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैँकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थामा ३ करोडको सीमालाई हटाएर एक करोडमा झारिएको छ ।
१० लाखभन्दा माथिको ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्थामा पनि लचकता अपनाइएको छ । त्यस्तै, ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत गर्दा विक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
तर विभागले संशोधन गर्दै १० लाख रुपैयाँभन्दा माथिको कारोबारको जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण र ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा खरिद गर्दा क्रेताले बैँकबाट भुक्तानीका लागि गुड फर पेमेन्ट चेक वा बैँक ग्यारेन्टी वा ई पेमेन्ट वा नेपाल राष्ट्र बैँकको निर्देशिका बमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणमार्फत भुक्तानी भएको प्रमाण वा बिक्रेताको खातामा नगद जम्मा गरेको बैँक भौचरको फोटोकपी खरिदकर्ता वा बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेस गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ ।














