सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबससंगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (एपिआइ बैंकिङ प्लेटफर्म आरएपिआइडि) संचालनमा ल्याइएको छ। यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा आरएपिआइडिले ग्राहकको इआरपि प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा इआरपि भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।
साथै दोस्रो चरणमा, आरएपिआइडि विश्वव्यापी मापदण्ड आइएसओ २००२२ तथा एमएफए र आउथ २ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित (एपिआइ) उपलब्ध गराउनेछ । जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्युआरकोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।
आरएपिआइडिले व्यवसायिक प्रयोगकर्तालाई आउथ २ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (एपिआइ) को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक टिओटिपी प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
आरएपिआइडिले विश्वव्यापी आईएसओ २००२२ मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ । जसले गर्दा व्यवसायिक ग्राहकहरुले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन्।
यो सेवाले व्यवसायिक ग्राहकको बैंकिङ कारोवारलाई धेरै नै सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले अहिले डिजिटल बैंकिङ / डिजिटाइजेसन अनुकूलन र नेतृत्व रणनीति लिएर अगाडी बढ्दै आएको छ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रोग्रेशिभ फाइनान्स एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
प्रोग्रेशिभ फाइनान्स र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात प्रोग्रेशिभ फाइनान्सले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।
कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे । सो सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ तथा यस बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाताबराबर एक रुख रोप्ने प्रतिवद्धता अनुसार आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रतिवद्धता अनुसार आज नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित महालक्ष्मी मन्दिर आसपासको क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिका अध्यक्ष उज्वल सत्याल, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष पदम बहादुर श्रेष्ठ लगायत सहभागी भएका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष उज्वल सत्यालले वातावरण संरक्षणप्रति सचेत रहँदै विभिन्न गतिविधी सञ्चालन गर्ने क्रममा यस वर्ष वृक्षारोपण गरिएको र यसबाट स्थानीय नागरिकलाई वातावरण संरक्षणमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
यस्तै, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले योे वृक्षारोपण कार्यको सरहाना गर्दै वातावरण संरक्षणमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आईरहेको छ ।
सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहनु भएका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई आमन्त्रित गरिएको थियो। झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रुपमा भारतदेखि विश्वको विभिन्न देशहरुमा प्रख्यात छन्। भारतकै ठूलो र प्रतिष्ठित जीवन वीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आवद्ध झाले थुप्रै कार्यानुभव र ख्याती कमाई सकेका छन् ।
यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिनुभयो। यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रेरित गरेको छ।
कार्यक्रममा २ सय ४० भन्दा धेरै अभिकर्ताहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, लगायत अन्य कर्मचारीहरुको पनि उपस्तिथी रहेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्व र अपरिहार्यता माथि प्रकाश पार्नुहुदै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने बताउनु भयो। प्रस्तुत ज्ञान र सीपको उपयोग गरेर कम्पनिको व्यवसायिक लक्ष्य प्राप्तिमा दखल पुराउन सकिने बताउनु भएको थियो। सोही कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृतले सीप विकास जस्ता तालिमले अभिकर्ताहरुलाई व्यवहारिक सीप र आत्मविश्वास प्रदान गर्ने भन्दै बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पुर्याउने र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने बताउनु भयो।
नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त
काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बिहान बसेकोे सञ्चालक समितिको ६८२ औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
यस अघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् ।
सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।
त्यस्तै सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष ढकालको धारणा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताउनु भएको छ । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राख्नु भयो ।
बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उहाँको तर्क थियो । “व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् । ” ढकालले भन्नुभयो ।
उहाँले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताउनु भयो ।
यस्तै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताउनु भयो ।
मध्यपूर्वको उदाहरण दिंदै अध्यक्ष ढकालले भन्नु भयो । “यदी मध्यपूर्वका देशहरुलाई आफुसंग भएको पेट्रलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देशहरु आजको अवस्थामा रहने थिएनन् । तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजिकरण गर्नु पर्दछ । ” उहाँले भन्नुभयो ।
ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।
आज बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गर्नुभयो । गाडी चार्ज प्रालिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिनुभयो । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गर्नुभयो ।
साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताउनुभयो । उहाँले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.को प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
राष्ट्र बैंकको प्रवक्ता बने कार्यकारी निर्देशक किरण पण्डित
नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् । भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक रहेका पण्डितले २१ जेठदेखि लागु हुनेगरी प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक सहित प्रवक्ताको भुमिकामा रहेका रामु पौडेलेको मुद्रा व्यवस्थापन विभागमा सरुवा भएसँगै उनलाई प्रवक्ताको जिम्मेवारीबाट समेत हटाइएको छ । प्रवक्ताको जिम्मेवारी पाएका पण्डितसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखामा काम गरेको अनुभव छ । उनि कार्यकारी निर्देशकमा बढुवा भएपछि भुक्तानी प्रणाली विभागको प्रमुखको जिम्मेवारीमा छन् । पण्डित २०६२ देखि राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए ।
बीमा प्राधिकरण अध्यक्ष ओझालाई तत्कालका लागि हाइसञ्चो
नेपाल बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई तत्कालका लागि हाइसञ्चो भएको छ। आफ्नो नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ गर्न पेसी मंसिर १ गतेका तोकिएकाले उनलाई तत्कालका लागि हाइसञ्चो भएको हो। न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिटलाई अग्राधिकार दिएर पूर्ण सुनुवाईका निम्ति पेस गर्न सोमबार आदेश दिएको थियो।
सरकारले अनुभवको न्युनतम योग्याताविनै ओझालाई गत फागुन दोस्रो साता प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो। उनलाई अध्यक्ष नियुक्त गर्न उमेर सम्बन्धी मापदण्ड समेत हेरफेर गरिएको थियो। संगठित संस्थामा काम गरेको अनुभव नभएका ओझाले फर्जी कागजात बुझाएर नियुक्ति लिएको भन्दै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गराएकी थिइन्। रिटमा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीले चैत २० गते कारण देखाउ आदेश दिएका थिए।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीत नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्ति दिन लिइएका आधार सम्बन्धी कागजात झिकाउन जेठ ५ गते आदेश दिएको थियो।
उनको नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ। अख्तियारले मुद्दा दायर नगरेको अवस्थामा सर्वोच्चको निर्णय नआउञ्जेल ओझालाई कुनै अप्ठेरो पर्ने छैन।
तुलसी सहकारीको डेढ अर्ब हिनामिनामा केदारनाथ शर्मा सहित ३ जना दोषी ठहर
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष केदारनाथ शर्मा सहित ३ जना दोषी ठकर भएका छन् । मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहि झापा, मोरङ, सिराहा, उदयपुर लगायत जिल्लामा शाखा विस्तार गरी सर्वसाधारणबाट संकलन गरेको बचत दुरुपयोग गरेको आरोप शर्मामाथि लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरी दिएको राय सहितको प्रतिवेदनको आधारमा जिल्ला सहकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मा र सचिव सविना न्यौपाने सहित ८ जनाविरुद्ध मुद्दा जिल्ला अदालत मोरङमा दर्ता गरेको थियो । गत आइतबार न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोसी ठहर गरेको हो ।
जिल्ला अदालत मोरङले दोसी ठहर गरे पनि सजाय निर्धारणको लागि अर्को इजलासमा पेश गर्न आदेश दिएको छ । बिहीबार सजाय निर्धारणको लागि पेशी तोकिएको जिल्ला अदालतको सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणबाट संकलन गरेको करिब डेढ अर्ब अपचलन गरेका थिए । जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।
सहकारीका सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्माको भने मुल्तबीमा राखिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनिहरु फरार रहेकोले अहिलेलाई मुल्तबीमा राखिको हो । केन्द्रीय कार्यालय विराटनगर र दमक, गाईघाट, गोलबजार शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ चैत १२ गते मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।
नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया–प्रशान्त क्षेत्र प्रदान
नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ उनले भने । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ ।‘ बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ । कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौं, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौं,‘ ज्ञवालीले भने । यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको उनको भनाइ छ ।
सन् १९८४ मा स्थापना भएदेखि नै नबिल बैंकले नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगको थालनी गरेको हो । नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएर नबिलले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो । त्यसयता, नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचय बनाउँदै आएको छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।












