सरकारले विद्युतीय गाडीको कर यथातव राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै विद्युतीय गाडीमा कर यथावत राखेको जानकारी दिएका हुन् ।
‘विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदुषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत राखेको छु,’ बजेटमा भनिएके छ ।
यस्तै, बीस वर्ष भन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था गरिएकाे छ ।
विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको छु। साथै, यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाएको छ ।
हवाई यातायातमा लगाइएको भ्याट यथावत
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन गरेका हुन् ।
आगामी बजेटमा पर्यटन व्यवसायीहरूले सरकारसँग राखेका केही माग सम्बोधन भएको छ भने धैरजसो माग सम्बोधन हुन सकेका छैनन् । पर्यटन व्यवसायीहरूले लामो समयदेखि राख्दै आएको माग हो– हवाई यातायातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) । आगामी आवमा यो भ्याट खारेज हुन्छ भन्ने अपेक्षा पर्यटन व्यवसायीहरूको थियो । तर सरकारले हवाई यातायातमा लगाइएको भ्याट यथावत नै राखिएको छ ।
सरकारले हवाई भ्याट खारेज नगरे पनि भ्याट तिर्न बाँकी रहेका अन्तर्राष्ट्रिय सेवा प्रदायक कम्पनी र सोको हवाई टिकटको कारोबार गर्ने व्यक्तिले बुझाउन बाँकी कर रकम बुझाएमा ब्याज, थप दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था मिलाएको छ ।
पर्यटन प्रवर्द्धन तथा आर्थिक क्रियाकलाप विस्तारको दृष्टिले उच्च सम्भावना रहेको सिद्धार्थ राजमार्गलाई डेटिकेटिड डबल लेनमा स्तरोन्नति गर्ने कार्य आगामी आव २०८१/८२ मा सुरु गरिने भएको छ । यसैगरी, सरकारले होटल तथा रिर्सोटलाई विशेष उद्योग सरह घोषणा गरेको छ भने विशेष उद्योग सरह नै आयकर र विद्युत महसुल छुट दिने व्यवस्था गरेको छ ।
आधा दर्जन वस्तुमा लाग्दै आएको कर खारेज
सरकारले आधा दर्जन वस्तु तथा सेवामा कर खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न ६ शीर्षकमा कर तथा महसुल खारेज गरेका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार काठ तथा काठ जन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग बढाउन काठ सिजनिङ्ग गर्ने उद्योगलाई आवश्यक पर्ने मिल मेशिनरी पैठारी गर्दा १ प्रतिशत मात्र भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरेका छन् ।
यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मेशिनरी तथा उपकरण पैठारी गर्दा भन्सार महसुल हटाई अन्य कर तथा महसुल खारेज गरेको उनले बताए ।
फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रङ्गशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको पैठारीमा १ प्रतिशत भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरेको उनको भनाइ छ ।
बजेटप्रति निजी क्षेत्र सकारात्मक
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूको अधिकांश सुझाव समेटिएको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेट निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएका हुन्।
‘हाम्रा अधिकांश सुझाव समेटिएका छन्। सेजको भाडाका विषय समेटिएको छ। कन्फ्रेन्स हल बनाउने कुरा छ,’ उनले भने।
ढकालले बजेटमा धेरै कुरा राम्रा आए पनि कार्यान्वयनमा भने प्रश्न गरेका छन्। ‘बजेट राम्रो छ। तर, यसको कसरी कार्यान्वयन हुन्छ भन्नेमा भर पर्छ,’ उनले भने। अर्थमन्त्री पौडेलले पनि आफूले ल्याएको बजेटले निजी क्षेत्रको मनोबल बढ्ने बताएका छन्।
कर सहुलियत कुन-कुन क्षेत्रलाई?
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विभिन्न व्यवसायिक क्षेत्रमा कर छुटको घोषणा गरेका छन्। बजेटले सूचना प्रविधि तथा पर्यटन क्षेत्रका उद्योग, व्यवसायलाई छुट सहुलियतमा विशेष प्राथमिकता दिएको छ। सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्था गरिएको छ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाइएको छ। नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने घोषणा गरिएको छ।
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था मिलाइएको छ।
काठ तथा काठजन्य सामग्रीको उत्पादन तथा उपभोग बढाउन काठ सिजनिङ गर्ने उद्योगलाई आवश्यक पर्ने मिल मेसिनरी पैठारी गर्दा १ प्रतिशत मात्र भन्सार महसुल लगाइएको छ। यसमा भएका अन्य कर तथा महसुल खारेज गरेको अर्थमन्त्री पौडेलले बताए।
प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मेसिनरी तथा उपकरण पैठारी गर्दा लाग्ने भन्सार महसुल हटाइएको छ भने यसमा लाग्ने अन्य सबै खालका कर तथा महसुल खारेज गरिएको छ।
त्यस्तै अबदेखि ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि पैठारी हुने मेसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने व्यवस्था गरिएको छ। यस्ता उत्पादकले ५ वर्षसम्म आयकर छुटसमेत पाउने छन्।
सौर्य तथा वायु ऊर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने ब्या ट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार महसुल लगाएर अन्य कर महसुल खारेज गरिएको छ।
त्यस्तै विद्युतीय सवारी साधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिने र अन्य कर महसुल नलाग्ने व्यवस्था पनि बजेटमार्फत गरिएको छ। साथै यस्ता उद्योगले ५ वर्षसम्म आयकर छुट पनि पाउने भएका छन्।
राजस्व छुट सुविधामा पैठारी गर्न पाउने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान १६ लाखको मूल्य सीमा हटाइएको छ ।
सडक, सिँचाइ र जलविद्युत आयोजनामा सुरूङ प्रविधिको प्रयोग प्रवर्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ मेसिन पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल लाग्ने भएको छ भने बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरिएको छ।
ढुवानी सेवा प्रदायक व्यवसायीले प्राकृतिक व्यक्तिको ढुवानीका साधन भाडाबापत अग्रिम कर कट्टी गरी भुक्तानी गरे भाडा बापतको रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था बजेटले गरेको छ।
मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको विवरण बुझाउन वा कर दाखिल गर्न नसकेका व्यक्तिलाई विवरण र कर बुझाएमा ब्याज, थप दस्तुर, विलम्ब शुल्क र जरिवानामा सहुलियत दिइएको छ।
अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी र हवाई टिकटको कारोबार गर्ने व्यक्तिले मूल्य अभिवृद्धि करमा दर्ता भई बुझाउन बाँकी कर रकम बुझाएमा ब्याज, थप दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ।
त्यस्तै डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पनि खारेज भएको छ। त्यस्तै खाद्यान्न, गेडागुडी, फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य पदार्थमा भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज भएको छ।
खाद्यान्न, गेडागुडी लगायतमा दुई वर्षअघि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले अग्रिम आयकर र डिजिटल भुक्तानीमा पोहोर वर्षमान पुनले भ्याट लगाएका थिए।
विद्युतीय सवारी साधनमा लगाइएका सबै प्रकारका कर तथा महसुल यथावत राखिएको छ।
मदिरा, वियर, सूर्ति र चुरोट आयातमा लाग्दै आएको भन्सार महसुल दर वृद्धि भएको छ भने अन्तःशुल्क दर पनि बढाइएको छ। स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ।
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।
यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट सेवाग्राही आफैंले तुरुन्तै कार्डमा लोड गर्न सक्ने भएका छन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।
रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको छ । मोबाइल एपबाट तुरुन्तै रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सनहरू र अन्य डिजिटल सेवाहरूको भुक्तानी सहजै गर्न सकिन्छ । यसले समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ ।
भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङमार्फत टप-अप गर्दा भने कुनै शुल्क लाग्दैन । ई-कम डलर कार्डमार्फत वार्षिक अधिकतम ५ सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।
‘ग्लोबल स्मार्ट प्लस’ एपले बैंकिङ सेवालाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ । यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायतका सेवा सहज रूपमा उपलब्ध छन् । अब यसमा थपिएको रियल टाइम डलर कार्ड टप-अप सुविधा विशेष आकर्षणको रूपमा रहने बैंकको विश्वास छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध एक करोड बिगो दाबीसहित मुद्दा दर्ता
राजस्व अनुसन्धान विभागले भैरहवाको सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध मुद्दा दायर गरेको छ ।
राजस्व छली, चोरी पैठारी अभियोगमा बिगो र जरिवानासहित एक करोड बढी रकम असुल र सजाय माग गर्दै मुद्दा दायर भएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका, वडा नं ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक अग्रहरीले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड क, ख, छ र झ बमोजिम कसूर गरेको पुष्टि हुन आएको दाबी छ ।
विभागका अनुसार भन्सार चोरी पैठारीतर्फको अधिक मौज्दातको बिगो तीन लाख २५ हजार ८०७ रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ रुपैयाँ र आय करतर्फको बिगो ३१ लाख ८० हजार ३२५ रुपैयाँ गरी कुल ५३ लाख २७ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको हो ।
कायम भएको बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी कुल एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुल उपर गर्न तथा ऐनको दफा २३ (१) (ख) वमोजिम कैद सजाय मागदाबी गरेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
टेलिकमको ३०% स्वामित्व सर्वसाधारणलाई दिइने
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेस गर्दै टेलिकमको ३० प्रतिशत स्वामित्व सर्वसाधारण्मा विनिवेस गरिने बताए । टेलिकममा हाल सरकारको स्वामित्व ९१.५३ प्रतिशत र सर्वसाधारण्को ८.४७ प्रतिशत रहेको छ ।
१९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
कुल बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ अर्थात् ६०.१ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको छ ।
यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशत बढी र संशोधित तुलनामा १८.२ प्रतिशत बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको हो ।
आगामी आर्थिक वर्षका लागि हुने खर्चमा राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ रुपैयाँ र ५ खर्ब ९५ अर्ब ६६ कर करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइनेछ ।
राजस्व परिचालन र वैदेशिक सहायता अनुदान परिचालन गर्दा नपुग हुने ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोर्ने उनले बताए । प्रस्तुत बजेटको कार्यान्वयन गरी ६ प्रतिशतलको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ । आगामी आर्थिक वर्ष ५ दशमलव ५ प्रतिशतको मुद्रास्फिति रहने गरी मौद्रिक नीति ल्याउन पनि राष्ट्र बैंकलाई बजेटले दिशानिर्देश गरेको छ ।
सिटिजन्स बैंकका ग्राहकले गोल्डेन हस्पिटलमा आकर्षक छुट पाउने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बिराटनगर, स्थित गोल्डेन हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
गभर्नर विश्व पौडेल विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी
नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएकाे छ । साथै अन्तरिम आदेशका बारेमा छलफलका लागि समेत बोलाएकाे छ । बुधबार सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले पौडेललाई नियुक्ति गर्नुको कारण माग गरेकाे छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको थियो भने उक्त मुद्दामा आजका लागि पेसी तोकिएको थियो । रिटमा पराजित प्रतिनिधि सभाको सदस्य उम्मेदवारलाई अघि सारेबाट समेत स्पष्ट कानुन व्यवस्थाको विपरित सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं सोमा छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकोले उनको नियुक्त बदरभागी भएको उल्लेख गरिएको छ।
रिटमा मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्नेगरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ । यसअघि उनीहरूले पौडेलको नियुक्ति रोक्न माग गर्दै रिट निवेदन दिएका थिए तर सर्वोच्च प्रशासनले मुद्दा दरपिठ गरेको थियो । दरपिठविरुद्धको निवेदन इजलासमा पुगे पनि जेठ ६ गते न्यायाधीश सपना मल्ल प्रधानको इजलासले दरपिठ आदेशलाई सदर गरेको थियो ।
सोही दिन डा. पौडेल लगायत तीन जनालाई सिफारिस समितिले गभर्नरमा सिफारिस गरेको थियो भने त्यसको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई गभर्नर नियुक्त गरेको थियो । पौडेलले कार्यभार सम्हालि सकेका छन् । निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्र सम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख गरिएको छ। सिफारिस समितिमा रहेका व्यक्तिले राजीनामा गरी नीहित स्वार्थका आधारमा प्रतिस्पर्धा नगरी नियुक्त गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
बैंक, वित्तीय संस्थाको शाखा संख्या ११ हजार नाघ्यो
बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार भन्दा बढी पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुको शाखा संख्या ११ हजार पाँच सय १६ पुगेको हो ।
जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार ८३, विकास बैंकहरुको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरुको दुई सय ९१ र लघुवित्त कम्पनीहरुको पाँच हजार १० वटा शाखाहरु सञ्चालनमा छन् ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा ११ हजार पाँच सय ३० पुगेको थियो। यस अवधीमा वाणिज्य बैंकहरूको शाखा ५ हजार ५६, विकास बैंकहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा रहेको थियो।












