नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को जिम्मेवारी विकास आनन्दले पाएका छन् ।
प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका आनन्द बरिष्ठताको आधारमा डेपुटी सीइओ बनेको हुन् । उनको कार्यकाल आज अर्थात् जेठ १३ गतेदेखि लागू हुनेछ ।
नेपाल एसबिआई र भारतीय स्टेट बेंक बीचको प्राविधिक सेवा सम्झौता बमोजिम आनन्द प्रमुख संचालक अधिकृतको रुपमा खटिएका थिए । बैंकको जेठ १२ गते बसेको संचालक समितिको बैठकले उनलाई डेपुटी सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
हाल बैंकको डेपुटी सीईओको जिम्मेवारी राजेश कुामर पंडाले सम्हाल्दै आएको थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत हुन् । आजदेखि भने उनले प्रमुख वित्तीय अधिकृतको मात्रै जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिएकी छिन्।साथै सोही बैठकले रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरेको जानकारी दिएको छ।
गभर्नर पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा लगायतले रिट दायर गरेका हुन् । रिटमा पौडेलको नियुक्ति प्रक्रिया संविधान, सुशासन र कानुनी मापदण्डविपरीत भएको दाबी गरिएको छ ।
पौडेलको राजनीतिक पृष्ठभूमि, आवश्यक मौद्रिक अनुभवको अभाव, तथा राष्ट्र बैंक ऐनअनुसार शैक्षिक योग्यता नपुगेको जस्ता आधार उल्लेख गरिएको छ । रिटमा पूर्व सिफारिस समिति सदस्यले राजीनामा दिएर आफूलाई नै अगाडि सारेको शैलीलाई नीहित स्वार्थको संज्ञा दिँदै गम्भीर आपत्ति जनाइएको छ ।
साथै, मुद्दा टुंगिनुअघि गभर्नरको हैसियतमा नोटमा हस्ताक्षर गर्ने लगायतका कुनै पनि दूरगामी निर्णय नगर्न अन्तरिम आदेशको माग गरिएको छ । यसअघि पनि पौडेलको नियुक्तिमा प्रश्न उठाउँदै रिट पेस गरिएको थियो, जसलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर, यसपटक रिट दर्ता भई बुधवारका लागि पेसी तोकिएको छ ।
डा. पौडेल जेठ ६ गते मन्त्रिपरिषद् बैठकबाट गभर्नरमा नियुक्त भई कार्यभार सम्हालिसकेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘ट्रिपल ए’ रेटिङ
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले छैटौंपटक ट्रिपल ए रेटिङ पाएको छ । क्रेडिट एजेन्सी इक्राले यो रेटिङ पुनः पुष्टी गरेको हो ।ट्रिपल ए रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ । इक्रा नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुनः पुष्टि गर्ने मुख्य कारण हुन् । चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा निकै धेरै हो ।
बैंकको नन–पर्फर्मिङ लोन १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ । यस्ता सूचकले बैंकको उधारो प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती देखिएको उल्लेख गरिएको छ ।
बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणा भन्छन्, ‘छैटौं पटक पनि ट्रिपल ए रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब हो । यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ ।’
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ । बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र हाल देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा स्थापित छ ।
सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन होटलमा छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौँस्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाडौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वाणिज्य विभागले चार व्यावसायिक कम्पनीलाई तिरायो जरिवाना
वाणिज्य विभागले कैफियत देखिएको भन्दै विभिन्न चार कम्पनीलाई जरिवाना तिराएको छ।
विभागले सोमबार बजार अनुगमनका क्रममा कैफीयत देखिएको भन्दै प्रिमियर अटोमोबाइल्स, फेण्डस एण्ड कम्पनी, कल्पना गिफ्ट सप र कृष्ण श्रेष्ठ टेलरिङ सेन्टरलाई जरिवाना तिराएकोहो।
ललितपुर महानगर-१५ स्थित प्रिमियर अटोमोबाइल्सलाई ९० हजार तथा काठमाडौं महानगर-७ स्थित फेण्डस एण्ड कम्पनीलाई ८० हजार, कल्पना गिफ्ट सपलाई ६० हजार र कृष्ण श्रेष्ठ टेलरिङ सेन्टरलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको विभागले जनाएको छ।
विभागले ललितपुर महानगर-१५ स्थित राजेश हार्डवेयरलाई इलेक्ट्रो वेल्डिङ रङ बिक्री गर्न रोक लगाएको छ। राजेश हार्डवेयरसहित चार कम्पनीलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र आफूकहाँ आउन विभागले निर्देशन दिएको छ।
जगदुल्लाको ठेक्का लिन फर्जी कागजात पेस गरेको पुष्टि
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन(जेसीई)ले फर्जी डकुमेन्ट पेस गरेको पुष्टि भएको छ।
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन(जेसीई)ले फर्जी डकुमेन्ट पेस गरेको पुष्टि भएको छ।
फर्जी डकुमेन्ट प्रयोग भएको खुलेसँगै ऊर्जामन्त्री दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनीका सीइओ सापकोटा समेत यो प्रकरणमा तानिएका छन्।
जेसीईले नक्कली कागजात पेस गरेको उजुरी सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पर्दा पनि सीइओ सापकोटाले टेण्डर प्रक्रियालाई निरन्तर अगाडि बढाएका थिए। स्रोतका अनुसार चिनियाँ कम्पनी जेसीई र नेपाली कम्पनी एएनकेलाई ठेक्का दिलाउन मन्त्री खड्काले तयार पारेको प्लटमा सापकोटा समेत सामेल भएका थिए।
जेसीईले नक्कली कागजात पेस गरेको जान्दाजान्दै ठेक्का प्रक्रिया अगाडि बढाउनुले सापकोटाको समेत मिलेमतो रहेको स्रोतको दाबी छ।
‘जगदुल्लाको पहिलो ठेक्कामा चेक लेनदेन गरेर सेटिङपछि मन्त्री खड्कालाई जोगाउन सापकोटा सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिंडेका थिए। अहिले नक्कली कागजात बनाएको थाहा पाएर पनि टेण्डर प्रक्रिया नरोक्नुले उनी सामेल भएको स्पस्ट हुन्छ,’ ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने,’फर्जी कागजातकै विषय आएपछि अख्तियारले राम्रो अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ। र, दोषीलाई कठघरामा उभ्याउनुपर्छ।’

तर, सापकोटाले पत्रको आधिकारिकता बारेमा अध्ययन गरिरहेको भन्दै दिएर उम्कने प्रयास गरिरहेका छन्। ‘हामीलाई पत्र प्राप्त भएको छ। त्यो पत्र सम्बन्धित कम्पनीले पठाएको हो वा होइन?, पत्र आधिकारिक हो/होइन भनेर फ्याक्ट चेक गर्नुपर्ने देखियो। अहिले हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने,‘ सीआइबीले पनि अध्ययन गरिरहेको छ। त्यसले पनि यो पत्र आधिकारिक हो वा होइन भनेर हेर्ला। उसले पनि रिपोर्ट दिन्छ।’

जगदुल्ला जलविद्युत आयोजनास्थल
जगदुल्ला आयोजना निर्माणका लागि आवेदन दिएका ४ कम्पनीमध्ये सिनो हाइड्रो पावर र जेसीइ/एएनके जेभी सर्टलिस्टमा परेका थिए। त्यसलगतै सिनो हाइड्रोपावरले जलविद्युत आयोजना नै नबनाएको र योग्यता नै नपुगेको कम्पनी सर्ट लिस्टमा परेको भन्दै जेसीई/एएनकेविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो।
बैंकहरुको ऋण दिने क्षमता २५ अर्बले बढ्दै
नेपाल राष्ट्र बैंकले करिब १ खर्ब रूपैयाँ बराबरको कर्जाको जोखिम भार २५ प्रतिशत बिन्दुले घटाउने भएको छ । चालु आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउने घोषणा गरिएको हो ।
हाल ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार छ । अब सबै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत बनाउने भएको छ ।
राष्ट्र बैंकको २०८१ चैत मसान्तको तथ्यांक अनुसार सेयर धितो कर्जा १ खर्ब २४ अर्ब छ । जसमध्ये ५० लाख माथिको सेयर धितो कर्जा करिब १ खर्ब रुपैयाँ छ ।
उक्त कर्जाको जोखिम भार हालको १२५ प्रतिशत हुँदा १ खर्ब २५ अर्ब हुनेमा अब १०० प्रतिशत मात्रै हुँदा १ खर्ब मात्रै हुँन्छ । पछिल्लो समयम बैंकहरुको प्राथमिक पूँजीकोषको दबाब छ । यस्तोमा केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् ।
अहिलेकै अवस्थामा समग्र बैंकिङ क्षेत्रको जोखिम भार करिब २५ अर्बले घट्दा बैंकहरुले सोही बराबर जोखिम भार भएको कर्जा लगानी गर्न क्षमता बढ्ने देखिन्छ । यदि १०० प्रतिशत नै जोखिम भार भएको कर्जा लगानी गर्दा बैंकहरुले थप २५ अर्ब कर्जा विस्तार गर्ने क्षमता बढ्ने देखिन्छ ।
करिब १ खर्बको कर्जामा २५ प्रतिशत बिनदुले जोखिम भार घट्दा जोखिम भारित सम्पत्ति पनि करिब २५ अर्बले नै घट्नेछ । राष्ट्र बैंकले २०६७ देखि २०७५ सम्म सेयर धितो कर्जा, ऋणपत्र र सुचीकृत नभएकामा पनि १५० जोखिम भार कायम गरेको थियो ।
२०७५ पुस ११ मा परिपत्र जारी गर्दै सम्पूर्ण सेयर धितो कर्जाको जोखिम भार १०० बनायो । २०७८ फागुन ११ मा उच्च दरमा आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दवाब परेको र तरलता अभाव हुँदै जाँदा सेयर धितो कर्जासँगै घरजग्गा लगायत रिललस्टेट र आयात कर्जामा पनि जोखिम भार बढाएको थियो ।
त्यसबेला सबै सेयर धितो कर्जामा जोखिम भार बढाएर १५० पुर्याएको थियो । त्यसपछि सेयर लगानीबर्ता र राजनीतिक दवाबमा राष्ट्र बैंकले सुरुमा २५ लाख हुँदै ५० लाखसम्मको कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत बनाउँदा ५० लाख माथिको कर्जामा १२५ प्रतिशत नाएको थियो । नयाँ गभर्नरको रुपमा डा. विश्वानथ पौडेल आएसँगै सेयर धितो कर्जाको सीमा १०० प्रतिशत बनाएका हुन् ।
आर्थिक वृद्धि ०.९४ प्रतिशतले बढ्ने राष्ट्र बैंकको अनुमान
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि ०.९४ प्रतिशत विन्दुले बढ्ने अनुमान गरेकाे हाे ।
अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो। अघिल्ला दुई आर्थिक वर्ष उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रको वृद्धि ऋणात्मक रहेकामा चालु आर्थिक वर्षमा उक्त उप–क्षेत्रहरुको वृद्धि धनात्मक रहने भएकाले आर्थिक वृद्धिमा सुधार आउने अनुमान गरिएको हो ।
पर्यटक आगमनमा सुधार भएको छ । थोक तथा खुद्रा व्यापारमा विस्तार आएको छ । चालु आर्थिक वर्षको नौमहिनामा मध्यवर्ती उपभोगका सामानको आयात १७.८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशले घटेको थियो । यसबाट समेत आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार हुँदै गएको राष्ट्र बैंकले उल्लेख गरको छ । चालु आर्थिक वर्षको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ ।
दुर्गा प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा नचल्ने
हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका कमान्डर दुर्गा प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा नचल्ने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरणमा कुनै पनि प्रमाण नभेटेपछि मुद्दा नचलाउने निर्णय गरेको हो। सीइआबीले प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी नै लिएर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको थियो।
प्रसाईंका सबै कारोबार हेर्दा शंकास्पद भेटिएन तर बैंकिङ कसुरमा भने मुद्दा चल्ने भएको छ। प्रसाईं र निजको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरु जुन प्रयोजनको लागि लिइएको त्यो सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको अनुसन्धानमा खुलेको छ।
प्रसाईं मेडिकल व्यवसायी समेत हुन्। उनको झापामा बीएण्डसी अस्पताल संचालनमा छ।
‘हामीले बैंकिङ कसुरमा मात्र मुद्दा चलाउने गरि रायपत्र सरकारी वकिल कार्यालयमा बुझाएका छौं। हाललाई सम्पत्ति शुद्धीकरण छैन,’ ब्युरोका एसपी युवराज खड्काले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको समेत देखिएको हो। त्यस्तै, उनी आबद्ध भएको कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरि कर्जा दुरुपयोग गरेको पाइएको छ।
विगत चार वर्षदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता साँवा ब्याज भुक्तानी नियमित नभएको पनि खुलेको हो।
प्रसाईले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको, परिवार र निजहरु सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरुमा ‘राउन्ड ट्रिपिङ’, ‘रिलेटेड पार्टी ट्रान्जेक्सन’ लगायतका शंकास्पद कारोबारहरु भएको पनि देखिएको छ।
प्रसाईं विवादस्पद मेडिकल व्यवसायी समेत हुन्। करौडौं ऋण लिएर उनले व्यवसाय संचालन गरेका छन्। बैंकको ऋण र ब्याज समेत समयमा नबुझाएपछि उनी बेलाबखतमा विवादमा आउने गरेका छन्। ऋण लिएर व्यवसाय गरेका उनले बैंकको ऋण तिर्न नपर्ने भन्दै मानिसहरुलाई उक्साएर प्रदर्शन पनि गरेका थिए।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बनाउन उनको प्रमुख नेतृत्व रहेको भन्दै पक्राउ गरिएका उनीमाथि हाल अनुसन्धान भइरहेको छ। उनीविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा विभिन्न ५ वटा कसुरमा मुद्दा लगिएको छ।
बैंक सम्बन्धि ऐनका केही दफाहरुले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताएका छन् । सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका हुन् ।
उनले भने, ‘बैङक तथा बित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ । विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा बित्तीय संस्थाको चुक्त्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि शेयर लिएको वा शेयर स्वामित्वको काम बैंक वा बित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा यो एक प्रतिशतको ठाउँमा दुई प्रतिशत संशोधनमा राखिएको छ ।’
उनले थप भने,‘यसको आधारमा ८ को १६ करोड शेयर लिएको व्यक्ति बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ जाने हुन्छ ।’
उनले बैंक पनि आफै चलाउने र ऋण पनि आफै चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको भन्दै यो एक प्रतिशतबाट बढाउन नहुने बताए ।
‘म बैंकको अध्यक्ष पनि भएको हिसावले भन्नु या बैंक पनि आफैं चलाउने अनि ऋण पनि आफैं चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको छ जुन चिज नबुझिएर निकालिएको हो । यो एक प्रतिशतबाट बढाउनु हुँदैन,’ उनले भने ।
आज समितिमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो ।
सो क्रममा सांसद विराजभक्त श्रेष्ठ, अर्थविज्ञ अनलराज भट्टराई, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रालगायतले धारणा राखेका थिए ।
वाफिया संशोधन भए अहिले रहेका आधाभन्दा बढी उद्योग बन्द हुन्छन्: चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि बढाउने काम नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै गए आर्थिक मन्दी हुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा अध्यक्ष ढकालले उद्योग व्यवसायका लागि ऋण लिँदा एक प्रतिशतभन्दा बढी सेयर भएको व्यक्ति वा उद्योग व्यवसायका लागि ऋण लिन नपाउने व्यवस्था राख्दा अधिकांश उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना हुने बताए ।
इकोनोमिक एक्टिभिटि बढाउने हिसाव नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै जाने हो भने डिजास्टर हुन्छ । वास्तवमा यसले पार्ने प्रभावको अध्ययन नगरी यो ड्राफ्ट बनाइएको हो ? बैंकमा एक प्रतिशतभन्दा बढी सेयर भएको व्यक्तिले कुनै पनि उद्योग व्यवसायमा ऋण लिन नपाउने हो भने अथवा ऋण लिएको छ भने एक प्रतिशतभन्दा बढी सेयर बिक्री गर्नुपर्ने हुन्छ त्यसमा पनि त्यो सेयर परिवार अथवा नजिकका कम्पनीहरुलाई बेच्न नपाइनेछ । यदि त्यसो भयो भने यी अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्था एकातिर हुन्छ भने रोजगारी दिने कुराहरुलाई व्यवसायिक एक्टिभिटि बढ्छ त्यो चिजहरुमा ब्रेक लाग्छ । त्यसैले यी विषयहरु कदापी राखिनु हुँदैन भन्ने मेरो कुरा हो । कल्पना गर्नुस् त अहिलेको जति पनि उद्योग प्रतिष्ठानहरु छन् करिव तीन सय जति एक प्रतिशत भन्दा बढी सेयर होल्डिङ गर्ने छन् । करिव ४५ प्रतिशत ऋण त्यसैमा छ । त्यसमा दुईमध्ये एक छोड्नुपर्ने अवस्था बन्यो भने आगामी दिनमा हामी रोजगारी दिने कुरा गर्छौं । रेभेन्यू बढाउने कुरा गर्छौं । व्यावसायीक एक्टिभिटि बढाउने कुरा गर्छौं तर यसैमा ब्लक गरियो भने यसको रिजल्ट आउँछ । यसको ड्राफ्ट बनाउँदा यसको रिजल्ट कस्तो आउँछ भन्ने बिचारै नगरी बनाएको जस्तो लाग्यो । यो मस्यौदामा आएजतिमा जाने हो भने धेरै ठूलो संकट आउँछ भन्ने मलाई लाग्छ । हामीले कुनैपनि कानुन बनाउँदा र त्यो कानून आइसकेपछि त्यसबाट पर्ने प्रभावलाई ऐन आउनुअघि नै अध्ययन हुनुपर्ने देखिन्छ ।












