जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

कामना सेवा विकास बैंकले नेपालपे कार्ड प्रदान गर्ने

कामना सेवा विकास बैंक र एनसीएचएलबीच एनपीएस-एनसीएस र डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत विसकास ढुंगाना र एनसीएचएलबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।एनसीएचएलले हालै एनपीएस-एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु यसमा आवद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात कामना सेवाविकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिने तयारी छ। उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्धन हुने अपेक्षा कम्पनीको छ।

ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यती एअरलाइन्सको पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरे ।

ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइनेछ ।

यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ ।

ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।

कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।

त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजर चिफ बिजनेस अफिसर युवराज विष्टले एकआपसमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबीच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौंको कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ।
नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले शनिबार उद्घाटन गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यसअघि रहेको थापाथलीस्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरू र आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी स्थानान्तरण भएको हो।

कार्यालय स्थानान्तरण भएसँगै बैंकले ग्राहक तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्ने विश्वास लिएको छ।

कर विवरण नबुझाउने हजारौं करदाताको दर्ता एकसाथ निलम्बन

कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ । आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । विभागले १५ दिने अल्टिमेटम समेत दिएको थियो ।

सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो ।

तर, उक्त अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि विभागको ९ जेठको निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ ।

विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न सरोकारवाला सबैमा सूचित गरेको छ ।

यसरी दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था गरिएको छ ।

निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी सबै कारोबार रोक्न हुने भएको छ ।

मोबाईल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा ज्योति विकास बैंकले ५ सय रुपैयाँ फिर्ता दिने

ज्योति विकास बैंकले हवाई टिकटमा ५ सय रुपैयाँ नगद फिर्ता दिने भएको छ । बैंकको मोबाईल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाउने योजना ल्याएको जनाएको छ । 

बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरूले ज्योति स्मार्ट एपमार्फत सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउने जनाएको छ । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सय रुपैयाँको सर्वाधिक नगद फिर्ता पाउन सक्ने बैंकको भनाइ छ । 

ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ । बैंकको उक्त योजना जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रभु बैंक र इला कम्फर्ट होटलबीच छुट सम्झौता

 प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका-२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहक लक्षित उक्त सम्झौतामार्फत होटलका विभिन्न सेवामा विशेष छुट प्रदान गरिनेछ ।

जेठ १२ गते सम्पन्न कार्यक्रममा होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट र क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गर्दा होटलको आवास सेवामा १५ प्रतिशत छुट र खानपिन तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

इला कम्फर्ट होटल एण्ड रिसोर्ट बागलुङको प्रमुख पर्यटकीय केन्द्र नजिकै अवस्थित छ, जहाँ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका गन्तव्यहरू अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

यस सम्झौताले प्रभु बैंकका ग्राहकहरूलाई सेवा सुविधामा प्रत्यक्ष लाभ पुग्नुका साथै बागलुङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

३१ औं वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकद्वारा ३१ महिला उद्यमी सम्मानित

महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामार्फत ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले जेठ ४ देखि १० गतेसम्म देशव्यापी रूपमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।

बैंकले महिला उद्यमशीलता, वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति र लैंगिक समानताको प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ । यस सम्मान कार्यक्रमले उद्यमशीलताको हौसला बढाउने विश्वास लिइएको छ ।

यसै अवसरमा बैंकले जेठ ६ गते देशभर १० शाखा र केन्द्रीय कार्यालयमार्फत बृहत रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । जसअन्तर्गत ३२० पिन्ट रगत संकलन गरिएको छ । रक्त अभावको चुनौतीलाई समाधान गर्न यो पहल गरिएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवको क्रममा बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा सजिएर भौगोलिक र सांस्कृतिक विविधतालाई उजागर गर्ने कार्यक्रमसमेत गरिएको थियो । साथै, बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखाको शिविर पनि सञ्चालन गरिएको थियो ।

यसैगरी, कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतामूलक प्रभातफेरी समेत आयोजना गरिएको थियो । जसमा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण जस्ता सेवासम्बन्धी जनचेतनामूलक प्लेकार्डहरू प्रयोग गरिएको थियो ।

बैंकको वार्षिकोत्सवको विशेष कार्यक्रमको रूपमा रहेको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५’ को चौथो श्रृङ्खला जेठ २१ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ, जसमा २४ टिमको सहभागिता रहनेछ।

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त भएका छन्। अध्यक्ष नियुक्त भएका उप्रेती नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।

उप्रेतीले डेपुटी गभर्नर बमबहादुर मिश्रसँग बुधबार शपथग्रहण गरेको एनसीएचएलले जनाएको छ। यसअघि एनसीएचएलको सञ्चालक समितिमा राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए।

उप्रेतीसँग केन्द्रीय बैंकका विभिन्न विभागहरुमा २७ वर्ष बढीको कार्यानुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। उनी हाल राष्ट्र बैंकको गैरबैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण विभागमा कार्यकारी निर्देशक रहेका छन्।

एनसीएचएलको सञ्चालक समितिमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र एक जना स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व रहन्छ। एनसीएचएल केन्द्रीय बैंक र धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले प्रवर्द्धन गरेको पब्लिक लिमिटेड कम्पनी हो।

यसले नेपालमा धेरै राष्ट्रिय भुक्तानी र सेटलमेन्ट प्रणाली स्थापना गरेको छ।

नेपाल बैंकको कल्याणपुर शाखामा चोरी

सप्तरी खडक नगरपालिका– ७ मा रहेको नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको छ । शुक्रबार राति करिब १२ः२० बजे बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु एक थान चोरी भएको हो ।

बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना पश्चात इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको र सिरहा प्रहरीको सहयोगमा एक जनालाई नियन्त्रणमा लिइएको छ ।

सप्तरीको खडक नगरपालिका–६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारीलाई सिरहा प्रहरीको सहयोगमा नियन्त्रमा लिइएको हो ।

एनआईसि एशिया बैंक कर्मचारी संघको स्थापना दिवस: कर्मचारीहरूलाई सम्मान

एन आई सि एशिया बैंक कर्मचारी संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ।

यस विशेष अवसरमा,विभिन्न प्रदेशमा सप्ताह ब्यापी कार्यक्रम आयोजन गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ। उनीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यस सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ, जसअनुसार कोशी, मधेश र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन्। आगामी दिनहरूमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिनेछन्।

एन आई सि एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२.९८ प्रतिशत ब्याजमै निक्षेप राख्दै बैंकहरू

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहँदा राष्ट्र बैंकले धमाधम रकम खिच्न थालेको छ। जेठ ७ गते ५० अर्ब रकम २.९९ प्रतिशतका दरले नै निक्षेप संकलन गरेको राष्ट्र बैंकले आइतबार पनि फेरि ३० अर्ब तान्दै छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ३० प्रतिशतको कर्जायोग्य लगानी छ। यसलाई व्यवस्थापन गर्न पनि राष्ट्र बैंकले निक्षेप संकलन नामक मौद्रिक उपकरण जारी गर्दै आएको छ।

तरलतामा व्यवस्थापन गर्न समस्या देखिएपछि बैंक तथा वित्तीय संस्थाहरुले न्यून ब्याजमै पनि मागभन्दा अधिक रकम बोलकबोलमा हाल्ने गरेका छन्। जेठ ७ गते बैंकले ५० अर्ब माग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले २.९८ प्रतिशत ब्याजमै ५२ अबं बराबरको रकम बलकबोलमा राखेका थिए।

आइतबार पनि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन गर्दै छ। आजै राष्ट्र बैंकले २७ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाउँदै छ। गत वैशाख २१ गते संकलन गरेको निक्षेप आइतबार फिर्ता गर्दै छ।

मौद्रिक नीति समीक्षाका लागि व्यवस्थापन समितिको बैठक बोलाइयो

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको लागि छलफल गर्न व्यवस्थापन समितिको बैठक बोलाएको छ । आइतबार ३ बजेका लागि गभर्नर डा. विश्वनाथ पौडेलले व्यवस्थापन समितिको बैठक बोलाएका हुन् ।

गभर्नरको अध्यक्षतामा बस्ने व्यवस्थापन समितिमा दुबै डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिव रहने व्यवस्था छ ।

कार्यकारी निर्देशकको पहिलो बरियातमा रहेकोलाई व्यवस्थापन समितिको जिम्मेवारी तोकीने गरिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दा हरेक त्रैमास सकिएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ । जस अनुसार मौद्रिक नीति समिक्षा सार्वजनिक गर्नका लागि व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

गभर्नर पौडेलले नियमन भन्दा सुपरीवेक्षणमा बढी जोड दिइने विषय उल्लेख गर्दै आएका छन् । अहिलेलाई धेरै नीतिगत फेरबदल नगरी बजारलाई सकारात्मक सन्देश दिने किसिमको मौद्रिक नीति समिक्षा आउने अपेक्षा गरिएको छ ।