जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

लघुवित्तले कर्जाको ब्याजमा तीन प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्दै राष्ट्र बैंक

लघुवित्त संस्थाहरुले आधार दर निर्धारण गरी कर्जाको ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ। लघुवित्तहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले आधार दर निर्धारण गरी ब्याज लिन पाउने व्यवस्था गर्न लागेको हो।

अहिले लघुवित्तहरुको कर्जाको ब्याजदरमा १५ प्रतिशतको क्याप लगाइएको छ। नयाँ व्यवस्था आएपछि लघुवित्तले आधार दर निर्धारण गरी त्यसमा न्यूनतम ०.२५ देखि ३ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जाको ब्याज लिन पाउनेछन्।

लघुवित्त संस्थाहरुले आधार दरमा प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

लघुवित्तहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने हुँदा उनीहरुको ब्याजदर घटबढ हुँदा त्यसको प्रभाव लघुवित्तमा पर्ने भएकाले विद्यमान व्यवस्थामा हेरफेर गर्न लागेको राष्ट्र बैंकका एक कर्मचारीले बताए।

‘अहिले लघुवित्तले कर्जामा १५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था छ। त्यसलाई संशोधन गरी अब आधार दर कायम गरी प्रिमियम लिन पाउने व्यवस्था गर्न लागिएको छ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर लिन पाउने व्यवस्था गर्न लागेका छौं। डेपुटी गभर्नरज्यू देशबाहिर हुँदा केही ढिलाइ भयो। उहाँ फर्किसकेकाले अब केही दिनमा परिपत्र जारी गरी गर्छौं।’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत जेठ १ गतेदेखि लागू हुने गरी आधारदर कायम गरी कर्जाको ब्याजदर कायम गर्न सक्ने व्यवस्था गरिने भनेको थियो।

बैंकहरुको बेसरेट १०/१२ प्रतिशत पुगेको बेलामा लघुवित्तले १३/१४ प्रतिशतमा ऋण दिनुपर्ने अवस्था अत्य गर्न यो व्यवस्था आवश्यक रहेको ती कर्मचारीले बताए।

आधार दरमामा प्रिमियम कायम गरी ब्याजदर कायम गर्न पाउने व्यवस्था भए त्यो लघुवित्त र ऋणी दुवैको लागि सकारात्मक हुने लघुवित्तकर्मीहरु बताउँछन्।

आधार दरका आधारमा ब्याजदर कायम गर्न पाउँदा नाफाको स्प्रेड सुरक्षित हुने विजय लघुवित्तका सीइओ वसन्तराज लम्सालले बताए।

‘ब्याजदर बढेको बेलामा घाटाको बिजनेस गर्नु परिरहेको छ। ब्याजदर बढ्ने बित्तिकै डर लाग्ने अवस्था छ,’ उनले भने, ‘अहिले बैंकहरुको बेसरेट घटेको छ। बैंकको बेसरेट कम हुँदा हामीले लिने ऋण पनि सस्तो हुन्छ। लघुवित्तको लागत कम हुँदा ऋणीलाई पनि सस्तो ब्याजदरमा कर्जा दिन सकिन्छ। आधार दर अनुसार ब्याजदर कायम गर्न पाउने भएपछि मुनाफाको स्प्रेड सुनिश्चित हुनेछ।’

गुणाकर रोक्न शक्तिको दुरुपयोग गर्दा गभर्नरमा चिप्लिइन् नीलम

कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको नाम गभर्नर सिफारिस समितिले सिफारिस नै गरेन ।

भट्टलाई रोक्न सफल नीलमको नाम गभर्नरका लागि सिफारिसमा त पर्यो । तर, सरकारले डा विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो ।

गुणाकर भट्टलाई गभर्नर बन्न नदिन कामु गभर्नर नीलमले शक्तिको दुरुपयोग गर्दा विश्व पौडेलको भाग्य चम्कियो । नीलम हेरेको हेर्यै भइन्

बैशाख २ मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले १८औं गभर्नरमा राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।

सोही राजनीतिक सहमतिपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा अगाडि बढाउने सहमति भएको भन्दै शुभकामना नै दिएको भट्टले उच्च राजनीतिक नेतृत्वले नै गभर्नर बनाउने लागिएको बताएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

राष्ट्र बैंक ऐनको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्न नमिल्ने कुनै कानुनी व्यवस्था नभए पनि गभर्नर नियुक्तमा महान्यायधिवक्ताले २०६१ मा दिएको एउटा रायको आधार देखाउँदै कार्यकारी निर्देशकबाट राजीनामा दिनुपर्ने चर्चा चलाइयो । सोही कारण भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

गुणाकरलाई रोकेर नीलमले भएजतिको बल लगाए पनि त्यो पार लगाउन सकिनन् । उल्टै उनको ओज घट्यो ।

सिन्धुलीको कमलामाई नगरमा एभरेस्ट बैंकको शाखा

एभरेष्ट बैंकले सोमबार सिन्धुलीको कमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ। यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको बैंकले जनाएको छ। यस शाखा विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने बैंकको विश्वास छ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा सो शाखा उद्घाटन गरिएको थियो। सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारी र स्थानीयवासीको उपस्थिति थियो।

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो अन्तर बैंक टेलर क्यूआर सेवा, रकम झिक्न सजिलो हुने

मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ।

यस सेवा अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैंकिङ एपको प्रयोग गरि मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरि सजिलै नगद झिक्न सक्नेछन्।

यो सेवाको सुरुवातसँगै ग्राहकहरुले परम्परागत रुपमा चेक तथा एटिएमको प्रयोगमार्फत रकम झिक्नु पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

यव सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन्।

हाल यो सेवा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुंगा ,कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयमा उपलब्ध हुनेछ। यो प्रणालीलाई बैंकले देशभरको शाखामा विस्तार गर्ने तयारी पनि गरेको छ।

४९ प्रतिशतले बढ्यो शंकास्पद कारोबार

सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ ।

“सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा छ हजार २५५ रहेकोमा सन् २०२४ मा सो सङ्ख्या करिब ४९ प्रतिशतले वृद्धि भई नौ हजार ३०४ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।

गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदनमध्ये सन् २०२४ मा जम्मा एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरिएको जनाइएको छ । सोमध्ये एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८०८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि राष्ट्र बैंकले उल्लेख गरको छ ।

त्यस्तै, सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो सङ्ख्या १९ लाख ७२ हजार ८५५ पुगेको जनाइएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । “सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संङ्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकको १८ औं गभर्नर डा. विश्वनाथ पौडेल

 नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले सिफारिस गरेको ३ नाममध्ये मन्त्रिपरिषदले पौडललाई राष्ट्र बैंकको साँचो सुम्पिएको हो । मन्त्रिपरिषद् बैठक अघि सोमबार नै बसेको सिफारिस समिति बैठकले गभर्नर नियुक्तीको लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सरकारले पौडेल सम्मिलित गभर्नर सिफारिसको लागि गठित सिफारिस समितिको सदस्य बनाएको थियो । गभर्नरको नाममा कांग्रेस र एमालेबीच लामो रस्साकस्सीपछि पौडेललाई गभर्नर बनाउने सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट राजिनामा दिए । यता मन्त्रिपरिषदले पुरानो सिफारिस समिति विघटन गर्दै डा. पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ सिफारिस समिति गठन गरेको थियो ।

गभर्नर छान्ने जिम्मा पाएका पौडेल अन्तिममा आफैं गभर्नर बनेका छन् ।

२४ चैत २०८१ मा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पुरा भएसँगै गभर्नर रिक्त थियो भने केन्द्रीय बैंक कायम मुकायम गभर्नरको भरमा थियो । नेपाल राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिना अघि नै गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ । गभर्नर अधिकारीको कार्यकाल सकिएको करिब डेढ महिनापछि मात्रै केन्द्रीय बैंकले नयाँ गभर्नर पाएको हो ।

को हुन् पौडेल ?

पौडेलले नेपालको आर्थिक नीति निर्माण र योजना विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री शेरबहादुर देउवा रहँदा पौडेल २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्र इतिहासका ज्ञाता हुन् ।

डा. पौडेलका करिब दुई दर्जन अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । डा. स्वर्णीम वाग्ले राष्टिय योजना आयोगको उपाध्यक्ष हुँदा उनी विज्ञ सल्लाहकार थिए ।

पछि डा. प्रकाशशरण महत अर्थमन्त्री बन्दा पौडेल वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा काम पनि गरे । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्क्ले) बाट कृषि तथा संशाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा प्राध्यापक हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ ।

यसअघि डा. पौडेलले सानिमा बैंकको सञ्चालक समिति सदस्य, विश्वबैंकको लागि अल्पकालीन परामर्शदाता, सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालक सहिसकेका छन् ।

उनले सानिमा बैंक लिमिटेडको निर्देशक, मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्री, र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको आर्थिक सल्लाहकारको रूपमा पनि कार्य गरेका छन् । साथै, सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताका रूपमा कार्यरत थिए । यसैगरी, इसिमोड बोर्ड अफ गभर्नरका अध्यक्ष, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार रहिसकेका छन् ।

२०७९को निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभाको टिकट पाएपछि योजना आयोगको उपाध्यक्षबाट राजिनामा दिएर उनि चुनाव लड्न गएका थिए ।

तर, २०७९ को निर्वाचनमा पराजित भएपछि पौडेलले सक्रिय प्राध्यापन पेशामा लागेका थिए । उनि हाल काठमाडौं विश्वविद्यायको स्कुल अफ म्यानेजमेन्टको एसोसिएट प्रोफेसर छन् ।

ई-सेवाको सिष्टममा समस्या, कारोबार ठप्प

मोबाइल वालेट सर्भिस प्रोभाइडर ई-सेवामा समस्या देखिएको छ । सोमबार साँझबाट ई-सेवाको सिस्टममा समस्या देखिएको ई-सेवाका एक कर्मचारीले बताए । उनले भने, ‘ ई-सेवामा समस्या आएको हो। हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं। ‘

उनका अनुसार के भएर समस्या भएको भन्‍नेबारे अझै बुझ्न थाहा पाउन सकिएको छैन। ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् । सिस्टममा समस्या देखिएसँगै कारोबार ठप्प हुँदा सेवाग्राही भने समस्यामा परेका छन् । मोबाइल वालेटमा गरिएको कारोबार देखाएको छैन ।

एफ वान सफ्टले निर्माण गरेको ई-सेवामा समस्या आएपछि ह्याकिङ भएकोसमेत आशंका गरिएको छ । ६ महिनाअघि एफ वान सफ्टको बैङ्क खाता नै ह्याक भएको थियो । कम्पनीले सिटिजन्स बैंकमा राखेको रकम ह्याकरले झिकेर लगेको थियो ।

ह्याकरको समूहले एफ वान सफ्टको अन्य सिस्टममा पनि प्रवेश पाएको आशंका गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका पालना नगर्ने ११ ब्रोकरलाई सचेत

नेपाल धितोपत्र बोर्डले ११ धितोपत्र दलाल कम्पनीलाई सचेत गराएको छ । ती दलाल कम्पनीले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएकाले सचेत गराइएको हो ।

सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ पालना नगरेको पाएपछि बोर्डले कारबाही स्वरूप सचेत गराएको जनाएको छ ।

धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।

सम्पत्ति शुद्धकरण निवारण सम्बन्धी निर्देशन पालना गर्ने धितोपत्र दलाल कम्पनीमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल छन् ।

हेर्नुहोस् सूची :

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकले बूढानीलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५% छुट दिने सहमति भएको छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्तिविरुद्ध परेको रिटमा कागजात मागेको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधार सम्बन्धी कागजात झिकाउन सोमबार आदेश दिएको हो।

‘ओझाको नियुक्तिका सम्बन्धमा सर्वोच्चले थप कागजात अध्ययन गर्ने भएको छ। नियुक्ति गर्दा पेस गरेका कागजात झिकाउन सर्वोच्चले सरकारलाई आदेश दिएको छ,’ रिट निवेदक अधिवक्ता इन्दिरा धमलाले भनिन्।

सरकारले ‌फागुन १३ गते ओझालाई प्राधिकरण अध्यक्ष नियुक्त गरेको थियो। संगठित संस्थामा काम गरेको अनुभव नभएका ओझालाई सरकारले उमेर सम्बन्धी मापदण्ड हेरफेर गरेर नियुक्ति दिएपछि अधिवक्ता धमलाले चैत १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति, प्राधिकरण र ओझालाई विपक्षी बनाएर अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले चैत २० गते कारण देखाउ आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५० प्रतिशत सम्म छुट

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

आईएमई लाइफ र प्रेम दरवार प्रा। ली। बिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप९मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

छुट सुविधा लिनका लागि प्रेम दरवार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्नेछ । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाइ सहज र स्तरीय बनाएको छ ।

रिलायन्स फाइनान्स नेपाल पे कार्ड र एनपीएस-एनसीएसमा आबद्ध

रिलायन्स फाइनान्स र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको छ । यस अनुरूप विभिन्न बैंक तथा वित्तीय संस्था नेपाल पे कार्ड र एनपीएस एनसीएसमा क्रमशः आबद्ध हुँदैछन् ।

नेपाल पे पूर्वाधारको कमर्शियल रोलआउटपछि रिलायन्स फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड इस्यू तथा अक्वायर गर्न सक्षम हुनेछ ।

एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा स्थापना गरिएको छ ।

यस प्रणालीको पूर्ण कार्यान्वयनले डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नयाँ उपकरणहरूको विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।