जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सनराइज बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार

सनराइज बैंकले एकसात तीनवटा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सूर्यविनायक, पोखराको अमरसिंह चोक र बुटवलको योगीकुटीमा नयाँ शाखा विस्तार गरेको हो ।

यससंगै बैंकको कुल शाखा संख्या १३९ वटा पुगेको छ । त्यस्तै, बैंकको हाल ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम रहेका छन्

ज्योति लाइफले बीमाशुल्क आर्जन ९७ प्रतिशतले बढायो

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक १७ गते सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा ९२ प्रतिशतले खुद नाफा बढेको छ । गत वर्ष पहिलो त्रैमाससम्म  ३ करोड ७६ लाख ४१ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष  ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीले ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्ष  २७ करोड ६५ लाख रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष ९७ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । गत वर्ष  १० लाख ७२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको यस कम्नपीले यो वर्ष  १ करोड ४ लाख ९२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले सर्वसाधारणको लागि आईपीओ विक्री गर्ने तयारी गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रकम  ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ छ । गत वर्षभन्दा जगेडा कोष रकम ८५ दशमलव ६७ प्रतिशत बढी कायम भएको हो ।

कम्पनीको जीवन बीमा कोष रकम गत वर्षभन्दा १४७ प्रतिशत बढी  २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ रहेको छ । गत वर्ष यो रकम ९१ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियो । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १३३ दशमलव २३ रुपैयाँ रहेको छ ।

एनएमबि बैंकबाट २४ घण्टामा मोबाइलबाटै ऋण

एनएमबि बैंकले एनएमबि सापटी, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बताएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ अ‍ैंदिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकहरु को व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलव खाता भएका तलवि कर्मचारीहरुलाई  एक लाख रुपैयाँसम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन तुरुन्त कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

“एनएमबि सापटी डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले  ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्ने बैंकले जनाएको छ  । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्याउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गर्दछ । ” एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आफ्नो धारणा प्रस्तुत गरे ।

कुमारी बैंकले ल्यायो फोनलोन कर्जा सुविधा

कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ ।बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको जनाएको छ ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहक महानुभावहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।हाल बैंकको  १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल तीन महिना थप

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल तीन महिना थप गरिएको छ । यही कार्तिक १८ करार अवधी सकिन लागेको तमोटको कार्यकाल तीन महिना थप्ने सञ्चालक समितिको निर्णय अनुसार तमोटको कार्यकाल आगामी माघ १८ गतेसम्म रहने कम्पनीले जनाएको छ । कम्पनीको यही कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकबाट टमोटलाई तीन महिना थप गर्ने निर्णय गरेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया अघि बढि सकेको छ । सञ्चालक समितिले नयाँ सिईओ नियुक्त गर्न ढिलाई भएकोले टमोटको कार्यकाल तीन महिना थप गरिएको कम्पनीले जनाएको छ । उमेर हदका कारण तमोट सिईओ पदमा नियुक्त हुन सक्दैनन् ।

सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग

नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गर्नुभएको हो ।

महासङ्घले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न सबै पत्रकार अनुरोध गरेको छ । सङ्क्रमणको दर वृद्धिसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको भन्दै पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ भने चारजना पत्रकारको कोभिड–१९ का कारण निधन हुन गएको उहाँले जानकारी दिनुभयो ।

सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारलाई एकातिर कोभिड–१९ को कारण देखाई विभिन्न सञ्चारगृहबाट नियमित पारिश्रमिक नदिने, बेतलबी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्नेजस्ता क्रमसमेत बढिरहेको र अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारमा कोरोना सङ्क्रमण बढिरहेको उल्लेख गर्नुभएको छ । “दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेसागत कर्म निर्वाहका क्रममा कोरोना सङ्क्रमित भई यतिखेर आफ्नै खर्चबाट पिसिआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ”, विज्ञप्तिमा भनिएको छ ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म

मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्थानमा छुटको विषेश अफर सार्वजनिक गरेको  छ ।  बैंकका ग्राहकले काठमाडौंको व्लुक्रस अस्पतालमा १० प्रतिशत,धुलिखेल माउटेन्ट रिसर्टमा १० प्रतिशत, स्तुपा रिसर्ट नगरकोटमा १५ प्रतिशत जम्बाला रिसर्ट खोटाङमा १५ प्रतिशत छुट पाउने व्यबस्थामा सम्झौता भएको बैंकले जनाएको छ ।

त्यस्तै, ल्याण्डमार्क होटल पोखरा, काठमाडौं र चितवनमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंको रेष्टुरेष्टमा १५ प्रतिशत, दवकर्नर सुन पसल काठमाडौंमा ३० प्रतिशतसम्म छुट पाउने व्यबस्था गरेको बैंकले जनाएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्गकारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंक विश्वास लिएको जनाएको छ ।

साथै बैंकको ग्राहकले भिषा नेवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ ।

केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उहाँले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभएको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले भन्नुभयो “ कार्यान्वयनका क्रममा केही कमीकमजोरी भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ । त्यसका लागि सबैको साथ सहयोग भने अत्यावश्यक छ ।”

कोभिड– १९ का कारण समस्यामा परेका व्यवसायीलाई राहत दिन र उनीहरुलाई ढाडस दिने ढंगले केन्द्रीय बैंकले नियमकका रुपमा भन्दा सहजकर्ताका रुपमा आफूहरु प्रस्तुत भएको जनाउँदै उहाँले बैंक तथा वित्तीय संस्था एवम्, व्यवसायीलाई समेत सोही भावनालाई आत्मसात् गर्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो “ कोभिड –१९ का कारण उद्योमशीलता नै मर्ने, व्यवसायी नै पलायन हुने अवस्था आयो । हामी परम्परागत कुरा छाडेर नियमकभन्दा पनि सहजकर्ताको रुपमा प्रस्तुत भयाँै । नियमनको भूमिकामा रहँदा उद्यमी व्यवसायीलाई सुरक्षा गर्नुपर्छ, ढाडस दिनुपर्छ भन्नेतर्फ हामी लागेका छौँ ।

व्यवसायीले पनि तत्काल आफूहरुलाई पैसा नचाहिएको बरु नीतिगत रुपमा राम्रो व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयन चाहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कार्यान्वयनका क्रममा सूचनाको अभाव तथा बुझाइमा समस्या भए तत्काल आआफ्ना निकायलाई सूचना गर्नसमेत आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो “हामीले प्रवाह गरेको सूचना सही रुपमा नपुगेको भए, तत्काल पु¥याइन्छ । कार्यान्वयन प्रभावकारी नभए, जतिसुकै राम्रो नीतिको पनि कुनै अर्थ रहँदैन ।”

राष्ट्र बैंकले झण्डै रु दुई खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको र त्यसमा ७० प्रतिशत अर्थात् रु एक खर्ब ४८ अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थाका माध्यमबाट प्रवाह हुने उहाँले जानकारी दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले उक्त सुविधा प्राप्त गर्नेको सूची मात्रै राष्ट्र बैंकलाई पठाउन भनिएको स्पष्ट पार्नुभयो ।

उपलब्ध स्रोतअनुसार सबैलाई समानुपातिक रुपमा पुनर्कर्जाको सुविधा उपलब्ध गराइने उहाँको भनाइ थियो । केन्द्रीय बैंकमा प्राप्त सबै विवरणलाई यही महिनाको मसान्तभित्र स्वीकृत गरिने गभर्नर अधिकारीले जानकारी दिनुभयो । उहाँले ७५३ वटै पालिकामा उक्त सुविधा पुगोस् भन्ने आफ्नो ध्येय रहेको स्पष्ट गर्नुभयो ।

गभर्नर अधिकारीले कोभिड –१९ का कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई नकस्न र कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन दिनुभयो । उहाँले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र कुनै प्रकारको दवाव दिएर हतोत्साहित नबनाउनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ कोरोनाकालभन्दा पहिल्यैको उठाउनुपर्ने कर्जा भए त्यसलाई छुट नदिनुस् तर कोरोना कालको हो भने जबर्जस्ती नगर्नुस् ।”

उहाँले कमाएका व्यवसायीबाट कर्जा उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका र कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्न नहुनेमा जोड दिनुभयो ।

बैंक तथा वित्तीय संस्था आफैँले आफ्ना ग्राहक पहिचान गर्ने भएकाले को समस्यामा छन्, को छैनन् भन्ने पत्ता लगाइने उहाँको भनाइ थियो । उहाँले मौद्रिक नीति कार्यान्वयनका क्रममा गत्यावरोध उत्पन्न भए त्यसको संशोधन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो “ राष्ट्र बैंकले घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्न कसैको सोर्स फोर्स चाहियो वा सोर्स लगाएर मात्रै आउनुस् भन्ने कुरा पनि सुनिएको छ । यदि त्यस्तो हो भने कुन बैंक वा वित्तीय संस्थाका शाखाले त्यस्तो भनेको हो, त्यसको जानकारी तत्काल राष्ट्र बैंकलाई दिइहाल्नुस् ।”

कुनै पनि बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जाका लागि आवेदन नै नलिएको वा सोर्स फोर्स चाहिएको भन्ने सन्दर्भमा आएको गुनासोलाई सम्बोधन गर्न राष्ट्र बैंकमा छुट्टै एकाइसमेत रहेकाले कहीँकतै त्यस्तो अवस्था आएमा कारवाही गरिने चेतावनीसमेत उहाँले दिनुभयो ।

सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले सरकारले बजेट र मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई सहयोग गर्न हरसम्भव प्रयास गरिरहेको बताउँदै बजेटमा घोषणा भएका कतिपय विषय कार्यान्वयनमा गइसकेको र केही कार्यान्वयनमा जाने चरणमा रहेको जानकारी दिनुभयो ।

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले राहत, सहुलियत र सुविधाका विषयमा यसअघि नै निर्णय गरिसकेकाले त्यसमा कहीँकतै कार्यान्वयन नभएको भए सुधार गरेर प्रभावित क्षेत्रलाई राहत दिइने उहाँको भनाइ थियो ।

सरकारले बजेटमा नै व्यवस्था गरेको विद्युत् महसुलको डिमाण्ड शुल्कलगायत विषयमा निर्णय भइसकेको तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आवश्यक सहजीकरण गरिएको जानकारी उहाँले दिनुभयो ।

उहाँले नेपालभित्र नै दक्ष जनशक्ति उत्पादनका लागि काममा आधारित तालीम दिने व्यवस्था गरिएको र त्यसका लागि ५० प्रतिशत रकमसमेत सरकारका तर्फबाट उपलब्ध गराउने व्यवस्था भएकाले स्वदेशी श्रमिकको प्रयोगमा नै ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
कोभिड –१९ का अवस्थामा समेत पूँजीगत खर्च विस्तार गर्न, ठेक्का प्रक्रियामा रहेको समस्याको समाधान गर्न र निर्माणलाई सम्बन्धित मन्त्रालयसँग बसेर सुधारको प्रक्रिया अगाडि बढाउन पहल गरिएको उहाँको भनाइ थियो ।

पछिल्ला दिनमा राजश्व संकलनले गति लिँदै गएको जनाउँदै उहाँले त्यस क्षेत्रमा समस्या नआउने बताउनुभयो । अर्थ सचिव ढुंगानाले अर्थतन्त्र क्रमशः पुरानै लयमा फर्कने जनाउँदै कोहीकसैले पनि पक्षविपक्षमा लाग्न नहुने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायतले मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयन गरेर कोभिडका कारण अर्थतन्त्रमा परेको समस्या निराकण गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् ।

तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) बीच देखिएको मतभेदकै कारण पार्टी एकता संकटमा परेकाले आफ्नो कुरा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको महासचिव पौडेलले अनलाइनखबरलाई बताए । पौडेलले भने, ‘निकै चिन्तित बनेको छु, त्यसैले आफ्नो कुरा सार्वजनिक गरेको हुँ ।’

महासचिव पौडेलले राजनीतिक स्थायीत्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र ‘समृद्ध नेपाली, सुखी नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवाद तर्फ अगाडि बढ्न पार्टी एकता भएको उल्लेख गरेका छन् । तर, अहिले एकताको औचित्व बिपरीत पार्टी संकटतिर धकेलिएको उनले बताए ।

ओली–प्रचण्ड बीच ११ दिन पछाडि शनिबार दिउँसो भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्तामा समेत कुनै ठोस् सहमति जुट्न नसकिरहेका बेला महाचिव पौडेलले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

विभाजनकै डिलमा पुगेर अडिएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने गरी गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । तर, भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णयअनुसार, नेकपामा कुनै पनि काम हुन सकेको छैन । बरु, कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ भने दुई अध्यक्ष बीच राम्रोसँग सम्वाद समेत हुन सकिरहेको छैन ।

विशेषगरी कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस लगायत केही निर्णयले नेकपाभित्र फेरि जटिलता देखिएको छ ।

लक्ष्मी बैंक एसियाली विकास बैंकको अग्रणी साझेदार, टीएससीएफपीबाट लक्ष्मी बैंकलाई सम्मान

लक्ष्मी बैंकलाई एसियाली विकास बैंक (एडीबी) ले अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको छ।

एडीबीको ट्रेड एण्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको हो।

TaTaटीएससीएफपीसँग सन् २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरे वापत हालै एक भर्चुअल कार्यक्रमबीच एडबीले सम्मान गरेको लक्ष्मी बैंकको विज्ञप्तिमा उल्लेख छ।

लक्ष्मी बैंकको ७७ मध्ये ४८ जिल्लामा १२१ शाखा कार्यालय छन्। बैंकका ७ वटा विस्तारित काउन्टरका साथै ४ वटा हस्पिटल सेवा काउन्टर र १५१ वटा एटीएम काउन्टर छन्। बैंकका देशभर २५ सयभन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ सेवा इकाइ पनि छन्।

नेपाल फाईनान्सले मङ्सिर ४ देखि हकप्रद निष्काशन गर्ने

नेपाल फाईनान्सले मङ्सिर ४ गतेदेखि हकप्रद  निष्काशन गर्ने भएको छ । कम्पनीले १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रदमा  मङ्सिर २४ गतेसम्म आवेदन दिन सकिने छ ।  हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

यो हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्ने छ । त्यसपछि कम्पनीले पुन: १७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । १७५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड पुग्ने छ । फाइनान्स कम्पनीहरुले न्युनतम ८० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने ब्यबस्था छ ।

अब ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने, मोबाइलबाट राजस्व सिधै सरकारको खातामा

ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने  व्यवस्था लागू गर्न लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीमा परेका आम सवारी चालकले आफूले बोकेको मोबाइलबाटै सिधै नेपाल सरकारको राजस्व खातामा रकम दाखिला गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

अबको १ महिनामा मादक पदार्थ सेवन (मापस)े तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

‘अब कारवाहीमा परेका सवारी साधन चालकले राजस्व बुझाउनका लागि बैंकसम्म लाइन बस्न जानु पर्दैन,’ उनले भने ‘ अब छिट्टै नै हामी आम ग्राहकले तिरेको राजस्व नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था गर्दैछौं ।’ ढिलोमा १ महिनाभित्र हामी विद्युतीय प्रणालीमार्फत  सरकारको खातामा राजस्व दाखिला हुने व्यवस्था मिलाउँदै छौं ।’

अहिले पनि कार्यालयले आम ग्राहकलाई सुविधा दिन हराएको डकुमेन्ट तथा बिलहरूको भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाएको छ । अहिले भने अनलाइन कारोबारबाट भएको रकम कार्यालयको खातामा जम्मा भएपछि नेपाल सरकारको खातामा जाने गर्छ भने नयाँ व्यवस्था लागू भएपछि राजस्व सिधै नेपाल सरकारको खातामा जम्मा हुन्छ ।

हाल कोभिडको बेलामा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक दुईदेखि ३ लाख रुपैयाँसम्म राजस्व उठाउने गरेको छ । कोभिड अगाडी दैनिक ७ देखि ८ लाखसम्म राजस्व संकलन हुने गरेको प्रवक्ता यादवले बताए । वर्षमा हामीले २० देखि २५ करोडसम्म राजस्व उठाउने गरेका छौं ।’

८ सयभन्दा बढी सवारी साधनमा भाडादर टाँसियो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो शनिबारसम्म आठ सयभन्दा बढी सार्वजनिक सवारी साधनमा भाडादर टाँस गरेको छ । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको हो । शनिबार दोस्रो दिनसम्म आठ सयभन्दा बढी सवारी साधनमा भाडादर टाँस्न गरिएको महाशाखाका प्रवक्ता यादवले बताए ।

सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो आम नागरिकबाट आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्य स्थलसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको यादवले जानकारी दिए । उपत्यकाभित्र र उपत्यका बाहिर जाने सवारी साधनमा समेत नेपाल सरकारले तोकेको भाडा दर टाँस गर्ने उनले बताए ।

यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्नेजस्ता गुनासो आएपछि कार्यालयले कारवाही प्रक्रियालाई थप कडाइ गर्दै अनुगमन समेत थालेको हो ।  साथै महाशाखाले ठूलो आवाज निकाल्ने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने  सवारी साधनलाई पनि कारबाही अभियान थालेको छ ।

सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।