एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लियो क्लब अफ कान्तिपुर, काठमाडौंका सदस्यहरुका लागि लगानी सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ।
रानीपोखरीस्थित दरबार हाई स्कुलमा वित्तीय लगानी सम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
सो कार्यक्रममा पोर्टफोलियो अफिसर राहुल खड्का र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा कार्यक्रममा वित्तीय साक्षरताबारे प्रस्तुती दिएका थिए।
सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराइएको थियो। कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो।
कम्पनीले आगामी दिनहरुमा पनि देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको
छ।
सरकारले खारेज गर्यो नागरिक एप निर्देशिका
सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा उक्त निर्देशिका खारेज गर्ने निर्णय गरेको हो।
सरकारले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमार्फत नागरिक एपलाई सम्बोधन गरेको भन्दै निर्देशिका खारेज गर्ने निर्णय गरेको हो। संशोधित कानुनले दिग्दर्शन बनाउन सक्ने प्रावधान दिएपछि सरकारले निर्देशिका खारेज गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
‘नागरिक एपलाई सञ्चालन तथा व्यवस्थापन गर्न छुट्टै नयाँ दिग्दर्शन २०८२ आउने भएकाले निर्देशिका खारेज भएको हो,’ गुरुङले भने। सरकारले पछिल्लो पटक जारी गरेको अध्यादेशमार्फत यो व्यवस्था गरेको थियो। त्यसलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भइसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएको सो ऐन प्रमाणीकरण गरेपछि चैत १८ गते मात्रै राजपत्रमा छापिएको थियो।
एनसीएचएलको नेपाल पे कार्डमा लुम्बिनी विकास बैंक आबद्ध, सम्झौतामा भयो हस्ताक्षर
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र लुम्बिनी विकास बैंकबीच एनपीएस-एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीममा आबद्ध गराइरहेको छ।
नेपाल पे पूर्वाधारको व्यावसायिक रोलआउट पछि लुम्बिनी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड जारी गर्न सक्ने एनसीएचएलले जनाएको छ।
एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्वीचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्वीचको रुपमा स्थापना गरिँदैछ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम् उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
जसलाई पनि ईभी आयात गर्न दिनुभएन : बैंकर्स संघ
नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जसलाई पनि विद्युतीय सवारीसाधन (ईभी) आयात गर्न दिन नहुने बताएका छन् ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा कोइरालाले पछिल्लो समय जसले पनि ईभी आयात गरिरहेको बताएका हुन् ।
संघ अध्यक्ष कोइरालाले अटो डाइलग अन्तर्गत ‘लङ टर्म पोलिसी फर अटो सेक्टर’ को प्यानल छलफलमा राज्यले कसलाई आयात गर्न दिने, कसरी ल्याउने र आयातकर्ताले यहाँका लागि बनाएका ईभीको पूर्वाधार हेर्नुपर्ने बताए ।
‘अहिले त हामी बैंकरहरूले पनि ऋण दिने बेलामा धेरै सोच्नुपर्ने देखिएको छ । जसले पनि ईभी ल्याएको छ । हिजो हाइड्रोपावरमा, कृषिमा काम गरिरहेकाहरू पनि आज चाइना गएर ईभी ल्याइरहेका छन् । राज्यले कस्ता ईभी कसले ल्याउने भन्नेबारे सोच्ने बेला भइसकेको छ,’ कोइरालाले भने ।
उनले प्यासेन्जर भेहिकलमा पनि चासो रहेको भन्दै प्रश्न गरे । ‘ब्याट्रीको कुरा के हो ? प्रविधिहरू कस्ता छन् ? ईभी बिग्रियो भने बनाउने इन्जिनियरिङ नेपालमा छ कि छैन ? बैंकहरूले सोच्न बाध्य भएका छन् । डाउन पेमेन्ट ५० ठिक कि ६० कि ८० भन्ने पनि छ,’ उनले भने । बैंकहरूलाई ईभीमा ऋण दिँदा २ वर्ष मजाले चलाए त्यसपछि गाडी छाडेर हिँडे भने बैंकले कसरी उठाउन सक्छ भन्ने संशय पनि रहेको उनले सुनाए ।
शिखर इन्स्योरेन्सद्वारा कैलालीका केरा किसानलाई बीमा दावी हस्तान्तरण
शिखर इन्स्योेरेन्स कम्पनीले कृषकहरुलाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखा कार्यालयले मंगलबार टिकापुर नगरपालिकाका विभिन्न कृषकहरुलाई केरा खेतीको बीमा दावी भुक्तानी गरेको हो ।कम्पनीले टिकापुर नगरपालिकाका कृषकहरुलाई आज कुल १४ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । देशभरीका कृषक तथा विभिन्न आपतमा परेका बीमितहरुलाई प्रदान गरिने बीमा दावी वितरणमा कम्पनी अग्रस्थानमा रहेको छ ।
नवीलले ल्यायो बैंकिङ क्षेत्रकै नौलो ‘दिगो बचत खाता’
नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो ।
यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदरबाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ । बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रबद्र्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूल लगायतका कार्यक्रमहरुमा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रुपमा औसतमा रु ५० हजार राख्ने ग्राहकका नाममा टोकनस्वरुप एकपटकका लागि वृक्षरोपण गरिनेछ ।
यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस खाता खोल्नका लागि न्यूनतम मौज्दात रु. १०,००० आवश्यक छ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ ।
त्यसका साथै न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवद्र्धन हुने बैंकले जनाएको छ ।
त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।
नबिल बैंकले दिगो बैंकिङको क्षेत्रमा अग्रपंक्तिमा रहँदै वातावरणीय, सामाजिक तथा सुशासन सिद्धान्तलाई आत्मसात गर्दै आएको छ । ‘नबिल दिगो बचत खाता’को सुरुआतसँगै ग्राहकहरु आफ्नो भविष्यका लागि मात्र नभई वातावरणमैत्री र दिगो भविष्य निर्माणका लागि पनि बचत गर्न सक्षम हुनेमा बैंकले विश्वास लिएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।
बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा
सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलोपटक ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै यो सेवा शुभारम्भ गरेको हो ।
सोमबार ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमित र बीमा अभिकर्ताहरुका लागि यो सेवा शुभारम्भ गरेको बताए । ‘नयाँ प्रविधिलाई जोड दिदी हामीले यो सेवा शुभारम्भ गरेका छौ’ उनले भने, ‘अहिलेको लागि ४२ वटा विभिन्न क्षेत्रमा बीमित र अभिकर्ताहरुले सुर्यज्योती केयर्स कार्डबाट सुविधा लिन सक्नुहुनेछ बिस्तारै अझै धेरै सेवा प्रदायकहरुसङग समझदारी गर्नेछौ ।’
कम्पनीका अनुसार बीमित र अभिकर्ताहरुले रेष्टुरेन्ट, अस्पताल, जिम सेन्टर, पार्लर, लगायत विभिन्न ४२ वटा निकायमा सेवा प्राप्त गर्न सक्नेछन। साथै, सीईओ खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताए। उनका अनुसार सूर्यज्योतिले यो कार्डमार्फत बीमित ग्राहकलाई डिजिटल माध्यमबाट सेवा पहुँच दिनेछ ।
त्यस्तै कम्पनीले ल्याएको ‘इ–कर्जा’ सेवाबाट बीमितहरुले सहज ढंगबाटै कर्जा माग गर्न सक्ने उनले बताए । ूबीमितहरुले अब अनलाईनमार्फत नै रु.५० हजार अर्थात पोलिसी रकमको ९० प्रतिशत सम्म कर्जा लिन सक्नुहुनेछ’ उनले भने,‘यसको लागि बीमितहरुले पोलिसी खरिद गरि बीमाशुल्क भुक्तानी गरेको तीन वर्ष भएको हुनुपर्नेछ भने कर्जाको ब्याजदर कम्पनीले तोकेबमोजिम सहुलियत नै हुनेछ ।’ यो सेवाले तत्कालिन आर्थिक आवश्यकतामा सहज ऋण सुविधा प्रदान गर्ने उनले बताए ।
तिम्सिनालाई राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम(कामु) गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्रबैंकको तत्कालीन गभर्नर महाप्रसाद अधिकारी आजबाट अवकाश भएका छन् ।
मुक्तिनाथ विकास बैंकले किशोरकिशोरीलाई लक्षित गरेर ल्यायो ‘पकेट मनी बचत खाता’
मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका किशोरकिशोरीलाई लक्षित गरेर ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ संचालनमा ल्याएको छ। बैंकले यो बचत खाताले विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा पुर्याउने जनाएको छ।
सो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।
बैंकका अनुसार मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ। यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मका लागि निःशुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन्।
साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।
नेपाल लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनी अवार्ड
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौँ कर्पोरेट बिजनेस अवार्ड २०२५ को लाइफ इन्स्योरेन्स विधामा वेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५ अवार्ड बाट सम्मान गरिएको छ ।
यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरे ।
नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दावी भुक्तानीको अनुपात,चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, Automation / Digital Transformation को क्षेत्रमा गरिएका कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई वेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५ बाट सम्मानित गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरु,सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी महानुभावहरु तथा नेपाल लाइफसँग आवद्ध समस्त मूल्यवान ग्राहकमहानुभावहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरे ।
यसरी नै सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।
प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले यहाँका लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्ग लक्षित गरी ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ ।
यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंकको गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ।
कार्यक्रममा रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा उनले जोड दिए ।
एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने छ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायत आवश्यकताका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।
एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी मार्फत बैंकले व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया, वित्तीय परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।
सानिमा बैंकका कार्ड प्रयोगकर्ताले भारतको एपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने
सानिमा बैंकका ग्राहकले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने भएका छन्। बैंकले एपोलो अस्पतालमा आफ्ना ग्राहकलाई छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको जनाएको छ।
सम्झौताअनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।
चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा पनि कार्डवाहकले छुट प्राप्त गर्न सक्ने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
छुटका लागि ग्राहकले अस्पताल जानुअघि बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिक प्रालिलाई जानकारी गराउनु पर्ने बैंकले जनाएको छ।












