जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश, निक्षेप संकलन साढे ३ खर्ब पुग्यो

लक्ष्मी सनराइज बैंक २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष सफलताका साथ पार गरेको बैंक आजदेखि २४औँ वर्षमा प्रवेश गरेको हो ।

विसं २०५८ चैत्र ८ गते नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको यस बैंकले विसं २०५८ चैत्र १९ गतदेखि आफ्नो पहिलो वित्तीय कारोबार गरेको थियो । सर्वसाधारणको आर्थिक हित एवं सुबिधा कायम राख्न कृषि, उद्योग, वाणिज्य तथा सेवाको लागि कर्जा प्रदान गरिरहेको बैंकले लाखौं ग्राहकबाट निक्षेप संकलनको कार्य गर्दै आएको छ ।

बैंकको अध्यक्षमा रमण नेपाल छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह कार्यरत छन् । डिजिटल बैंकिङलाई प्राथमकिताका साथ अघि बढाएको बैंकमा ५१.०५ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४८.९५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बैंकमा २३ लाख बढी सक्रिय ग्राहक छन् । बैंकमा २ हजार ७ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले देशभरी २५४ वटा शाखा कार्यालय, २८ वटा एक्सटेन्सन काउन्टर, २३९ वटा एटीएमबाट आफ्नो बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

विभिन्न ८ वटा संस्थामा लगानी रहेको यस बैंकका ३ वटा सहायक कम्पनी छन् । ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको ४ खर्ब १० अर्ब रुपैयाँको एसेट पुगेको छ । २४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

महिला सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

नबिल बैंकले सोमबार काठमाण्डौमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ’, अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए । ‘अहिले पनि कार्यस्थलहरुमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरु नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ’, उनले भने, ‘नबिल बैंक पनि महिलाहरुलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।’ उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

ज्ञवालीले भने, ‘बैंकिङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरुको सहभागिता बढाउन जरुरी छ, महिलाहरुको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरु काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु ।’ सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरु बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रुपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनको भनाइ थियो ।

‘महिलालाई पुरुषसँगै हिँड्न सजिलो छैन, उहाँहरु घरदेखि कार्यालयको काममा व्यस्त हुनुपर्ने र विभिन्न जिम्मेवारीका कारण बीचबाटोमै अल्झनुपर्ने समस्या पनि छ’, उनले भने, ‘त्यसैले पनि हरेक जसो क्षेत्रमा महिलाहरुको अपेक्षाकृत प्रतिनिधित्व हुन सकेको छैन, त्यसैले समावेशी कार्यस्थल निर्माणका लागि महिलाको सहभागिता बढाउन जरुरी छ ।’ आफूहरुले महिलाको कुरा गर्ने भन्दा पनि लैंगिक समानतामा जोड दिएको आएको उनको भनाइ थियो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् । ‘नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको वृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ”, उनले भनिन्, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।’

महिलाहरुको सशक्तीकरणमा पुरुषहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरुको साथ दिन सबैलाई आग्रह गरिन् । ‘महिलाहरूका लागि खेलकुद, बैंकिङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन, यसका लागि संस्कृतिमा पनि परिवर्तन आवश्यक छ, हामीले साना उमेरदेखि नै किशोरीहरूमा लगानी गर्नुपर्छ, तिनीहरूलाई बिना डर संकोच आफ्नो रहरहरु पछ्याउन प्रोत्साहित गर्नुपर्छ’, उनले भनिन् । महिलाहरुको सहभागिताले सीप र विज्ञताका साथै नयाँ दृष्टिकोण, सोच र सहकार्य पनि ठूलो प्रभाव पार्ने उनको भनाइ थियो । उनले पुरुषहरुको बाहुल्य रहेको समाजमा एक्लै हिँड्न नसकिने भन्दै लक्ष्य प्राप्तिका लागि सञ्जाल निर्माण र सहकार्य जरुरी भएको बताइन् ।

कार्यक्रममा ‘द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरुले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । छलफलका क्रममा पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा। रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप–सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरुको सहभागिता थियो ।

नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाण्डौ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी वृहत्त ¥याली आयोजना गरेको थियो । जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै, मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै, नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो । नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेपाल एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर मंगलबार सूचीकृत भएको हो।

एसबिआई बैंकको ३९ लाख ९० हजार ५७.८६ कित्ता सेयर थपिएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, फवार्ड माइक्रोफाइनान्सको १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सिटिजन लाइफको साधारणसभाबाट २८.४ प्रतिशत लाभांश पारित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा सम्पन्न भएको जनााएको छ ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने) प्रस्ताव पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।
यससँगै नेप्सेले करिब २ महिनापछि नेतृत्व पाएको छ । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएको सार्वजनिक भएको थियो । तर उनको नियुक्ती मुख्यसचिवबाट प्रमाणित नभएको जनाइएको छ ।

नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, ‘बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पुर्याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।’

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा बिक्री वितरण गर्ने

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो । घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछ ।

क्यामेरा उत्पादक तथा इन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्धशहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसंग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवस्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउनेछ । डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ ।

डिशहोमको इन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्ने छन्।

निर्जीवन बीमा कम्पनीको कृषि र हवाई बीमा व्यवसाय ओरालो


निर्जीवन बीमा कम्पनीहरुको कृषि बीमा व्यवसाय ओरालो लागेको छ। यो वर्ष फागुन मसान्तसम्म डेढ दर्जन इन्स्योरेन्सले समग्रमा ८.९१ प्रतिशतले व्यवसाय बढाउँदा कृषि तथा पशुपन्छी बीमा पोलिसीबाट १ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। कम्पनीहरुले आर्जन गरेको यो रकम पोहोर सोही अवधिको तुलनामा २५.९ प्रतिशतले कम हो।

कृषि बीमा व्यवसायबाट कम्पनीहरुले गत वर्ष फागुनसम्म १ अर्ब ४७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ।

यस्तै, हवाई बीमा व्यवसायमा पनि २.९४ प्रतिशतको गिरावट आएको छ। सामुन्द्रिक बीमा सर्वाधिक २५.१९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीहरुले सामुन्द्रिक बीमाबाट ८ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।

गभर्नर नियुक्तिमा नयाँ मापदण्ड, हट्यो उमेर हद

नेपाल राष्ट्र बैंकको गभर्नरको मापदण्ड परिवर्तन भएको छ । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ मा संशोधन गरी उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइएको छ । यसबाट ६५ वर्ष नाघेका जोसुकैलाई पनि राष्ट्र बैंकको गभर्नर बनाउने बाटो खुलेको छ।

मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो। उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो। अहिले त्यो बुँदा नै हटाइएको छ।

२०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको उल्लेख छ। राष्ट्र बैंकको २३ गतेपछि रिक्त हुने गभर्नर पदका लागि ६५ वर्ष उमेर कटेका डा.रवीन्द्र पाण्डे र राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा छन्।क्षेत्री २०१५ साल कात्तिक ८ गते जन्मिएका हुन्।

उनी २०७४ कात्तिक ७ गते मुख्यसचिव पदबाट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए। यस्तै पाण्डे सन् १९५५ मा जन्मेका हुन्। उनी ७ वर्ष राष्ट्र बैंकको कार्यकारी निर्देशकको रूपमा काम गरि १५ वर्षअघि अवकाश पाएका थिए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समयावधि यही चैत २४ गते सकिँदै छ। गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन भइसकेको छ।

एकैदिन ४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा एकैदिन ४ अर्बले निक्षेप बढेको छ । राष्ट्र बैंकको चैत ११ र १२ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा वृद्धि भएको देखाएको हो ।

तथ्यांकअनुसार चैत ११ गते ६७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको बैंकिङ्ग निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपमा पनि ४ अर्बको वृद्धि देखिएको छ । चैत ११ गते ६० खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कर्जा प्रवाह स्थिर रहेको छ । ११ गते ५४ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि स्थिर रहेको छ ।

चैत ११ गते ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत रहेको छ।

बैंकहरुले बढाए सुनचाँदी धितो कर्जा, कुन बैंकको कति ?

बैंक तथा वित्तीय संस्थाहरुले सुन–चाँदी धितो कर्जा बढाएका छन् । एक वर्षमा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ३१.६४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ माघ मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअवधिमा ६ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।

१४ बैंकले भने यस्तो कर्जा प्रवाह गरेका छन् । २०८० माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष १६ बैंकले सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका थिए । बैंकहरुले सुनको बजार मूल्यका आधारमा नियम अनुसार धितो मूल्यांकन गरेर ग्राहकहरुलाई कर्जा दिने गर्दछन् ।

गत वर्ष देखि नै सुनको भाउमा उच्च वृद्धि भएको हो । जसका कारण बैंकहरुले सुन–चाँदीको धितोमा दिने कर्जा रकम पनि बढेको अनुमान गर्न सकिन्छ । भ्यालुएसन बढ्दा कर्जाको मात्रा पनि बढ्न सक्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले सुन–चाँदी धितो राखेर ६३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसअवधिमा सबैभन्दा धेरै सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गर्नेमा नेपाल बैंक रहेको छ । यस बैंकले सुन–चाँदी धितो राखेर २८ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर २३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, विदेशी साझेदारी रहेको हिमालयन, स्टान्डर्ड चाटर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने यो शीर्षकमा कुनै कर्जा प्रवाह नगरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ग्लोबल आइएमई बैंक र सानिमा बैंकले पनि यो शीर्षकमा कुनै कर्जा प्रवाह गरेका छैनन । एक वर्षको अवधिमा ४ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने १० वटा बैंकको बढेको छ ।

केन्द्रीय बैंकको माघ मसान्तसम्मको तथ्यांकअनुसार सुन–चाँदी धितो राखेर समग्रमा बैंक तथा वित्तीय संस्थाहरुले (विकास बैंक तथा फाइनान्स कम्पनीहरुसमेत) ६९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अघिल्लो वर्षको यसैअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुन–चाँदी धितो राखेर ५३ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फागुनमा घरजग्गा कारोबार : चार अर्ब राजस्व संकलन

घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ ।

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।

विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा तीन अर्ब नौ करोड रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँ, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।