जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कोरोना कर मदिराको मूल्य ७०% ले बढ्यो

भारतमा लकडाउनको तेस्रो चरण सुरु भएको छ। लकडाउन निरन्तर हुन थालेपछि भारतीय सरकारले विभिन्न क्षेत्रमा छुट पनि दिन थालेको छ। यसै सन्दर्भमा मदिरा पसल पनि खोल्न छुट दिइएको छ।

सोमबार जसै मदिरा पसल खुल्यो, मानिसहरुको लामो लाइन पसल अगाडि लाग्यो। मदिरा पसलमा लागेको लामका बारेमा मंगलबारका सबै पत्रपत्रिकाहरुले महत्वपूर्ण स्थान दिए। मानिसहरुको लामो लाइन लागेपछि दिल्ली सरकारले नयाँ उपाय निकालेको छ। दिल्ली सरकारले मदिराको खरिदमा ‘कोरोना शुल्क’ भनेर नयाँ शीर्षकमा कर लगाइदिएको छ।

अहिलेको प्रचलित मूल्यमा तथप ७० प्रतिशत कोरोना शुल्क दिल्ली सरकारले लगाइदिएको हो।सोमबार अन्य पसलहरु पनि खुलेका थिए। तर ती पसलमा चहलपहल खासै थिएन। मदिरा पसलमा भने एक/दुई किलोमिटरकै लाइन थियो। केन्द्र सरकारले घरबाट ननिस्कनु भनेपनि मदिरा किन्नका लागि सर्वसाधारण निस्किएका थिए। भिड नियन्त्रणका लागि पनि मूल्य बढाउन आवश्यक भएको भन्दै दिल्ली सरकारले शुल्क थोपरिदिएको हो।

राहतका नाममा राष्ट्र बैंकले दिएको ठाडो छुटले बैंकिङ क्षेत्रलाई दीर्घकालीन समस्यामा पार्ने देखिन्छ। १/२ वर्षपछि बैंकिङमा यसको असर नराम्रोसँग देखिने छ

कोरोना महामारीबाट उद्योग व्यवसायलाई राहत दिन भन्दै नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ‘ऋणको ब्याज दुई प्रतिशत बिन्दुले घटाउनु’ भन्ने ठाडो आदेश दिएको छ। ब्याज छुट बैशाखदेखि आगामी असारसम्म (अन्तिम त्रयमास) का लागि भनिएको छ। यसअघि चैतसम्म बुझाउनु पर्ने ब्याज चैतमै बुझाएमा १० प्रतिशत छुट दिइएको थियो।

राष्ट्र बैंकले निर्देशन जारी गर्नुअघि बैंक वित्तीय संस्थाको आर्थिक अवस्थामा के असर पर्दछ भनेर हेरेको देखिँदैन। कोभिड-१९ को प्रभाव अध्ययन गर्न गठित राष्ट्र बैंकको टोलीले प्रतिवेदन नै दिन बाँकी रहेको अवस्थामा ब्याज छुटको ठाडो आदेश आउनुले वित्तीय क्षेत्रमा पर्ने असरका बारेमा विश्लेषण नगरेको पुष्टि हुन्छ।कर्जा लिने उद्योग व्यवसाय बैंकका ग्राहक हुन्। ग्राहकलाई ब्यापार सहज गर्न एवं ऋणको साँवा ब्याज उठाउन सहजीकरण गर्ने कार्य सम्बन्धित बैंक वित्तीय संस्थाहरुले स्वाभाविक रूपमा गर्न पाउनु पर्छ। सरकारले भन्दैमा ब्याज छुट वा राहत दिने व्यवस्था लागू हुँदा व्यवसायीहरु आफ्नो बैंकभन्दा सरकार, राष्ट्र बैंकको मुख ताक्ने हुन्छन्, जुन अहिले भइरहेको छ।

राहत वा ब्याज छुट व्यवसायिक जोखिमको आधारमा व्यवस्था गर्नु उत्तम हुन जान्थ्यो। अन्यत्र पनि बैंकहरुले ऋणीहरुलाई आफ्नै जोखिममा कर्जा भुक्तानीको लागि समय थप दिइरहेका हुन्छन्। तर यहाँ त्यसको अभ्यास गरिएन। बैंक वित्तीय संस्थाले गरे हुने निर्णय गर्न राष्ट्र बैंक आफैंले गर्न अगाडि सर्‍यो।

गलत लेखा नीति
राहतको नाममा कोरोनाले प्रभावित भए/नभएको नहेरी राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुको लागि असुल नभएको ब्याजलाई पनि आम्दानी मान्न दिने ब्यवस्था गरिदिएको छ। साँवा ब्याज असुल नभएको कर्जामा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु नपर्ने गरी छुट दिएको छ।

कोभिड-१९ को महामारी तथा लकडाउनको अवधि लामो समय जाने भएकाले कर्जाको साँवा ब्याज असुलीमा समस्या पनि लामो अवधिसम्मै रहने निश्चित छ। असुल नभएको ब्याजलाई पनि नाफा देखाउन पाइने ब्यवस्थाले बैंकहरुको अवास्तविक (फिक्सियस) नाफा बढी देखिन्छ। यसले गर्दा कर्मचारी बोनस तथा सरकारी आयकरको भुक्तानी दायित्व सृजना गर्छ।

यो सुविधा थप अवधिको लागि पनि पाउन व्यवसायीहरु लबिङ गर्न थाल्ने छन्। छुट पाइने भन्ने आशमा सक्नेले पनि ऋणका साँवा ब्याज तिर्ने छैनन्। अर्थात, राहतका नाममा राष्ट्र बैंकले दिएको ठाडो छुटले बैंकिङ क्षेत्रलाई दीर्घकालीन समस्यामा पार्ने देखिन्छ। १/२ वर्षपछि  बैंकिङमा यसको असर नराम्रोसँग देखिने छ।

अवास्तविकपूर्ण (फिक्सियस) नाफाका कारण के कस्ता थप समस्या बैक वित्तीय संस्थाहरुले भोग्नुपर्ने छ भन्नेतर्फ विचार पुर्‍याउन आवश्यक छ। सबै उद्योगी-व्यवसायीहरुले वास्तविक कारोबारको आधारमा नाफा/घाटा देखाउनु पर्ने, तर बैंक वित्तीय संस्थाले देखाउनु नपर्ने अवस्था सृजना भएको छ। बैंक वित्तीय संस्थाले नाफा/घाटा जे जस्तो हुन्छ त्यो अहिले नै देखाउन पाउनु पर्छ, यो नै वास्तविक लेखा नीति पनि हो। संसारभरी सबैले यसैलाई मान्यता दिएका छन्।

हाम्रोमा भने अवास्तविक नाफालाई पनि नाफाका रूपमा मान्नुपर्ने ब्यवस्था गरिएको छ। यसले गर्दा अर्थतन्त्र उल्टो गतिमा हिँड्दा पनि बैंकहरु नाफामा देखिन्छन्। बैंकहरुले अर्थतन्त्रको चाललाई पच्छ्याउन असमर्थ हुन्छन्। यही कारण बैंकहरुप्रति नकारात्मक धारणा बढ्दै जान्छ, बढ्दै गएको छ। वास्तविक नाफा वा घाटा देखाउन पाइने ब्यवस्था भयो भने अहिले उठिरहेको नकारात्मक भावनालाई केही कम गर्न सहयोग मिल्ने थियो।

वास्तविक नाफा/घाटा सरकार र राष्ट्र बैंकले देखाउन नदिनुमा केही निहित स्वार्थहरुले काम गरेको हुन सक्छ। सरकारी राजस्वमा कमी आउने डर अर्थमन्त्रालयलाई छ। विगतमा भूकम्पका बेला बैंकहरुले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रकमलाई समेत प्राविधिक कारण भन्दै खर्च मान्न अस्वीकार गरिएको थियो। प्राविधिक कारण देखाएर त्यसबेला राहत कोषमा राखिएको पैसामा पनि आयकर असुल गरिएको थियो। पुनर्कर्जा कोषको ब्यवस्था
नेपाल राष्ट्र बैंकले ऋणीले सहुलियत ब्याजमा पैसा पाउन् भनेर पुनर्कर्जा कोषलाई ६० अर्ब पुर्‍याइसकेको छ। केही दिनअघि सरकारले पुनर्कर्जा कोषलाई १०० अर्ब पुर्‍याउने घोषणा गरेको छ। तर, पुनर्कर्जा कोष कति हदसम्म र कसरी प्रयोग भएको छ भनेर हेरिएको छैन।

राष्ट्र बैंकले पछिल्ला मौद्रिक नीतिमार्फत पुनर्कर्जा कोषको रकम बढाउँदै लगेको छ। तर यसको प्रयोग ब्यवहारिक भने छैन। अहिले पनि कोषबाट २० अर्ब रुपैयाँभन्दा बढी रकम प्रवाह भएको छैन। यसको मुल कारण कोषमा आवश्यक रकम सरकारी स्तरबाट उपलब्ध गराइएको छैन। राष्ट्र बैंकले आफ्नै स्रोतबाट जुटाउनु पर्ने अवस्था छ, यसले गर्दा पर्याप्त पैसा कोषमा छैन।

बैंकहरुमार्फत तोकिएको प्रतिशतमा पीडित उद्योगी-व्ययसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन हाल उपलब्ध उपायमध्ये पुनर्कर्जा सबैभन्दा उत्तम उपाय हो। यसमा सरकारी तवरबाटै राहत उपलब्ध हुने हुँदा बैंकहरुको आर्थिक अवस्थामा समेत नकारात्मक असर पर्दैन।

तर, राष्ट्र बैंक ऐनको दफा ४९ अनुसार बैंक वित्तीय संस्थाहरुलाई दिइने पुनर्कर्जाको अवधि १ वर्ष (थप एक वर्ष नवीकरण हुन सक्ने) सम्म सीमित छ। यसको अर्थ, पुनर्कर्जा पाउने उद्योग व्यवसायले सहुलियत ब्याजमा साधारणतया १ वर्षसम्म मात्र पैसा चलाउन पाउँछन्।\

अहिलेको ब्यवस्था अनुसार, महामारीबाट पीडित उद्योग व्यवसायलाई पुनर्जीवन दिन राष्ट्र बैंकको पुनर्कर्जा पाइहाले पनि पर्याप्त छैन। २०७२ कै भूकम्पको बेला राष्ट्र बैंकले बैंकहरुलाई शून्य प्रतिशतमा पुनर्कर्जा दिने र बैंकहरुले पीडितलाई २ प्रतिशतमा घर निर्माण कर्जा दिने व्यवस्था गरिएको थियो। यो अत्यन्त सान्दर्भिक ब्यवस्था थियो। तर राष्ट्र बैंकबाट एक वर्षका लागि पाउने पुनर्कर्जाको आधारमा बैंकहरुले १०/१५ वर्षको घर कर्जा दिन सक्ने अवस्था थिएन। यही कारण पीडितले राहत पाउन सकेका थिएनन्।

पुरानो उदाहरण र अहिलेको महामारीलाई दृष्टिगत गरी सबै पक्षलाई उपयुक्त हुने गरी पुनर्कर्जा व्यवस्थापनमा सुधार ल्याउन जरुरी छ।

१.    कोरोना महामारीबाट नराम्ररी थला परेका उद्योग व्यवसायलाई पुनरुत्थान गर्न पुनर्कर्जा कोषमा पर्याप्त रकमको व्यवस्था हुन आवश्यक छ। त्यसैले कोषको रकम २०० अर्ब रुपैयाँ बनाउन आवश्यक छ।

२.    अहिलेको महामारीबाट पीडित बनेका उद्योग-व्यवसायलाई वास्तविक पुनर्जीवन दिने हो भने पुनर्कर्जा दीर्घकालीन अवधिको चाहिन्छ। त्यसैले पुनर्कर्जाको अवधि पनि १ वर्ष (चालु पुँजी) देखि ३/४ वर्षसम्म आवश्यक पर्छ। पुनर्कर्जालाई ब्यवहारिक र वास्तविक बनाउने हो भने अध्यादेशमार्फत नेपाल राष्ट्र बैंक ऐन-२०५८ को दफा ४९ मा संशोधन गरी विशेष अवस्थाको निमित्त दिइने पुनर्कर्जाको अवधि ५ वर्षसम्म हुन सक्ने व्यवस्था गर्नु पर्दछ।

३.    बैंक वित्तीय संस्थाले कायम गर्नुपर्ने हालको १० प्रतिशतको वैधानिक तरलता अनुपात (एसएलआर) लाई १५ प्रतिशत पुर्‍याउन सकिन्छ। यसबाट सरकारी ऋणपत्रमा लगानी गर्न स्रोतको व्यवस्थापन हुन्छ र बैंकहरुको तरलतालाई थप सुद्दढ गर्न योगदान गर्छ।

४.    २०० अर्ब रुपैयाँको पुनर्कर्जा कोष सरकारी स्तरमा उठाई त्यसको व्यवस्थापनको निमित्त राष्ट्र बैंकलाई दिनु पर्छ। आन्तरिक ऋण उठाउने सीमा बढाउन अध्यादेशमार्फत कानुन संशोधन गर्नु पर्छ। साथै सरकारबाहेक राष्ट्र बैंक आफैंले पनि आन्तरिक ऋण उठाएर परिचालन गर्नु पर्छ।

५.    राहत कोषको ब्यवस्था अहिले गरिनु पर्छ। आगामी आर्थिक वर्षको बजेट कुर्दा ढिला हुन्छ। बजेट निर्माण, संसदबाट कार्यविधि पारित आदिले ६ महिना थप समय खाइदिन्छ। त्यसैले कोषको व्यवस्था अहिले गरी आगामी बजेटबाट समर्थन दिने काम गर्नु उचित हुनेछ।

६.    स्रोत जुटाउन ५ वर्षको विकास ऋणपत्र जारी गर्न सकिन्छ। वार्षिक ३/४ प्रतिशत ब्याज दरमा बजारबाट पैसा उठाउन सकिन्छ। सरकारले बिना व्ययभार यही दरमा रकम राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले पनि बैंकहरुलाई यही दरमा पुनर्कर्जा उपलव्ध गराउनु पर्दछ। यो कोषको व्यवस्थापनतर्फ लाग्ने सामान्य खर्च राष्ट्र बैंकले व्यहोर्न सक्छ।७.    राष्ट्र बैंकबाट ३/४ प्रतिशतमा पाउने पुनर्कर्जा बैंकहरुले फरक फरक उद्योग व्यवसायलाई ७ देखि ८ प्रतिशत ब्याजमा उपलब्ध गराउन सक्छन्। ४ प्रतिशतको मार्जिनले बैंकहरुले व्यवस्थापकीय खर्च राम्रोसँग धान्न मात्रै सक्ने होइनन्, कर्जाको जोखिम पनि उठाउन सक्छन्। यही मार्जिनबाट असल कर्जामा राख्नु पर्ने १ प्रतिशत जोखिम व्यवस्थापन गर्न पनि सक्छन्।

८.    पुनर्कर्जाको सुविधा पाउन योग्य उद्योग व्यवसायहरुलाई वास्तविक असरको आधारमा छनोट सूची बनाउनु अनिवार्य छ। उदाहरणार्थ, पर्यटनमै संलग्न विभिन्न उद्योग व्यवसायहरुमध्ये पनि फरक फरक सुविधा दिने व्यवस्था गर्नु पर्दछ। जस्तै, पर्यटन क्षेत्रका होटेलहरु अत्यधिक पीडित उद्योग हुन्।

पर्यटन क्षेत्रले गति लियो भने पनि उनीहरुलाई तङ्ग्रिन कम्तिमा २/ ३ वर्ष समय लाग्छ। यो अवधिमा बाँच्न लाग्ने न्यूनतम संचालन खर्च, साँवा नभएपनि ब्याज भुक्तान गर्न आवश्यक रकम मात्रको जोहो गर्न दीर्घकालीन पुनर्कर्जा दिन सक्ने व्यवस्था गर्नु पर्दछ। तर, पर्यटन व्यवसाय भित्रै ट्राभल एजेन्सी, रेष्टुरा आदि व्यवसायीको हकमा यो स्तरसम्मको राहत आवश्यक नपर्न सक्छ। चालु पुँजीतर्फ केही राहतले काम चल्न सक्दछ। त्यसैले लक्षित उद्योग व्यवसायको पुनरुत्थानका लागि आवश्यक ‘मोरेटोरियम’ अवधि सहित पुनर्कर्जाको भुक्तानीको अवधि तोक्न जरुरी छ।

यस्तै अन्य उद्योग व्यवसायलाई उपलब्ध गराइने पुनर्कर्जाको स्तर तथा अवधि निर्धारण गर्ने कार्यविधि तयार पारिनु पर्छ।

९.    पुनर्कर्जाको व्यवस्थापन, अनुगमन गर्ने समितिमा उद्योग वाणिज्य महासंघको पनि प्रतिनिधित्व गराउनु उचित हुन्छ। यसबाट व्यवसायीहरुको कुरा सुन्न सजिलो हुन्छ। वास्तविक अवस्था थाहा पाउन सकिन्छ।

१०.    अहिलेको सन्दर्भमा उद्योग व्यवसायलाई ७/८ प्रतिशतको सहुलियत दरमा १ वर्षदेखि ३/४ वर्षसम्म कर्जा उपलब्ध हुँदा ठूलै राहत पुग्छ। हिजो उद्योग व्यवसायमा के कति रकम लगानी भइसक्यो भन्ने आधारमा नभइ, उद्योग व्यवसायको पुनर्संरचनाको संभाव्यताको आधारमा आवश्यक रकम उपलव्ध गराउनु पर्छ। आफ्नो उद्योग व्यवसायलाई पुनर्जीवन दिन व्यवसायीहरुले पनि केही योगदान भने गर्नु पर्छ।

११.   पुनर्कर्जाको व्यवस्था उद्योग व्यवसायको पुनरुत्थानका लागि मात्रै भएकाले केही व्यवसायीहरुले हालको स्थितिमा बाँच्न सक्दैनौं भन्छन् भने उनीहरुलाई बन्द गरेर जाने बाटो पनि दिइनु पर्दछ। सबै व्यवसाय सँधै नाफामै सञ्चालन गर्न पाउनु पर्दछ भन्ने आशयले प्राथमिकता पाउनु हुँदैन। महामारीबाट सृजित दीर्घकालीन असरलाई ध्यानमा राखी बन्द व्यवसायमा संलग्न कामदारलाई बिदा गर्न आवश्यक रकमको केही प्रतिशत राहत दिन सकिन्छ। त्यस्तो राहत के कति दिने भनेर राज्यस्तरमै नीति तर्जुमा हुनु अत्यावश्यक छ। यो लेखको उद्देश्य पुनर्कर्जा व्यवस्थापन रहेकाले यसतर्फ थप उल्लेख गरिएको छैन।

१२.    पुनर्कर्जा चाँडो प्रवाह गर्न यस सम्बन्धि कार्यविधि संशोधन हुन आवश्यक छ। बैंकहरुबाट पुनर्कर्जा माग भएको दुई दिनभित्र अनिवार्य उपलब्ध गराउने ब्यवस्था राष्ट्र बैंकले मिलाउनु पर्छ। पुनर्कर्जा दिइसकेपछि त्यो पैसा अनुगमन टोलीले तोकिएको ठाउँमा प्रयोग भए/नभएको हेर्ने छ। तोकिएभन्दा अन्यथा प्रमाणित भएमा बैंकबाट तत्काल थप ब्याजसहित रकम फिर्ता लिन सकिन्छ। यसले गर्दा बैंकहरु आफ्नो ऋणीको व्यवसायका बारेमा यथेष्ट जानकारी राख्न सजग हुने छन्। उद्योग/व्यवसायले पनि  पुनर्कर्जाको रकम तत्काल पाएर राहतको अनुभूति गर्न पाउने छन्।

१३.    कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) तत्काललाई खारेज गरिदिनु पर्छ। एसएलआर १५ प्रतिशत तथा अनिवार्य तरलता अनुपात (सीआरआर) ३ प्रतिशतका साथै दैनिक कारोबारको निमित्त ढुकुटी र बैंक मौज्दात पनि न्यूनतम २ प्रतिशत मात्र हिसाब गर्दा पनि बैंकको तरलता कम्तिमा २० प्रतिशत कायम रहने अवस्था छ। त्यसैले अहिलेलाई सीसीडी रेसियो आवश्यक देखिँदैन। सीसीडी हटाउँदा निक्षेप परिचालन हुन नसक्दा पनि थप ऋण प्रवाह गर्न क्षमता बढ्ने छ।

१४.    पुनर्कर्जा र सीसीडी रेसियोका कारण तरलतामा आउने व्यापक सुधारले बैंकहरुलाई कर्जा विस्तारमा दबाब पार्ने निश्चित छ। यही कारण ब्याज दरमा समेत स्वतः कमी आउँछ। कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको व्याज दरमा कमी आउन सक्ने संभावना रहने भएता पनि यो बढी समयका लागि हुँदैन। कर्जा प्रवाहमा सफलता हासिल गरेकाहरुले निक्षेप खोजी गरिरहेका हुन्छन्। अन्य बैंकहरुले पनि ब्याज कम गरेर सर्वसाधारणको निक्षेप घटाउने जोखिम मोल्दैनन्।

१५.    २०० अर्ब रुपैयाँसम्मको पुनर्कर्जा कोष र सीसीडी रेसियो हटाएको कारण बैंककहरुसँग ऋण दिन सक्ने क्षमता अत्यधिक बढिसकेको हुन्छ। यसले गर्दा देशभर सहुलियतपूर्ण कर्जा, नयाँ साना उद्योग व्यवसायको खोजीनिती गर्ने काममा तीव्रता आउन थाल्ने छ। यही मौकालाई सदुपयोग गर्न ग्रामीण क्षेत्रसम्म कृषि उत्पादन तथा स्वरोजगारको गतिविधि बढाउन स्थानीय तहकै नेतृत्वमा नयाँ संरचना तयार गरी कार्यान्वयन गर्न सकिन्छ। यसले देशभित्रै र विदेशको जागिर छाडेर फर्कने जनशक्तिलाई कृषि तथा साना व्यवसायमा लाग्न सहयोग पुर्‍याउन सकिन्छ।

१६.    पुनर्कर्जाको प्रयोजन सकिएपछि फिर्ता आउने रकम राष्ट्र बैंककै आपतकालीन कोषमा राख्नु पर्छ। यो रकम राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा लागत दरमा निक्षेपको रुपमा राखी खर्च व्यवस्थापन गर्न सक्छ। यसले बैंकहरुलाई निक्षेप व्यवस्थापनतर्फ केही राहत समेत पुग्छ। आगामी केही वर्ष रेमिट्यान्समा कमी आउने निश्चित छ। यसले गर्दा बैंक निक्षेपमा पनि कमी आउने छ। पुनर्कर्जाको पैसा बैक निक्षेपका रूपमा परिचालन गर्न सकिन्छ।

१७.    बैंक वित्तीय संस्थाहरुको ऋण दिन सक्ने क्षमता भनेको उनीहरुको पुँजी कोषको आकारमा निर्भर हुन्छ। ३ वर्ष अगाडि चुक्ता पुँजी दुई अर्बबाट ८ अर्ब बनाएको र चालु वर्ष चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणत्र (बण्ड) अनिवार्य निष्कासन गर्ने ब्यवस्थाले बैंक वित्तीय संस्थाहरुको पुँजी कोषको पर्याप्तता रहेको मान्न सकिन्छ। वार्षिक मुनाफा एवं ठूलो मात्राको पुनर्कर्जाले आगामी २/३ वर्ष कर्जा विस्तारमा पुँजीको कारण समस्या आउँदैन। त्यसपछि पुँजीको आवश्यकता पर्छ। त्योबेला बैंक वित्तीय संस्थाहरुको कमाइ पनि बढ्न थाल्छ। उनीहरुको कमाइ जगेडा कोषमा जान्छ। त्यसबेला ऋण बिस्तार र पुँजी कोष ब्यवस्थापनमा तालमेल हुने नीति लिन सकिन्छ।
(बज्राचार्य, बैंकर्स संघका पूर्व उपाध्यक्ष हुन्। उनी एनसीसी, ग्लोबल आइएमइ र सनराइज बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनीसँग राष्ट्र बैंकमा काम गरेको समेत अनुभव छ।)

अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल बैंकबाट प्रवाह हुने ऋणको व्याज मिनाहा गर्न सकिने अवस्था नरहेको बताएका छन् । उनले उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न सकिने अवस्था नरहेका बताएका हुन् ।

मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी अधिकारीले व्यवासायीले व्याज मिनाहाको कुरा उठाए पनि त्यसको समाधान तत्काल गर्न नसकिने बताएका हुन् । दैनिक आफुसमक्ष पनि धेरै उद्योगी व्यवसायीले व्याज मिनाहाको माग उठाउने गरेको बताउँदै उनले अहिले त्यसको कार्यान्वयन गर्न कठिन रहेको उनको भनाइ छ ।

‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ,’ उनले भने । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको बताउँदै पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको उनले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनकाे भनाइ छ ।  उनका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।

सिभिल लघुवित्तले बढायो नाफा  

 सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड २६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.०२% ले बढी हो ।
गत वर्ष यसैअवधिमा यस संस्थाले १ करोड १६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।  सिभिलको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख ३९ हजार रुपैयाँबाट बढेर ५ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने घटेको छ । गत वर्ष १ करोड ८२ लाख ८३ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ९३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।  चैत मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा १.३७% ले बढेर २.६६% पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ८२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ६० पैसा रहेको छ

कामना सेवा विकास बैंकद्वारा ‘‘कोरोना सुरक्षा बचत खाता’ 

कामना सेवा विकास बैंक  ले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ बीमा सुविधा सहितको उक्त खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नेको इन्स्योरेन्ससंगको सहकार्यमा सञ्चालनमा ल्याएको उक्त खाता न्यूनतम मौज्दात पाँच हजारमा खोल्न सकिने बैंकले जनाएको छ । सुरक्षा बचत खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण पिसिआर टेष्टद्धारा पुष्टिभएमा ५० हजार रुपैयाँ भुक्तानी दिने बैंकले जनाएको छ । बैंकको वेबसाईटबाटै अनलाईन माध्यमबाट उक्त खाता खोल्न सकिने जनाइएको छ

सिटिजनका एजेन्सी म्यानेजरको कोरोना बीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो एजेन्सी म्यानेजरहरूको कोरोना बीमा गरेको छ । कम्पनीले उनीहरूलाई रू. १ लाखको बीमालेख प्रदान गरेको बताइएको छ । सिटिजन लाइफले शिखर इन्स्योरेन्स कम्पनीबाट सामूहिक बीमालेख खरीद गरी उपलब्ध गराएको हो ।
बीमा समितिको निर्देशनबमोजिम कम्पनीले आफना सबै कर्मचारीलाई यसअघि नै ‘कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख’ उपलब्ध गराइसकेको छ । कोरोनासम्बन्धी पीसीआर परीक्षण पोजेटिभ देखिने बित्तिकै बीमांक रकम भुक्तानी लिन पाइनेछ । यो बीमालेखले बीमितलाई १ वर्षसम्म सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई छ ।

खाता अद्यावधिक गर्न राष्ट्र बैंकको   निर्देशन

नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई पुनः निर्देशन दिएको छ । आगामी जेठ १ गते पश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने पनि केन्द्रीय बैंकले जानकारी गराएको छ ।

यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न समेत केन्द्रीय बैंकले भनेको छ । इमेलमार्फत सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गरिंदै आएको छ । सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको छ  ।

सानिमा लाइफको यस्तो छ कमाई

सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा ०.२०% ले धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, यो त्रैमाससम्ममा सानिमाले ५७ करोड ५८ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष २४ करोड ९५ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको सानिमा लाइफको रिजर्भ कोषमा ११ करोड ८७ लाख रुपैयाँ छ । रिजर्भ कोषलाई सुधार गर्दै अघि बढाउनुपर्ने देखिन्छ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारीपछि भने पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यसले जीवन बिमा कोषको आकार पनि १५ करोड ९३ लाख रुपैयाँबाट बढाएर ७७ करोड २३ लाख पुर्याएको छ ।

मञ्जुश्री फाइनान्सको नाफा ३२२ दशमलव ४७ प्रतिशत बढी 

 चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा मञ्जुश्री फाइनान्सको नाफा ३२२ दशमलव ४७ प्रतिशत बढी भएको छ । कम्पनीले  तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष कम्पनीले रू. १९ करोड ३२ लाखभन्दा बढी नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा रू. ४ करोड ५७ लाखभन्दा बढी थियो ।यस वर्ष खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफासँगै नाफामा वृद्धि देखिएको हो ।
गत वर्ष तेस्रो त्रैमाससम्म रू. १८ करोड ९१ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले यस वर्षको सोही अवधिसम्ममा रू. २९ करोड ११ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष रू. ५ करोड ६५ लाखभन्दा बढी रहेको कम्पनीको सञ्चालन मुनाफा यस वर्ष रू. १६ करोड २७ लाखभन्दा बढी छ ।
हाल रू. ८१ करोडभन्दा बढी चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. १९ करोड ७२ लाखभन्दा बढी रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा रू. ११ करोडभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१  र पैसा ४९ र प्रतिशेयर नेटवर्थ ३२५ दशमलव शून्य ८ रहेको छ ।तेस्रो त्रैमासमा रू. ५ अर्ब ५० करोडभन्दा बढी निक्षेप संकलन गरेको उक्त कम्पनीले रू. ५ अर्ब ६१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष  २ दशमलव ९६ प्रतिशत रहेको निष्क्रिय कर्जा  कम्पनीको यस वर्ष ३ दशमलव ४३ प्रतिशत रहेको छ । गत वर्ष यस अवधिमा १२ दशमलव शून्य ५ रहेको कम्पनीको आधार व्याजदर यस वर्ष १० दशमलव ७१ मा खुम्चिएको छ

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि केन्द्रीय सरकारलाई सहयोग

नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबिआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री अनुकूल भटनागर ज्यूले रु ५० लाखको चेक माननीय उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टज्यूलाई हस्तान्तरण गर्नुभएको छ ।

उक्त कार्यक्रममा माननीय उधोग, वाण्ज्यि तथा आपूर्ति राज्य मन्त्री श्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवज्यूहरु तथा बैंकको तर्फ बाट नायव कार्यकारी तथा प्रमुख संचालन अधिकृत, श्री शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत, श्री मोहम्मद रिजवान आलम, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत श्री छपि राज पन्त ज्यू उपस्थित थिए । यसका साथै नेपाल एसबिआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।

नेपाल एसबिआई बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपालभरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रधान गदैं आएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई दराजबाट घरघरमै सामान

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो ।

दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्यो,

नेपालको पहिलो बीमा कम्पनी इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिलो वित्तिय विवरण सार्वजनिक गर्ने कम्पनी भएको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले खुद बीमाशुल्क आर्जन बढाएको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कम्पनीले ४३ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो  त्रैमासको अवधिसम्मममा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव ६३ प्रतिशतले बढाउन सफल भएको हो ।

कम्पनीले चैत मसान्तसम्ममा १७ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ९३ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ३६ करोड ५० लाख रुपैयाँबाट घटेर ३४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४।८६ रुपैयाँ रहेको छ ।