जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत बैंकले देशका सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल मनि विक २०२५ को नारा सहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार जनाभन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएको बैंकको दाबी छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।
मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गर्नुभएको हो ।
यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।
स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो ।
उहाँले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
“नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” उहाँले भन्नुभयो ।
“हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,” उहाँले भन्नुभयो ।
सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताउनुभयो ।
“स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।
काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताउनुभयो ।
यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उहाँले भन्नुभयो ।
केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

ओलीलाई देउवाको ‘ग्रीन सिग्नल’, मन्त्री बाहिरिएपछि कुलमानलाई हटाउने निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश मन्त्रीलाई थाहै नदिइ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको खुलेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकको औपचारिक एजेण्डामा घिसिङ हटाउने विषय उल्लेख थिएन। बैठकको अन्तिममा मात्रै हटाउने निर्णय भएको थियो।

२५ सदस्यीय मन्त्रिपरिषदमा तीन जना राज्यमन्त्री बाहेक २२ जना सहभागी हुन्छन्। बैठक सकिएको भन्दै केही मन्त्री बाहिरिसकेका थिए। त्यसपछि मात्रै ती मन्त्रीहरुले कुलमानलाई हटाइएको बारे थाहा भएको बताएका छन्।

‘औपचारिक एजेण्डा थिएन। अब सकियो भनेर हामी धेरैजसो साथीहरु त बैठकबाट गइसकेका थियौं। पछि मात्रै थाहा पायौं हामीले त कुलमानलाई हटाएको विषय,’ नेपाली कांग्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले भने।

उनका अनुसार ओलीले सोमबार साँझ मात्रै घिसिङलाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवाको ‘ग्रीन सिंग्नल’ पाएका थिए।

‘शीर्ष तहमा कुरा नै नभएको भन्ने होइन। हिजो मात्रै हाम्रो सभापतिसँग कुरा भएको रहेछ। उहाँको संकेत बिना यस्तो बोल्ड निर्णय गर्न सक्ने कुरा भएन,’ उनले भने।

कांग्रेसबाट सरकारमा सहभागी देउवा इतर गुटका मन्त्रीहरु भने अब के गर्ने भन्नेमा अन्यौलमा परेका छन्। ‘नेतृत्वसँग एकपटक छलफल गरेर के गर्ने भन्नेमा पुग्छौं। सबै अपजसको भारी हामीले बोक्ने कि नबोक्ने भन्ने कुरा आउँछ,’ उनले भने।

संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउन भन्दै ओली, देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको बैठकमा प्रचण्ड बाहिरिएपछि ओली-देउवाबीच घिसिङलाई हटाउने विषयमा कुराकानी भएको थियो।

उक्त छलफलपछि सुरु भएको मन्त्रिपरिषद्को बैठकमा सुरुमा औपचारिक एजेण्डमा मात्रै छलफल भएको ती मन्त्रीले बताए। अन्तिममा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र कानुन मन्त्री अजय चौरासिया मात्रै थिए।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ अन्तिमसम्म बैठकमा थिए। मन्त्रीहरुले नै बैठकमा घिसिङ हटाउने निर्णयमा विमति राख्ने भएपछि ओलीले केही मन्त्रीहरुलाई मात्रै सहभागी गराएर निर्णय गराएका हुन्।

लेखकले सरकारलाई कर्मचारी हटाउन कुनै बाधा नभए पनि जनआक्रोशलाई ध्यान दिन ओलीलाई सुझाव दिएका थिए भने बाँकी मन्त्रीहरुले ओलीको निर्णयको विरोधमा बोलेनन्।

पटक-पटक घिसिङलाई हटाउने तयारी गरे पनि देउवाको ‘ग्रीन सिंग्नल’ नपाएका कारण ओली निर्णयमा पुग्न सकेका थिएनन्। कांग्रेसभित्र पनि देउवा इतरका नेताहरुले घिसिङलाई हटाउने निर्णयको सार्वजनिक रुपमै विरोध जनाएका छन्। एमालेमा पनि ओली इतरका नेताहरुले उक्त निर्णयको विरोध गरे पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिन हच्किरहेका छन्। यसअघि नै सरकारका मन्त्री फेर्नुपर्ने विषय एमाले सांसद रघु जी पन्त लगायका नेताहरुले संसदमै प्रवेश गराएका थिए।

असार ३० मा प्रधानमन्त्री बनेदेखि नै ओलीले घिसिङलाई हटाउनुपर्ने विषय सत्ता गठबन्धनमा उठाएका थिए। उनले आफूले हटाउँदा सरकार अप्ठेरोमा पर्ने देखिपछि आफ्नै पार्टीका सांसद ऋषिकेश पोखरेल सभापति रहेको सार्वजनिक लेखा समिति मार्फत घिसिङलाई छानबिनमा तान्न खोजे पनि सफल भएन। त्यहाँ कांग्रेसकै सांसदहरुले पोखरेललाई निर्णय गर्न दिएनन्।

अन्तत: नेपाली कांग्रेसको पोल्टामा गभर्नर

सरकारले गभर्नर नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्तिको लागि उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाउने निर्णय गरेको जनाइएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङकाअनुसार सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. पौडेललाई सदस्य नियुक्त गरिएको छ।

लामो रस्साकस्सिपछि नेपाली कांग्रेसको भागमा गभर्नर परेको स्रोतको भनाई छ। स्रोतकाअनुसार नेकपा एमालेले बिद्युत प्राधिकरण सहित निर्वाचन आयोग लिने तथा नेपाली कांग्रेसले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित गभर्नर लिने सहमति जुटेको हो।

यससंगै गभर्नरका लागि नेपाली कांग्रेस निकट उम्मेदवारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ। गभर्नरको रेशमा रहेका मध्ये नेपाल राष्ट्र बैंकका संचालक रबिन्द्र पाण्डे, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई नेपाली कांग्रेस निकट मानिन्छ भने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकार भट्ट कुनै राजनीतिक दलको व्यक्ति नभएपनि जिल्लागत हिसाबले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको रोजाईका पात्र मानिन्छन।

नबिल बैंक छाडे ज्ञानेन्द्र ढुंगानाले

नेपाल राष्ट्र बैंकको गभर्नरको रेसमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा गरेका छन्। सरकारले सोमबार साँझ गभर्नर सिफारिस समिति बनाएपछि ढुंगानाले गत आइतबारको मिति राखेर आज राजीनामा दिएका हुन्।

बैंकको संचालक समितिले राजीनामा स्वीकृत गरिसकेको छैन। एनबी बैंक नबिलमा मर्ज हुने भएपछि उनी दुई वर्षको पहिलो कार्यकालका लागि नियुक्त भएका थिए। त्यसपछि पुन: अर्को दुई वर्षको अर्को कार्यकालका लागि नियुक्त भएका थिए।

नेपाली कांग्रेसले गभर्नर पाउने भएमा ढुंगाना पनि बलियो उम्मेद्वार हुन्। सरकारले सोमबार अर्थमन्त्री विष्णु पौडेल संयोजक हुने समितिमा डा. विश्व पौडेल र विजयनाथ भट्टराईलाई सदस्य चयन गरेको छ।

यो पनि पढ्नुहोस् ः तीन दशकको बैंकिङ करिअरमा ज्ञानेन्द्र ढुंगानाको अल्पविराम: ‘म रिटायर्ड भएको हो टायर्ड होइन’

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। त्यसबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गर्ने छ।

ढुंगानाले गभर्नर रेसमा अग्रस्थानमा रहेका कारण राजीनामा गरेका हुन्। कांग्रेसका तर्फबाट राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, पूर्व कार्यकारी निर्देशक तथा वर्तमान संचालक रवीन्द्र पाण्डे पनि प्रतिस्पर्धामा छन्।

एमालेबाट योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उम्मेदवार छन्।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु ।’ मन्त्री पौडेलले भने ।

बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् ।

हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरु प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए ।

अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य रहि सकेका छन् ।

कुल मुद्दाको २५ प्रतिशत बैंकिङ कसुर

फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भए। त्यसमा बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए।

उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन्। पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना समेत बढ्दै गएको उनले बताए।

आचार्यका अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भए। आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबरजस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भए।

काठमाडौं उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएको प्रवक्ता आचार्यले बताए। मधेस प्रदेशमा सात सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदूरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका छन्।

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह २०२५

वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको ग्लोबल मनी वीक २०२५ अन्र्तगत माछापुच्छ्रे« बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेजसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी वीक २०२५ मनाएको हो ।

बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘ग्लोबल मनी विक २०२५’मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत ०४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

जस अन्तर्गत कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए । ‘ग्लोबल मनी वीक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेसीमा वित्तीय साक्षरता सम्बन्धी र्‍याली समेत गरेको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाईल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पार्सवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा विद्यार्थीहरुलाई ज्ञान प्रदान गरेको थियो ।

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न

नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गरेको हो ।

बैंकले वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको यस अभियानबाट करिब ३,००० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रम अन्तर्गत बैंकका शाखाहरूले विद्यार्थीहरूलाई वित्तीय प्रणाली, डिजिटल कारोबारको सुरक्षित प्रयोग, बैंकिङ सेवाहरूको सदुपयोग तथा वित्तीय समावेशीकरणका विषयमा जानकारी प्रदान गरेका थिए । साथै, केही विद्यार्थीहरूलाई बैंकका शाखाहरू अवलोकन गराउँदै वित्तीय कारोबारबारे प्रत्यक्ष सिक्ने अवसरसमेत दिइएको थियो ।


‘थिङ्क बिफोर यू फलो, वाइज मनि टुमरो’ नारासहित सञ्चालित कार्यक्रममा युवाहरूलाई वित्तीय योजनासम्बन्धी सचेत गराउनुका साथै उनीहरूको वित्तीय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम


नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’मनाएको हो ।

यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।

बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका७४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवाहरु वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएका बैंकले जानकारी दिएको छ ।

नबिल बैंक लिमिटेडले वित्तीय साक्षरताविस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा पनि प्रवाह गरिरहेको छ ।

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् ।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो । विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।