जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

हिमालयन बैंकद्वारा क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक

हिमालयन बैंकले क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक गरेको छ। बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोग गरेर कर्जा लिएर साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो।

बैंकका अनुसार ती ऋणीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गरिएको थियो। तर, तोकिएको समयभित्र पनि ऋण चुक्ता नगरेपछि उनीहरूको नाम, तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्न बाध्य भएको बैंकले जनाएको छ।

बैंकले ऋणीहरूलाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम भुक्तानी गर्न आग्रह गरेको छ। अन्यथा, कानुनी प्रक्रियाअनुसार ऋणीहरूविरुद्ध आवश्यक कारबाही अघि बढाइने चेतावनी दिएको छ। साथै, कर्जा सूचना केन्द्र (सीआईबी) को कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न कठोर नीति अपनाउँदै आएका छन्। क्रेडिट कार्डमार्फत ऋण लिएर तोकिएको समयमा चुक्ता नगर्नु बैंक तथा ग्राहक दुवैका लागि समस्या बन्न सक्ने विश्लेषकहरू बताउँछन्।

बैंकको सार्वजनिक सूचनाले क्रेडिट कार्ड प्रयोगकर्ताहरूमाझ मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। कतिपयले बैंकको कदमलाई आवश्यक सावधानीको रूपमा लिएको भए पनि, केहीले व्यक्तिगत विवरण सार्वजनिक गर्नु ग्राहक गोपनीयताविरुद्ध हुने तर्क गरेका छन्। अब, ऋणीहरूले तोकिएको समयभित्र कर्जा चुक्ता गर्ने कि कानुनी प्रक्रिया सामना गर्ने भन्ने हेर्न बाँकी छ। बैंकहरूको कडाइका कारण अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि यस्तै रणनीति अपनाउने सम्भावना बढेको देखिन्छ।

वाणिज्य बैंकहरूको चैत महिनाको ब्याजदर सार्वजनिक

वाणिज्य बैंकहरूले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार अधिकांश बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको देखिएको छ।

चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकहरूमध्ये १७ बैंकले कुनै परिवर्तन नगरी फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यस अवधिमा दुई बैंकले ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ।

ब्याजदर घटाउने बैंकहरूमध्ये नेपाल बैंक र हिमालयन बैंक रहेका छन्। नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत विन्दुले घटाएको छ। हिमालयन बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशत विन्दुले घटाएको छ।

चैत महिनाका लागि ब्याजदर बढाउने बैंक कुमारी बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत विन्दुले वृद्धि गरेको छ।

ब्याजदरमा खासै परिवर्तन नभएकाले बैंकिङ प्रणालीमा स्थिरता देखिएको वित्तीय विश्लेषकहरूको धारणा छ। तर, केही बैंकले ब्याजदर समायोजन गर्नुको कारण बैंकहरूको तरलता स्थिति र बजारको चाल अनुसार फरक हुन सक्ने अनुमान गरिएको छ। बैंकहरूले आगामी महिनामा ब्याजदर पुनः समायोजन गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

डिजिटल जोखिमबाट सचेत रहौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुस्ताङ पुगेर डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नुपर्ने बताएका छन् । प्रभु बैंक गण्डकी प्रदेशले आयोजना गरेको मुस्ताङको घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे । प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।

घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रमको स्वागत गर्दै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ ।’

डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ । स्थानीय समुदायले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने माग गरे ।

नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.बीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आई. भि. एफ प्याकेजमा कर्मचारीहरुलाई रु. १५,००० र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई रु. १०,००० छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गरेका छन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौंस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. का अस्पताल र क्लिनिकहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

शिखर इन्स्योरेन्सद्वारा भावनात्मक डिजिटल फिल्म “खुसीको इन्स्योरेन्स” सार्वजनिक

नेपालको ख्यातिप्राप्त निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म “खुसीको इन्स्योरेन्स” सार्वजनिक गरेको छ । उत्कृष्ट, शीघ्र प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित यस कम्पनीले आफ्नो यो नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह-अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको छ। जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथाले देखाएको छ ।

फिल्म एक परिवारको कथा हो, जुन कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ उनसे आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् । कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ, जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ । जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने

भूमिका निर्वाह गरिरहेको देखाइएको छ, जसको महत्व कान्छो छोराले धेरै पछि मात्र भयो कथा सन्तानका लागि आफ्नो खुसी त्याग्ने आमाहरू जीवनका हरेक चुनौतीसँग सँगे भने दाजुभाइ तथा दिदीबहिनीहरू, दुई दशकदेखि शिखर इन्स्योरेन्स माथि विश्वास राख्ने ग्राहकहरू र आवश्यक पर्दा आपत विपतमा सहयोगी हात बन्ने हरेक शिखर इन्स्योरेन्सका कर्मचारीहरूलाई समर्पित गरिएको छ ।

आफ्नो खुसीलाई संग सुरक्षित गरी शिखर इन्स्योरेन्स सधैं तपाईंको साथमा छ भन्ने सन्देशको साथ फिल्म अन्त्य हुन्छ ।
पूरा भिडियो

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान शुरू गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहारका रूपमा आईफोन १६ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एप प्रयोग गरी कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप तथा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ।

यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक उपहार तथा बम्पर उपहारका लागि योग्य हुनेछन्। हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँ बराबरको मोबाइल टपअप जित्नेछन् भने अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले आईफोन १६ प्राप्त गर्नेछन्। अभियान चैत्र १ देखि चैत्र ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्दै सुरक्षित, सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यसहित यो अभियान ल्याएको हो। बैंकले ग्राहकहरूलाई यस योजनामा सहभागी भई लाभ प्राप्त गर्न आग्रह समेत गरेको छ।

हालै बैंक अफ द ईयर २०२४ उपाधि जित्न सफल सिटिजन्स बैंकले केही समयअघि फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा समेत शुरू गरिसकेको छ।

देशभर ६० जिल्लामा फैलिएका १९९ शाखा, १६६ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको सिटिजन्स बैंकले डिजिटल बैंकिङको क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल लाइफको सञ्चालकमा बिमल, कृष्णराज र शर्मिला नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन नियुक्त भएका छन् ।नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधाण सभाको निर्णय अनुसार चैत २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको निर्वाचनले तीन जना सञ्चालक नियुक्त गरेको हो ।

सञ्चालक समितिको चैत २ गते बसेको २९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोबिन्द लाल संघईबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रभु बैंकको वित्तीय साक्षरता मुस्ताङको घरपझोङमा, गभर्नरले भने ‘जोखिमप्रति सतर्क रहौं’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवा लिँदा जोखिमप्रति सचेत हुनुपर्ने बताएका छन्। प्रभु बैंक गण्डकी प्रदेश कार्यालयले मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबार आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारको सेवामा डिजिटल विधिका विविधताका विषयमा प्रष्टयाउँदै उनले सतर्क भएर उपयोग गर्नुपर्ने सुझाव दिए।

‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीले यसका सम्भावित जोखिमहरु र ठगीका घटनाहरुबाट जोगिन सचेत रहनु पर्छ,’ उनले भने, ‘हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णय लिनुपर्ने आवश्यकता छ’ उनले भने।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले सहभागीसँग बचत, बजेटिङ र लगानीको अवधारणाबारे छलफल गरे। प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानामगरले डिजिटल वित्तीय उपकरणको प्रयोग, मोबाइल बैंकिङ, अनलाइन खाता खोल्ने र वित्तीय सुरक्षा विधिका विषयमा सहभागीलाई जानकारी दिए।

वित्तीय कारोबारमा डिजिटल प्रविधिको प्रयोग र डिजिटल विधिबाट कारोबार गर्दा ठगीबाट जोगिन अपनाउनुपर्ने उपायबारे जनचेतना बढाउदै सर्वसाधारणलाई बचत र लगानी गर्न सिकाइएको उक्त कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउन कार्यक्रम महत्त्वपूर्ण रहेको भनाइ राखे।

कार्यक्रममा राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपकराज लामिछाने, आयोजक प्रभु बैंकका अधिकारीहरुसँगै उल्लेख्य संख्यामा स्थानीयबासी सहभागी थिए।

नेशनल लाइफ लमजुङद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

 नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले लमजुङ शाखा कार्यालयले बीमित स्व. बिबा बोगटीलाई बीमा दावी वापतको चार लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।कम्पनीको लमजुङ शाखा प्रमुख हिरा सिं गुरुङको अध्यक्षता र बेसीशहर नगरपालिका –११ का वडा अध्यक्ष शिब जोसी, चिती प्रहरी चौकी प्रमुख साथै स्थानीय बुद्धिजीवी तथा आम नागरिकको सहभागितामा बीमा दावी रकम हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

युनाइटेड अजोडमा उच्च व्यवस्थापनमा नयाँ नियुक्ति

युनाइटेड अजोड इन्स्योरेन्स ले उच्च व्यवस्थापनमा तीन जना नयाँ अधिकारीहरू नियुक्त गरेको छ। कम्पनीले सञ्जय अर्याललाई महाप्रबन्धक, काशीनाथ बर्लाकोटीलाई महाप्रबन्धक तथा धिरज ढंगानालाई प्रमुख प्रबन्धक पदमा नियुक्त गरेको जनाएको छ।

सञ्जय अर्यालसँग २६ वर्षको बीमा क्षेत्रको अनुभव रहेको छ। उनले नेपाल इन्स्योरेन्समा मार्केटिङ विभाग प्रमुखको रूपमा काम गर्दै व्यापार प्रवद्र्धनमा लामो अनुभव हासिल गरेका छन्। साथै, उनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा पनि दुई वर्ष मार्केटिङ विभागको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।

काशीनाथ बर्लाकोटी, जो चाटर्ड एकाउन्टेन्टसमेत हुन्, करिब ८ वर्ष हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत थिए। उनको वित्तीय तथा बीमा क्षेत्रमा लामो अनुभव रहेको छ।

धिरज ढंगाना बैंकिङ क्षेत्रमा लामो समय काम गरेपछि बीमा क्षेत्रमा प्रवेश गरेका छन्। बैंकिङको अनुभवका आधारमा उनले बीमा क्षेत्रमा नयाँ व्यावसायिक रणनीति अपनाउने विश्वास गरिएको छ।

कम्पनीले नयाँ व्यवस्थापकहरूको नियुक्तिसँगै व्यापार प्रवद्र्धनलाई तीव्रता दिने, सेवा गुणस्तर सुधार गर्ने र प्रतिस्पर्धी बीमा बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने लक्ष्य राखेको छ।

लचिलो, सहुलियतपूर्ण मौद्रिक नीतिका कारण आर्थिक वृद्धिलाई थप टेवा पुग्नेछः आइएमएफ

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौँ समीक्षा सम्पन्न गरेको छ । यो समीक्षासँगै आइएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब रू पाँच अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने भएको छ ।

आइएमएफ कार्यकारी बोर्ड बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता तथा गत असोज महिनाको बाढीका कारण उत्पन्न अवरोधका बाबजुद पनि उल्लेखनीय प्रगति गरेको छ । त्यस्तै, पुँजीगत खर्चमा वृद्धि, भूकम्प तथा बाढी पहिरोपछिको पुनःनिर्माण, लचिलो र सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनमा भएको वृद्धिलगायत कारणले यसवर्ष नेपालको आर्थिक वृद्धिलाई थप टेवा पुग्ने आइएमएफले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको इसिएफ सुविधा लिएको थियो । जुन नेपालले पाउने विशेष अधिकार (स्पेस ड्रइङ राइट) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषणका लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो ।

आइएमफ समीक्षा टोलीका प्रमुख सर्वत जहानको नेतृत्वमा गत पुस अन्तिम साता प्रनिनिधिमण्डल नेपाल आएको थियो । नेपालको अर्थतन्त्रमा आन्तरिक माग कमजोर हुनुका साथै विभिन्न चुनौतीहरूको सामना गरिरहेको आइएमएफको विज्ञप्तिमा उल्लेख छ । “चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत पुग्ने अनुमान छ । बाढी पहिरोलगायत विपद्पछिको आपूर्ति व्यवस्थामा देखिएको समस्या चाँडै सुल्झिने र औसत मुद्रास्फीति नेपाल राष्ट्र बैंकको राखेको पाँच प्रतिशतको वाञ्छित सीमा वरिपरि रहनेछ”, आइएमएफले भनेको छ, “सरकारको राजस्व सङ्कलन प्रयासले विकास खर्चलाई टेवा पु¥याउनुका साथै वित्तीय स्थायित्व कायम गर्न सघाउनेछ । तथापि, पुँजीगत खर्च कार्यान्वयनको ढिलाइ, वित्तीय क्षेत्रका कमजोरीहरू तथा राजनीतिक अस्थिरता जस्ता जोखिमहरू कायमै छन् ।”

कार्यकारी बोर्ड बैठकमा आइएमएफ उपप्रबन्धनिर्देशक बो लीले नेपालको राजनीतिक अनिश्चितता तथा केही समय अघिका बाढीजन्य विपद्का बाबजुद आर्थिक सुधार कार्यक्रम कार्यान्वयनमा अपेक्षित प्रगति गरेको धारणा राखेको विज्ञप्तिमा उल्लेख छ । तथापि आर्थिक परिदृश्यमा विविध जोखिमहरू रहेका कारण नीति निर्माताहरूले स्थायित्व कायम गर्न सचेत रहनुपर्ने आवश्यकता आइएमएफले औंल्याएको छ ।

“वित्तीय स्थिरताका लागि आर्थिक वृद्धिलाई गति दिने, पुँजीगत खर्च खर्च सामाजिक सुरक्षालाई सुदृढ पार्न आन्तरिक राजस्व संकलनलाई बढावा दिनुपर्ने हुन्छ”, आइएमएफ उपप्रबन्ध निर्देशक लीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्र बैंक ऐनमा सुधार गरी यसको प्रशासनिक स्वायत्तता र उत्तरदायित्वलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ । वित्तीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न बचत तथा ऋण सहकारीहरूको व्यवस्थापन सुधार, वित्तीय नियमनलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने तथा ऋण पोर्टफोलियो समीक्षा कार्य अघि बढाउन आवश्यक छ ।”

नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ग्रे सूचीमा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आइएमएफले औंल्याएको छ । यसका लागि नियामकीय सुधारलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

“नेपालमा लगानीमैत्री वातावरण विकास गर्न, व्यवसाय सञ्चालनको लागत घटाउन, सुशासन बढाउन र भ्रष्टाचार नियन्त्रणका लागि संस्थागत सुदृढीकरण आवश्यक छ । साथै, जलवायु परिवर्तनजनित प्राकृतिक विपत्तिहरूको असर न्यूनीकरणका लागि पहल गर्न अति आवश्यक छ”, आइएमएफले भनेको छ ।

आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु. ५ र डिजल-मट्टीतेलमा रु. ४ घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर रु. ५ र डिजल–मट्टीतेलमा प्रतिलिटर रु. ४ मूल्य घटाएको उल्लेख गरेको छ ।