
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी सोमबार सम्पन्न दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि ६६ करोड रुपियाँ बराबरको साधारण सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पास गरेको छ । पोखरामा सम्पन्न कम्पनीको सभाले कुल पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव पास गरेको हो ।
कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले अध्यक्षतामा भएको सभाले कम्पनीको वार्षिक प्रतिवेदन, गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण, चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पास गरेको छ । व्यवसाय शुभारम्भ गरी सञ्चालनमा आएको नौ महिनाको छोटो अवधिमा आकर्षक जीवन बीमा योजना जारी, शाखा विस्तार, तालिम प्राप्त दक्ष अभिकर्ताहरु परिचालन, बीमा शुल्क संकलन, जीवन बीमा कोषको स्थापना, उच्च प्रतिफलयुक्त दिर्घकालिन लगानी लगायतका कार्यहरुबाट मुनाफा आर्जनमा उल्लेख्य सफलता हासिल गर्न आफू सफल भएको ज्योति लाईफको भनाई छ ।
कम्पनीले पहिलो वर्षमा नै आफ्नो बलियो आधार स्तम्भ तयार भएकोले आगामी दिनमा व्यवसाय वृद्धिमा विशेष ध्यान दिई कम्पनीलाई अग्रणी स्थानमा पुर्याउने लक्ष्य रहेको र सोहीअनुरुप नीति निर्माण गर्दै काम गरिरहेको जनाएको छ ।
कार्यक्रममा कम्पनीका अधिकारीहरुले कम्पनीको पछिल्लो प्रगति विवरणबारे जानकारी दिँदै देशैभर १०३ शाखा तथा उपशाखा बिस्तार, एक अर्ब ४१ करोडको कुल बीमा शुल्क आर्जन, दुई अर्ब ४० करोडमध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल र ७२ करोड ८८ लाखको जीवन बीमा कोष स्थापना, पाँच हजार सात सयभन्दा बढी तालिम प्राप्त अभिकर्ताहरुको परिचालन, अन्य कम्पनीहरुले जारी नगरेका अलग्गै विशेषता भएका आकर्षक जीवन बीमा योजनाहरु जारी गर्न कम्पनी सफल भएको र आगामी दिनमा ब्यवसाय वृद्धि र मुनाफा आर्जनमा उल्लेख्य सफलता हासिल गर्ने गरी काम गर्ने जनाए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































