जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विदेशबाट ऋण ल्याउँदा नेपालमा भन्दा महँगो व्याज

विदेशबाट ऋण ल्याउँदा नेपालमा भन्दा महँगो व्याज

लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न तम्सेका बैंकहरु त्यसरी लिने ऋणको व्याजदर नेपालमा भन्दा महँगो पर्ने भएपछि नलिने मनस्थितिमा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार करिब आधा दर्जन वाणिज्य बैंकले विदेशबाट रकम लिएर नेपालमा लगानी गर्ने योजना बनाएका थिए । तर, त्यसरी विदेशबाट ऋण ल्याउँदा नेपालमा भन्दा महँगो व्याज तिर्नुपर्ने भएकाले पछाडि सर्नु परेको बैंकर बताउँछन् ।

विदेशबाट पैसा ल्याएर नेपालमा लगानी गर्न त्यति सजिलो नभएको एक बैंकरले बताए । उनी संलग्न बैंकले विदेशबाट पैसा ल्याउन पहल गरेको पनि उनले सुनाए । तर, ‘सफल हुन सकिएन,’ उनले विदेशबाट ऋण ल्याउँदाको फेहरिस्त सुनाउँदै भने– ‘विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा सबैभन्दा पहिले त नेपालको रेटिङ गर्दा रहेछन् । त्यसपछि बैंक तथा वित्तीय संस्था कुन अवस्थामा रहेको छ, त्यसको मूल्यांकन हुँदो रहेछ । त्यसपछि पनि विदेशी संस्थाले भनेको क्षेत्रमा मात्र लगानी गर्नु पर्दो रहेछ । यतिधेरै प्रक्रिया पुर्याउँदा पनि स्वदेशमा लिने व्याजको तुलनामा सस्तो पर्ने भए त ठिकै हुन्थ्यो । चर्को ऋणको व्याजदरमा लिएर के गर्ने भन्ने समस्या हुँदो रहेछ, त्यसैले त्यसरी  ऋण लिनुभन्दा नलिनु नै बेस हुन्छ ।’  त्यसैले अहिले विदेशबाट ऋण लिन पछाडि हटेको उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि शुरुमा नीतिगत रुपमा बाटो खोली दिएपछि एक दर्जन बैंकले विदेशबाट ऋण लिन तयार भएका थिए । तर, विदेशबाट ऋण लिन सजिलो नभएको भन्दै एकपछि अर्को गर्दै बैंक पछाडि हट्दै गए । त्यसरी पछाडि हट्नुको कारण लामो प्रक्रिया र उच्च व्याज नै थियो । विदेशबाट ऋण लिने भनेको ‘एक आकासको फल आँखा तरी मर’ भन्ने उखानजस्तै भएको एक बैंकरले बताए ।

राष्ट्र बैंकले यस्तो नीति ल्याएको करिब एक वर्ष भएको छ । यो एक वर्षको अवधिमा हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये एनएमबी बैंकले मात्र विदेशबाट पैसा लिन सफल भएको छ । एनएमबी बाहेक अन्य बैंकले त्यस्तो रकम हालसम्म भित्र्याउन सकेका छैनन् ।
एनएमबी बैंकले पटक–पटक गरी करिब ५ अर्ब रुपैयाँ भित्र्याइसकेको छ । एनएमबी बैंकले लिएको ऋणको व्याजदर करिब ९ प्रतिशतको हाराहारीमा रहेको प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । त्यसरी लिएको ऋण पनि तोकिएको क्षेत्रमा मात्र लगानी गर्न बैंकलाई बाध्य पारिएको छ । ‘घेराबन्दीमा पार्ने काम हुँदो रहेछ’, एक बैंकरले भने ।

विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरे पनि पछिल्लोपटक पछाडि सरेका छन् । भारतीय बैंकको साझेदारीमा खुलेका एसबीआई र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिन सकिरहेका छैनन् ।  नेपालभन्दा भारतमै पैसा महँगो भएकाले नेपाल ल्याउन नसकिने उनीहरुले बताएका छन् । नेपालमा बढिमा साढे नौं प्रतिशतमा पैसा पाइरहेका बेला भारतमा १० प्रतिशतमाथि ब्याज रहेकाले नेपाल ल्यान नसकिएको उनीहरुले बताउँदै आएका छन् । नेपालमा भन्दा थप महँगो पर्ने भएकाले ल्याउन नसकिएको एसबीआई र एभरेष्ट बैंकको भनाइ छ ।

आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोलेको थियो । राष्ट्र बैंकले शुरुमा प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने व्यवस्था गरेको थियो । त्यसपछि  बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर शतप्रतिशत पुर्याएको छ । तर, राष्ट्र बैंकले भनेजस्तो विदेशबाट बैंकहरुले ऋण लिन सकेका छैनन् ।

7060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका