जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तथ्याङमा मात्र सिमित बन्दै पूर्व राजा वीरेन्द्रको सम्पत्ती

तथ्याङमा मात्र सिमित बन्दै पूर्व राजा वीरेन्द्रको सम्पत्ती

स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति कति थियो ? नेपाल ट्रष्ट बनाएरै त्यसको खोजी गरिए पनि अहिलेसम्म यकिन हुन सकेको छैन । न त सम्पूर्ण जग्गा खोजी गरेर कसले कुन प्रयोजनको लागि उपभोग गरिरहेको छ भन्ने सबै तथ्यांक नै तयार भइसकेको छ । जसका कारण पूर्व राजपरिवारको नाममा रहेको अर्बौंको सम्पत्ति हिमामिना हुनसक्ने सम्भावना बढेको छ ।

मुलुकका विभिन्न भागमा छरिएर रहेका जग्गा जमिन चाहिँ भू–माफियाको कब्जामा पुग्ने चिन्ता बढिरहेको छ । यता, नेपाल ट्रस्ट कार्यालयले भने वि.सं. २०६५ सालदेखि हालसम्म ५५ वटा जिल्लामा पूर्व राजपरिवारको सम्पत्ति खोजी गरिसकेको दाबी गरेको छ । ट्रस्ट कार्यालयका शाखा अधिकृत अमृत मर्हजनका अनुसार सो कार्यालयले हरेक वर्ष १० वटा जिल्लामा सम्पत्ति खोजी गर्ने गरेको छ । अहिलेसम्म वीरेन्द्रको सम्पत्ति ५५ वटा जिल्लामा खोजी गरिसकेको भए पनि हालसम्म ६ वटा जिल्लामा मात्रै सम्पत्ति फेला परेको विवरण कार्यालयसँग छ ।

हालसम्म खोजी गरिएको ६ वटा जिल्लामध्ये काठमाडौंमा करिब ३ हजार ७ सय ४३ रोपनी र भक्तपुर, नुवाकोट, काभ्रोपलाञ्चोक, धनकुटा, मकवानपुरमा करिब ४ सय ३ रोपनी जग्गा रहेको नेपाल ट्रस्ट कार्यालयको तथ्याङले देखाउँछ ।

काठमाडौं
काठमाडौं महानगर–३ अन्तर्गत महाराजगञ्जमा कित्ता नम्बर १ मा १ रोपनी ७ आना १ दाम जग्गा रहेकोछ । उक्त जग्गामा अहिले पूरै कम्पाउन्ड वालले घेरिएको छ । लाजिम्पाटबाट चक्रपथचोक जाने मुलबाटोमा अवस्थित, निर्मल निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले आवासको रुपमा प्रयोग गरिरहेका छन् । यो जग्गाको बीचमा एउटा घर समेत रहेको मर्हजनले बताए ।

त्यस्तै बालाजु–८ (हाल इचंगु) मा २७ वटा कित्तामा १० रोपनी ६ आना १ पैसा जग्गा रहेकोछ । उक्त जग्गा हाल स–साना कित्तामा छरिएर रहेको छ भने मोहीले खेती तथा बसोबासमा प्रयोग गरिरहेका छन् । महानगरको वडा नं. १३, कालिमाटी, ताहाचलमा रहेको ११ कित्ता नम्बरमा ५९ रोपनी ४ आना १ पैसा ३ दाम जग्गा रहेको छ । उक्त जग्गा कम्पाउन्ड वालले घेरिएको र व्यावसायिक महत्व राख्ने यी जग्गा हाल विभिन्न व्यापारिक तथा सामाजिक काममा प्रयोग भइरहेको छ ।

यो जग्गा सन् २००९/०१/०९ देखि २०१० डिसेम्वरसम्मको लागि मात्र लिजमा दिइएको थियो । तर, हालसम्म पनि ट्रस्टले त्योबारे आवश्यक पहल गर्ने र नयाँ ढंगले त्यसबाट आम्दानी लिने काम गरेको छैन  । महानगर–१२, टेकु, बुद्धबारीमा २ कित्तामा १९ रोपनी १२ आना जग्गा रहेको छ ।

उक्त जग्गा कालिमाटी–टेकु, गणेशमान पथमा अवस्थित छ । हाल चारैतर्फ कम्पाउन्डवालले घेरिएको, टाउन डेभलपर प्रालिद्वारा सञ्चालित काठमाडौं विजनेस पार्कको नाममा आधुनिक भवन त्यहाँ बनेका छन् । पूर्ण व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भईरहेको ट्रस्ट कार्यालयले जनाएको छ । यो जग्गा वि.सं.२०५३ चैत २८ गतेदेखि लागू हुने गरी ३० वर्षको लागि लिजमा दिएको थियो जुन अहिले पनि कायमै छ ।

महानगर–१६, बालाजुमा कित्ता नम्बर ४ मा रहेको १२२ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गा रहेको छ । उक्त जग्गा हाल काठमाडौं त्रिशूली जाने बाटोसँग जोडिएको व्यापारिक प्रयोजनमा प्रयोग हुन सक्नेछ । अहिले चाहिँं त्यतिकै खुलारुपमा रहेको महर्जन बताए ।

महानगर–२९, सामाखुशीमा ४ कित्तामा १९ आना जग्गा रहेको छ । उक्त जग्गा हाल ठमेलबाट गोंगबुचोक जाने सामाखुशी ठाडा ेबाटोबाट पश्चिम गोरेटो बाटोमा पर्ने गल्को पाखा क्षेत्रमा पर्छ । हाल त्यहाँ मोहीले घर बनाई बसोबास गर्दै आएको अवस्था छ ।

त्यस्तै महानगरपालिकाको वडा नं. १ मा रहेको कित्ता नम्बर १ को १ रोपनी १४ आना १ पैसा जग्गा रहेको छ । हाल दरबारमार्गस्थित पहिला जाँचबुझ केन्द्र रहेको भवन कम्पाउन्डवालले घेरिएको छ । सो भवनमध्येको केही भाग ट्रस्टको स्वामित्वमा आउनु अघि नै लिजमा लिई व्यक्तिबाट ब्युटीपार्लर सञ्चालनमा रहेको छ । यसको लिज अवधि मिति २०६७ जेठसम्म रहेको थियो । तर, अझैसम्म त्यहाँ ब्युटीपार्लर सञ्चालन  छ  ।

महानगरपालिका वडा नम्बर ३१ मा १ कित्तामा ५ रोपनी २ पैसा रहेको छ । काठमाडौं प्लाजाको नामबाट परिचित कमलादिस्थित आधुनिक भवन कन्सेप्ट डेभलपर्सले लिजमा लिई विभिन्न सेवामुलक तथा मनोञ्जनात्मक कार्यालयलाई व्यापारिक रुपमा प्रयोग गर्न दिइरहेको छ । यो जग्गा २७ वर्षको लागि लिज दिएको छ । उक्त जग्गाको लिज अवधि वि.सं.२०७७ साल असार ३ गते सकिँदैछ । ठमेलमा १ कित्तामा ७ आना २ दाम जग्गा रहेकोछ ।

रिङरोड बाहिर 
काठमाडौंको रिङरोड बाहिर फर्पिङ जाने बाटोमा १ कित्तामा ६८ रोपनी १२ आना जग्गा रहेको फेला परेको छ । शेषनारायण–२ मा रहेको उक्त जग्गा हाल काठमाडौंबाट दक्षिणकाली जाने पक्की मोटरबाटोसँग जोडिएको छ । हाल यो जग्गा त्रिभुवन आदर्श माविले प्रयोग गरिरहेको छ ।

सतुङगलमा कित्ता नम्बर १ मा १ रोपनी ६ आना १ पैसा जग्गा रहेको छ । यो जग्गा सतुङगलका मोहीले खेतीवालीमा प्रयोग गरिरहेका छन् । मातातीर्थ–१ क, ख मा रहेको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा जग्गा पनि हाल ट्रस्टले फेला परेको हो ।

उक्त जग्गा स–साना कित्तामा छरिएर रहेको र मोहीले खेती तथा बसोबासका लागि प्रयोग गरिरहेको कार्यालयले जनाएको छ । थानकोट महादेवस्थान ४ क, ख, ग मा ४३ कित्ता नम्बरमा १०२ रोपनी ३ पैसा जग्गा रहेको छ । स–साना कित्तामा छरिएर रहेको सो जग्गा मोहीले खेती तथा बसोबासमा प्रयोग गरिरहेको छ ।

त्यस्तै गोकर्ण गाविसको २ कित्ता जग्गामा २,७९१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा रहेको छ । गोकर्ण जंगल, पर्खाल तथा तारवारले घेरिएको उक्त जग्गा ३० वर्षेको लागि लिजमा लिइ अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्ट निर्माण गरी सञ्चालन गरिएको छ । यसको लिज अवधि सन् २०२५ सेक्टेम्बर १५ सम्म रहेको छ । साँखुमा २ कित्तामा २ रोपनी ३ आना १ पैसा जग्गा रहेको छ ।

भक्तपुर
भक्तपुरको कटुञ्जे गाविस ९ ख मा कित्ता नम्बर १ मा १०८ रोपनी २ आना १ पैसा जग्गा रहेको छ । उक्त जग्गा हाल अरनिको राजमार्गसँग जोडिएको, पूर्वमा भक्तपुर शहर जाने बाटो, पश्चिममा कच्ची मोटरबाटो, उत्तरमा हनुमन्ते खोला, दक्षिणमा अरनिको राजमार्गमा पर्ने खुला रुपमा रहेको छ । त्यस जग्गा व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण मानिएको छ तर हाल प्रयोगमा रहेको छैन ।

नुवाकोट
नुवाकोटको थानसिंह १ को कित्ता नम्बर ६ मा रहेको ६५ रोपनी ११ आना २ दाम जग्गा रहेको छ । उक्त जग्गा हाल उत्तरमा लिखु खोला जानेबाटो, दक्षिणमा रानीपौवा जानेबाटोमा अवस्थित बगैंचा तथा खेतीवालीमा प्रयोग भइरहेको छ ।

धनकुटा
धनकुटा न.पा. चुलिवन ५ मा कित्ता नम्बर १ मा रहेको १९४ रोपनी जग्गा हाल पूर्व, उत्तर र दक्षिणमा तीनतर्फ कच्ची मोटर बाटो रहेको छ । यहाँको प्रायः जसो सीमानामा तारबार लगाएको र केही जग्गा स्थानीय क्लबको सक्रियतामा फुटवल खेल्ने मैदानको रुपमा प्रयोग भईरहेको छ ।

मकवानपुर
मकावनपुरको हेटौडा–१० मा १ कित्तामा २६ रोपनी १ आना १ दाम जग्गा रहेको छ । यो जग्गा हाल पूर्व–पश्चिम राजमार्गसँग जोडिएको हेटौडा बजारस्थित वन विज्ञान अध्ययन संस्थान र भुटनदेवीमार्गको बीचमा बसोबासको रुपमा प्रयोग भएको र चारैतिर कम्पाउन्डवालले घेरिएको छ । उक्त जग्गा महत्वपूर्ण व्यापारिक काममा प्रयोग गर्न सकिने ट्रस्ट कार्यालयले जनाएको छ । यो जग्गालाई हाल नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको पाँचखाल–३ को कित्ता नम्बर २ मा रहेको ९ रोपनी १५ आना ३ पैसा १ दाम जग्गा रहेको छ । पाँचखाल– ३ स्थित कित्ता नं. १८३ र १८४ को जग्गामा खावाचोकबाट पूर्वतिर करिब २ किलोमिटर टाढा कच्ची मोटर बाटोसँग जोडिएको छ । हाल प्रयोजनविहीनको रुपमा रहेको छ । भविष्यमा पर्यटकीय प्रयोजनमा प्रयोग हुनसक्ने सम्भावना रहेको ट्रस्ट कार्यालयले जनाएको छ ।

6985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?