जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • कोरोना टेष्टमा पोजेटिभ भएपछि पाउने बीमा कोरोना बीमा हो

अन्तरवार्ता

कोरोना टेष्टमा पोजेटिभ भएपछि पाउने बीमा कोरोना बीमा हो

चिरञ्जीवी चापागाई, अध्यक्ष, बीमा समिति

कोरोना टेष्टमा पोजेटिभ भएपछि पाउने बीमा कोरोना बीमा हो

चिरञ्जीवी चापागाई चिनाई राख्नु पर्ने नाम होइन । उनी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष हुन् । अहिले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले गत चैत ११ गतेदेखि वैशाख २५ गते सम्म पूरै देश लकडाउन गरेको छ । लकडाउनले देश ठप्प हुँदा आर्थिक गतिविधिहरु पनि ठप्प छन् । बीमा भनेको फोर्स सेभिंग पनि हो । जसकारण लक डाउनले आम्दानी घटेका कारण आगामी दिनमा बीमा गर्नेहरुको संख्या बढाउन ठूलो चुनौतिपूर्ण देखिन्छ । कोरोना रोकथामका लागि गरिएको लकडाउनले बीमा क्षेत्रमा कस्तो असर पर्यो । असर कम गर्न बीमा समितिले के कस्ता रणनीति अबलम्बन गर्छ ?

कोरोना बीमाको नामबाट नेपाली नागारिक, परिवार एवम् संस्थाहरुले आफ्ना सदस्यको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने उक्त योजना हालै सार्वजनिक भएको छ । लकडाउनको अवस्थामा पनि सजिलै ‘पोलिसी’ खरीद गर्न सकिने र त्यसका लागि मेडिकल र वित्तीय ‘अन्डरराइटिङ’को आवश्यकता नपर्ने व्यवस्था रहेकाले इच्छुकले अनलाइनमार्फत कोरोना बीमा योजना खरीद गरेको देखिन्छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत पनि योजना खरिद गर्न सकिने व्यवस्था मिलाइएको समितिका अध्यक्ष चापागाईको तर्क छ ।

बीमा समितिले बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो बीमालेख रु एक लाख बराबरको छ । सो योजना खरिदका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्नेछ । पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए थप ६०० रुपैयाँ लाग्नेछ । दोस्रो योजना रु ५० हजार रुपैयाँ बराबरको छ । यो योजना खरिदका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र पाँच परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि थप प्रतिव्यक्ति ३०० रुपैयाँ देखिन्छ ।

कोरोना भाइरस महामारीका रुपमा आएको र सानो रकमबाट भए पनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमा लेख जारी गरिएको देखिन्छ । कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएपछि अहिलेसम्म १० हजार ७१९ भन्दा बढिले यो बीमा लेख खरिद गरेको देखिन्छ । कोरोना बीमा २० निजीवन बीमा कम्पनी र एक पुर्नवीमाले बिक्री गरेको अवस्था छ ।

अहिले कोरोना बीमा अस्पताल तथा कर्पोरेट हाउसलगायतले गर्ने गरेका छन् । बीमा समितिले नै आफ्ना ८० जना कर्मचारीको बीमा गराइसकेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । नेपालमा पनि बीमा समितिले कोरोना भाइरसको बीमा शुरु गरेको देखिन्छ ।

कोरोना बीमाको पहिलो बीमा लेख खरिद गरेर कोरोना बीमा शुरु गरेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईसंग यी र यस्तै विषयमा केन्द्रीत रहेर आर्थिक बजार न्यूजडटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी?

० अध्यक्षज्यू यो कोरोना बीमा के हो ?
यो बीमा कोरोना महामारीका लागि ल्याईएको बीमा भएकोले कोरोना बीमा भनिएको हो । कोरोना टेष्टमा पोजेटिभ भएपछि पाउने बीमा कोरोना बीमा हो । खासगरि डाक्टर, पत्रकार, सुरक्षाकर्मी र नर्स लगायत सबै नेपालीहरुका लागि ल्याईएको बीमा हो । कोरोनाको औषधी उपचार राज्यले नै गर्ने गरेको छ । उनीहरुसंग आश्रित परिवारलाई राहत होस भनी ल्याईएको हो । यो विपतमा केही राहत दिने दायित्व हाम्रो पनि हो नि ।

० यो बीमा निजीवन बीमा कम्पनीहरुबाट मात्र गरिने बीमा भन्न सकिन्छ ?
यो अहिले २० वटा निजीवन बीमा कम्पनीहरुले ८० प्रतिशत र २० प्रतिशत पुर्न बीमा कम्पनीले कोरोना बीमा गर्न हामीले निर्देशन गरेका छौं ।

० जीवन बीमा कम्पनीलाई चाही किन कोरोना बीमा गर्न नदिएको हो ?
जीवन बीमा कम्पनीहरुको प्राडोक्ट स्वीकृत गर्नुपर्ने वाध्यता छ । जीवन बीमा कम्पनीहरुमा ७३ लाख भन्दा बढि नेपालीको बीमा छ नि । अहिले चाही पुर्न बीमा कम्पनी र २० निजीवन बीमा कम्पनीलाई जिम्मा दिएका छौं ।

० संसारमै नभएको कोरोना महामारीको बीमा नेपालमा ल्याउनु भयो । यो अहिलेसम्म कति व्यक्तिहरुको भयो त ?
हामीले पनि कोरोना भाइरसको महामारीमा बीमा क्षेत्रलेले कसरी सहयोग गर्ने भन्ने विषयमा बीमक संघसँग छलफल भयो । हामीलाई के प्लस प्वाइन्ट भइदियो भने हामीले पहिले नै बीमा पुल बनाइसकेका थियौं । आजका दिनमा पनि एउटा बीमा कम्पनीले ल्याएको भए हुने थिएन । हामीले बीमा पुलमार्फत छोटो अध्ययन गरौं यो सम्भव भयो ।

भारत र थाइल्याण्डमा पनि केही कम्पनीले बीमा शुरु गरेको कुरा भयो र २ दिनमै शुरु गर्ने निर्णय भयो । तर भोलिका दिनमा महामारीको सीमा पनि नहुने भयो, प्रक्षेपण पनि भएन । त्यसैले न्यून आय भएका वर्गलाई, फ्रन्टलाइनमा बसेर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार लगायतलाई लक्षित गरी ल्याउने भयो ।

तपाईसंग कुरा गर्दा सम्म कोरोना बीमा १० हजार भन्दा बढि मान्छेले गरेका छन् । यसबाट आँधा करोड भन्दा बढि बीमा शुल्क उठेको छ । अर्को कुरा बीमा हुनलाई मेडिकल अन्डरराइटिङ र फाइनान्सियल अन्डरराइटिङ हुनुपर्छ । अब यो बीमा यी दुबै हुनु पर्दैन । एक पटक तिर्ने हो । ३ सय र ६ सय रुपैया निकालेका छौं । यी दुबै कुरा नचाहिने भएपछि हामीले अनलाइनबाट लिनसक्छौं । त्यसपछि बीमा कम्पनीहरु अनलाइन पेमेन्ट गर्नेलाई पनि सम्झौता गरी अगाडि बढ्नुस भन्यौं । अनलाइनको सेवा नहुनेलाई घुम्ती बीमा सेवा पनि छ । त्यसैले लकडाउनमा पनि यो बीमा पोलिसीमा हुन्छ भन्ने हो ।

० कोरोना बीमाका बारे आलोचना पनि बढेको छ नि, व्यापारीलाई फाइदा हुने एउटा कुरा छ भने अर्को भोली नेपालमा कोरोना भाईरस फैलियो र बीमकलाई पैसा दिन सकिएन वा कम्पनी घाटामा गएभने के गर्ने भन्ने बारे चर्चा शुरु भएको देखिन्छ नि अध्यक्षज्यू ?
नयाँ कुरा बजारमा आउदा आलोचना आउने गर्दछ । यो पनि नयाँ अभ्यास हो । यो कोरोना बीमा हो । समाजलाई केही गरौं भन्ने भावनाबाट प्रेरित भै आएको बीमा पोलोसी हो । यो समयमा फाइदा–घाटा भन्दा पनि बिरामीका आश्रीत परिवारलाई केही दिउ भनेर ल्याइएको बीमा पोलिसी हो । यत्रो पैसा उठायो र कम्पनी मोटाउने काम भयो भन्ने पनि छन् । अर्को पक्ष भोली महामारी साच्चै फैलियो भने बीमा बम्पनीलाई घाटा हुन्छ भन्ने पक्ष पनि देखियो । एउटा कुरा चाही के हो भने यो परिस्थिति अनुसार परिवर्तन हुन्छ । यदि कम्पनीहरुले धान्ने सकेनन् भने सरकारलाई गुहार्ने हो । धेरै पैसाको बीमा लेख भए त्यो बोनस बाड्नबाट रोक हामीले लगाउने छौं । यो पैसा सामाजिक उत्तरदायित्वकोषबाट खर्च गर्न पनि सकिने वातारवरण तयार गर्न सकिन्छ ।
धेरै पैसा आए छलफल गरि कोरानाको रोगथामका लागि उपकरण खरिद गरेर सरकारलाई पनि दिन सकिन्छ ।

० कारोना बीमा शहरी क्षेत्रमा चर्चामा रहेको तर जहाँ कोरोना प्रभावित क्षेत्र छ । त्यहाँ चर्चा नपाएको देखिन्छ नि जस्तै उदयपुर र वीरगञ्जमा त यो बीमा भएको देखिदैन नि ?
मलाई पनि एउटा इच्छा छ । यो बीमा गाउँगाउँमा पु¥याउ भनेर हामीले टेलिभिजन लगायत केही सञ्चार माध्यामबाट यसको प्रसार प्रचार गरेको अवस्था छ । कृषि बीमा छन्, घुम्ती बीमा पनि छ । अनलाईनबाट अहिलेबीमा गरिएको अवस्था छ । लकडाउन भएकाले केही पास लिएर भएपनि धुम्ति बीमा गर्न भनेका छौं र गाउँ गाउँमा पु¥याउन अनलाईन र धुम्ती बीमाबाट पु¥याउन भनिएको छ ।

० नेपालमा बीमा कम्पनीसँग पैसा छ, समितिले बनाइदिएको निर्देशन अनुसार लगानी पनि गरेको अवस्था पनि छ, अरु उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्न चाहि के गर्नुपर्ला ?
बीमा ऐन २०४९ मा बीमितसँग संलकन गरेको शुल्क लगानी गर्नका लागि निश्चित क्षेत्र तोकिदिनुपर्ने छ भन्ने छ । त्यसैमा टेकेर हामीले निर्दे्शिका बनाइदिएको हो । त्यो लगानी निर्दे्शिका अनुसार नै लगानी गर्ने हो । अहिले दायरा पनि बढाइएको छ । जसमा टेक्निकल रिजर्भको निश्चित प्रतिशत आफै लगानी गर्न सक्नुहुन्छ । रियल स्टेट र सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ । बीमाको पैसा उत्पादन मुलक क्षेत्रमा लगाउनु जरुरी छ नि ।

० कोरोना बीमा बीमा कम्पनीहरुले यो लकडाउन यति धेरै नगरेको देखिन्छ कारण के हो ?
यस्तो छैन । यो छोटो समयमा १० हजार भन्दा बढि बीमा लेख बिक्री भएको छ । धेरै शाखा सञ्जाल भएकाले धेरै गरेका छन् । कम भएकोले कम गरेका चाही छन् । समग्रमा हेर्दा राम्रो बीमालेख आएको छ । यो राहत स्वरुप आएको कोरोना बीमा लेख हो । यसरी बुझ्न जरुरी छ ।

० कोरोनाका कारण यो वर्ष लाभाशं बाँड्न गाह्रो हुने देखिन्छ नि ?
यो वर्षको त ठीक छ । गत वर्ष जुन एनएफआरएस लागू गर्दा २ वटा कुराहरु थिए । एउटा ऐनले कल्पना गरेको प्रोभिजनिङ पनि गर्नुपर्ने र अर्को एनएफआरएस अनुसारको प्रोभिजनिङ पनि गर्नुपर्ने थियो । त्यसकारण बीमा कम्पनीमा प्रोभिजनिङको कुरा छ । हाम्रो ऐन अहिले संसदमा छ । त्यो पास हुने वित्तिकै दोहोरो प्रोभिजनिङ गर्नु पर्दैन । त्यसैले यो वर्ष घटिहाल्ला भन्न सकिन्न । तर अर्को २०७७र७८ मा बढी असर पर्ने सम्भावना बढी चाहि छ ।

० कोरोना भाईरसका कारण ठूलो जनशक्ति देश फिर्ता आएको अवस्था एकातिर छ । अर्को तिर अहिले गाउँमा पुगेका जनशक्तिलाई चाही के मा उपयोग गर्दा राम्रो होला ?
म बीमाको मान्छे बीमाकै कुरा गर्दछु । अब आत्मनिर्भर बन्नु पर्दछ । कृषिमा त्यसकारण कृषि क्षेत्रमा लाग्नु प¥यो र सरकारले त्यही अनुसार नीति ल्याउनु जरुरी छ । अर्को कुरा के छ भने राज्यले कृषिमा अनुदानको व्यवस्था समेत गरेको छ । कृषि बीमा बढेको छ । त्यसकारण कृषि व्यवसायमा लाग्नु जरुरी छ नि ।

० बीमा क्षेत्रलाई बचाउन दायरा बढाउदै जनचेतना जगाउन चाही के गर्नु पर्ला त?
बीमा क्षेत्र आत्तिहाल्नु पर्ने अवस्था चाहि छैन । जीवन बीमा भनेको फोर्स सेभिङ हो भने निर्जीवन बीमा आर्थिक गतिविधि बढेको हिसाबले हो । जीवन बीमा बचत भए मात्रै गर्ने हो । खानै भएन भने सरेन्डर पनि गर्छ सक्छ । गत वर्षको तुलनामा जीवन बीमामा २० प्रतिशतले वृद्धिदर थियो साथै निर्जीवन बीमातर्फ ३ प्रतिशतको वृद्धि हुन्छ भन्ने अनुमान थियो ।

तर भारतमा पनि लकडाउन भइरहेको र नेपालमा पनि अवस्था गम्भीर भइरहेको हुँदा यो हल हुने सम्भावना अहिले छैन । त्यसैले त्यो वृद्धिदरमा असर पार्छ । अब आजभोलिमा अर्को प्रक्षेपण गर्छौ । यो २० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झर्छ भन्ने डर त छ ।

यो वर्ष जीवन र निर्जीबनबाट 1खर्ब 15 अर्ब रुपैयाँ प्रिमीयम संकलन हुने अनुमान रहेको । जीवन बीमामा १८ प्रतिशत र निर्जीबनमा २,३ प्रतिशत बढने छ त्यसकारण आत्तिनु पर्ने देखिदैन नि ।

० अत्यमा केही भन्न छ त ?
यो समय राज्यले गरेको निर्देश्न पालना गरौं । कोरोना बीमा गराई सुरक्षीत रहौं । धैर्यधारण गरौं, यो अवसरलाई उत्पादनमुलक क्षेत्रमा लगाऔं । कति पनि निराश नबनौं ।

22075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका