जोडिनुहोस
सोमवार, असार ३१, २०८१
सोमवार, असार ३१, २०८१
  • होमपेज
  • हरेक बैंक तथा वित्तीय संस्थाका ग्राहक हेर्ने हो भने एसएमईकै दबदबा रहेको छ

हरेक बैंक तथा वित्तीय संस्थाका ग्राहक हेर्ने हो भने एसएमईकै दबदबा रहेको छ

भु बैंकले अन्तर्राष्ट्रिय अवार्ड ‘बैंक अफ द इयर २०२३’ प्राप्त गरेको छ। २०७१ भदौमा वाणिज्य बैंकका रूपमा कारोबार सुरु गरेको प्रभु एक दशक नबित्दै वित्तीय क्षेत्रमा अब्बल सावित भएको छ र व्यवस्थापकीय नेतृत्व अशोक शेरचनले गरेका छन्। २०६३ साउनबाट प्रभु फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका शेरचन प्रभु विकास बैंक हुँदै २०७१ कात्तिकदेखि निरन्तर प्रभु बैंक सिइओ छन्।

२०५७ भदौमा नेपाल बैंक अफ सिलोन (नेपाल क्रेडिट एन्ड कमर्स बैंक हुँदै हाल कुमारी बैंकमा गाभिएको) बाट बैंकिङ करियर सुरु गरेका शेरचनले त्रिभुवन विश्वविद्यालयबाट बजारीकरणमा स्नातकोत्तर र अमेरिकाको स्ट्यान्डफोर्ड विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ बिजनेसबाट कार्यकारी कोर्स गरेका छन्। ग्रान्ड बैंक नेपाल, किस्ट बैंक र सेन्चुरी कमर्सियल बैंकलगायत एक दर्जन वित्तीय संस्था गाभिएर बनेको प्रभुको वित्तीय स्थिति अघिल्लो वर्ष सेन्चुरी कमर्सियल गाभेपछि केही बिग्रिएको छ।

२०२२ को प्रदर्शन हेरेर अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त हुने बेलायतको फाइनान्सियल टाइम्सको सहायक प्रकाशन ‘द बैंकर’ ले हरेक वर्ष प्रदान गर्ने बैंक अफ द इयर २०२३ अवार्ड लिइरहँदा प्रभुको पछिल्लो वित्तीय अवस्था केही खल्लो महसुस भएको बताउँछन् सिइओ शेरचन। वित्तीय क्षेत्रमा बलिया भनिएका बैंकहरूमाथि पनि प्रश्न उठिरहेका बेला प्रभुले अन्तर्राष्ट्रिय अवार्ड पाउनुका आधार र वित्तीय क्षेत्रको अवस्थामा केन्द्रित रहेर शेरचनसँग गरेको कुराकानी :

यस वर्षको ‘बैंक अफ द इयर’ नेपालमा तपाईहरुले पाउनुभएको छ। खासमा अवार्ड दिइरहँदा के–कस्ता आधार खोजिने रहेछ?

विभिन्न आधार र सूचकहरू मापनका आधारमा विश्वभरिका बैंकहरूमध्येबाट उत्कृष्ट छनौट गरेर बेलायतको प्रतिष्ठित पत्रिका द बैंकरले बैंक अफ द इयर दिने गर्दछ। नेपालमा बैंक अफ द इयर पाउने प्रभु पहिलो बैंक होइन। यसअघि धेरैपटक अरू बैंकहरूले पाइसकेका छन् र कतिपयले पटक–पटक पाएका छन्। यसपालि प्रभु बैंकले साना तथा मझौला उद्यम÷व्यवसाय (एसएमई) र डिजिटल बैंकिङ प्रवद्र्धनमा खेलेको भूमिकाका लागि अवार्ड पाएको हो। अन्य मुलुकका विभिन्न बैंकहरूले प्रोजेक्ट फाइनान्स, ग्रिन फाइनान्स, कर्पोरेट ल्यान्डिङका आधारमा अवार्ड पाएका हुन्। द बैंकर अवार्डलाई नाफासँगै मात्रै दाँजेर हेरिँदैन जस्तो लाग्छ। प्रभुले अवार्ड पायोभन्दा हाम्रा लागि पनि ‘सप्र्राइजिङ’ नै थियो।

हरेक वर्ष द बैंकरले बैंक अफ द इयरका लागि आवेदन माग गर्ने र बैंकहरूले आवेदन दिने कार्य निरन्तर भइरहेको छ। छनौट गर्ने/नगर्ने विषय द बैंकरसँगै जोडिएको विषय हो। यस वर्षको अवार्ड प्रभुले पाउने विषयसहितको जानकारी इमेलमा प्राप्त गरेपछि हामी खुसी नहुने कुरै भएन। यद्यपि, मुलुकको समग्र अर्थतन्त्रको अवस्था, वित्तीय स्थिति र प्रभुकै तथ्यांकहरूका कारण पनि यो समय अवार्डका लागि उपयुक्त समय थिएन कि भन्ने हामीलाई पनि नलागेको होइन। सन् २०२३ को अन्त्यतिर २०२२ का सूचकहरूलाई आधार मानेर यो अवार्ड दिइएको हो। अवार्ड प्राप्त भइसकेकाले यो हाम्रा लागि थप जिम्मेवारीबोध र पहिचानको आधार हो भन्ने लागेको छ। अन्तर्राष्ट्रियस्तरमा पहिचान बोकेको फाइनान्सियल टाइम्स र त्यसको सहायक कम्पनी द बैंकरका तर्फबाट दिइने पहिचान र मान्यतालाई अस्विकार गर्नुपर्ने कुनै कारण थिएन। यद्यपि, स्वीकार नगरेको भए पनि हुन्थ्यो। त्यसो त २०२२ सम्म प्रभुका वित्तीय सूचकहरू र समग्र स्थिति नराम्रा थिएनन्।

बैंक अफ द इयरको नेपालमा मात्रै नभएर विश्वभरि छुट्टै खालको मान्यता छ। एउटा फाइनान्स स्तरोन्नति हुँदै विकास बैंक र वाणिज्य बैंकसम्मको यात्रा र फाइनान्सदेखिकै प्रमुख कार्यकारी अधिकृत (ग्रास रुटबाट उठेको संस्था र व्यक्ति) को जिम्मेवारी लिएर वित्तीय क्षेत्रमा प्रभाव जमाएर बैंक अफ द इयर बन्ने परिस्थिति मूल्यांकन कसरी गर्नुहुन्छ?

हामीले आफ्नो क्षेत्रमा निरन्तर विकास र वृद्धिको काम गरिरहँदा स्थायित्वको पनि खोजी भइरहेको हुन्छ। फाइनान्सदेखि वाणिज्य बैंक हुँदासम्म प्रभुले विभिन्न आरोहअवरोह पार गरेको छ। धेरै लामो समय संघर्ष र मिहिनेत गरेका कारण कुनै न कुनै समयमा अवश्य मूल्यांकन हुन्छ भन्ने आशा थियो। विगत १५ वर्षको अन्तरालमा हामीले देखाएको समर्पण र असल प्रयास÷अभ्यासको प्रतिफल÷मूल्यांकन बैंक अफ द इयर हो जस्तो लाग्छ।

तपाईंहरूले बैंक अफ दी इयर पाउँदा मूल्यांकनको एउटा आधार एसएमईमा गरेको कामलाई लिएको भन्नुभयो, तर नेपालमा एसएमईहरूको विस्तार र क्रियाशीलता त्यति सन्तोषजक छैन भनिन्छ। तपाईं आफैं फिल्डमा काम गरेको आधारमा एसएमईहरूको अहिलेको स्थिति र अवस्था कस्तो हो?

साना तथा मझौला उद्यम भनेको नेपाली अर्थतन्त्रको मेरुदण्ड नै हुन्। ठूला उद्योग/कम्पनी त औंलामा गन्न सकिने केही संख्यामा मात्र छन्। ठूलालाई पनि पूर्ति गर्ने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने भनेको एसएमईले नै हो। नेपालमा एसएमईको योगदान ठ्याक्क देखिने गरी आएको देखिँदैन किनभने सञ्चारमाध्यमले ‘हाइलाइट’ गर्दा पनि ठूला उद्योग केन्द्रित भएको पाइन्छ। तर, बिस्तारै दृष्टिकोण परिवर्तन हुँदै आएको छ। जति पनि सञ्चालन भएका साना व्यवसाय छन्, उनीहरूले कुनै न कुनै रूपमा वित्तीय संस्थाबाट सुविधा लिएका छन्। तर, उनीहरूले भन्दैनन्। हुन त यसको आवश्यकता र मात्रा नै सानो हुन्छ। विडम्बना पछिल्लो समय साना व्यवसायलाई बैंकहरूले लगानी गरेनन् भन्ने हल्ला बढी आइरहेको छ। तर, यो हल्लामात्रै हो।

केन्द्रीय बैंकले नै आवश्यकताअनुसार वित्तीय संस्थाहरूको वर्गीकरण गरको छ। लघुवित्त, फाइनान्स, विकास बैंक र वाणिज्य बैंकहरूलाई आ–आफ्नो कार्यक्षेत्र तोकिदिएको छ। तर, नाम भने वाणिज्य बैंकहरूको मात्रै आउँछ। वाणिज्य बैंकहरू स–सानो रूपमा जान नसक्लान् भनेर विभिन्न वर्ग विभाजन गरेको हो। तथापि, हरेक बैंक तथा वित्तीय संस्थाका ग्राहक हेर्ने हो भने एसएमईकै दबदबा रहेको पाइन्छ।

पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ। प्रविधि प्रयोगसँगै निम्तिन सक्ने जोखिम पनि उत्तिकै बढिरहेको छ। तर, नेपालका बैंकहरूले प्रविधिमा आइटी इन्जिनियरहरू प्रयोग नगरी सामान्य व्यवस्थापकलाई आइटी प्रमुखको जिम्मा दिने गरेको पाइन्छ। सामान्य व्यवस्थापकीय कौशल भएको व्यक्तिबाट प्रविधि जोखिमलाई न्यूनीकरण गर्न कति सम्भव होला? प्रभु बैंक कसरी अघि बढिरहेको छ?

प्रविधि प्रयोगसँगै जोखिम पनि स्वनभाविकरूपमा आउँछ। नैतिक र अनैतिक मानिसहरू सबै क्षेत्रमा हुन्छन्। प्रविधि क्षेत्रमा अनैतिक मानिसहरू तुलनात्मकरूपमा अझ बढी छन्। कतिपयले भने आफ्नो ज्ञान दरिलो छ–छैन भनेर जाँच्न पनि हामीलाई दुःख दिने गर्छन्। तर, कतिपय अनैतिक व्यक्तिहरूले भने दुःख दिन, फाइदा उठाउन र आफ्नो वर्चश्व देखाउन प्रविधिभित्र प्रवेश गरेर विभिन्न किसिमका गलत कामहरू गर्छन्। बैंकहरू आफ्नो प्रविधिलाई सुरक्षित राख्न नेपाल आइपुगेका विभिन्न किसिमका उपकरणमार्फत सुरक्षाका उपायहरू अपनाएरै बसेका हुन्छन्। साथै, बाहिरका विभिन्न विज्ञको सहयोग पनि लिने गरेको पाइन्छ। (क्यापिटल बिजनेस म्यागजिन)

1970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका