जोडिनुहोस
बिहिबार, पुस ४, २०८१
बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • संविधान दिवस सन्दर्भः साझा अधिकारलाई सङ्कुचित बनाइनुहुँदैन

अन्तरवार्ता

संविधान दिवस सन्दर्भः साझा अधिकारलाई सङ्कुचित बनाइनुहुँदैन

महेन्द्रबहादुर शाही, मुख्यमन्त्री, कर्णाली प्रदेश

संविधान दिवस सन्दर्भः साझा अधिकारलाई सङ्कुचित बनाइनुहुँदैन

नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको कार्य सम्पादनद्वारा सङ्घीय प्रणालीको अभ्यास भइरहेको छ । सङ्घीय प्रणाली कार्यान्वयनका चरणमा सबै प्रदेशहरुले आआफ्नो हिस्सा राख्छन् । नयाँ संविधानअनुसार राज्य पुनःसंरचनाका क्रममा सात प्रदेश स्थापना भए, जसमा कर्णाली प्रदेश पनि एक हो । प्रदेश सरकार गठनपछि संविधानप्रदत्त अधिकारहरुको केकति उपयोग भएको छ ? ऐन, कानून तथा नीतिनिर्माण र तिनको लागु एवं कार्यान्वयनमा देखिएका चुनौती केकस्ता छन् ? सङ्घीय सरकारसँग राखिएको अपेक्षा र भएको सम्बोधनलगायत सन्दर्भमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश प्रमुख शुरबहादुर सिंह र उपसमाचारदाता प्रकाश अधिकारीले लिएको अन्तर्वार्ताको सम्पादित अंश ः

O नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । लामो समयको राजनीतिक परिवर्तनपछि प्राप्त संविधानले गरेको परिकल्पना र मर्मबमोजिम सङ्घीय प्रणाली व्यवहारतः लागू भयो भन्ने ठान्नुहुन्छ ?
मुख्यमन्त्रीः मूलतः जनयुद्ध, जनआन्दोलन र मुलुकका विभिन्न क्षेत्रमा भएको विद्रोहको उपलब्धि नै संविधान र सङ्घीयता हो । यसले लामो समयदेखिको केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गरी नयाँ शासन व्यवस्थाको बीजारोपण ग¥यो । यसमा जनताको सङ्घर्षपूर्ण बलिदान र त्याग तपस्याबाट प्राप्त संविधानको परिकल्पना र मर्मबमोजिम मुलुक सङ्घीय प्रणालीमा गएको छ । संविधानतः इतिहासमा पहिलो पटक नेपालले सङ्घीयताको अभ्यास गर्दैछ । यो व्यवहारतः लागु हुने क्रममा, कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको छ ।

O गाउँगाउँमा सिंहदरबार भन्ने गरिँदै आएको छ । के सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति जनताले गरेको पाउनुभएको छ ? यसलाई संस्थागत गर्न के गर्नुपर्ला ?
मुख्यमन्त्रीः हामी केन्द्रीकृत राज्य व्यवस्था नै बदलेर सङ्घीयता संरचनामा आएका छौंँ । परिणामस्वरुप मुलुकमा तीन तहका सरकारहरु अस्तित्वमा छन् । जनताको सबैभन्दा नजीकको सरकार भनेको स्थानीय तह र प्रदेश सरकार हुन् । स्थानीय तहहरुले पनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अभ्यास गरिरहेका छन् ।

विगतमा सानो कामका लागि जिल्ला, क्षेत्र र केन्द्रबाट सेवा लिन बाध्य जनताले आज ती सेवा आफ्नै घरआँगनबाट लिन पाइरहेका छन् । शक्ति विकेन्द्रीकरणले नागरिकका थुप्रै समस्या नजीकको सरकारबाट हल भएका छन् । यसले नागरिकहरुलाई सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभव भइरहेको छ । यो नै सङ्घीय व्यवस्थाको सबल पक्ष हो ।

समाजवादोन्मुख संविधान र यसले परिकल्पना गरेको सङ्घीय व्यवस्था कार्यान्वयन प्रक्रियाका हिसाबले यो सङ्क्रमणकालीन अवस्थामा नै छ । केन्द्रीकृत राज्य व्यवस्थाका अवशेषहरुले यो व्यवस्था कार्यान्वयनमा केही अवरोध खडा गरेको पाउन सकिन्छ । यो मोडेल असफल पार्नका लागि प्रयासहरु भइरहेका पनि छन् । यद्यपि जनताबाट निर्वाचित तीनै तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु इमान्दार, जवाफदेही र जिम्मेवार बनेर काम गर्न सके यो व्यवस्था संस्थागत गर्न सकिन्छ ।

O संविधानबमोजिम गठित कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने पहिलो अवसर यहाँले पाउनुभएको छ । संविधानले दिएका अधिकार उपयोग गर्ने क्रममा देखिएका समस्या वा कठिनाइ केके अनुभव गर्नुभएको छ ?
मुख्यमन्त्रीः हो, मुलुकको व्यवस्था परिवर्तनका लागि हामी लामो सङ्घर्ष गर्दै आयौंँ । फलतः मैले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको छु । एउटा कुर्सी र टेबलबाट शुरु भएको प्रदेश सरकार अहिले एउटा आकारमा आएको छ । हामीले एकल अधिकारभित्रका तीन दर्जनभन्दा कानून बनाइसकेका छौंँ । प्रदेश सरकारअन्तर्गत १० जिल्लामा एकाइ कार्यालय निर्माण भइसकेका छन् । चालु आर्थिक वर्षको प्रारम्भदेखि हामीले प्रदेश लेखा नियन्त्रक एकाइ कार्यालय स्थापनाको काम अघि बढाएका छौंँ र चार जिल्लामा कार्यालय पनि स्थापना भइसकेका छन् ।

सङ्गठनात्मक संरचना पनि प्रदेश सरकारले बनाएको छ । यद्यपि सङ्घले धेरै कानून बनाई नसकेकाले भने साझा अधिकारका कानून निर्माण गर्न र त्यहीअनुरुप काम गर्न कठिन भइरहेको छ । संविधानमा स्पष्ट उल्लेख भएका अधिकार पनि सङ्घीय सरकारले प्रत्यायोजन नगर्दा केही समस्या छन् । प्रदेशले अहिलेसम्म प्रहरी परिचालन गर्ने अधिकार पाएको छैन । प्रदेश सरकारको भौतिक संरचना निर्माण गर्न भूमि प्राप्तिमा पनि त्यस्तै कठिनाइहरु छन् ।

O संविधान कार्यान्वयनको चरणमा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्यो भनिएको छ । तपार्ईँहरु केन्द्रले अझै अधिकार प्रत्यायोजन गरेको छैन भन्दै हुनुहुन्छ । केन्द्रसँग तपाईंहरुको माग केके हो ?
मुख्यमन्त्रीः खासगरी संविधानमा व्यवस्था भएका अधिकारको प्रयोग र तिनको प्रत्यायोजन पूर्णतः अहिले पनि भएको छैन । सङ्घमा बन्ने कानून अझै बनेका छैनन् । संविधानको अनुसूचीमा व्यवस्था गरिएबमोजिमका कानून बनेका छैनन् । सङ्घीय सरकारले ऐनकानून निर्माणमा देखिएका उदासीनताले प्रदेशका काम प्रभावित भएका छन् । जनअपेक्षाअनुरुप काम भएको छैन ।

कानूनी अड्चनले कतिपय कुरामा अन्योल सिर्जना गरेको छ । विशेषगरी प्रदेश तथा स्थानीय सरकारहरुलाई सहज तरिकाले काम गर्ने बाटो खुला गर्न सङ्घीय सरकार गम्भीर बन्नुपर्छ ।

राससः संविधानका कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वर बेलाबखत सुनिने गरेका छन् । सबै नेपालीले संविधानप्रति अपनत्व महसुस गर्न सकेका छैनन् । असन्तुष्टिका स्वरलाई सम्बोधन गर्न संविधानलाई संशोधन गर्न आवश्यक देख्नुहुन्छ ?
मुख्यमन्त्रीः मलाई लाग्छ, संविधान अक्षरशः कार्यान्वयन हुँदा नागरिकहरुका लागि त्यही काफी हुन्छ । संविधानले मौलिक अधिकारको व्यवस्था गरेको छ, जहाँ समानुपातिक, समावेशी र समाजिक न्याय दिलाउने गरी अधिकारको व्यवस्था भएको पाउन सक्छौंँ । पुरातनवादी एवं केन्द्रीकृत सोचबाट मुखरित स्वरहरुका बारेमा ठ्याक्कै भन्न सकिँदैन । दस्तावेजमा व्यक्त तर व्यवहारमा लागु हुन नसकेर निस्किएका असन्तुष्टिका स्वरहरु संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट स्वतः सम्बोधन हुने कुरामा दुईमत छैन ।

O संविधानमा दलित, महिला, अपाङ्गता भएका, सीमान्तकृत वर्गको अधिकार प्रत्याभूत गरिएको छ तर व्यवहारमा लागू भइरहेको दैखिँदैन । यसमा कसको कमजोरी देख्नुहुन्छ ?
पुरानो राज्य व्यवस्था परिवर्तन भई नयाँ व्यवस्था लागू हुँदा त्यहाँ केही हदसम्म सङ्क्रमणकालीन अवस्था सिर्जना हुन्छ । लामो समयसम्म जकडिएको पुरातनवादी सोच र शासन व्यवस्थाका अवशेषहरु कहीँ न कहीँ रहँदा हाल निर्माण भएका कानूनहरु लागु गर्नमा अवरोध पुगेको जस्तो महसुस हुन्छ । तथापि त्यो भनेर टार्ने छुट कसैलाई छैन ।

संविधानमा दलित, महिला, आदिवासी÷जनजाति, अपाङ्गता भएका, अल्पसङ्ख्यक र सीमान्तकृत वर्गको अधिकार प्रत्याभूत गरिएको छ । यद्यपि ती वर्गले संविधानप्रदत्त अधिकारको अनुभव र अनुभूति गर्न पाएका छैनन् । यसको मूल कारण भनेकै प्राप्त अधिकारलाई कानूनद्वारा व्यावहारिक जीवनमा लागु गर्ने कुराको कमी हो । यसमा सङ्घीय सरकारसहित सबै सरकार गम्भीर बन्नुपर्छ ।

O  संविधानबमोजिम प्रदेश र सङ्घबीचका साझा अधिकारका विषयमा बन्नु पर्ने ऐन, कानून, नीतिहरु समयमै बन्न नसक्दा प्रदेशस्तरमा संविधान कार्यान्वयनको सवालमा केही अन्योल देखिएको भन्ने भनाइ पनि कतिपयको छ । यो सवालमा यहाँले कस्तो अनुभव गर्नुभएको छ ?
वास्तवमा प्रदेशको समृद्धिविना नेपालको समृद्धि असम्भव छ । साझा अधिकारलाई सङ्कुचित बनाइनु हुँदैन । यसमा साझा सोच, अवधारणा र बुझाइ आवश्यक छ । संविधानले स्पष्ट व्याख्या गरेका कुरामा पनि अन्योल आउनु दुर्भाग्य हो । यसमा सङ्घीय सरकार संवेदनशील बन्नुपर्छ । कर्णाली प्रदेश सरकारले एकल सूचीका कानून निर्माण गरिसकेको छ । हामीलाई आवश्यक हुनेसम्मका ऐन, कानून बनाइसकेका छाँै । कागजमा धेरै कानूनका चाङ बनाउन आवश्यक छैन । मुख्य कुरा भनेकै बनेका ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन र नागरिकहरुलाई त्यसको प्रत्याभूति गराउनु नै हो ।

O विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण समुदायमा पुगिसकेको छ । अब यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
कर्णालीमा कोरोना सङ्क्रमण छ तर कोरोना लागेर मर्नेको सङ्ख्या धेरै छैन । अहिलेसम्म मृत्यु भएका छ जना कोरोना भाइरस लागेर अस्पतालमा उपचार गर्दागर्दै मरेका पनि होइनन् । कोरोनाले भन्दा आत्महत्या गरेर मर्ने मान्छेको सङ्ख्या महामारीको अवधिमा बढिरहेको छ । यो चिन्ताजनक अवस्था हो । हो, यहाँले भने झँैं अहिले कोरोना संक्रमण समुदायस्तरसम्म पुगेको छ । अब प्रदेश सरकारले लक्षण देखिएकाबाहेक अन्यको कोरोना परीक्षण नगर्ने योजना बनाएको छ । जोजसलाई त्यस्तो खालको लक्षण देखिन्छ, तिनलाई निःशुल्क परीक्षण गर्ने नीति बनाएका छौंँ ।

पछिल्लो समयमा हामीले आइसोलेशन, आइसियु र भेन्टिलेटरको सङ्ख्या बढाएका छौंँ । कोरोनाका कारण हुन सक्ने गम्भीर समस्याबाट बिरामीलाई बचाउने हेतुले प्रदेश सरकारले कर्णालीका सबै जिल्लामा आइसियु र भेन्टिलेटरको व्यवस्था गरेको हो । स्वास्थ्यका विभिन्न मेसिनरी उपकरण आपूर्तिका लागि सङ्घीय सरकारसँग अनुरोध गरेका छौंँ भने व्यवस्थापकीय पाटोलाई चुस्त बनाउन यहाँका स्थानीय तहसँग समन्वय गरी देखिएका समस्यामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यगरी कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणमा सङ्घीय व्यवस्थाले औचित्य पुष्टि गरेको छ ।

O अन्त्यमा संविधान दिवसका अवसरमा नेपाली जनता र मूलतः कर्णाली प्रदेशवासीलाई के सल्लाह र आग्रह गर्न चाहनुहुन्छ ?
मुलुकले चाहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र कर्णाली चाहेको ‘सुखी कर्णाली, सुखारी कर्णालीबासी’ हो । यी दुवै लक्ष्य प्राप्तिको अभियानमा हामी लागिपरेका छौंँ । ती लक्ष्यहरुलाई संविधानले दिएको अधिकार क्षेत्रमा रहेर हासिल गर्नुपर्नेछ । तसर्थ सरकारले लिएको लक्ष्यलाई सार्थक उचाइमा पु¥याउन समग्र नेपाली तथा कर्णालीबासीमा पाँचौंँ संविधान दिवसले एकताको भाव पैदा गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । साथै कोभिड–१९ ले उत्पन्न गरेको विश्वव्यापी महामारीबाट जोगिन सबै नेपालीलाई आत्मानुशासित भई सरकारद्वारा निर्दिष्ट जनस्वास्थ्यका मापदण्ड पूरा गर्न हार्दिक आग्रह गर्दछु ।

6145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका