

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले प्राप्ती सम्बन्धि प्रकृयाका लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो । यी दुबै कम्पनीले गत असोजे असोज २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच प्राप्ती सम्बन्धी सम्झौता भदौ १७ गते भएको थियो ।
प्राप्ती प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । ४० करोड रुपैयाँ चुक्तापूँजी भएको सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गरी एकिकृत कारोबार पश्चात नेपाल इन्भेष्टमेण्टको चुक्तापूँजी १४ अर्ब ६४ करोड ८९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । हाल नेपाल इन्भेष्टमेण्टको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।