जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • युनियन लाइफलाई आइपीओ जारी गर्न अनुमति, ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर आउने

युनियन लाइफलाई आइपीओ जारी गर्न अनुमति, ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर आउने

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारणको लागि आइपिओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर बिक्री गर्ने भएको छ । यहि असार भित्रै प्राथमिक शेयर बिक्री गरि बाँडफाँड गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

रेटिङ एजेन्सिका अनुसार कम्पनीको ब्रान्च तथा अभिकर्ताको नेटवर्क धेरै राम्रो रहेको छ । यसले गर्दा पनि केहि हदसम्म कम्पनीको रेटिङ राम्रो आएको हो । जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क आर्जनका हिसावले कम्पनीको बजार हिस्सा ८ प्रतिशत हाराहारी रहेको छ । तर नयाँ आएका १० जीवन बीमा कम्पनीहरु मध्येको बजार हिस्सा भने २७ प्रतिशत रहेको छ । त्यसैले गर्दा पनि नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफ बजार विस्तारमा आक्रामक रहेको पुष्ठि गर्दछ ।

कम्पनीको शाखा सञ्जाल २०२ वटा रहेको छ भने सक्रिय अभिकर्ताको संख्या १४ हजार भन्दा धेरै रहेका छन् अर्को तर्फ कम्पनीबाट अभिकर्ताको काम गर्न ५० हजार भन्दा धेरैले लाइसेन्स प्राप्त गरेका छन् ।

कम्पनीले प्राथमिक शेयर निष्काशन पछि सोल्भेन्सी अनुपात पनि सुधार हुने रेटिङ एजेन्सीले जनाएको छ । हाल कम्पनीको नेटवर्थ दुई अर्ब ३१ करोड रुपैयाँ भन्दा माथि छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको नेटवर्थ तीन अर्ब भन्दा माथि हुनेछ ।

कोभिड १९ का कारण सरकारले निषेधाज्ञा तथा लकडाउन गर्दा कम्पनीको व्यवसाय बृद्धिमा भने असर पुर्याएको एजेन्सीले प्रतिवेदनमा उल्लेख गरेको छ । अझै पनि कोभिडको प्रभाव कायम रहेको र मृत्युदर बढिरहेको हुँदा कम्पनीमा दाबी पर्न सक्ने सम्भाव्यता पनि उत्तीकै रहेको रेटिङ एजेन्सीले जनाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा नेपालको ठुला ठुला व्यवसायिक समुहहरुले लगानी गरेका छन् । कम्पनीको प्रमुख शेयरधनीहरुमा शेखर गोल्छाको १९.९ प्रतिशत, साहिल अग्रवालको १९.९ प्रतिशत, सुलभ अग्रवालको १८ प्रतिशत, सन्दिप कुमार अग्रवालको ६.६ प्रतिशत, शरद कुमार टिवरेवालको ६.६ प्रतिशत शेयर पूँजी रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

7460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका