जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मनि हाइस्ट सिजन-२: बैंकको सिस्टममा ‘बग’, चोरीमा सिद्धार्थ, एनआइसी र बीओकेको एटीएम प्रयोग

मनि हाइस्ट सिजन-२: बैंकको सिस्टममा ‘बग’, चोरीमा सिद्धार्थ, एनआइसी र बीओकेको एटीएम प्रयोग

५७ वर्षीय जगतबहादुर गुरुङ पूर्व बेलायती सेना हुन्। उनी बेलायतबाट फर्किएर अहिले काठमाडौंको कालोपुलमा डेरा गरी बस्दै आएका छन्।

बेलायतमा नै हुँदा उनले एलएमओ बैंकमा खाता खोलेका थिए। त्यहाँबाट उनले डेविड कार्ड लिएका थिए।

कार्डको मिति सकिएपछि एटीएममा चल्दैन, आफैं बन्द हुन्छ। तर, असार १६ गते प्रविधिलाई नै चुनौती दिने काम भयो। एक्सपायर भएको कार्डबाट पैसा झिक्दा ‘खर्रर’ पैसा निस्कियो। ३० हजार रुपैयाँ कार्डबाट पैसा आयो।

त्यसपछि उनले निरन्तर रूपमा सिद्धार्थ बैकको एटीएमबाट पैसा निकालिरहे। काठमाडौंको चाबहिल, कालोपुल, हात्तिसार, भाटभटेनीलगायत एटीएम बुथबाट पटक पटक पैसा निकालिरहे। उनले पैसा निकाल्न ट्याक्सी नै रिजर्भ गरेका थिए।

आइतबार साँझ गुरुङलाई प्रहरीले एक्कासि पक्राउ गर्‍यो। कालोपुलबाट उनी समातिए। कारण एक्सपायर भएको कार्ड प्रयोग गरेर एटीएमबाट पैसा झिक्नु नै थियो। प्रहरीले उनको कोठाबाट २१ लाख रुपैयाँ बरामद गर्‍यो।

उनीसँगै ३० वर्षीय सावित्री तामाङसमेत समातिइन। प्रहरीले गुरुङको कोठा खानतलासी गर्‍यो। थप १० लाख ५० हजार रुपैयाँ सहकारीमा जम्मा गरेको रसिद भेटियो।

चाबहिलको गोमा गणेश भन्ने सहकारीमा उनले पैसा जम्मा गरेका थिए। त्यस्तै निकालिएको केही पैसा सपिङ लगायत अन्यमा खर्चसमेत गरेको देखिएको छ। उनीहरुले कुल ४२ लाख रुपैयाँ झिकेको अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका गुरुङले कार्ड एक्सपायर भएको थाहा पाएको प्रहरीसँग स्वीकारेका छन्। एक्सपायर भएको थाहा पाएपछि त्यसलाई नवीकरण गर्न बैंक (बेलायतको) लाई ‘रिक्वेस्ट’ पठाएको बताएका छन्।

पटक पटक पैसा झिकेर खर्च गर्नुले ठगी नियत देखिएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

उनीहरूले असार १६ गतेदेखि १९ गतेसम्म ट्याक्सी लिएर नै एटीएम बुथमा पुगेर पैसा निकालेका थिए। उनीहरूले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्वीचमार्फत सिद्धार्थ बैंकको एटिएम प्रयोग गरी विदेशी कार्डबाट पैसा झिकिएको छ।

उनीहरूले  ६ हजार रुपैयाँदेखि पटक पटक विभिन्न परिणाममा पैसा झिकेको खुलेको छ। जबकि खातामा मौज्दात थिएन। पैसा धमाधम झर्न थालेपछि उनीहरूले ठूलो रकम झिक्न थालेका थिए। तीन दिनमा उनीहरूले ४२ लाख रुपैयाँसम्म झिकेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार, भुक्तानी प्रदायक सेवा दिने बैंक र प्रणाली सञ्चालन गर्ने नेप्सको कमजोरीका कारण पैसा झिकिएको हो। नेप्सले त पैसा चोरी भएको थाहा पाएकै थिएन। सिद्धार्थ बैंकले खबर गरेपछि नेप्सले बल्ल थाहा पाएको थियो। प्रहरी, बैंक र नेप्सको समूहले कसरी पैसा चोरी भयो भनेर अहिले अनुसन्धान सुरु गरिसेको छ।

‘सिस्टममा नै खराबी भएको कारण यसरी पैसा निकालिएको बैंकले हामीलाई जानकारी दिएको छ। उहाँको भाषामा सिस्टममा बग भएको भन्ने छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

उनले सिद्धार्थ बैंकको एटीएम मात्र प्रयोग नगरेर अन्य बैंकको एटीएमसमेत प्रयोग गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार पैसा झिक्न सिद्धार्थ बैंकबाहेक एनआइसी एसिया र बैंक अफ काठमाण्डूको एटीएमसमेत प्रयोग भएको देखिएको छ।

5780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका