

राइड सेयरिङ सेवा पठाओ नेपालले दशैं महोत्सव लक्षित योजना सार्वजनिक गरेको छ। दशैं लक्षित योजनामार्फत राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने सक्ने कम्पनीले जनाएको छ।
आउँदो असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक साता पाँचजना टप राइडर, तीनजना टप क्याप्टेन(ट्याक्सी चालक) र एक जना टप फुडम्यानलाई आकर्षक उपहार दिइने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
यस अन्तर्गत विजेताले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार महोत्सवको अन्तिम ३ साताका बिजेतामध्ये एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी मोडलको बाइक जित्न सक्नेछन् भने उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन्।
यसका लागि राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नको लागि पठाओको ‘रुल बुक’ सँगै धेरै भन्दा धेरै ट्रिप अथवा डेलिभरी गर्नुपर्ने प्रावधान रहेको कम्पनीले जनाएको छ।
पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवधिभित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरी कम्तीमा २० पटक एप प्रयोग गरी पठाओको सेवा प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ।
‘कोभिडले सबैलाई असर गरेको छ । हाम्रो ब्यवसाय पनि त्यसबाट टाढा रहने कुरा भएन। दैनिक कामले गुजारा गर्ने हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुलाई झन् असर गरेको छ ।’ पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमालले भनिन्, ‘कोभिडको समयमा पनि वहाँहरुले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशैँ महोत्सव सार्वजनिक गरिएको हो।’
तीन वर्ष अघि स्थापना भएको कम्पनीले बाइक राइड सेयरिङ, कार लाइट (ट्याक्सी), होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी लगायतका सेवा दिँदै आएको छ। पछिल्लो समय कम्पनीले ग्रोसरी सामान डेलिभरी गर्दै ‘पठाओ बजार’ को परीक्षण सुरु गरेको जनाएको छ।