

बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा शनिबार वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको महाशाखाले जनाएको छ ।
रविन्द्र थापाले जाहेरी दिएको चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले थापालाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो । यस्तै रविन्द्रकै जाहेरीको अर्को मुद्दामा अदालतले उननाई ७५ लाख बिगो जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।
यसैगरी सोही कसूरमा राजन श्रेष्ठको जाहेरीको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीबाट भरी पाउने १७ लाख रुपैयाँ र त्यसको कानून बमोजिम हुने ब्याज समेतको बिगो तिर्नुपर्नेमा सो नगरी फरार रहेकाले २०७५ असोज १९ गतेको फैसलाले थापालाई एक वर्ष कैद सजाय तोकेको थियो ।
पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।