
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको थियो ।
कम्पनी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका सिईओ पोषक पौडेलले सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी , सञ्चालक समिति, लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
सिईओ पौडेलले आगामी दिनहरुमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने, बीमा सम्बन्धी जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, दीर्घकालिन रुपमा बीमा व्यवसायमा ध्यान दिने लगायतका कार्यहरु गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी कम्पनीका संचालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु–याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु–याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे। साथै अध्यक्ष पाण्डेले कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए।
कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताह व्यापी कार्यक्रम मार्फत सो गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।
यस अवधिसम्ममा कम्पनीले ७३ जिल्लामा आफ्नो संजाल विस्तार गरी १२६ वटा शाखा तथा उप शाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । डिजिटल सिटिजन अभियान अन्तर्गत अनलाइन बीमालेख खरिद, बीमा शुल्क तथा बीमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कम्पनीले २०७८ असार मसान्तसम्ममा ५ अर्ब ६८ करोड रुपैयाँ कुल लगानी गरेको छ । यस अवधिसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ भने जगेडा कोषमा ८५ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ३ अर्ब ५७ करोड, असामाप्त जोखिम वापत व्यवसाय २ अर्ब १७ करोड छ ।
त्यस्तै, कम्पनीका ५ लाख ९० हजार बीमित रहेका छन् । ३१ हजार अभिकर्ता रहेका छन् । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ मा १८० प्रतिशतले व्यवसाय बृद्धि गरेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































