
आयातमा अझैं कडाई गरेर भएपनि ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिईएको छ। नेपालमै पहिलो पटक ‘बैंक अफ दि इयर एशिया २०२१’ पाएको उपलक्ष्यमा आयोजित कार्यक्रममा सम्बोधन क्रममा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले यस्तो सुझाव दिएका हुन्।
नेपाल राष्ट्र बैंकले अहिले आयातमा कडाई गरेको बस्तुको सङ्ख्या थप्दै लैजानुपर्ने सुझाब दिएका गोल्यानले देशमा उद्यम व्यवसायको माहोल बनाउनका लागि पनि ब्याजदर एकल अंकमा राख्नु पर्ने बताएका हुन्।
बैंक वित्तीय संस्थाहरुको संचालकहरुको सँस्था ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ का अध्यक्ष समेत रहेका पवन गोल्यानले १८ बस्तुको आयातमा कडाई गरेकोमा नेपाल राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारिलाई बधाई दिंदै कडाई गरिने बस्तुको सुची थप बढाउनु पर्ने सुझाव दिए।
बिदेशी मुद्रा संचितिमा परेको दबाब हटाउन तथा ब्यालेन्स अफ पेमेन्ट अर्थात भुक्तानी प्रणालीमा सन्तुलन ल्याउन राष्ट्र बैंकको यो कदमले ठुलो मद्दत मिल्ने गोल्यानले बताए।
त्यस्तै एकल अंकमा ब्याजदर राख्ने गरि राष्ट्र बैंकले नीति लिनलाई समेत उनले सुझाव दिए। एकल अंकमा ब्याजदर भएमा मात्रै कृषि तथा उद्यम क्षेत्रमा काम गर्ने उद्योगीहरुलाई राहत मिल्ने बताउदै उनले आयातमा अझैं कडाई गरेर भएपनि ब्याजदर एकल अंकमा राख्नलाई राष्ट्र बैंकलाई सुझाव दिएका हुन्।
नेपाल राष्ट्र बैंककाअनुसार पुष ६ गतेसम्म नेपालको बैंकिंङ प्रणालीमा औषत ब्याजदर ९-१० प्रतिशतको बीचमा रहेको छ भने सिडी रेसियो ९१ प्रतिशत रहेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































