

माघको पहिलो सातामै वाणिज्य बैंकबाट १३ अर्ब निक्षेप घटेको छ । एक सातामा बैंकबाट १३ अर्ब निक्षेप बाहिरिँदा कर्जाको माग १ अर्ब रुपैयाँ मात्रै देखिएको छ ।
माघ पहिलो साता बैंकमा निक्षेप घट्नुका साथै कर्जाको माग निकै सुस्त देखिएको छ । अहिले बैंकका लगानीयोग्य रकम (तरलता अभाव)का कारण बैंकहरु कर्जा दिन समेत नसक्ने अवस्थामा पुगेको छ ।
माघ पहिलो सातासम्म आईपुग्दा कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ९०.४३ प्रतिशत पुगेको छ । चालु आवको मौद्रिक नीतिमा वाणिज्य बैंकको सिडी रेसियो आगामी असार मसान्तसम्म ९० प्रतिशत भित्र हुनुपर्ने भन्ने रहेको छ । तर अहिले नै बैंकहरुको सिडी रेसियो ९० प्रतिशत कटिसकेको छ ।
पुस ३० गतेसम्म बैंकमा ४३ खर्ब २४ अर्ब रहेको निक्षेप माघ ७ गतेसम्म आइपुग्दा १३ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित बनेको छ ।
यस्तै एक साताको अवधिमा कर्जाको माग भने बैंकमा जम्मा १ अर्ब मात्रै रहेको तथ्याङकले देखाएको छ । पुस ३० मा ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको कर्जा एक साताको अवधिमा १ अर्ब बढेर ४१ अर्ब ४४ अर्ब पुगेको छ ।
पुस अन्तिम साता भने बैंकका निक्षेप १७ अर्ब र कर्जा ३५ अर्बले बढेको थियो । तर माघ लाग्नासाथ बैंकमा निक्षेप घट्नुका साथै कर्जा बिस्तारमा पनि कमी आएको देखिएको छ ।