साढे पाँच महिनादेखि नेतृत्वविहीन रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरिएकाे छ ।
सोमबार बस्नलागेको मन्त्रिपरिषद्को बैठकमा धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो ।
बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ जनामध्ये ‘सर्टलिष्ट’ ५ जनाको नाम छनोट गरेको थियो । जसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सर्टलिष्टमा राखिएको थियो । ५ जनाबाट गिरी कटुवाललाई हटाएर ३ जनाको नाम सिफारिस गरिएको हो ।
उक्त तीन जनामध्येबाट सरकारले १ जनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएपछि गत भदौ १६ निलम्बनमा परेका थिए । त्यसपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थ अध्यक्ष छनोट सिफारिस समितिले प्रकृया अघि बढाएको थियो ।
तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले राजनीतिक प्रभावमा अध्यक्ष नियुक्ति प्रकृयालाई विवादित बनाएपछि दुईपटक आवेदन मागिएको थियो । दोस्रोपटक आवेदन माग्दा पनि योग्यता र मापदण्डका प्रावधान हेरफेरि गरिएको थियो ।