जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ५ जीवन बीमा कम्पनीको साधारण सेयर आउँदै, तीन वटाको प्रिमियम मूल्य, कस्तो छ वित्तीय अवस्था ?

५ जीवन बीमा कम्पनीको साधारण सेयर आउँदै, तीन वटाको प्रिमियम मूल्य, कस्तो छ वित्तीय अवस्था ?

पाँच वटा जीवन बीमा कम्पनीले सर्वसाधरणमा सेयर जारी गर्ने तयारीमा छन्। संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ वटाले सेयर जारी गरेर कारोबारसमेत भइसकेको छ।

रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ प्राथमिक सेयर निष्कासन प्रक्रियामा छन्। यी मध्ये रिलायबल, सन नेपाल र सिटिजन लाइफले भने प्रिमियम मूल्यमा  सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका छन्। पाँच कम्पनीहरूले ३ करोड १५ लाख कित्ता प्राथमिक सेयर निष्कासन हुनेछ।

सेयर लगानीकर्ता माझ लघुवित्तपछि जीवन बीमा कम्पनीको सेयर लोकप्रिय छ। ‘विद्यमान कानुन र इन्स्योरेन्सहरुको वित्तीय मूल्यांकन बमोजिम बीमा समितिले प्रिमियम मूल्य थप गर्न अनुमति दिएको छ,’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिजमाण्डूसँग भने,’तथ्यांकले समर्थन गरेका इन्स्योरेन्सलाई प्रिमियम मूल्य लिन अनुमति दिइएको हो।’     

२१२ रुपैयाँको प्रिमियम मूल्यमा आइपीओ जारी गर्न रिलायबलले धितोपत्र बोर्डबाट स्वीकृत माग गरेको छ। यो कम्पनीको सेयर निष्काशन प्रक्रिया बोर्डमा होल्ड भएको छ भने सन नेपाल र सिटिजन लाइफले पनि साधारणसभाबाट सेयर निष्काशन गर्ने प्रस्ताव पास गरिसकेका छन्। सन नेपालले ६० लाख कित्ता र सिटिजन लाइफले ७५ लाख कित्ता आइपीओ निष्कासन गर्दैछन्।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार प्रिमियममा सेयर निष्कासन गर्ने संस्था पछिल्लो तीन आर्थिक वर्षसम्म लगातार नाफामा हुनुपर्ने व्यवस्था छ। यस्तै, संस्थाको प्रति सेयर चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी हुनुपर्ने, साधारणसभाबाट पारित हुनुपर्ने, औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त हुनुपर्ने लगायतका व्यवस्था पनि छ। 

यस अतिरिक्त संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन पनि पेस गर्नुपर्ने हुन्छ। 

मूल्यांकनपछि आएको सबैभन्दा कम मूल्यलाई आधार मानेर धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा आइपीओ निष्कासनको निवेदन पेस गरिने सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बिजमाण्डूलाई बताए।

‘हामी बीमा समितिको स्वीकृतिको प्रतिक्षामा छौं। अनुमति आए लगत्तै भ्यालुएसनको प्रक्रिया अघि बढाउने छौं,’ प्रमुख अर्यालले भने, ‘भ्यालुएसनपछि आएको अंकका आधारमा धितोपत्र बोर्डमा आइपीओ निष्कासनको निवेदन दिने तयारी छ।’   

धितोपत्र बोर्डको पाइपलाइनमा रहेको आइएमई लाइफले भने फेस भ्यालुमै ६० लाख कित्ता आइपीओ निष्कासनका लागि निवेदन पेस गरेको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुँजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

व्यावसायिक पक्षमा पनि सबै कम्पनी सबल नै देखिएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका यी पाँच जीवन बीमा कम्पनी वित्तीय सूचकांकमा एक अर्कालाई टक्कर दिने क्षमता राख्छन्। कान्छो मानिने महालक्ष्मी लाइफको व्यवसाय भने अन्यको तुलनामा कमजोर देखिएको छ। यद्यपि इन्स्योरेन्सको वित्तीय सूचकहरू सकारात्मक छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सर्वाधिक नाफा रिलायबल नेपाल लाइफले कमाएको छ। इन्स्योरेन्सले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। सोही अवधिमा सिटिजन लाइफले ११ करोड २ लाख रुपैयाँ खुद नाफा कमाउँदा सन नेपालको ८ करोड २ लाख रुपैयाँ मुनाफा गरेको हो। आइएमई लाइफले पनि ७ करोड ७९ लाख रुपैयाँ कमाएको छ। 

महालक्ष्मी लाइफको खुद नाफा भने अन्य चारको तुलनामा सर्वाधिक कम देखिएको छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससँग तुलना गर्दा भने अधिकांशको खुद नाफा सामान्य बढ्दा सन नेपाल लाइफ ४४.२३ प्रतिशतको सर्वाधिक वृद्धि दर कायम गर्न सफल छ।

नाफासँग संलग्न व्यापार विस्तार पनि हुन्छ। यी पाँच जीवन बीमामध्ये सर्वाधिक खुद बीमा शुल्क संकलन गर्न अब्बल सिटिजन लाइफ हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क ७६.४९ प्रतिशत बढेको छ। अन्यको तुलनामा सर्वाधिक वृद्धिदर सिटिजन लाइफले नै कायम गरेको छ। 

खुद बीमा शुल्क संकलनको दौडमा सिटिजन लाइफलाई पछ्याउने रिलायबल नेपाल लाइफ र आइएमई लाइफ हुन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबल नेपाल लाइफले १ अर्ब ९२ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क कमाए। सन नेपालले पनि समीक्षा अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा महालक्ष्मी लाइफको खुद बीमा शुल्क संकलन सबैभन्दा कम ६७ करोड ९१ लाख रुपैयाँ रह्यो।

सञ्चालनपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सर्वाधिक बीमा लेख सङ्ख्या रिलायबल नेपाल लाइफको छ। यो अवधिसम्ममा इन्स्योरेन्सले ४६ लाख ९४ हजार ४७३ वटा बीमा लेख बिक्री गरिसकेको छ। 

सोही अवधिमा सन नेपाल लाइफले ४ लाख ५ हजार ६४ वटा, सिटिजन लाइफले २१ लाख २१ हजार ६९२ वटा, आइएमई लाइफले २ लाख १५ हजार ५५० वटा र महालक्ष्मी लाइफले ३३ हजार ४६८ वटा बीमालेख बिकी गरेका छन्। बीमा लेखको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा सर्वाधिक वृद्धि गर्ने सन नेपाल लाइफ हो। इन्स्योरेन्सको बीमा लेखको सङ्ख्या ४९१.७४ प्रतिशत बढेको छ। 

जीवन बीमा कोषको आकार हेर्दा पनि सिटिजन लाइफको सर्वाधिक देखिन्छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १०३.७९ प्रतिशत वृद्धि भएको इन्स्योरेन्सको जीवन बीमा कोषमा ४ अर्ब ८८ करोड रुपैयाँ सञ्चित छ।    

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफको जीवन बीमा कोषको आकार ३ अर्ब ८७ करोड रुपैयाँ छ। सोही अवधिमा रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ सञ्चित हुँदा सन नेपाल लाइफको बीमा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ छ। महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार भने सबै भन्दा सानो देखिन्छ। कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। 

हालसम्म चुक्ता पुँजीमा पनि सिटिजन लाइफ नै अघि देखिन्छ। सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ। बाँकी चारवटैको चुक्ता पुँजी समान १ अर्ब ४० करोड रुपैयाँ छ।             

3935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका