

बैंकहरूको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ले देशको अर्थतन्त्र सुधार्न ६ सुझाव दिएको छ । संघीय संसद् अन्तर्गतको अर्थ समितिले वर्तमान मुलुकको आर्थिक अवस्था र भावी रणनीतिको मुद्दामा बैंकर्स संघसँगको छलफलमा उक्त सुझाव दिएको हो ।
छलफलमा एनएमबी बैंकका सीईओ समेत रहेका संघका उपाध्यक्ष सुनिल केसी, सदस्य अनुपमा खुन्जेली, सीईओ अनिल शर्मा र सल्लाहकारद्वय अनिल केशरी शाह र अशोक जबरा राणा सहभागि भएका थिए ।
मुलुकको वर्तमान आर्थिक अवस्थासँगै आगामी आर्थिक वर्षको बजेटको मुद्दामा बोलाइएको छलफलमा बैंकरहरूले अहिले मुलुकको अर्थतन्त्र सही गतिमा अघि नबढेको बताउँदै सोको शीघ्र उपचारको खाँचो रहेको बताएका छन् ।
पछिल्लो समय बैङ्कहरूको घट्दो निक्षेपकाबीच बढ्दो कर्जा माग, आयात वृद्धि तर खस्कँदो रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो दबाब परिरहेको बताउँदै सोको समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनीहरूको सुझाव छ । बैंकरहरूले घट्दो रेमिट्यान्समा समेत चिन्ता व्यक्त गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा विदेशिने नेपालीहरूको सङ्ख्या दुई लाख माथिले बढे पनि यता रेमिट्यान्स भने बढ्न नसकेको बैंकरहरूको भनाइ छ । यस्तो पैसा हुण्डी तथा क्रिप्टोकरेन्सी, नेटवर्किङ जस्ता हाइपर फन्डहरूमा गएको हुनसक्ने भन्दै यस्तो पैसा बैंकिङ च्यानलमा ल्याउन सरकारले रेमिट्यान्समा आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने उनीहरूले बताएका छन् ।
बैंकर्स संघको सदस्य एवं मेघा बैंकका सीईओ अनुपमा खुन्जेलीले वैदेशिक रो जगारीमा जानेहरूको संख्यामा वृद्धि भइरहेपनि रेमिट्यान्स बढ्न नसकेको बताइन् ।
बैंकर्स संघका सीईओ अनिल शर्माले रुस–युक्रेन तनावकाबीच बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सोको आयातले हप्तामा नै अर्बौँ रुपैयाँ बाहिरिरहेको भन्दै सो नियन्त्रणको खाँचो रहेको बताए ।
अर्थतन्त्र सुधार्न बैंकरहरूको ६ सुझाव
१.आयात निरुत्साहित गर्नका लागि एलसी सेवा बन्द गर्नुपर्ने
२.रेमिट्यान्स वृद्धिको उपाय खोजिनुपर्ने,
३.सरकारी राजस्वको डिपोजिट अन्य बैङ्कहरूले पनि पाउनुपर्ने,
४.सरकारी खर्चको संरचना परिवर्तन हुनुपर्ने
५.विदेशी मुद्राको सञ्चिती जोगाउन पेट्रोलियम पदार्थको आयात, खपत र सीमामा तस्करी रोक्नुपर्ने
६.नेपाली बैंकको शाखा विदेशमा पनि खोल्न दिनेn