जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रीपरिषद्मा: पेट्रोलियम खपत घटाउने उपाय

शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रीपरिषद्मा: पेट्रोलियम खपत घटाउने उपाय

पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका आधारमा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा बाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको हो।  

अर्थमन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा अर्थमन्त्री शर्मा, श्रम मन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, बाणिज्य सचिव डा. गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत अर्थमन्त्रालयको टोली उपस्थित थियो।

‘शनिबार र आइतबार बिदा दिनुपर्छ भन्ने प्रस्ताव आएको हो। यसमा लामै छलफल पनि भएको हो’ बाणिज्य मन्त्रालय स्रोतले भन्यो, ‘तर यसको निर्णय हामीले गर्ने होइन। मन्त्रीपरिषद्ले गर्नुपर्छ। त्यसैले बिदाका लागि ठाडो प्रस्ताव जान सक्छ।’

शनिबार र आइतबार लगातार दुई दिन बिदा दिँदा उद्देश्य विपरित मान्छेहरु घूम्न जाने र पेट्रोलियम पदार्थ खपत थप बढ्ने हो कि भनेर पनि छलफल भएको थियो। त्यसो हुँदा बुधबार र शनिवार बिदा दिने हो कि भनेर पनि छलफल भएको थियो।

दुई दिन सार्वजनिक बिदा दिनका लागि आयल निगमले पनि प्रस्ताव गरेको थियो। नेपाल बैंकर्स संघले पनि मन्त्रालय र संसदीय समितिमा प्रस्ताव गरेको थियो। 

अहिले पेट्रोलियम आयात मासिक ३० अर्ब पुग्न थालेको छ। उत्तिकै परिमाणमा आयात गरिएपनि अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले पहिले भन्दा ४० प्रतिशत बढि भुक्तानी गर्नु परेको छ। डलर साटेर भारु भुक्तानी गर्नु परेकाले बिदेशी मुद्राको सञ्चिति निरन्तर घट्न थालेको छ। 

नेपालमा बढी रकमको आयात हुने पहिलो वस्तु नै पेट्रोलियम पदार्थ हो। त्यसैले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो। ‘यो सँधैका लागि होइन छोटो समयका लागि गरौं भन्ने प्रस्ताव हो’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर निर्णय मन्त्रीपरिषद्ले गर्ने भएकाले अहिले नै बिदा हुन्छ वा हुँदैन भन्न सकिँदैन।’

उच्च स्तरीय समितिमा पेट्रोलियम पदार्थको मूल्य एक महिनाभित्र स्वचालित बनाइसक्ने पनि निर्णय भएको छ। औपचारिक निर्णय भने नेपाल आयल निगमको सञ्चालक समितिले गर्ने छ।

निगम ३५ अर्ब रुपैयाँ घाटामा गएपछि सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यसो हुँदा पेट्रोलको मूल्य (आजको दिनमा) १८२ रुपैयाँ पुग्ने छ भने डिजेलको १७० रुपैयाँ १७ पैसा नाघ्ने छ। खाना पकाउने ग्यासको मूल्य २५२८ रुपैयाँ ६६ पैसा पुग्ने छ। अहिले पेट्रोलको भाउ १५५, डिजेल १३८ र खाना पकाउने ग्यासको भाउ प्रति सिलिन्टर १५७५ रुपैयाँ छ।

छलफलमा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने बिषयमा छलफल भएपनि निर्णय भने भएन। केही समय पर्खिएर हेर्ने अनि आवश्यक निर्णय गर्ने कुराकानी भएको बाणिज्य मन्त्रालय स्रोतले बतायो।

अहिले पेट्रोलियम पदार्थको आयात मासिक ३० अर्ब रुपैयाँले हुन थालेको छ। पोहोरकै परिमाणमा पेट्रोलियम आयात गरिएपनि मूल्यका कारण धेरै पैसा गइरहेको छ। यसले एकातिर विदेशी मुद्राको सञ्चिति घटाइरहेको छ भने आन्तरिक रुपमा निगमको घाटा फराकिलो हुँदै गएको छ।

निगमले अहिले घाटा सहेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेको छ। ६ महिना अगाडि १९ अर्ब रुपैयाँ सञ्चिति मुनाफा र १४ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोष रहेको निगम अहिले ३५ अर्ब रुपैयाँ घाटामा गइ‍सकेको छ।

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका