जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे

बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे

गत आर्थिक वर्षबाट शुरु भएको तरलता अभाव चालु आर्थिक वर्षसम्म आइपुग्दा पनि सहज हुन सकेको छैन । जसका कारण बैंकहरुबाट सहजै ऋण पाउन सक्ने स्थिति छैन् । यसरी बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितोमा राखेर ऋण लिनेको संख्या बढेको पाइएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि बीमालेख धितोमा राखेर ऋण लिने बढेका हुन् । एक वर्षको अवधिमा नै करिव १६ अर्ब बढी ऋण बीमालेख धितोमा राखेर कर्जा लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष वर्षसम्म जीवन बीमा कम्पनीहरुबाट बीमालेख धितोमा ५१ अर्ब ८३ करोड २० लाख रुपैयाँ लिएका थिए । तर त्यो गत आर्थिक वर्षको अन्त्यसम्ममा आइपुग्दा बीमालेख धितो राखेर ६७ अर्ब ७० करोड ५९ लाख रुपैयाँ कर्जा लिइसकेका छन् ।

एक वर्षको अवधिमा नै बीमालेख धितोमा राखेर ऋण लिनेहरु ३०.६२ प्रतिशतले बढेका छन् । बैंकको ब्याजदर भन्दा बीमालेख धितोको ब्याजदर पर्ने भएकाले पनि बीमालेख धितोमा ऋण लिने बढेका हुन् ।

बैंकले लिने ऋणको ब्याजदर १५–१६ प्रतिशत पुर्याइसकेका छन् भने एक वर्षअघि त्यसरी बैंकबाट ऋण लिदा ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा थियो ।

बैंकले ऋणको ब्याजदर बढाएपनि बीमालेख धितोमा राखेर लिइने ऋणको ब्याजदर भने जीवन बीमा कम्पनीहरुले बढाएका छैनन् । यसभन्दा अघि पनि १० प्रतिशतको हाराहारीका बीमालेख धितोमा राखेर ऋण दिइरहेका थिए, अहिले पनि त्यही ब्याजदरमा नै ऋण दिइरहेका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ६७ अर्ब ७० करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सोमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । एलआईसी नेपालले १८ अर्ब ११ करोड १२ लाख, नेशनल लाइफले ८ अर्ब १ करोड ३७ लाख रुपैयाँ, एशियन लाइफले ३ अर्ब ९३ करोड ८५ लाख रुपैया बीमालेख धितोमा कर्जा प्रवाह गरेका छन् ।

प्राइम लाइफ, राष्ट्रिय बीमा संस्थानले पनि बीमालेख धितोमा २ अर्ब बढी लगानी गरेका छन् । यस्तै सूर्या लाइफ, मेट लाइफ इन्स्योरेन्स गुराँस लाइफ र युनियन लाइफले पनि एक अर्ब बढी रकम बीमालेख धितोमा लगानी गरेका छन ।

सबै भन्दा कम रिलायवल नेपाल लाइफले १४ करोड ८१ लाख रुपैयाँ मात्रै बीमालेख धितोमा कर्जा लगानी गरेको छ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बीमालेख धितोबाट ५ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेका छन । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

एलआइसी नेपालले एक अर्ब ६७ करोड ८८ लाख रुपैयाँ र नेशनल लाइफले ६३ करोड २२ लाख रुपैयाँ बीमालेख धितो बापत आम्दानी गरेका छन् । सबै भन्दा कम भने रिलायवल नेपालले बीमालेख धितोमा १४ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरी ३८ लाख ४० हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

3000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका