नेपाल राष्ट्र बैंकले प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै केहि वस्तुको आयातमा लगाईएको प्रतिबन्धलाई निरन्तरता दिएकोले सोहि अनुसार गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम राख्ने निर्णय गरेको हो ।








































































