
नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क (एनसीसी बैंक) को साधारणसभा आज मङ्सिर २ गते हुदै छ । निर्वाचन आयोगको निर्देशनपछि साधारणसभा अनलाइन माध्यमबाट संचालन हुने छ।
आयोगले सभा नगर्न निर्देशन दिएपछि बैंकले आचारसंहिताको पालना हुने गरि भर्चुअल माध्यमबाट सभा संचालनको लागि अनुमति माग गरेको थियो । बैंकको अनुरोध बमोजिम नै आयोगले बैंकलाई यस अघि तोकिएको मिति मै भर्चुअल माध्यमबाट साधारणसभा संचालन गर्ने सहमति दिएको छ । यस सँगै बैंकको साधारणसभा आज मङ्सिर २ गते नै तोकिएको समयमा भर्चुअल माध्यमबाट हुने छ ।
यस अघि आयोगले राजनीतिक कारण देखाउदै बैंकको साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो । बैंकका संचालक रहेका मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । उनी कांग्रेसका तर्फबाट पूर्वमन्त्री तथा हाल केन्द्रीय सदस्य समेत हुन् । उम्मेदवार नै सञ्चालक रहेको बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेर समेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएको भन्दै सभा रोक्न उजुरी परेको आयोगले जनाएको थियो।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था रहेको भन्दै आयोगले बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो । अब भने आयोगले बैंकलाई भर्चुअल माध्यमबाट सभा संचालन गर्न अनुमति दिएको छ ।
बैंकले शेयरधनीहरुलाई मङ्सिर २ गते बिहान १० बजे भर्चुअल माध्यम मार्फत साधारणसभामा जोडिन आग्रह गरेको छ ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् । मर्जर प्रक्रियामा रहेको बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का छ । कार्तिक १५ गतेसम्म बैंकको शेयर दर्ता किताबमा कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँ सक्ने छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































